भाग्यवादी भाष्यविरुद्ध- साहित्य/विविध - कान्तिपुर समाचार

भाग्यवादी भाष्यविरुद्ध

शासक-मण्डलीको आँखा र हितबाट लेखिएका इतिहासमा सीमान्तकृत समुदायका इतिहास बेवास्ता गरिएकै हो । विष्टले गरेका काम प्रशंसनीय भए पनि त्यहाँका अपुगलाई सम्याउने सही समय अहिले हुन सक्छ ।
गुरुङ सुशान्त

कतिपयले डोरबहादुर विष्टलाई ‘देवत्वकरण’ गर्छन् भने कतिले ‘दानवीकरण’ । प्रशंसकहरू विष्टलाई वैकल्पिक विचारको पहिलो पाना नै मान्छन्, निन्दकहरू मानवशास्त्रीको मुकुन्डो लगाएका ‘डलरप्रेमी’ । त्यसको एउटै कारण हो– ‘फ्याटलिजम एन्ड डेभलप्मेन्ट’ । तर, अतिशय प्रशंसा र अतिरिक्त घृणाभन्दा पर रहेर कृतिको दोष र गुणकै आलोकमा मूल्यांकन गर्नु स्वास्थ्यकर हुन्छ ।

अढाई दशकदेखि राजनीतिक, सामाजिक र सांस्कृतिक बहसको बौद्धिक इपिसेन्टरजस्तो बनेको उक्त पुस्तकको रापताप अन्तर्राष्ट्रिय जगत्सम्म रहेकै छ । तर, अंग्रेजी भाषासँग सहज पहुँच नभएका पाठकहरू यस किताबको गुदी झिक्न नसकेर कुहिराका कागजस्तै थिए । वसन्त थापाको स्तरीय अनुवादमा ‘भाग्यवाद र विकास’ प्रकाशनपछि भाषाको पर्खालबाहिर छुटेका ती पाठक र जिज्ञासुबीच पनि बाहुनवादबारे चर्चा थप चुलिँदो छ ।

काया बेपत्ता रहे पनि विष्टका बुझाइ, व्याख्या र अध्ययन छायामा नपर्नु नै उनको सामर्थ्य मान्नुपर्छ । नेपाली मानवशास्त्रका पिता भनेर चिनिने विष्टले डिस्कोर्स–डबलीमा जुन तर्कहरू छाडे, त्यसैको मूल्यमा उनले गाली र ताली सराबरी पाइरहेका छन् । कतै पढेको थिएँ– ‘कुनै पनि पुस्तकको वास्तविक मूल्यांकन पाँच/छ दशकपछि मात्रै हुन्छ ।’ पुस्तकले बोकेको विषयात्मक गहिराइ, भाषाको मिठास, तथ्य र तर्कको सबलता आदिले पुस्तकको आयु निर्धारण गर्दो हो ।

निर्मम प्रश्नहरूलाई स्वागत गर्न सक्दा मात्रै समाजले गतिशीलताको पांग्रा पाउने हो र थप नयाँ भाष्य जन्मने हो । तर, केही नेपाली बौद्धिकीले प्रश्न–बन्ध्याकरणको कोसिस गरेको देखिन्छ । विष्टको संकथनलाई अनेक आरोप भिराउनेहरूले श्रवण–इन्द्रिय बन्द भएको सत्ता चाहन्छन् । र, समाजलाई सके पश्चगामी धारमा, नसके यथास्थितिको तलाउमा जमाइराख्न खोज्छन् ।

नेपाली समाजले अग्रगामी पथ पहिल्याउन नसक्नुको मूल अपजस भाग्यवादलाई दिन्छन्, विष्ट । भाग्यवाद अँगाल्ने बाहुनवादले राज्य–सत्ताको संरचनामा हालीमुहाली गरेका कारण समाजमा पछौटेपन मौलाएको ठान्छन्, उनी । बाहुनविरोधी वैचारिकीको स्वरूपमा बुझेकाले ‘बाहुनवाद’ शब्दले मात्रै पनि धेरैलाई भाउन्न बनाएको देखिन्छ । तर, एक जात–विशेषको विश्वदृष्टिलाई राज्यनीति बनाउने रणनीतिक कदमको विपक्षमा छन्, विष्ट ।

उनी लेख्छन्– ‘बाहुनवाद भन्ने शब्द काठमाडौँ उपत्यका र कर्णाली ब्याँसीमा मध्ययुगमा आएका ब्राह्मणहरूले सुरु गरेका वर्ण व्यवस्थाको सिद्धान्त र तद्जनित सांस्कृतिक ढाँचामा समष्टिगत लक्षणहरू बुझाउने हेतुले यहाँ प्रयोग गरिएको छ । तर, यसबाट नेपाली समाजमा आज पाइने समग्र बाहुनहरूलाई इङ्गित गर्न भने खोजिएको होइन ।’ वैदिक परम्पराभन्दा पर विकसित भाग्यवादलाई महत्त्व दिने पौराणिक अवधारणा नै ब्राह्मणवाद हो, जसबाट जात–प्रथाको सामाजिक संगठन विकसित भयो ।

ब्राह्मणवादी चिन्तन र व्यवहारको अभ्यास गर्ने सबै जाति तथा समुदाय ब्राह्मणवादी हुन् भन्ने निष्कर्ष यो किताब पढेर निकाल्न कठिन छैन । भाग्यवादले मानवीय जीवन र परिस्थितिमाथि व्यक्तिगत नियन्त्रण नरहने, बरु अलौकिक या बाह्य शक्तिको हात रहनेमा पूर्ण विश्वास गर्छ । जब विश्वास हाम्रो सत्त्वमा गएर गढेर बस्छ, तब त्यो अन्धविश्वासमा परिणत हुन्छ । कुनै सोचलाई अन्धविश्वास गरिसकेपछि त्यसलाई तथ्यपरक तर्क, शास्त्र र शस्त्रले समेत काट्न मुस्किल पर्छ । परिणाम– हरेक घटना वा नतिजालाई परिश्रम र सुझबुझबाट अलग गरी भाग्यसँग जोडिन्छ, जहाँ कुनै अदृश्य शक्तिद्वारा पहिल्यै तय थियो भन्ने मानिन्छ । नेपाली समाज श्रमलाई सम्मान गर्ने मामिलामा कन्जुस देखिन्छ । यसको जरा खोतल्दै जाँदा भेटिन्छ, राज्य–सत्ता ।

सामाजिक र आर्थिक विकासका लागि जनतालाई शारीरिक तथा बौद्धिक श्रममा उत्प्रेरित गर्नुपर्नेमा नेपाली शासकहरू नै भाग्यवादी अगुवा भइदिएकाले समाजमा प्रगतिशील विचार कुइनेटामा पर्‍यो । यही ‘कुलीन’ नेपाली शासकहरूमा रहेको रुढीवादी हिन्दु वैचारिकी र पञ्चायती व्यवस्थाले नेपाली समाजको यात्रामा छोडेका नकारात्मक पदचिह््नहरू देखाउनु नै पुस्तकको मुख्य ध्येय देखिन्छ ।

भाग्यवाद हिन्दु धर्ममा मात्रै नभएर अरू धर्ममा पनि भएकाले बाहुनवादकै कारण नेपाल गरिब भएको विष्टको बुझाइलाई समेत गलत साबित गर्न खोजिन्छ । तर, तिनै व्याख्याकारहरूको दाबी छ– ‘दलितहरूको गरिबी र पछौटेपनका लागि हिन्दु धर्म जिम्मेवार रहेकामा चाहिँ कुनै शंका छैन ।’ हिन्दु धर्मले अंगीकार गरेको जातीय सोपानक्रमले पिँधमा पारेका जातिहरूको आर्थिक अवस्थालाई ऐतिहासिक अध्ययन गर्नेबित्तिकै यथार्थ हात लाग्छ । मुख्य कुरा– राज्यले हिन्दु धर्मका मानकहरूलाई ऐन–कानुन नै निर्माण गरी सबै धर्म र समुदायमाथि शासन गर्दै बहुसंख्यक जनताको सांस्कृतिक आत्मविश्वासलाई हीन करार गर्‍यो । नेपालको धार्मिक इतिहास लेखन दाबी गरिएजस्तो शान्तिपूर्ण नरहेको विष्टको तर्क छ ।

प्राचीन तथा मध्ययुगको प्रारम्भिक इतिहास ब्राह्मण विद्वान्हरूद्वारा लेखिएकाले नेपाली इतिहास वस्तुगत नभई गंगा मैदानको हिन्दु विश्वदृष्टिबाट प्रभावित रहेको संकथन छ, विष्टको । तत्कालीन शासकद्वारा राजालाई विष्णुको अवतारका रूपमा उभ्याएर हिन्दुत्व र राजतन्त्रात्मक व्यवस्थालाई अभिन्न देखाउन पनि खोजियो । अनि नेपालको राजा हिन्दु हुनुपर्ने संवैधानिक प्रावधान राखियो र कसैले अरू धर्म मान्ने नबताएसम्म स्वतः हिन्दु मानियो । ‘राजाहरू स्वेच्छाचारी भएका छैनन्’ भन्ने विष्टको तर्क भने विस्मित तुल्याउने खालको छ । उनी चाकरीको केन्द्रविन्दु राजा रहेको स्विकार्छन् तर लेख्छन्– ‘राणाकालपछि प्रत्येक राजा प्रजातान्त्रिक अभ्यासप्रति सकारात्मक रहेका छन् र एक पिताले जस्तो संकटमा परेका बेलामा मात्र हस्तक्षेप गरेका छन् ।’ प्रश्न उठिहाल्छ– यसो भए राजा महेन्द्रको ‘कू’ लाई के भन्ने ?

परनिर्भरतालाई मात्रै होइन, चाकरी प्रथालाई पनि बढावा दिने भएकाले ब्राह्मणवादी दर्शन विकासको अवरोधक ठान्छन्, विष्ट । उनको विचारमा चाकरी प्रथा ढोगभेटको धार्मिक प्रवृत्तिबाट जन्मिएको हो, जो सुरुमा शासक वर्गमा र पछि शासनसत्ताको विभिन्न तहमा बसेका सबैमा फैलियो । लेख्छन्– ‘हिन्दु धर्ममा चाकरी एउटा यस्तो अपरिहार्य धारणा हो, जसको अर्थ सेवाटहल गर्नु, प्रसन्न तुल्याउनु अथवा भगवान्बाट केही पाउने आशामा भक्ति गर्नु हो । कोही मन्दिरमा गएर देवताको प्रार्थना गर्छ र फूल नैवेद्य चढाउँछ भने त्यो यसले चाकरी गरेको हो ।’ आफ्नो काम–कर्तव्य कुशलतापूर्वक गर्नुको साटो चाकरी गर्नुलाई ठूलो खुबी मानिनु र त्यस्तै खुबीको भरमा सत्ताको खुट्किलो चढ्ने कुटिल प्रवृत्तिप्रति विष्टको विमति देखिन्छ ।

नेपालीहरूले जिम्मेवारी बहन गर्न र एकअर्कालाई बराबरीका आधारमा सम्मान गर्दै आधारभूत भाग्यवादी धारणा बदल्नुपर्ने दाबीसहित ब्राह्मणवादको आलोचना गर्छन्– ‘पुस्तौँदेखि नेपालीहरूले कल्पनाको सुन्दर स्वर्ग देखाइएको छ, जहाँ कुनै प्रयासै नगरी हरेक चीज आफ से आफ चमत्कारी रूपमा प्राप्त हुन्छ । यस्तो ठाउँमा पुग्न बाहुन पुरेतलाई अग्रिम भुक्तानी दिनुपर्छ, मानौँ– बाहुन पुरेत स्वर्गको टिकट बुक गर्ने ट्राभेल एजेन्ट हुन् ।’

ब्राह्मणवादी संरचनाले राज्यको ‘सानदार’ ठाउँमा आफ्ना भित्रियाहरूको मण्डलीलाई स्थापित गराउने भएकाले भाग्यवादी अभ्यासको विकल्पमा उनी जनजातीय जीवन दर्शन र अभ्यासलाई उभ्याउन खोज्छन् । परिश्रम, अध्यवसाय र लामो दुःख कष्टबाट खारिएका जनजाति समुदायमा सहयोगी भावना र सामूहिक भलाइका निम्ति खटिने स्वभाव हुने भएकाले त्यतातिर ध्यान दिनुपर्ने विष्टको बुझाइ छ । उनी भन्छन्– ‘नेपालको शक्ति यहाँका विभिन्न जनजाति समूहका मौलिक गुणहरूमा निहित रहँदै आएको छ ।’

विचार निर्माणमा बालबालिकाको हुर्काइ–बढाइले फरक पार्ने यथार्थलाई विष्टले जोड दिएका छन् । उनका अनुसार ‘उच्च’ जातीय समूहका बालबालिकामा बाहुनवादी अवधारणाको नै सामाजिकीकरण भएको हुन्छ । कतिपय अध्येताहरू विदेशी लेखक र पुस्तक साक्षी राखेर नेपालका बाहुन र अन्य जातीय समूहको सामाजिकीकरण फरक नरहेको पुष्टि गर्ने कसरत गर्छन् । यस्तो कसरतका पछाडि कि नियत खराब हुन सक्छ कि त नेपाली समाजलाई मसिनो गरी बुझ्ने जाँगर लुप्त भएको हुनुपर्छ । नत्र नेपाली समाजको विविधतालाई जराबाट खोतल्ने कोसिस गर्नेबित्तिकै दर्शन र ‘स्कुलिङ’ भिन्न भेटिन्छ नै ।

अठार पृष्ठ लामो सन्दर्भ सामग्री सूचीले देखाउँछ, यस पुस्तकमा विष्टले गरेको अध्ययन र मिहिनेत । वैचारिक पुस्तकमा राखिने तथ्य र तर्कहरूलाई सम्पुष्ट बनाउने काम उद्धरण र सन्दर्भ सामग्रीहरूले गर्छन् । शास्त्रीहरूको दाबी छ- उद्धरणले आफ्नो सिद्धान्त स्थापित मात्रै गर्दैनन्, लेखकको सीमाबोध, आगतका अध्येतालाई सघाउ र विश्वजनिन विद्वत् परम्परालाई सम्मान गर्छ । तर, यस पुस्तकका मूल लेखकदेखि अनुवादकसम्म उद्धरण र सन्दर्भ सामग्रीबीच हुनुपर्ने तादात्यमा चुकेका छन् ।

एकाध उद्धरणहरूका सन्दर्भ सामग्री नै छैनन् भने केहीमा मिति र लेखकको नाम नै फरक र अपुरा छन् । यसले थप अध्ययन गर्न चाहनेहरूलाई प्राज्ञिक प्रतिकूलतामा धकेलिदिन्छ । नेपालमा बहुल पहिचानको जनजागरण जगाउने ग्रन्थहरूको अग्रलहरमा उभिएको पुस्तकमा यस्तो त्रुटि भेट्दा खल्लो लाग्छ नै ।

विष्टको अध्ययनले संकेत गरेका विषयलाई गहिराइ दिने चुनौती नयाँ पुस्ताका मानवशास्त्री, समाजशास्त्री र इतिहासकारको काँधमा आइपरेको छ । शासक–मण्डलीको आँखा र हितबाट लेखिएका इतिहासमा सीमान्तकृत समुदायका इतिहास बेवास्ता गरिएकै हो । विष्टले गरेका काम प्रशंसनीय भए पनि त्यहाँका अपुगलाई सम्याउने सही समय अहिले हुन सक्छ । कारण– यो बेला दक्षिणपन्थी सत्ता र ब्राह्मणवादी वैचारिकीबीच हातेमालो कसिलो बन्दो छ ।

प्रकाशित : भाद्र २०, २०७७ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्

तमसपुर मोन्ताज

कथाकारले कामरेड पुष्पलालको सुझाव मानेन । उसले भन्यो, ‘माफ गर्नोस् गुरूदेव, अब म आफ्नो देशमा फर्केर जान सक्ने अवस्थामा छैन । कोभिड–१९ ले देशमा आर्थिक सङ्कट आयो । त्यो सङ्कटले लेखकलाई पनि थिच्यो । किताबहरु बिक्न छोडे भनेर प्रकाशकले लेखकलाई रोयल्टी दिन आनाकानी गरिरहेका छन् ।’
नारायण ढकाल

(अग्र–टिपोट : कोभिड–१९ भय र आतङ्कको नाम थियो । अथवा त्यो नीलो भाइरस भनिएको पदार्थ रहस्यमय सर्वनाम, आक्रमणकारी विशेषण वा षड्यन्त्रकारी व्याकरण थियो । जब ऊ खलनायक शैलीमा मानव बस्तीमा छिर्‍यो र युद्धरफ्तारमा मृत्युशिविरहरू बन्न थाले तब टाढाटाढा पुगेका मानिसहरू हतारहतार आआफ्नो थातथलो फर्किए । तर, केही मानिस भने उल्टै आफ्नो घरबास त्यागेर जीविका खोज्न जता पायो त्यता भौंतारिन थाले । यो लघुवृत्तान्त उही शठनायक कोभिड–१९ को प्रकोपपछि कुनै अनाम देशबाट भागेका दुई पलायनवादी गुरु र चेलाको हो । —लेखक ।)

एकादेशमा

एक दिन कामरेड पुष्पलाल र उसको शिष्य श्रीमान् कथाकारश्री तमसपुर पुगे । आकाश स्वच्छ थियो । अपराह्नको जाज्वल्यमान सूर्य सहरमाथि घोडाचढिरहेको थियो । तर वातावरण भने युद्धपछिको महाविनाशजस्तो थियो, आवाजहीन र भयप्रद । सहरी घरका झ्यालढोका सबै बन्द थिए । सडकमा चरोमुसो त के कुनै पनि जीवित अथवा निर्जीव जिनिस चलमलाएको थिएन ।

‘यो कस्तो देश हो गुरुदेव जहाँ दिनको उज्यालोमा मौनआतङ्क मात्र जीवन्त छ ?’ कथाकारले सोध्यो । ऊ डराइरहेको थियो ।

‘सायद यो उल्टो राज्य हो शिष्य । ऊ, त्यो घरमा टाँगिएको साइनबोर्ड हेर न, देशको नामै तमसपुर रे, प्रकाशपुरको उल्टो,’ पुष्पलालले जवाफ दियो ।

‘कतै यो देश दन्त्यकथामा वर्णन गरिएको अन्धेरनगरी त होइन ?’

‘ठ्याक्कै त्यही त नहोला शिष्य तर त्यसको परिस्कृत रूपचाहिँ हुन सक्छ । खासमा तमसपुर र अन्धेरनगरी पर्यायवाची शब्दचाहिँ हुन् क्यारे !’

‘के त्यसो भए दन्त्यकथा पनि इतिहासजस्तै कालचक्रमा दोहोरिने विषय बन्ने रहेछ त गुरु ?’

‘लोककथाको अन्धेरनगरी मूर्ख शासकहरूको राज्य थियो । त्यहाँका राजा, मन्त्री र भारदारहरू सबै गोबरगणेश थिए । उनीहरूले शासनमा नयाँपन ल्याउन रातलाई दिन र दिनलाई रात बनाउन फर्मान जारी गरेका थिए । उनीहरू उज्यालोमा सुत्थे र अँध्यारोमा उठ्ते । जसले राज्यको आदेश मान्दैनथ्यो त्यसलाई सूली चढाइन्थ्यो । यो धेरैलाई थाहा भएको कुरा हो शिष्य,’ पुष्पलालले भन्यो ।

‘तमसपुर पनि अन्धेरनगरीजस्तै पो छ कि गुरु ?’

‘हेर्दै जाऊ शिष्य, जेजस्तो त होला ।’

रात परेपछि सहर बिस्तारै ब्युँझियो र चहलपहल बढ्यो । विभिन्नथरीका सवारीका साधन सडकमा गुड्न थाले । बजारमा किन्ने र बेच्ने मानिसहरूको लर्कन चल्यो । गुरु र चेला कौतुकमय मुद्रामा दिनभरि बिनाउद्देश्य यताउता हल्लिरहे । उनीहरूको थकाइ र भोक चरम शिखरमा पुग्यो तर खानाखाने ठाउँ कतै फेला परेको थिएन ।

हिँड्दाहिँड्दै उनीहरू एउटा सुपरस्टोरअगाडि पुगे । त्यो भीमकाय भवनको अगाडि फराकिलो पार्किङलटमा दुई राता घोडाहरू बडो दिक्दार भावमा कुरा गरिरहेका थिए ।

रोसिनान्ते-बाबिएका संवाद

बाबिएका- रोसिनान्ते, तिमी किन यति दुब्लो भएको ?

रोसिनान्ते- किनकि काम धेरै र माम थोरै भएर नि बाबिएका । अब तिमी नै भन, यस्तो अनिकालमा कसरी मोटाउनु ?

बा- किन हाम्रा प्रधानमन्त्रीले पर्याप्त घाँस र दाना दिँदैनन् ?

रो- काँ दिनु र बाबिएका ? सायद म यसरी नै भोकभोकै मर्नेछु ।

बा— झन् अब त हाम्रो देश समाजवादतिर जाने भनेको होइन ? अनि सरकारले कतैकतै सस्तो बजार पनि खोलेको छ भनेको सुन्छु ।

रो- भनेको त हो तर त्यस्तो बजार हाम्लाई के काम ?

बा- समाजवाद शब्द विधानमा लेखेर के भो त ? खै घोडाहरूलाई समाजवाद ?

त्यो जानै नपर्ने बाटोबारे विधानमा किन लेखेका होलान् हगि ?

रो- मनोरञ्नको निम्ति होला नि ।

बा- मनोरञ्जनको लागि ?

रो- होला ता नि बाबिएका । यिनीहरूको लागि समाजवाद एउटी द्रौपदी हो जसको चीरहरण स्वस्थ मनोरञ्जनको निम्ति अपरिहार्य छ ।

बा- लौ रोसिनान्ते, यो त गधाको जस्तो जिन्दगी भैहाल्यो नि ।

रो- हुन त गधा भए पनि, घोडा भए पनि अथवा मानिस भए पनि एक दिन मर्नैपर्छ क्यारे ∕ कि कसो बाबिएका ?

बा- ओहो ∕ तिमी पूरै अध्यात्मपन्थी पो भएछौ ।

रो- तर के भन्नु र खै ? हिजो आफैंले बनाएको ईश्वर आज आफ्नै लागि परचक्री बन्यो । मेरो पेट भोकले हुँडलिरहेछ ।

बा- यस विषयमा हाम्रा अन्नदाता राष्टपतिलाई उजुर गरेनौ ?

रो- बेकारमा किन गिडगिडाउनु ? अब मेरो लागि सबै एकै ड्याङका मुला हुन् ।

दुई भद्रभलाद्मी अश्वबीचको अप्रिय संवादले गुरु— चेला दुवैको मन भाँच्चियो । उनीहरूको भोक पनि भीमकाय राक्षसझैं अग्लो भयो ।

‘गुरु यो रोसिनान्ते भनेको डन किहोटेको घोडा होइन ?,’कथाकारले सोध्यो ।

‘पहिले त हो तर अहिले यहाँका प्रधानमन्त्रीको भएछ । उनीहरूको कुराकानी सुनेपछि बुझिएन र शिष्य ?’

‘अनि बाबिएका मध्ययुगको स्पेनिस जर्नेल एल सिडको घोडा थियो होइन र ? त्यो घोडा एल सिड मरेको दुई वर्षपछिसम्म बाँचेको थियो भन्थे नि ?’

‘त्यसबेलाको कुरा त त्यही हो तर अहिले बाबिएकालाई यहाँका राष्ट्राध्यक्षले लिएजस्तो छ । उसको भनाइको ढाँचाले त्यस्तै सङ्केत गर्छ ।’

‘गुरु, गज्जबको देश पो रहेछ यो ।’

कामरेड पुष्पलालले सकारको मुन्टो हल्लायो र मुस्कायो ।

वृकासुर आतंक र पागल बूढो

अचानक हाहाकार मच्चियो । मानिसहरू हतास मुद्रामा यताउता भाग्न थाले । केही समयअघि खुलेका पसलका सटरहरू बन्द भए र बिजुली गयो । अब एक छिन सारा सहरलाई भक्कुको जड्याहा राँगोले घोडा चढ्यो ।

‘यो एकाएक के भयो गुरुदेव ?’ कथाकार आत्तियो ।

‘केही स्पष्ट छैन । अहिले ज्यान जोगाउनु उपयुक्त कार्यनीति हो, भागम् ।’

‘हस् गुरुदेव ।’

उनीहरू अँध्यारोमा भौंतारिँदै नजिकैको गल्लीबाट एउटा चोकमा पसे । चोकको डबलीको अँध्यारोमा एउटा बूढो पागल थियो । ऊ गीत गाइरहेको थियो :

कागज काट्ने बन्चरो त रूख काट्ने कैंचीले

कुखुराले पाडो पायो फुल पार्‍यो भैंसीले

हा हा किन चाइयो अजुध्या रा-वनलाई ?

***

‘सहरमा अचानक के भएको महोदय ?’ कामरेड पुष्पलालले पागललाई सोध्यो ।

‘तिमीहरू नयाँजस्ता छौ नि ?’ उसले गीतको बाँकी पङ्क्ति गाउन छोडेर उल्टै सोध्यो ।

‘हो, हामी आजै आएका हौं,’ हतास भावमा कथाकारले भन्यो ।

‘त्यसैले तिमीहरूलाई थाहा रहेनछ । यहाँ रातको पहिलो प्रहरमा एक छिन सधैं यस्तो हुन्छ । राजकीय सल्लाहकार वृकासुरले दाहिने हात उठाएर पूरा सहर परिभ्रमण गर्छ । उसको शक्ति के छ भने उसले आफ्नो अगाडि परेका जो–जसलाई पनि थाप्लोमा हात राखेर भष्मखरानी पार्न सक्छ । डरले मानिसहरू भागाभाग गर्छन् । धन्य तिमीहरू यता आएर बाँच्यौ । अब एक छिन यहीँ बस । अबको आधा घण्टामा सबै कुरा पहिले जस्तै सामान्य हुन्छ,’ पागलले भन्यो ।

‘वृकासुरलाई राजकीय सल्लाहकार भन्नुभयो ? ऊ भष्मासुर होइन र ?’ कथाकारले सोध्यो ।

‘उही हो, पहिले उसको नाम वृकासुर थियो र त्यसपछि भष्मासुर भयो । उहिले उसले शिवको तपस्या गरेर वरदान पाएको थियो । अहिले चाहिँ राष्ट्राध्यक्षको भक्ति गरेर सल्लाहकार पद पाएको छ ।’

‘भष्मासुर त आफैंद्वारा मारिएको होइन र ?’

‘ल, उसको विषयमा अलिकति सुन ∕ ऊ शकुनि राक्षसको छोरा थियो । दुर्योधनको मामा शकुनिचाहिँ होइन नि, त्यो अर्कै शकुनि थियो । हो, उही अर्कै शकुनिको छोरा वृकासुरले केदारक्षेत्रमा गएर आफ्नो शरीरलाई टुक्राटुक्रा पारेर अग्निमा हवन गर्न थाल्यो । यसरी सात दिनपछि उसले आफ्नै टाउको काटेर होम्न आँटेको बेला शिव आएर भने— अब भयो वृकासुर यसो नगर, बरु जे वर माग्छौ माग । वृकासुरले शिवलाई भन्यो—जसको टाउकोमा म हात राख्छु त्यो तत्काल भष्म होस् । शिव बोले— तथास्तु । वरदान पाएपछि वृकासुर पहिले तिम्रो टाउकोमा हात राख्छु भन्दै शिवलाई लखेट्न थाल्यो । शिव भागेर विष्णुलोक पुगे । विष्णुले शिवको संकट बुझे र उनलाई उद्धार गर्न ऋषिको भेषमा वृकासुरको अगाडि उभिए । विष्णुले भने— ए वृकु बाबु कसलाई लखेटेको ? वृकासुरले जवाफ दियो— शिवले मलाई दिएको वरदान सत्य हो कि होइन जाँच्न खोजेको नि ऋषिवर । विष्णु बोले— त्यो त शिव कहाँ हो र ? त्यो त सामान्य फुस्रे जोगी पो हो । विष्णु भेषका ऋषिको भनाइले वृकासुर अलमलियो, भन्यो—सामान्य जोगी रे ? उसको प्रश्नको समर्थन गर्दै विष्णुले भने— त्यो शिवको भेषमा सामान्य बहुरूपिया जोगी हो, नपत्याए आफ्नो हात एकपटक आफ्नै टाउको राखेर हेर त, सत्य अहिल्यै थाहा भैहाल्छ नि । वृकासुरले विष्णुले भनेझैं आफ्नो टाउकोमा हात राख्यो र तत्काल भष्म भयो । मैले पण्डितहरूको मुखारविन्दबाट सुनेको कथा यही हो,’ पागलले भन्यो ।

‘आदरणीय महोदय, के त्यसो भए भष्मासुरको यो दोस्रो जन्म हो त ?’ कथाकारले सोध्यो ।

‘हाम्रो तमसपुरको इतिहासमा त्यस्तै लेखिएको छ रे । यो पनि मैले यही चोकमा भएको एउटा राजनीतिक आमसभामा सुनेको हुँ । सो आमसभामा निकैबेर भष्मासुरको गुणगान गाइएको थियो ।’

‘अनि हरेक रातको पहिलो प्रहरमा उसले किन आतङ्क मच्चाएको नि ?’

‘किन नि, जनतालाई राज्य शक्तिशाली छ भनेर अस्तित्वबोध गराएको रे । यस्तो गरेन भने जनताले राज्यलाई टेर्न छोड्छन् रे । अब तिमीहरू नै भन, जनताले राज्यलाई टेर्न छाडे भने हाम्रा राष्ट्रपति, प्रधानमन्त्री र भारदारहरूले अर्को कुन पेसा गर्छन् ? बेरोजगार बन्दैनन् उनीहरू ?’ खुङ्खार दार्शनिकले झैं पागलले भन्यो ।

त्यसै बेला बत्ती झलमल्ल बल्यो । नवप्रसून उज्यालोमा फेरि सहर चलमलाउन थाल्यो ।

‘लौ अब गाँठी कुरा बुझ परदेशी मित्रहरू, वृकासुर आतङ्कनामक आजको अध्याय यहीँ समाप्त भयो । अब भोलिको रात नआएसम्म ढुक्क होऊ ∕’ फेरि पागलले भन्यो ।

दुवै गुरु–चेलाले पागललाई धन्यवाद भने र मूलसडकतिर निस्किए ।

र, पागलचाहिँ फेरि उही गीत फलाक्न थाल्यो :

हा हा किन चाइयो रा—वनलाई अजुध्या ?

***

क्याबिन रेस्टुराँ

‘भोकको त के कुरा गर्नु र गुरु ? पाए यो विश्वै निलौंला झैं पो भएको छ ।’

‘मनासिब भन्यौ शिष्य, म पनि उही हालतमा छु ।’

एक छिनपछि एउटा रातो अक्षरमा लेखिएको साइनबोर्डमा उनीहरू दुबैका आँखा ठोक्किए—सस्तो भोजनालय एन्ड क्याबिन रेस्टुराँ ।

‘यसैमा पसौं गुरु ∕’ हतारिँदै कथाकारले भन्यो ।

‘क्याबिन रेस्टुराँमा कसरी जानु ?’ कामरेड पुष्पलाल प्रतिपक्षमा उभियो ।

‘किन र गुरु ?’

‘भोजनालय त ठीकै छ तर क्याबिन रेस्टुराँ भनेको जवान केटा र केटी जाने ठाउँ होइन र ? मजस्तो बूढोमान्छे त्यहाँ जाँदा लाज हुँदैन ? यहाँको दुनियाँले के भन्ला ?’

‘हत्तेरी गुरु तपाईं अझै पुरानो जमानाको खाँट्टी कम्युनिस्टजस्तो हुनुहुन्छ । समय कहाँ पुगिसक्यो, खुरुक्क हिँड्नोस् !’ कथाकार कड्कियो ।

‘यस्तो ठाउँमा केटी लगाएर ग्राहकलाई ठग्छन् भन्ने सुनेको छु । होइन र ?’ कामरेड केही लच्कियो ।

‘एकपटक भित्र गएर बुझौं, चित्त नबुझे फर्किउँला, हुन्न ?’ मुसुमुसु हाँस्दै कथाकारले भन्यो ।

कथाकारको प्रस्तावपछि कामरेड सहमत भयो । उनीहरू भित्र पसे ।

रेस्टुराँभित्र निर्जन बन्दरगाहजस्तो सुनसान थियो । फ्रन्ट डेस्कमा रहेको एक्लो डेक्सटप कम्प्युटरको पर्दामा पानीको बुलबुलजस्तो इमेज तलमाथि गरिरहेको थियो । त्यसबाहेक त्यहाँ कोही थिएन । भित्रपट्टि किचन पनि आवाजविहीन थियो । यता ग्राहक बस्ने खुला भागका मेच र टेबुल रित्ता र उदास देखिन्थे । खुला भागपछि क्याबिनहरूको गुफा थियो । तीमध्ये एउटा क्याबिनको हरियो पर्दा केही हल्लिएको जस्तोबाहेक अरू चालचुल थिएन ।

उनीहरू एउटा कुनामा बसे र टेबुलमाथि राखिएको मेनु पल्टाउन थाले ।

मेनु हेरेपछि कामरेड पुष्पलाल आत्तिदै उठ्यो र भन्यो, ‘कथाकार शिष्य, तिमी पनि उठिहाल, अब यहाँ एकनिमेष पनि नबसौं ∕ केही भन्न सकिन्न, यहाँ हाम्रो ज्यान कति बेला जाने हो !’

‘किन र गुरु ?’

‘मेनु पढेनौ ? हरेक सामानको दाम एक रुपैयाँ रे ? एक प्लेट ममको पनि एक रुपैयाँ र एक लिटर ब्लु लेवल स्कच ह्विस्कीको पनि एक रुपैयाँ । मेनु पढ त, हरेक वस्तुको दाम एक रुपैयाँ । अब मलाई पूरापूर विश्वास भयो यो मूर्खहरूको देश हो, यो अन्धेरनगरी नै हो ।’

‘समाजवादतिर जाने भनेर सस्तो गरेको होला नि गुरुदेव !’

‘कुतर्क नगर, अहिल्यै यहाँबाट हिँडिहाल !’

गुरु–चेलाबीच लामो विवाद चल्यो । कति गर्दा पनि कथाकारले कामरेड पुष्पलालको सुझाव मानेन । उसले भन्यो, ‘माफ गर्नोस गुरुदेव, अब म आफ्नो देशमा फर्केर जान सक्ने अवस्थामा छैन । कोभिड–१९ ले देशमा आर्थिक सङ्कट आयो । त्यो सङ्कटले लेखकलाई पनि थिच्यो । किताबहरू बिक्न छोडे भनेर प्रकाशकले लेखकलाई रोयल्टी दिन आनाकानी गरिरहेका छन् । यस्तो सङ्कटमा अब सस्तो खान पाइने ठाउँ छोडेर अन्त कहाँ भौंतारिनु ? ज्यान पाल्ने योभन्दा सुवर्ण अवसर अर्को के हुन्छ ? यदि गुरुलाई असजिलो भएको भए फर्किनोस्, म चाहिँ अब कतै जान्न, कोभिड–१९ पार नहुन्जेल यहीं बस्छु ।’

कामरेड पुष्पलालको केही लागेन । उसले तमसपुर छोड्नलाग्दा कथाकार चेलालाई यत्तिमात्र भन्यो, ‘तिमी यहाँका शासकजस्तै बज्रस्वाँठ रहेछौ । कुनै दिन तिम्रो ज्यानमा संकट आयो भने मलाई सम्झनू ।’

एउटा न्यायचक्र

(प्रचलित लोककहानीमा केही थपथाप र परिमार्जनसहित । -लेखक ।)

कथाकार तमसपुरको सस्तो खानाले मोटाउँदै गयो । त्यहाँ आउँदा ऊ जम्माजम्मी एकाउन्न किलो थियो । चाँडै नै ऊ सुमो पहलमानजस्तो पुक्क र थलथले भयो ।

एक दिन अपराह्न पूरा सहर निदाएको बेला एउटा चोर पर्खालले किचिएर मर्‍यो । ऊ सहरको चर्चित साहु धनपतिको घरबाट गहना र पैसा चोरेर फर्किन लाग्दा दुर्घटना भएको थियो । चोरको भाइले तत्कालै राष्ट्राध्यक्षसमक्ष उजुर हाल्यो ।

‘सरकार, चोर्नु हाम्रो पुस्तैनी पेसा र मानवअधिकार हो । मेरो दाइ यस्तै कर्तव्यपालन गर्दा धनपति साहुको पर्खालले किचेर मर्‍यो । धनपति हत्यारा हो । उसले बलियो पर्खाल बनाएको भए मेरो दाइ मर्ने थिएन । यसर्थ हाम्रो परिवारलाई क्षतिपूर्ति प्राप्त होस् र धनपतिले दण्ड पाओस् ।’

राष्ट्रपतिले भन्यो, ‘चिन्ता नगर् । मेरो राज्यमा म कदापि कसैलाई अन्याय हुन दिन्न ।’

राष्ट्रपतिले धनपतिलाई पक्रेर ल्याउने आदेश दियो । साहु धनपति थरथर काम्दै उपस्थित भयो ।

‘हेर धनपति, तैंले कमजोर पर्खाल बनाएकाले चोर मारियो । तँ हत्यारा होस् । अब तँलाई फाँसी हुन्छ,’ राष्ट्रपतिले भन्यो ।

‘म हत्यारा होइन सरकार । यो पर्खाल मेरो पिताजीको पालाको एक डकर्मीले बनाएको थियो । दण्ड त डकर्मीले पाउनुपर्छ ।’

‘ठीक भनिस् । डकर्मीलाई पक्रेर ल्याओ ∕ खासमा फाँसी दिनुपर्ने खलपात्र डकर्मी हो जसले कमजोर पर्खाल बनाएको थियो ।’

बूढो डकर्मी लगलग काम्दै राष्ट्रपतिको अगाडि उभियो र भन्यो, ‘सरकार, कमजोर पर्खाल बनेकोमा मेरो केही दोष छैन । फाँसी त त्यो वेश्याले पाउनुपर्छ जसले पर्खाल बनाइरहेको बेला मेरो मन भरंग पार्न दिउसभरि मेरो अगाडि ओहोरदोहोर गरिरही ।’

‘तेरो कुरा पनि ठीक हो । एउटा जवान मान्छे तरुनी वेश्या देखेर विचलित बन्नु स्वाभाविक हो । वास्तविक दोषी वेश्या नै हो जसले डकर्मीको मन विचलित बनाई । फाँसी उसैले पाउनुपर्छ । वेश्यालाई पक्रेर ल्याओ !’

वेश्या पनि बूढी भइसकेकी थिई । उसले लुगलुग काम्दै राष्ट्रपतिको फैसलाको प्रतिवादमा भनी, ‘सरखार, यस घटनामा मेरो केही दोष छैन । दण्ड त सुनको काम गर्ने सुनारले पाउनुपर्छ । सुनारको पसलमा मैले गहना बनाउन हालेकी थिएँ । उसले मलाई हरेक एक–एक घण्टामा गहना दिन्छु भनेर दिनभरि झुलाइरह्यो । म त्यताबाट हिँड्दा डकर्मीको मन विचलित पार्ने र ध्यान भंग गर्ने मेरो कुनै नियत थिएन माराज ।’

राष्ट्रपतिले एक छिन चिन्तनमनन गर्‍यो र भन्यो, ‘यो बूढी वेश्याले भनेको पनि ठीक हो । अब सुनार सूलीमा चढ्छ । सिपाही हो, सुनारलाई पक्रेर ल्याओ !’

सिपाहीहरूले बूढो सुनारलाई गलहत्याउँदै ल्याए । उसले पनि राष्ट्रपतिको फैसलाले आफूलाई अन्याय हुने कुरा अनुरोध गर्‍यो । उसले भन्यो, ‘सरकार म एउटा गरिब सुनार हुँ । त्यो दिनको कुरा मलाई राम्ररी सम्झना छ । यो वेश्यालाई मैले समयमै गहना बनाएर दिने वाचा गरेको थिएँ तर साहु कुबेरपति आएर मलाई धम्क्यायो— आजै मेरो गहना बना नत्र म तँलाई पापडझैं बेल्छु । सरकारलाई थाहै छ धनीहरू कति क्रूर र निर्दयी हुन्छन् । मैले उसको कुटाइबाट आफ्नो जीउ जोगाउन यो वेश्यालाई ढाँट्न परेको हो सरकार । यत्ति सानो कुरामा म कसरी हत्यारा हुन सक्छु गरिबप्रबर ?’

‘तेरो कुरामा धेरै दम छ । त्यो साहु कुबेरपति भनेको को हो ? अब दण्ड त्यसले पाउँछ,’ राष्ट्रपति कड्कियो ।

‘साहु कुबेरपति मेरो पिताजीको नाम हो सरकार,’ साहु धनपतिले भन्यो ।

‘ल वास्तविक हत्यारा त तेरो बाउ पो रहेछ । मेरो इजलासमा न्यायको एक चक्र पूरा भयो । साहु कुबेरपतिलाई पक्रेर ल्याओ !’

‘तर सरकार, उहाँ स्वर्गे भएको धेरै समय बितिसक्यो,’ धनपतिले भन्यो ।

‘त्यसो भए उसको ठाउँमा तँ दण्डित हुन्छस् । तँ आफ्नो अपराधी पिताको धन–सम्पत्ति, पाप–पुण्य, असल–खराब सबै कुराको उत्तराधिकारी होस् । अब यो नै अन्तिम निर्णय हो ।’

फाँसीको फन्दा तयार भयो । साहु धनपतिलाई फाँसीमा झुन्याउन लाग्दा धेरै अगाडिदेखि राष्ट्रपतिको हरेक आदेशमा मुन्टो हल्लाइरहेको प्रधानमन्त्रीको मनमा एउटा नयाँ विचार प्रस्फुटन भयो, ‘यो साहु निकै दुब्लो छ । जम्माजम्मी पचास किलो पनि छैन । चिनी रोगले खाइसकेको यो नरकङ्काललाई फाँसीमा चढाउँदा यो महान् देशलाई कत्ति पो लाभ होला र ?’

उसले बिस्तारै राष्ट्रपतिको कानमा यो कुरा जाहेर गर्‍यो । प्रधानमन्त्रीको कुराले देशभक्त राष्ट्रपतिको टाउको घुम्यो । उसले एक छिन विचार गरेपछि भन्यो, ‘हो त तिमीले ठीक भन्यौ प्रधानमन्त्री, यस्तो लिखुरेलाई मारेर हाम्रो महान् देशलाई के फाइदा ? के हाम्रो साम्राज्यमा कुनै मोटोघाटो मानिस छैन ?’

‘राज्यशक्ति लागेर खोजेपछि पाइहालिन्छ नि सरकार,’ प्रधानमन्त्रीले भन्यो ।

‘ल ल छिटो खोज्न पठाऊ !’

राज्यका सिपाहीहरू मोटो मानिसको खोजीमा सहरको कुनाकुनामा पुगे । अन्त्यमा उही श्रीमान् कथाकारश्री फेला पर्‍यो जो सस्तो भोजनालयमा एक रुपैयाँको भरपेट भोजन खाएर डकार्दै थियो ।

उसलाई चालु इजलासमा उभ्याइयो ।

‘म निर्दोष छु । मेरो केही अपराध छैन,’ कथाकार चिच्यायो । तर, राष्ट्रपतिले उसको आर्तनाद सुन्नै चाहेन ।

‘यो मुद्दामा हाम्रो धेरै बुद्धि र समय खर्च भइसक्यो । अब कुनै हालतमा यसमा पुनरावलोकन हुँदैन,’ राष्ट्रपतिले भन्यो ।

सत्ताको भागबन्डा

जब कथाकारको घाँटीमा फाँसीको डोरी छिराइयो, बिजुली चम्के जस्तै गतिमा कामरेड पुष्पलाल त्यहाँ आइपुग्यो र ठूलो स्वरमा चिच्याउँदै भन्यो, ‘हे बुद्धिमान् सम्माननीय महोदय ∕ मेरो एउटा प्रश्नको उत्तर दिएर मात्र यो फैसला कार्यान्वयन गरिबक्सियोस् !’

‘तिमी को हौ ? के हो तिम्रो प्रश्न ?’

‘म सामान्य भविष्यद्रष्टा हुँ । मलाई पुष्पलाल भन्छन् । मेरो प्रश्न छ— गुरु ठूलो कि चेला ठूलो ?’

‘यो त सामान्य प्रश्न हो । सबैलाई थाहा छ नि, चेलाभन्दा गुरु धेरै ठूलो हो ।’

‘सरकार, त्यसो भए यो फाँसीमा चढ्न लागेको मानिस मेरो चेला हो । म यसको गुरु भएकाले योभन्दा पहिले मलाई सूलीमा चढाइयोस् !’ कामरेड पुष्पलालले भन्यो ।

उसको कुराले राष्ट्रपति छक्क पर्‍यो । प्रधानमन्त्रीले पनि उस्तै कौतुकमय मुद्रामा पुष्पलाललाई हेर्‍यो ।

‘हामीले यसलाई फाँसी दिने फैसला गरिसक्यौं जो तिम्रो शिष्य परेछ । अब फेरि अकार्थमा तिमीलाई चाहिँ किन कालले कुत्कुताएको नि ? आफ्नो चेलोभन्दा अगाडि तिमी फाँसीमा चढ्नुपर्ने कारणचाहिँ के नि ?’ राष्ट्रपतिले सोध्यो ।

‘किनकि महाराज आज यो मुहूर्तमा जो पहिले फाँसीमा चढ्छ त्यो अर्को जन्ममा यो देशको राष्ट्रपति बन्नेछ र जो त्यसपछि फाँसीमा चढ्छ त्यो प्रधानमन्त्री बन्नेछ । अब सरकार नै भनिबक्सियोस्, जानाजान म आफू प्रधानमन्त्री बनेर आफ्नै चेलोलाई कसरी राष्ट्रपति बन्ने अवसर दिनु ?’

कामरेड पुष्पलालको कुराले राष्ट्रपति र प्रधानमन्त्री दुवै अलमलिए । दुवैले सोचे- सत्ता भनेको सत्ता नै हो । जानाजान अर्को जन्मको लागि यस्ता भुसडीहरूलाई हाम्रो राज्यसत्ता किन बुझाउँने ?

त्यसपछि राष्ट्रपतिले भन्यो, ‘हामी हाम्रो संविधान र राजकीय सत्ता प्रयोग गर्दै योभन्दा अगाडि जे–जस्तो फैसला भएको थियो त्यसलाई बदर गर्दछौं । नयाँ फैसलाअनुसार म पहिले फाँसीमा चढ्छु र त्यसपछि हाम्रा महान् प्रधानमन्त्रीको पालो आउँछ ।’

परम शक्तिशाली श्री ५ राष्ट्रपतिको आदेश कार्यान्वयन नहुने कुरै भएन । क्रमशः पहिले राष्ट्रपति र त्यसपछि प्रधानमन्त्री फाँसीमा चढे । यसरी श्रीमान् कथाकारश्री मृत्युको मुखबाट फर्किंयो । ऊ पसिनाले लथपथ भिजेको थियो ।

यसपछि कामरेड पुष्पलालले शिष्यलाई व्यङ्ग्यात्मक भावमा भन्यो, ‘मैले तिमीलाई पहिले नै भनेको थिएँ, लुब्ध नबन ∕ तर तिमीले मलाई टेरेनौ । अब त शिक्षा मिल्यो होला नि ?’

कथाकार बोल्न सकेन । उसका आँखा आँसुले डबडबाएका थिए ।

त्यसपछि गुरु पुष्पलाल र चेला कथाकारले तमसपुरलाई नमस्कार गरे र रातारात त्यहाँबाट छारतोस ठोके ।

(पुनश्चः तमसपुरको त्यो कुख्यात हत्याकाण्डमा यदि हाम्रो श्रीमान् कथाकारश्री नबचेको भए सायद यो प्रबन्ध- पाठको पुनर्उत्पादन सम्भव हुने थिए । - लेखक ।)

प्रकाशित : भाद्र २०, २०७७ ११:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×