कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

राष्ट्रकविको भर्चुअल सम्झना

सुशीला तामा‌ङ

काठमाडौँ — राष्ट्रकवि माधवप्रसाद घिमिरेको १३ औं दिनको पुण्यतिथिका अवसरमा नेपाली साहित्यका स्रष्टाहरुले घिमिरेलाई स्मरण गर्दै भर्चुअल माध्यममा नै श्रद्धासुमन अर्पण गरेका छन् ।

राष्ट्रकविको भर्चुअल सम्झना

शैली थिएटर र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले संयुक्त रूपमा गर्दै आएको ‘शैली संवाद’ अन्तर्गत आइतबारको संस्करणमा स्रष्टाहरु समालोचक गोविन्दराज भट्टराई, आख्यानकार कृष्ण धरावासी, गीतकार तथा कवि नवराज लम्साल, कवि टीका आत्रेय, सुदेश सत्याललगायतले भर्चुअल रूपमा नै नेपाली साहित्यमा घिमिरेको योगदान र लेखनको चर्चा गरे । प्रस्तोताका रूपमा कार्यक्रमलाई स्रष्टा महेश पौड्यालले अगाडि बढाएका थिए ।

नेपाली साहित्यमा घिमिरेलाई आफ्नो लेखनमा उत्प्रेरणा दिने आदर्श व्यक्तित्वका रूपमा लिएको बताउँदै समालोचक भट्टराईले उनलाई लोक लय, जीवनवादी दृष्टिकोण, कवितात्मक भाका, दर्शन, राष्ट्रिय तथा पूर्वीय चिन्तन र बालसाहित्यका स्तम्भका रूपमा स्मरण गरे ।

‘राष्ट्रकविको रचनामा सरल शब्दमा देश, जीवनदर्शन र शोक भाका छन्,’ उनले भने, ‘जसले छन्दमा पनि उस्तै मिठास, सरलता र नेपालीत्व सिकाए ।’ भट्टराईले घिमिरेलाई नै नेपाली साहित्य लेखनमा छन्दको पुनर्जागरण गरी कैयौं साहित्यकार जन्माएको श्रेय दिए । त्यस्तै आख्यानकार धरावासीले सय वर्षदेखि बाँचेको समयलाई अहिलेको पुस्तालाई समेत मान्य हुने गरी लेखनमा विचार प्रस्तुत गर्ने घिमिरेलाई साहित्यका एक युगका रूपमा सम्झे । उनले भने, ‘उहाँ त्यो युगदेखि यो युगसम्म बगेको मानिस हो । जहाँ विगतमा टेकेर भविष्यको चिन्तन छ ।’

जीवनमा माया अभिव्यक्त गर्ने अनेक माध्यम र स्थान हुन्छन् । तिनै शाश्वत प्रेमका कुरा राष्ट्रकवि घिमिरेको लेखनमा भएको गीतकार तथा कवि लम्सालले दाबी गरे । उनले घिमिरेलाई काव्यमा मानवता र विश्व चिन्तन, नेपाल हुनुको बल र चेतना बोकेका स्रष्टा मात्र नभएर गीतमा छन्द, लय, अनुशासन, लेखनको सीमा, चेतना, शब्दमा ग्रामीण बिम्ब बोकेका गीतकार गुरुका रूपमा सम्झना गरे । घिमिरेका गीत तथा बाल कवितामा हुने लयको विविधता, मिठास, बालमनोविज्ञानलाई उनले उच्च कोटिमा राखेको बताए । कार्यक्रममा कवि सत्यालले घिमिरेलाई स्मरण गर्दै उनका छन्द कविताहरु ‘नवयुवक’ र ‘कलमवीर’ वाचन गरेर सुनाए भने कवि आत्रेयले शोककाव्य ‘गौरी’ मा समावेश कविता वाचन गरेर सुनाएकी थिइन् ।

मालती मंगले गीतिनाटक, किन्नर–किन्नरी गीतिसंग्रह जस्ता रचनाका स्रष्टा तथा सर्जक राष्ट्रकवि घिमिरेको निधन यही भदौ २ गते भएको हो ।

प्रकाशित : भाद्र १४, २०७७ २१:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?