राष्ट्रकवि माधव घिमिरे [कविता]
आस्थाको लाखौं बत्ती बाली
त्यसैको आँसु सँगाली
त्यही आँसुले अक्षरहरू पखाली
म त
माटोको गीत लेख्छु है
गाउँछ गीत नेपाली
हामीकहाँ गाउँहरू छन्
अँध्यारोले छोपेको
तर
मसँग पनि एउटा बिहानी छ
उज्यालोले रोपेको,
म उठ्छु
सिङ्गो देश उठ्ने गरी
म जुट्छु
तीनकोटी जुट्ने गरी,
जीवन धुनको एक शताब्दीमा
अझै बैँस छ पसिना र पाखुरामा
बास्छु भालेको डाँकसँगै
मन्दिर, मस्जिद, गुम्बा र चर्चको
तुमुलध्वनि झैं टाकुरामा,
बगिरहन्छ सधैं
मेची, कोसी, महाकाली
सेती , काली र कर्णाली,
हृदयभरि बगिरहन्छ जीवनझैं
फेरि हृदय सम्हाली,
आफैलाई रेटेझैं सारङ्गीले
आफ्नै आँसुले अक्षरहरू पखाली
म त
प्रितको पनि महाप्रित लेख्छु है
म त
गीतको पनि आदिगीत लेख्छु है
गाउँछ गीत नेपाली,
आमा ! म शिखा हुँ
मलाई हिमालको गर्भमा
बादलको बासनाले छोपिदेउन,
आमा ! म अभिलाषा हुँ
मलाई यही माटोमा
मीठा सपनाहरूसँगै रोपिदेउन ।
प्रकाशित : भाद्र १३, २०७७ १४:१४