तिम्रो ढोका अघिल्तिर
कोही अलमलिएको हुनसक्छ अघिल्तिर
एकपल्ट ढोका खोलेर त हेर !
ढोका खोल्यौ भने देख्नेछौ–
तिनका छाला घामले डढेर गहुँगोरो भएका हुनसक्छन्
अझ कसैका छालाको रंग त निक्खर कालो पनि हुनसक्छ
तिनको छालाको रंग तिम्रो छालाको रंगसित दुरुस्त नमिल्न सक्छ
कसैका आँखा चिम्सा होलान्
कसैका ओठ भद्दा असुहाउँदिला ठूला पनि होलान्
तिनको अनुहारको बनोट तिम्रोसित नमिल्न सक्छ
तर नभुल्नू तिमीले त्यो मान्छेकै रंग हो
नभुल्नू तिमीले त्यो मान्छेकै बनोट हो
अलि गहिरिएर एकछिन हेर्यौ भने पक्कै देख्नेछौ तिनको अनुहारमा
तिम्रो आफ्नै अुनुहारको छाया
हुनसक्छ कसैका आँखामा भयको आँसु
कसैको आँखामा खुसीको आँसु पनि हुनसक्छ
जस्तो होस् आँसु झर्ने बाटो त सबैको उही गाला नै हो
विचरा आँखालाई के थाहा आँसुको रंग कस्तो हुन्छ
विचरा गालालाई के थाहा कस्तो आँसु बगिरहेछ
अलि नियालेर हेर्यौ गालामा लागेको त्यो आँसुको दाग
तिमी प्रस्ट हुनेछौ त्यो मान्छेकै आँसु हो
आँसुको रंग संसारमा एउटै हुन्छ
चाहे त्यो दुःखमा बगोस् या सुखमा ।
तिनको सुटकेसबाट आउन सक्छ अनौठो गन्ध
त्यो पसिनाको पनि हुन सक्छ
त्यो मसलाको पनि हुन सक्छ
तिनले क्यैगरी ढकढकाए भने तिम्रो ढोका
गहिरिएर हेर तिमीले पक्कै पत्ता लाउनेछौ
लामो यात्राको थकानमा खानाको साटो सम्झनामात्रै खाएको भोको मान्छे कस्तो हुन्छ ?
(जिब्रोले फरक स्वाद कहाँ यति छिट्टै स्विकार्छ र ?)
कलेटी परेका ओठहरु थुकले भिजाएर
उस्तै परे बोलिदिन सक्छन् उनीहरु आफ्नै भाषा
अथवा डरै डरमा बोले भने तिम्रो भाषा
तिमीलाई अनौठो लाग्नसक्छ तिनको जिब्रोको लय
र तिमीलाई यो पनि लाग्न सक्छ
किन सही कोणमा बटारिएन र निस्किएन तिनले बोल्दा तिम्रैजस्तो लयात्मक ध्वनि
नबुझेर तिनको ध्वनि
पत्तै नपाइ चाउरिन सक्छ तिम्रो निधारको छाला
उचालिन सक्छ तिम्रो कुम
र चुपचाप रहन सक्छौ तिमी ढोका अघि
गहिरिएर सुन्यौ भने
तिनको अस्पष्ट, अमिल्दो र अप्ठेरो लाग्दो गरी फट्केको जिब्रोको ध्वनिमा
पाउनेछौ तिमीले हार्दिकता र स्नेह
अझ त्यो भन्दा पनि गहिरिएर सोच्यौ भने
सम्झिन सक्छौ वर्षौंअघि तिमीले भुलेको तिम्रो पूर्खाको भाषा ।
तिनीहरु आएका हुनसक्छन् दूरदूरबाट
तिमीलाई त्यो अर्कै ग्रह पनि लाग्न सक्छ
तिनले ढाकेका हुनसक्छन् आफ्नो अनुहार, टाउको वा पैताला
पहिरिएका हुनसक्छन् तिमीले कहिल्यै नदेखेको पहिरन
किनभने तिनलाई त्यही आफ्नोपन प्यारो छ, जस्तो तिमीलाई छ ।
नानीहरु सुतेका हुनसक्छन् तिनको काँधमा
वृद्धहरु थाकेर लखतरान हुन सक्छन्
तिर्खाएका वा भोकाएका हुनसक्छन्
उनीहरुलाई थाहा नहुन सक्छ
कसरी बजाउने ढोकाको घन्टी
कसरी खोल्ने ढोका
कसरी गर्ने अभिभावदन
कसरी सोध्ने सन्चोविसन्चो
किनभने उनीहरु शून्यमा हुनसक्छन्
उनीहरुले पल्टाउनै बाँकी छ
नयाँ जीवनको नयाँ अध्यायको पहिलो पाना
तिमीलाई डिस्टर्ब लाग्यो भने पनि
एकछिन हातको पुस्तक पन्छाएर
एकछिन मोबाइलको स्क्रिनबाट आँखा हटाएर
एकछिन विरालोको खेलकुद बन्द गरेर
एकछिन सोहोर्दै गरेको हिउँ नफ्याँकेर
एकछिन इयरफोनको ठेडी झिकेर
गहिरिएर हेर तिनको अनुहार
पक्कै तिमीले देख्नेछौ त्यहाँ
आफ्नै पूर्खाको छाया
जो आएका थिए आप्रवासी हुन सयौँ वर्ष अघि यसैगरी
हिँड्दै, थाक्दै, अडिँदै यहाँसम्म
सयौँ माइल यात्रा गरेर ।
प्रकाशित : भाद्र १३, २०७७ १४:५७