१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

रेडियो यात्रामा लोकल रक्सी, राजाको लाइभ र नक्कली सर्टिफिकेट !

मलाई बोल्न सुरु गर भने । सोचेँ राजा मूलगेटमा आइपुगे । सुरु गरेँ तर पाँच मिनेट, दस मिनेट, बीस मिनेट, तीस, चालीस.. अहँ राजा आएकै होइन । राजा गेटमा नआउँदै मलाई किन बोल्न भनियो थाहा छैन ।
कतिपय मान्छे धुमधडाका गरेर आउँछन् मिडियामा र छोटो समयमै हराउँछन् । व्यक्ति चर्चित भएर पनि प्रभाव दिगो नरहनुको कारण संवेदनाको क्षयीकरण हो ।
नवराज लम्साल

जीवनमा मैले मेरै लागि भनेर किनेको पहिलो सामान हो – रेडियो । आजसम्म सबभन्दा धेरै चिज केही किनेको छु भने त्यो पनि रेडियो नै हो । सानैदखि रेडियोप्रति निकै ठूलो लगाब थियो र आज पनि छ । हजुरआमालाई काशी दर्शन गराएर फर्कँदा बाले त्यतैबाट ल्याउनु भएको रेडियोले घरमा हरदिन दशैँ ल्याएजस्तो हुन्थ्यो ।

रेडियो यात्रामा लोकल रक्सी, राजाको लाइभ र नक्कली सर्टिफिकेट !

त्यतिबेलाका सबै कार्यक्रम र समाचारवाचकहरू त सम्झन्नँ तर ध्वनितरङ्गले मेरो हृदयमा दिएको कम्पन र झङ्कृत गरेको कोमल मिठास आज पनि उत्तिकै छ ।

रेडियोमा पहिलो दिन

‘मिडियम वेभ ५७६ किलोहर्जमा यो रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्र सुुर्खेत हो । अब हामी सुनाउँछौँ भाषाभाषीका गीतहरू । सबैभन्दा पहिले थारु भाषाको गीत । लालबहादुर चौधरी र साथीहरूको स्वर हो यो । सङ्कलन लालबहादुर चौधरीको ।’ २०५१ वैशाख २१ गते रेडियो नेपालको सुर्खेत स्टुडियोबाट बोलेको यो मेरो पहिलो उद्घोषण थियो ।

थर्थर काँपेजस्तो स्वर, रातोरातो भएजस्तो अनुहार, सुकेसुकेजस्तो ओठ तर संसारै जितेको आनन्द ! बोलेरै यति आनन्द त द रेयुकाई नेपालले २०४८ सालमा आयोजना गरेको राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगितामा प्रथम हुँदा पनि लागेको थिएन, जुन प्रतियोगितामा नेपाल प्रथम भएबापत फ्रान्स जाने अवसर प्राप्त भएको थियो ।

सुर्खेत बसाइ

केही उत्साह, केही रहर र केही जिम्मेवारीबोध ! भूगोल नयाँ, साथीभाइ नयाँ, सरसंगत नयाँ र पेसा आफैँमा नयाँ । मेरो पहिलो हाकिम वसन्तकेशर पण्डित क्षेत्री । आवश्यकताभन्दा बढी कडा तर केही गर्न खोज्दा उनले कहिल्यै रोकेनन् । कार्यक्रम उत्पादनमा उनी आफैँ पनि संलग्न हुन्थे । जङ्गलजङ्गल पुगेर राउटेसँगको अन्तर्वार्ता, थारु, राजी, वादी, मगरआदि समुदायको कला, कौशल, संस्कृति, परम्परा, जीवनशैली र राज्यको मूलप्रवाहमा तिनको उपस्थिति ! मेरो छनौटमा कार्यक्रमका विषय यस्ता हुन्थे । आज सम्झँदा लाग्छ, हाम्रो परिचय, चिनारी, गाउँघरआदि नाम राखेर बनाइएका ती कार्यक्रमहरूमा समेत जातीय संस्कृति र त्यसबाट उठेको सुगन्ध मिसिएजस्तो । आजजस्तो समावेशी सोच वा आग्रहले होइन, संस्कृतिप्रेम र विषयको विविधताले छोएर ! सुर्खेत बसाइमा मैले गरेको त्यो अभ्यास र त्यसको सप्रेम फैलावटबाट यति धेरै सिकैँ कि त्यही सिकाइ मेरो दोस्रो महाकाव्य 'धरा' को जग हो कि जस्तो लाग्छ ।

सुर्खेत रहँदाको अर्को विशेषता हो नाटक र स्थानीय गीत रेकर्डिङ । प्रेमदेव गिरी, गङ्गा केसी, भीमबहादुर कार्कीजस्ता अब्बल स्रष्टाहरूको साथ थियो रेडियो नेपाललाई । मेरै उमेरका गणेश गौतम र गोविन्द कोइरालाजस्ता जुझारुहरू रेडियोकै आँगन टेकेर कलासाधना गर्न उत्सुक थिए । उनीहरू एक्लै थिएनन्, टिम थियो बलियो । टिम नै प्रयोग हुन्थ्यो गीत र नाटकका लागि । खुब रेकर्ड भए गीतहरू, नाटकहरू । रेडियो नेपालका कारण उनीहरूलाई के कति सहयोग पुग्यो जान्दिनँ तर ती कलाकारहरूका कारण रेडियोले पनि र मैले पनि फैलने व्यापक आकाश पाएको सत्य हो ।

काम गरेर अघाउन्नथेँ !

अरू साथीहरू जागिर खोज्दै त्यहाँ पुगेका थिए सायद् तर म जीवन खोज्न पुगेको थिएँ । तिनताका कहिलेकाहीँ त यो देश म र मजस्ताको लागि होइन कि जस्तो भान हुन्थ्यो । सँगै पढ्दा एसएलसी फेल भएको साथी कुनै अफिसमा अधिकृत भएको भेटेपछि आफ्नै सर्टिफिकेट डढाऊँजस्तो लाग्थ्यो । सीमापारि दुईचार हजार खर्चेपछि पढ्न नपर्नेहरू बिगबिगी थिए र छन् पनि ।

माइक्रोफोनको अगाडि उभिने रहर औधी थियो । एउटा प्रतिष्ठित विद्यालयको शिक्षण पेसा छोडेर त्योभन्दा निकै कम पारिश्रमिक पाउने गरी सुर्खेत पुगेको थिएँ । सुकिलो जीवनको पहिलो सर्त आत्मविश्वास हो । उठाउने पनि आत्मविश्वासले र धसाउने पनि आत्मविश्वासले । मुक्ति वा मोक्ष त के हो जान्दिनँ तर सानासाना कुरामा जेलिएपछि जिन्दगी मकैबारीको मस्याङ हुनेरहेछ । मस्याङलाई के थाहा मुक्तिको मूल बाटो । माइक अन गरेर बोल्दाको सुख वा श्रोताको दैलोमा पुगेर अन्तर्वार्ता गर्दाको आनन्द ! शब्दमा भन्न सक्तिनँ । मेरो हकमा यही हो मेरो मुक्ति, यस्तो पनि लाग्थ्यो ।

सिकार खोज्दै जङ्गल चाहर्ने राउटे देख्दा होस् वा देउती बज्यै मन्दिरका पूजारी राजीहरूका कथा हुन्, यी सबैसँग जोडिँदा संवेदना मिसाएर जोड्थेँ । औपचारिकताले सोच्दिनथेँ । मेरो हृदयले छान्थ्यो विषय र छातीले गथ्र्यो उद्घोषण । राम्रो काम गर्ने, धेरै गर्ने, इमानदार हुने, बिस्तारै काठमाडौं फर्कने र नयाँ र सशक्त केन्द्रीय जिन्दगी सुरू गर्ने । यही सपना हुन्थ्यो मसँग हरदिन, हरपल । क्वाटरमा बस्थेँ । सामग्री खोज्ने, कार्यक्रम उत्पादन गर्ने, प्रसारण गर्ने, पढ्ने, केही लेख्ने र जति सकिन्छ छिटो राजधानी फर्कने यत्ति थियो ध्याउन्न । खुब हराउँथेँ काममा । यसरी हराउनुमै आफूलाई खोज्नुथियो ।

रक्सीको स्वाद

एक दिन मेरा मित्र पुष्करराज गौतम र म थारु बस्तीमा पुग्दा साँझ परेको थियो । जापानी कम्पनीको ठूलो सोनी रेकर्ड अगाडि राखेर अन्तर्वार्ता गर्दै गर्दा एक जना बूढीआमाले लोकल रक्सी र कुखुराको अन्डा अगाडि राखेर नमस्कार गर्नुभयो । हामी दुई जनाले मुखामुख ग¥यौँ । नजिकैका बूढाले भने यो सगुन हो, हजुर ! खानुस् नत्र त देउता रिसाउँछन् । छेउका अर्का तन्नेरीले थपे — नखाई जानुभयो भने देउता रिसाउँछन् र विपत्ति पर्छ भन्ने विश्वास छ । जति हुन्छ, खाइदिनुस् । थोरै चाखेँँ । मेरो मुखमा रक्सी परेको त्यो पहिलो दिन थियो । त्यो भावुकतै होला सही तर आज लाग्छ त्यो मेरो जिम्मेवारीबोध थियो कि !

त्यो अन्तर्वार्ता तिनका लागि थिएन, मेरै लागि थियो । म रेडियोकर्मी बन्न खोज्दै थिएँ, म ती आवाज सुनाएर म हुन खोजिरहेको थिएँ ।

म मेरो हृदय छामेर श्रोताको संवेदना अनुभूत गर्छु । हो, आज पनि केही बोल्नुअघि मैले बोलेको कुरा मेरा श्रोतालाई काम लाग्छ कि लाग्दैन भनेर तीन पटक सोच्छु ।

एउटा मीठो जोखिम

२०५३ को सुरुवाततिर काठमाडौं आएँ । त्यसैबेला मेरो जीवनलाई मोड दिने केही घटनाहरू भएका छन् । संसद्को बर्खे अधिवेशनमा तत्कालीन राजा वीरेन्द्रले सम्बोधन गर्ने कार्यक्रम थियो । त्यसको प्रत्यक्ष प्रसारणका लागि ध्रुव थापा र तीर्थ भण्डारी दाइहरू जाने कार्यक्रम रहेछ । दुवै जना राति अकस्मात् बिरामी परेछन् । दुई जना बिरामी परेको दुवै जनालाई थाहा भएन । आउलान् आउलान् भन्दाभन्दै दुवै जना दाइहरू आएनन् । तत्कालको विकल्पमा मेरो नाम आयो । मैले हुन्छ भनेँ । प्रतिनिधिसभा भवनबाहिर ओबी भ्यानसहित रेडियोको प्राविधिक टिम तयार थियो । राजा सिंहदरबार गेटमा आइपुगेपछि लाइभ सुरु गर्ने र संसद् छिरेपछि भित्रैको भाषण प्रसारण गर्ने तय भएको थियो ।

मलाई बोल्न सुरु गर भने । सोचेँ राजा मूलगेटमा आइपुगे । सुरु गरेँ तर पाँच मिनेट, दस मिनेट, बीस मिनेट, तीस, चालीस.. अहँ राजा आएकै होइन । राजा गेटमा नआउँदै मलाई किन बोल्न भनियो थाहा छैन । करिब ४८ मिनेटपछि राजा आए । संसद् राजालाई पर्खिरहेको छ । देश रेडियो नेपाल सुनिरहेको छ । त्यसबेला राष्ट्रिय रेडियोबाट बिनाइभेन्ट संसद् गेटमा उभिएर लाइभ बोल्नुको जोखिम जो कोहीले अनुभव गर्न सक्छ तर जो जोखिम मैले मैलाई देखाउने मीठो अवसर बन्यो । २०१५ सालको पहिलो संसद्, २०४६ पछिको संसदीय अभ्यास, राजाको घोषणामार्फत आउने सरकारको नीति तथा कार्यक्रम, बेलायती संसदीय परम्परादेखि प्रतिनिधिसभा भवनको कलाकौशल, सिंहदरबारको सौन्दर्य, रेडियो नेपालको महत्वसम्म बोल्न केही बाँकी रहेन । जाने जति सबै बोलेँ हुँला त्यसदिन ।

त्यो घटना दूरगामी रह्यो । एउटा प्रसारकका लागि परिचय मूल कुरो हो । मलाई लाग्छ, म त्यसै दिनदेखि प्रसारकका रूपमा उभिएँ । त्यसपछि संसद भवन, टुँडिखेल, हलेसी, सोलु, चतराधामआदि ठाउँहरूबाट हुने लाइभहरूमा धेरथोर जोडिँदै गएँ, सिक्दै पनि गएँ... र सम्हालिँदै पनि गएँ ।

बोलीको सिर्जनात्मक प्रभाव

तनहुँका मुक्तिनाथ आचार्यसँगको अन्तर्वार्ता प्रसारण भइरहेको थियो । त्यसै बेला चूडामणि गौतमले फोन गर्नुभयो र भन्नुभयो - यी आचार्यसँग मलाई भेटाइदिनुस् न । मुक्तिनाथ भानुभक्त आचार्य वंशका सन्तान थिए । उनले जीवनको बीस वर्ष लगाएर ‘विवेक चूडामणि’ नामक ग्रन्थको नेपाली अनुवाद गरेका थिए र प्रकाशक खोजिरहेका थिए ।

उनीहरू दुई जनाको भेट भयो र पुस्तक प्रकाशित भयो । विमोचनको दिन राष्ट्रकवि माधव घिमिरेलाई साक्षी राखेर आचार्यले भनेका थिए- ‘अब म मरे पनि सिधै स्वर्ग जान्छु । मनमा यो गर्न पाइनँ, त्यो गर्न पाइनँ भन्ने चिन्ता नलिइकन प्रसन्न चित्तले मरेपछि सिधै स्वर्ग गइन्छ ।’ मृत्युमा पनि चिन्ता नहुने त्यो खुसी एउटा अन्तर्वार्ताले दिलाएको थियो । ‘विवेक चूडामणि’ आद्यशङ्काराचार्यद्वारा लिखित अद्वैतवादी दर्शनको उच्च ग्रन्थ मानिन्छ । त्यसपछि यस्ता थुप्रै घटनाहरु छन् सम्झनामा ।

बोल्नु र बोलिनुको फरक

यान्त्रिकता र अनभूति फरक कुरा हुन् । आफैँ आफ्नो अनुभूतिको तहमा नपुगी अर्काको मनमा पुग्न सकिन्न । कहिलेकाहीँ विषय र विषय स्वार्थले सञ्चालक वा प्रस्तोतालाई मारिरहेको हुन्छ । पानी भर्नुअघि गाग्री रित्तो हुनु जरुरी छ । कतैकतै देख्छु, आफू पहिल्यै भरिएर केही थापेजस्तो । त्यसैले कतिपय मान्छे धुमधडाका गरेर आउँछन् मिडियामा र छोटो समयमै हराउँछन् । व्यक्ति चर्चित भएर पनि प्रभाव दिगो नरहनुको कारण संवेदनाको क्षयीकरण हो ।

चोरलाई पुलिसले हकारेझैँ अतिथिलाई हकार्ने शैली, एक मिनेट अतिथि बोल्ने आफू पाँच मिनेट बोल्ने शैली, सकेसम्म उत्तर पनि आफैँ दिऊँझैँ गर्ने शैली, कुनै मुद्दालाई जबर्जस्ती स्थापित गराउने प्रयोजनका लागि प्रायोजित हुने शैली, एउटै कार्यक्रममा सुरुमा आफैँले बोलेको कुरा अन्तिममा आफैँले काट्दा पनि पत्ता नपाउने शैली, कार्यक्रमको सामग्री र विज्ञापनको समग्रीबीचको भेद नछुट्टिने शैलीआदि यस्ता केही सूचकहरू हुनसक्छन् जसले मिडियाको जागिर र मिडियाकर्म छुट्टिन्छ । प्रसारक दिगो हुने र नहुने यात्राको दोबाटो पनि यही हो ।

तीन जनाबाट सिकेको तीन कुरा !

मलाई मन पर्ने धेरै प्रसारकहरू थिए र छन् । तीमध्ये दाहाल यज्ञनिधिको दु्रतगतिमा धाराप्रवाह बोल्ने कला, पाण्डव सुनुवारको संस्कृति र भूगोलको अध्ययन अनिवार्य छ भन्ने सत्य र पुरुषोत्तम सापकोटाको आध्यात्मिक गहिराइ ! यी मलाई मन परेका पक्ष हुन् । अध्यात्म भनेको धार्मिक कुरो होइन, यो अन्तरको खोजी हो । आफूले आफैँलाई खोज्न नसक्नेले के दुनियाँ खोज्छ ? अन्तरहृदय खुला नभइकन यी कुराको बोध हुन्न । धेरै प्रसारक प्रसारक होइन प्रसारित विषयका अभियन्ता वा प्रचारक/प्रवक्ताजस्ता छन् । हो, त्यहीँ छ कतिपय प्रसारकहरूको ठूलो कमजोरी ।

अन्त्यमा अर्कै कुरो !

सुर्खेतबाट काठमाडौँ आएपछि जति सुखद दिनको कल्पना गरेको थिएँ, त्योभन्दा दोब्बर दुःखै त नभनूँ सङ्घर्ष पाएँ । व्यक्तिगत सम्बन्ध सबैसँग राम्रै थियो तर सबैले मलाई समान ढङ्गले खेदेका हुन्थे । किन यस्तो हुन्छ भन्ने ज्ञान हुँदैनथ्यो । म किन हर्ताकर्ता साथी, कर्मचारी सङ्घसंगठनका नेताहरू, हाकिम, उच्च व्यवस्थापन सबैको नजरमा पर्न सक्तिनँ । म आफैँ अनुत्तरित थिएँ । अवसर नपाएको होइन तर ती खड्गो टार्नका लागि चुहिएका अवसर थिए ।

संसारै निलुँला जस्तो शैलीका केही हाकिमहरुले अकस्मात् जागिर छाडे । अलि बढी चुरीफुरी गर्नेहरू दर्जनभन्दा बढीकै क्रमशः क्रमशः जागिर चट्चट् हुँदै गयो । ज–जसको जागिर गयो सबैको जागिर नक्कली सर्टिफिकेटकै आरोपमा गएको रहेछ । यति थाहा पाउन झन्डै २० वर्ष लाग्यो । अहिले आएर बल्ल बुझेँ, तित्राको मुखै वैरी रहेछ । किनेको सर्टिफिकेटको सदा विरोध गरिरहेँ, तिनको आलोचना गरिरहेँ, तिनलाई अलि बढी नै सत्तोसराप गरिरहेँ । परिणाममा म सामूपहक खेदाइमा परेँ । दिनभरि आवरणमा जो जस्को र जहाँ भए/भनिए पनि नक्कलीको नसो एकै ठाउँमा जोडिएको हुनेरहेछ ।

आज त लोकसेवाको बाटो हुँदै युवा पुस्ताका धेरै साथीहरु आएका छन् । रेडियोको स्वरुप र संरचनामा फरकपन आएको छ । एउटा सशक्त सञ्चार संस्थाका रुपमा आफूलाई स्थापित गर्ने अभ्यासमा छ रेडियो नेपाल । राष्ट्रिय दायित्व र जिम्मेवारीबोधको सीमाभित्र रहेर चौबीसै घन्टा प्रसारित भइरहेछ र नयाँ पुस्ताको सम्बन्धमा दोहोरोपन देखिन्न पनि । नयाँ पुस्ताको नयाँपनमा नयाँ रेडियो नेपाल बनाउनुछ अब ।

तर अहिले सम्झँदा झसङ्ग हुन्छु त्यति धेरैले खेद्दा पनि म यतिका वर्ष कसरी टिकिरहेँ हुँला ? तर भन्न नसकेको एउटा कुरा अझै मनमा छ — अझै पनि अख्तियारमा फाइल थन्किएका नक्कलीहरू कति जना बाँकी होलान् ? जति हुन्, हुन् यो जिम्मा त राज्यकै हो । अब मलाई नक्कलीको कुरा गर्ने फुर्सद बाँकी रहेन ।

[email protected]

प्रकाशित : भाद्र १३, २०७७ १५:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?