आदिकवि
कुनै आदिवासीले नै
रचेको हुनुपर्छ
पहिलो पृथ्वी
त्यस समयदेखि यसलाई
कसले फनफनी घुमाइरहेको छ ?
कुनै आदिवासीले नै
चालेको हुनुपर्छ
पहिलो पाइला
त्यो साहसिक पाइलालाई
मेरो हार्दिक स्वागत
कुनै आदिवासीले नै
गरेको हुनुपर्छ
पहिलो प्रेम
त्यो मधुरतम प्रेमलाई
मेरो सहस्र चुम्बन
कुनै आदिवासीले नै
खाएको हुनुपर्छ
पहिलो शपथ
त्यो दृढ शपथलाई
मेरो पूर्ण समर्थन
कुनै आदिवासीले नै
देखेको हुनुपर्छ
पहिलो सपना
त्यो मृदु सपनालाई
मेरो अगाध स्नेह
कुनै आदिवासीले नै
छेडेको हुनुपर्छ
पहिलो लडाइँ
त्यो अदम्य लडाइँलाई
मेरो तात्तातो सलाम
कुनै आदिवासीले नै
गाएको हुनुपर्छ
पहिलो गीत
त्यो सुरम्य गीतलाई
मेरो असंख्य बधाई
कुनै आदिवासीले नै
आदिम धरतीलाई
पहिलो पयरको
सतत चालले
महाकालमापन गरी
हाम्रो घर, आँगन
र, हामीसमक्ष नै
सुरक्षित पुर्याउन
पगालेको हुनुपर्छ
देहको मांस, हाड
र, त्यसभित्रको मज्जा
(रक्त पनि मिसाएर)
हो, त्यही उच्च ललाट
चलायमान नयन
र कर्मठ भुजायुक्त
आद्य प्रतिमान अर्थात्
अर्थात् अर्थात् अर्थात्
यो धूलो माटोसँग
अटुट नाभिनालबद्ध
महान् पूर्वजहरुका
विलुप्त किन्तु अविच्छिन्न
स्मृतिपुञ्जलाई
एक असमकालीन कविको
भावपूर्ण शब्द समर्पण
कुनै आदिवासीले नै
लेखेको हुनुपर्छ
पहिलो कविता
-कवि निभाका ‘आगोने रउभिएको मानिस’, ‘एउटा बाहुला नभएको बुसर्ट’, ‘जोकरको बन्दुक’ कविता कृति प्रकाशित छन्। ‘ डिकेन्द्र राजवंशीको आत्महत्या’ निभाको प्रकाशोन्मुख कवितासंग्रह हो।
प्रकाशित : भाद्र २०, २०७७ १३:१०