२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

उसले बेचिदिएछ  

विनाविलम्ब अपूर्वले आफूलाई बेच्ने निर्णय गर्‍यो, यो सोचेर कि अब सोच्नु पनि व्यर्थ छ । किनभने अब सोचेर बाँच्न सकिँदैन । बाँचियो भने बरु जति पनि सोच्न सकिन्छ ।
दीपक पराजुली

झरी–वर्षाको हरेक याममा ऊ एउटा ओसिलो विम्ब बनेर मेरो सम्झनामा आइपुग्छ । ऊ मेरो स्कुले मित्र, अपूर्व । झरी पर्नु र मेरो मनको फाँटमा अपूर्वको सम्झना मडारिनु– वर्षौंदेखि मेरा लागि एउटा नियमजस्तै भइसकेको छ । कुरा दुई दशकअघिको हो ।

उसले बेचिदिएछ  

झरी परेको त्यो दिन ऊ मेरो घरमा आएको थियो । उसले ओढेको छाता त्यति गतिलो थिएन । छाताले छेक्न नसकेको पानीले उसको आधाउधी ज्यान रुझाएको थियो ।

केही हप्ताअघि मात्र एसएलसीको नतिजा प्रकाशित भएको थियो । ऊ सानदार अंकका साथ पास भएको थियो । उसैका सहायताबाट मैले पनि त्यो तथाकथित ‘फलामे ढोका’लाई पार गर्न सकेको थिएँ । अरू विषयमा त म औसत नै थिएँ तर गणित भनेपछि मलाई राक्षसहरूको खेलाजस्तै लाग्थ्यो । त्यो दुरुह विधाले मलाई एसएलसीमा बिताउँछ कि झैँ लाग्थ्यो । तिनताका म सपना पनि त्यस्तै देख्थेँ– अरू सबैमा राम्रो अंक आए पनि गणितमा फेल भएको । त्यो ‘शैतानशास्त्र’ले मलाई सताउनु सताएको थियो । परीक्षाअघिका दिनहरूमा उसले मलाई गणितका गाह्रा–गाह्रा अभ्यासहरू पनि सजिलो गरी जो सिकायो, त्यसैको मद्दतबाट जेनतेन मैले त्यो पैशाचिक खड्गोलाई टार्न सकेको हुँ ।

भनिरहनुपर्ने कुरा अवश्यै हैन, परिवर्तित एसईईको चहकमहक आजको दिनमा त यस्तो छ भने हिजोका दिनमा एसएलसी पास हुनुको महिमा अपरम्पारै थियो । मैले पाएको त्यो महिमापूर्ण सफलताको सम्पूर्ण श्रेय मेरो मित्र अपूर्वलाई जान्छ । ऊ नै यसको एकलौटी हकदार हो । उसको तिरिनसक्नुको गुन सम्झेर मेरी आमाले उसलाई आफ्नै छोराझैँ माया गर्नुहुन्थ्यो । एसएलसीको नतिजाबाट खुसी भएर आमाले मसँगै उसलाई पनि एकजोर कपडा उपहार दिनुभएको थियो । त्यस दिन मेरो घर आउँदा उसले त्यही लगाएर आएको थियो । उसलाई त्यो कपडा निकै सुहाएको थियो ।

हप्तादिनअघिसम्म उसले इन्जिनियरिङ विषय लिएर पढ्ने बताउँदै आएको थियो । इन्जिनियरिङ उसको सपना थियो । त्यसैमा थियो उसको अनुराग । गुरुजन पनि गणितमा अब्बल भएकाले इन्जिनियरिङमा अपूर्वको स्वत: हक लाग्छ भन्नुहुन्थ्यो । तर त्यस दिन उसले इन्जिनियरिङ नपढ्ने बताउँदा मलाई अचम्म लाग्यो र दु:ख पनि । कारणमा उसले भनेको थियो– ‘इन्जिनियरिङ पढ्न धेरै खर्च लाग्ने रहेछ । खेती–किसानी गरेर घरव्यवहार चलाउने मेरा बाआमाले त्यति ठूलो खर्च धान्न सक्नुहुन्न ।’

‘त्यसो भए कुन विषय पढ्ने विचार गरेका छौ ?,’ मैले दुखेर सोधेको थिएँ ।

‘अरू कुनै प्राविधिक शिक्षा लिएर पढूँ कि भन्ठानेको थिएँ । हातमा सीप भए आफैंले कमाउन सकिन्छ । पैसाका लागि बाआमाको भर पर्नु पर्दैन । तर सोचेजस्तो भएन । प्राविधिक कलेजमा पढाइ हुने विषयहरूको शुल्क पनि मैले तिर्न सक्ने खालको रहेनछ । त्यही भएर मैले त सरकारी कलेजमा मानविकी लिएर पढ्ने निधो गरेँ । सबैभन्दा कम शुल्क त्यसैमा रहेछ ।’

उफ् ! कति लाचार सुनिएको थियो उसको त्यो आवाज । यो विवशता भन्ने जिनिस पनि कति गह्रुंगो हुने रहेछ, सम्भवत: पहिलोपटक थाहा पाउँदै थिएँ मैले पनि । बडेमानको ढुंगाजस्तै गह्रुंगो, जसको पिँधमा थिचिएको थियो मेरो मित्रको सपना, कहिल्यै उठ्न नसक्ने गरी । उत्सुकता र उत्साहले सदा चम्किरहने उसको मुहारमा त्यो दिन खग्रास ग्रहण लागेको देखेँ । आत्मविश्वास, प्रवीणता र प्रतिभाको पर्यायझैं लाग्ने मेरो मित्र एउटा निरीह प्राणीजस्तै देखिएको थियो त्यो दिन । अहो, कस्तो अँध्यारो दिन !

थाहा भएकै कुरा थियो, तिनताका सरकारी कलेजमा नियमित पढाइ हुँदैनथ्यो । पठनपाठनको स्तर कत्ति गतिलो थिएन । अव्यवस्था, अकर्मण्यता अनि अत्यधिक ‘राजनीति’ले सरकारी कलेजलाई खर्लप्पै निलेको थियो । त्यसैले शिक्षाको उज्यालो घाम खोज्नेहरूका लागि सरकारी कलेज एउटा अँध्यारो सुरुङजस्तै बन्न पुगेको थियो । राम्रोसँग पढ्न चाहने विद्यार्थीहरू आर्थिक अवस्थाले धानोस्–नधानोस्, महँगो शुल्क तिरेरै भए पनि निजी कलेज जान थालेका थिए ।

इच्छाएको कलेजमा गई इच्छाएको विषय पढ्ने सपनालाई अनिच्छापूर्वक मारेर आएको मेरो मित्रको विवशताको फेहरिस्त यतिमै टुंगिएन । निकै धक मानेर अनेक भूमिका बाँध्दै उसले मसँग यस्तो अनुरोध गर्‍यो– ‘हेर न, सरकारी कलेज पढ्छु त भनेँ तर भर्ना हुनलाई चाहिने पन्ध्र सय रुपैयाँ पनि छैन मेरो घरमा । हाम्रो नाता पर्ने टाढाको एक आफन्तले सापटी दिन्छु भनेर बालाई खबर पठाएका रहेछन् । उनीकहाँ जानलाई जातेआते बसभाडा दुई सय रुपैयाँजति चाहिएको थियो मलाई । तिमीसँग छ कि ? बरु म फर्केर आएपछि चुकाउँला ।’

अभावको कोर्राले उसलाई चुट्नसम्म चुटेको थियो । त्यसको घाउ कति चर्को गरी दुख्छ त्यो त भोग्नेलाई मात्रै थाहा हुन्छ । तथापि परेको बेला थोरै भए पनि गुन फर्काउने मौका मलाई मिलेको होला भन्ठानी आमासँग मागेर मैले उसलाई दुई सय रुपैयाँ दिएँ । पैसा पट्याएर गोजीमा राख्दै उसले भन्यो– ‘ती आफन्तले दुई हजार रुपैयाँजति दिउँला भनेका छन् रे, फर्केर आएपछि म दिन्छु ।’ गणितमा अब्बल साथीले हिसाबकिताब पक्का गर्दै भन्यो । तर त्यसभन्दा पनि ऊ कलेज भर्ना हुने काम सबैभन्दा महत्त्वपूर्ण थियो, जो कुनै पनि कारणले कच्चा नहोस् भन्ने कामना गरेको थिएँ मैले ।

यसरी त्यस दिन अपूर्व मबाट बिदा भई हिँड्यो । अघि नै भनेँ– उसले ओढेको छाता गतिलो थिएन । आउँदा आधा रुझेको ऊ जाँदा पूरै रुझेर गएको थियो । त्यस दिनपछि उसको र मेरो भेट कहिल्यै भएन । त्यहाँदेखि ऊ आफ्नो घरमा पनि फर्केर आएन । पाँच वर्षअघि उसको पिताको देहान्त हुँदा पनि ऊ आएको थिएन । तर झरी–वर्षाको हरेक याममा ऊ एउटा ओसिलो विम्ब बनेर मेरो सम्झनामा आई नै रह्यो ।

०००

पोहोर साल दसैँमा म अपूर्वको घर गएको थिएँ, उसकी आमालाई भेट्न । मैले अपूर्वको कुरा कोट्याएँ । ऊ केही दिनअघि घर आएको कुरा आमाले बताउनुभयो । त्यो सुनेर म आश्चर्य, उत्साह र खुसी तीनै थोकले भरिएँ । तर आमाको कुरा विस्तारमा सुनेपछि अघिसम्म भरिएको म पुन: रित्तिन पुगेँ ।

बीस वर्षपछि आफ्नो घर आएको थियो ऊ, तर आमाबाहेक अरू कसैलाई नभेटी फर्किएको रहेछ । फेरि कहिल्यै नफर्कने गरी । उस बेला कलेज भर्ना गर्ने पैसा नभएर आफन्तकहाँ सापटी माग्न गएको मान्छे यतिका वर्षसम्म किन र कहाँ हराएको रहेछ भन्ने म जान्न चाहन्थेँ ।

आमाका अनुसार मसँग बाटो–खर्च लिएर गएपछि ऊ तिनै आफन्तकहाँ पुगेको रहेछ । त्यहाँ पुगेपछि ती आफन्तले भनेछन्– ‘कलेज भर्ना हुनलाई अझै समय बाँकी छ, त्यसैले केही दिन यतै बस । मलाई काममा सघाऊ । काम पनि सिक्छौ तिमीले ।’ ती आफन्तको आफ्नै उद्यम–व्यवसाय थियो । अपूर्वले गर्दिनँ भन्ने अवस्था थिएन । यसरी ऊ त्यहाँ काम सघाउँदै बस्न थालेछ ।

कलेजमा भर्ना हुने म्याद सकिन लाग्दा आफन्तसँग उसले घर फर्किने कुरा गरेछ । तर तिनले ‘सरकारी कलेजमा विलम्ब–शुल्क तिरेपछि भर्ना जहिले गरे नि पाइन्छ । पढाइ सुरु हुने भएपछि जाउला । मेरो कामको चाप बढेको छ । केही दिन अरू बस !’ भनेछन् ।

यता पढाइ सुरु हुने बेला भयो । सुरु भएर अन्त्य पनि भयो । जाँच आयो र गयो पनि । वर्षदिन बित्यो । अर्को वर्ष पनि बित्यो । र त्यस्ता अरू केही वर्षहरू बितेर गए । तर ती आफन्तले अनेक बहाना गरी अपूर्वलाई त्यहीँ अल्झाइरहे । न कलेज भर्ना हुने पैसा दिए न घर फर्कन । खाली आफ्नो काममा लदाएर राखेछन् ।

निकै वर्ष बितेपछि भने उसले निश्चय गरेछ– अब यी आफन्तको लुते धन्दामा फसेर पार लाग्दैन । पढ्न सके पनि, नसके पनि घरमै गएर कुनै इलम गरेर खान्छु, यसरी बँधुवा भएर बस्न सकिन्न ।

ऊसँग गोजीमा जोगाइराखेको त्यही सय रुपैयाँ मात्र थियो । अनुमति मागे जान पाइँदैन भन्ने उसलाई राम्ररी थाहा थियो । त्यसैले कसैलाई थाहा नदिई एक रात ती आफन्तको घर छोडेर हिँड्यो । रातारात हिँडेर बसपार्कसम्म पुग्यो ।

बसपार्क पुगेपछि एकाएक उसको मन बदलिएछ । उसलाई घर फर्कन मन लागेनछ । घर पुगे पनि न कलेज भर्ना गर्ने पैसा थियो न त कमाउन कुनै नोकरी । बेकारमा बाआमाको भार मात्रै भएर बस्नुपर्छ । उसलाई लाग्यो कि पैसाकै कारण उसले इच्छाएको कलेजमा इच्छाएको विषय लिएर पढ्न पाएन । पैसाकै आसमा ऊ यस्तो ठाउँमा आएर फस्यो । अब पढ्नलाई उमेरले पनि पछि पारिसक्यो । बरु पैसा नै कमाउनुपर्छ । यही निश्चय गरेर उसले घर होइन, देशको राजधानी जाने बसको टिकट काट्यो ।

राजधानी पुगेपछि ऊ कामको खोजीमा निस्कियो । अनेक ठाउँमा गई कामका निम्ति अनुरोध गर्‍यो । तर कहीँ पनि गरिखाने काम मिलेन । उसले राजधानीका विभिन्न कार्यालयमा काम गर्ने कर्मचारीहरूलाई ‘यहाँ काम गर्न कसरी पाइन्छ ?’ भनेर सोध्यो । जवाफमा उनीहरूले भने– ‘कुनै उच्च ओहोदाका नाता आफन्त भएमा तिनले भनसुन गरिदिए अवश्यै पाइन्छ ।’ त्यहाँ काम गर्नेहरूले पनि उच्च ओहोदामा भएका आफ्ना बाआमा, कसैले काका–काकी, मामा–माइज्यू त कसैले दिदी–भिनाजु, फुपू–फुपाजु अनि कसैले मितबा–मितिनी आमा र सम्धी–सम्धिनी आदिको सिफारिसमा जागिर खाएका थिए । त्यस्ता कार्यालयमा जागिर खानका लागि कोही न कोही आफ्नो मान्छे चाहिन्थ्यो । अपूर्वले राजधानीका अनेक कार्यालयहरूमा गई बुझ्यो– उसका लागि भनसुन गरिदिनलाई त्यहाँ आफ्नो मान्छे भन्ने कोही थिएन ।

तर निराश नभई उसले सोच्यो– ‘श्रम गर्नका लागि मसँग हात छन् । विचार गर्नका लागि प्रशस्त अक्किल छ । तनमनको सामथ्र्य सकिएको छैन । केवल बाटो देखाइदिने मान्छे चाहिएको हो । तर पनि कोही बात छैन । बाटो देखाइदिने मान्छे नभए पनि हिँड्नका लागि त मसँग बलिया तिघ्रा छँदै छन् । हिँड्छु, जहाँसम्म यो बाटोले पुर्‍याउँछ ।’

यसरी कामको खोजीमा अपूर्वले राजधानीका चिल्ला–खस्रा अनेक बाटा नाप्दै थप केही वर्षहरू बितायो । तर उसको हिँडाइले कुनै सार्थक गन्तव्य भेट्टाउन सकेन । मनकारी दाता फेला परेको दिनबाहेक धेरै दिनसम्म ऊ भोकभोकै डुल्थ्यो । मन्दिर अनि घाटतिर बरालिँदा फेला पर्ने जोगी–मगन्तेहरू नै प्राय: उसका अन्नदाता हुन्थे । तिनैको दयाले उसको पेट भरिन्थ्यो । अन्यथा पैसा नभए शौच गर्नसमेत नपाइने सहरमा अब उसको गोजीमा जोगाएर राखेको पचास रुपैयाँ मात्र बाँकी थियो । भोकले यसैयसै मरिने छाँट देखियो ।

अन्नदाता जोगी–मगन्तेहरू उसलाई एकचोटि राजालाई भेट भनी सल्लाह दिइरहन्थे । उसले आँट गर्न सकको थिएन । अबचाहिँ यसरी व्यर्थै भोकले मर्नुभन्दा अघि देशको राजालाई भेटेर मर्न जाती होला भन्ने सोच्यो । आफ्नो भन्ने कोही नभएपछि के नै पो गर्न सकिन्थ्यो र ? जोगीहरूले पनि ‘राजा सबैका साझा’ हुन् भन्ने गर्थे । पुरानो राजा फालेर देशमा नयाँ राजा आएको पनि निकै भइसकेको थियो । यी नयाँ राजाबाट केही होला कि ? यही अन्तिम आस बोकेर अपूर्व राजदरबारतर्फ हिँड्यो ।

०००

राजदरबार पुग्दा उसले त्यहाँ अनेक मान्छेको भीड देख्यो । ऊ सरासर राजसभामा प्रवेश गर्‍यो जहाँ द्यूतक्रीडा चलिरहेको थियो । माहोल कुनै मेला–महोत्सवभन्दा कम थिएन । भारदारहरू डबलीमा बसेर जुवाको पासा हानिरहेका थिए । छेउछाउमा अरू हुक्के–बैठके–रमितेहरू जितौरी खाने लोभमा र्‍याल काढेर बसेका थिए । पासा हान्नेको भन्दा तिनीहरूकै उत्साह बढ्ता देखिन्थ्यो । रोजेको पासा पल्टिनासाथ तिनीहरू राजसभा हल्लिने गरी ‘मार्रा !’ भन्दै चिच्याउँथे । ‘मार्रा’को प्रत्येक चिच्याहटमा राजाले पनि तिघ्रा ठटाउँदै ‘बाऽस् !’ भन्दै मजा लिन्थे ।

राजालाई औपचारिक अभिवादन टकार्दै अपूर्व जुवाको खालनजिक पुग्यो । खालमा कुनै नगद–पैसाको दाउ लगाइएको थिएन । न त सुन चाँदी वा कुनै बहुमूल्य चल सम्पत्तिको । कुरो बुझ्दै जाँदा थाहा भयो कि त्यहाँ राज्यका ठूला–ठूला पद, पुरस्कार, ठेक्कापट्टा अनि मानपदवी आदिको दाउ लगाइएको रहेछ ।

जुवा खेल्दै गरेको एक भारदारले अर्कोलाई चुनौती दिँदै बोल्यो– ‘राजदूत खाने हो भने पन्जा दाउ चाहियो महाशय, सक्नुहुन्छ ल्याउन ?’ चुनौती स्विकार्दै त्यो भारदारले पनि ‘पन्जा ! पन्जा ! पन्जा !’ भनी बडो ठाँटसँग पासा फ्याँक्यो । नभन्दै पन्जा नै पल्टियो । त्यसपछि चर्को स्वरमा ‘मार्रा !’ भन्दै चिच्यायो । रमितेहरू झन् ठूलो स्वरमा चिच्याए । उता राजाले पनि ‘बाऽस् !’ भन्दै तिघ्रा ठटाए ।

एवं रीतले अर्को भारदारले पासा समाउँदै सोध्यो, ‘ल भनम् त साथी हो, अख्तियार आयुक्तका लागि कति दाउ चाहियो ?’

‘छक्का दाउ चाहियो हजुर, छक्का दाउ’ –साथीहरूले सर्वसम्मतिपूर्वक जवाफ फर्काए । त्यसपछि उसले पनि ‘छक्का ! छक्का ! छक्का !’ भन्दै पासा फ्याँक्यो । नभन्दै छक्का नै पल्टियो । पासा हान्ने भारदार उसै गरी खुसीले चिच्यायो । रमितेहरूले चर्कै गरी स्वर थपे र जुवाको मजा चाख्दै राजाले पनि उसै गरी तिघ्रा ठटाए ।

जुवाको रागले रन्किएको त्यो सभामा कोही ‘तिर्की दाउ ल्याउन पर्‍यो के हजुरले न्यायाधीश खान !’ भन्दै थिए भने कोही ‘सरकारी संस्थानको जीएमका लागि कति हान्न पर्‍यो ?’ भनी सोध्दै थिए । जवाफमा ‘मात्र दुक्का ल्याए भो हजुर । एकदम सस्तो दाउ । हा.हा..हा...’ भन्दै अट्टहास गर्दै थिए । द्यूतसभाको माहोल झन्झन् रंगिलो हुँदै गएको थियो । वस्तुस्थितिलाई एक चरण नियालेपछि अपूर्वले पनि एक दाउ च्याँखे हान्न मन गर्‍यो । तर कसरी ?

खोज्दै र बुझ्दै जाँदा उसले जुवाको खालछेउ ढड्डा लिएर बसेको एक कर्मचारीलाई भेट्टायो र सोध्यो– ‘महाशय, मलाई पनि एउटा सानोतिनो काम चाहिएको थियो । एक दाउ मैले पनि हान्न पाए हुन्थ्यो, कसो गर्ने होला ?’

‘राजालाई दाम चढाएर आउनुभा हो तपाईंले ?’ –कर्मचारीले सोध्यो ।

‘छैन । कति चढाउनुपर्छ र ?’

‘त्यो त माल हेरेर हुन्छ ।’

‘हेरिदिनुस् न त त्यसो भने ।’

कर्मचारीले ढड्डा पल्टाएर हेर्‍यो र भन्यो– ‘यसपालि धेरै मालहरूको दाउ लागिसक्यो । अब बाँकी भनेको केही सरकारी लगानीको बैँक, कम्पनी, प्राधिकरण र संस्थानहरूको एमडी र जीएम छन् । त्यसबाहेक औषधि अनि सर्जिकल सामान किन्ने ठेक्काको छ । अनि सवारी साधन किन्ने ठेक्का । बाटो–पुल बनाउने ठेक्का । रेलको लिक बिछ्याउने नयाँ ठेक्का छ र जहाज किन्ने ठेक्का पनि छ । तर त्यो अलि महँगो पर्छ है । यीमध्ये कुनै एउटा रोज्नुस् न तपाईं ।’

‘यिनीहरूमा सस्तो दामको कुनै छ भने हेरिदिनू न !’

‘यसमा त करोड रुपैयाँभन्दा कमका कुनै पनि छैनन् ।’

‘यति ठूलो रकम त कहाँ आँट्न सक्छु र म ? सबैभन्दा सस्तो हेरिदिनुस् न ।’

कर्मचारीले फेरि ढड्डा पल्टायो र सबैभन्दा सस्तो ‘माल’ खोज्न लाग्यो । केही बेरको प्रयासपछि उसले भन्यो– ‘ल तपाईंले खोजेजस्तै सस्तो दामको छ, मात्र तीस लाखको । यो नयाँ खुल्दै गरेको पानीजहाज विभागको जीएमका लागि हो । हुन्छ ?’

अपूर्व के बोलूँ, के बोलूँ भई एक छिन अकमकियो । अनि दोधारका बीच बोल्यो– ‘हैन हजुर, त्यो लाख–करोड कुरा नगर्नू न । मलाई त सानोतिनो जागिर भए हुन्छ ।’

‘तपाईंसँग पैसा कति छ भन्नुस् त पैला ?’ –कठघरामा उभिएको अभियुक्तलाई केरकार गरेझैँ कर्मचारीले सोध्यो ।

‘पचास रुपैयाँजति छ’ –अपूर्वले टाउको कन्याउँदै भन्यो ।

‘कति छ रे ?’

‘पचास रुपैयाँ ।’

अपूर्वको कुराले कर्मचारीको दिमाग सड्कियो । समाइराखेको ढड्डा छेउमा थन्क्याएर उसले अपूर्वको गर्धन समात्यो र घिच्याउँदै भन्यो– ‘तैँले मसँग ठट्टा गरेको ? यहीँ सिद्ध्याइदिउँm तँलाई ?’

‘ठट्टा हैन हजुर, सत्य बोलेको हुँ !’

‘ए निकाल् यसलाई यहाँबाट !’ कर्मचारीले त्यहाँ तैनाथ सिपाहीलाई आदेश दियो । आदेश तत्क्षण तामेली गर्न सिपाही आइपुग्यो र अपूर्वको गर्धन समातेर घिच्याउन थाल्यो । त्यसपछि अपूर्व राजसिंहासनतर्फ मुन्टो फर्काउन खोज्दै ठूलो स्वरमा करायो– ‘महाराज, मलाई शरणमा लिनुहोस् ! अभय–दान दिनुहोस्, महाराज ! मेरो बिन्ती सुन्नुहोस् !’ उसको करुणक्रन्दन द्यूतक्रीडाको रौनकमा तिघ्रा ठटाउँदै बसेका राजाको कानमा गई ठोक्कियो ।

राजाले स्वाभाविक रूपमा याचकतर्फ नजर फ्याँके । शरण माग्दै गरेको युवकलाई देखेर राजा दयालु अवतारमा प्रकट भए र सैनिकलाई केही संकेत गरे । सैनिकले अपूर्वलाई राजाको सामुन्ने लगेर उभ्याइदियो । अपूर्वले राजालाई बिन्ती गर्दै भन्यो– ‘महाराज, म कामको खोजी गर्दै यहाँ आइपुगेको छु । यो देशमा मैले कहीँकतै काम पाइनँ । म पनि कुनै एउटा कामको लागि दाउ लगाउन चाहन्छु । तर मसँग हजुरलाई चढाउन पुग्ने दामपैसा छैन । म के गरूँ महाराज ?’

अपूर्वको कुरा सुनेर राजा गम्भीर हुँदै भने– ‘जाबो बीस–तीस लाख रुपैयाँ पनि छैन तिमीसँग ? तिमीजस्ता रैती पनि छन् र मेरो मुलुकमा ? खै, मलाई त त्यस्तो लाग्दैन ।’ त्यसपछि राजाले आफ्नो दाहिनेतर्फ बसेको महामन्त्रीलाई सोधे– ‘ए महामन्त्री १ के भन्दै छ यो केटो ? जाबो बीसतीस लाख रुपैयाँ पनि छैन रे योसँग ! यस्ता दरिद्र मान्छे पनि छन् र मेरो माटोमा ?’

‘क्षमा होस् महाराज, यस्तो त हुन नपर्ने हो’ –महामन्त्रीले पनि अनुहारमा सकेजति अनभिज्ञता पोत्दै भन्यो ।

त्यसपछि अपूर्वले पुन: याचना गर्दै भन्यो– ‘छन् महाराज । म साक्षात् उदाहरण हुँ । मसँग पैसाको नाउँमा पचास रुपैयाँ मात्रै छ । त्यो पनि घर फर्कनलाई राखेको । काम पाउने भएँ भने म यही पचास रुपैयाँ दाउ लगाउन सक्छु । त्योभन्दा बढी केही गर्न सक्दिनँ । म सत्य बोल्दै छु महाराज । झूटा बोलेको ठहरे ज्यानकै सजाय होस् !’

त्यसपछि राजा गम खाएर बसे । उनी गम्भीर भए । गम्भीर भएरै केही कुरा सोचे पनि । र अपूर्वलाई भने– ‘दामविना कुनै पनि कामको दाउ लगाउन दिन सकिन्न । यो त मैले बाँधेको थितिविरुद्धको कुरा हुन्छ । बरु यसो गर, तिमीसँग बेच्नका लागि अरू केही कुरा छ भने भन, म किनिदिन्छु ।’

‘बेच्नका लागि त मसँग त्यस्तो ठूलो कुरा केही पनि छैन । काम गर्नका लागि हात छ । हिँड्नका लागि खुट्टा छ । बोल्नका लागि वाणी छ र मनमस्तिष्कमा केही तीतामीठा सम्झनाहरू छन् । अँ बरु मसँग गणितको ज्ञानचाहिँ प्रशस्त छ ।’

अपूर्वको कुरा सुनेपछि राजाले महामन्त्रीको अनुहारमा हेरे । राजा र महामन्त्रीबीच आँखैआँखाले कुराकानी भयो । राजाको सांकेतिक सम्मति पाएपछि महामन्त्रीले भन्यो– ‘यदि तिमी आफ्नो अक्किल, बुद्धि, विवेक, हाँसोखुसी, चिन्तन, साहसलगायत सबै प्रकारका मानवोचित संवेदनाहरू महाराजका नाउँमा बेच्न चाहन्छौ भने महाराजले तिमीलाई राम्रो मूल्य दिन सक्नुहुन्छ । के तिमी तयार छौ ?’

‘म तयार छु, महाराज ! बिल्कुल तयार छु ।’

यसरी विनाविलम्ब अपूर्वले आफूलाई बेच्ने निर्णय गर्‍यो, यो सोचेर कि अब सोच्नु पनि व्यर्थ छ । किनभने अब सोचेर बाँच्न सकिँदैन । बाँचियो भने बरु जति पनि सोच्न सकिन्छ ।

०००

आफ्ना समस्त संवेदनाहरू बेचेर आमालाई भेट्न आउँदा अपूर्वको शरीर मात्र आएको थियो । केवल यन्त्रवत् शरीर । वर्षौंदेखि हराएको छोरा घर आउँदा उसकी आमा खुसीले रुनुपर्ने हो तर अपूर्व बिल्कुल अनपेक्षित हालतमा आइपुगेको थियो । उसको अवस्था देखेर आमा कति पीडाले रुनुभयो, म यहाँ वर्णन गर्न सक्दिनँ । यद्यपि हरेक आमाको चाहना हुन्छ, आफ्ना सन्तान जेजस्तो भए पनि, जहाँ भए पनि हाँसीखुसी बाँचून् । त्यही चाहना गरेर आमाले भन्नुभयो– ‘अब फर्केर कहिले आउँछौ–आउँदैनौ थाहा छैन, जाने बेलामा आमाको मुख हेरेर एकफेर हाँसिदेऊ छोरा !’

तर अपूर्वले भन्यो– ‘म हाँस्न सक्दिनँ, आमा । मैले अघि नै भनिसकेँ, देशको राजालाई मैले सबथोक बेचिसकेको छु । हाँसो पनि बेचिसकेको छु । आँसु पनि बेचिसकेको छु ।’

यसरी आमालाई आँसुमा डुबाएर ऊ राजधानी फर्कियो । भोलि घर फर्केर आउने/नआउने कुनै टुंगो छैन । सायद आउँदैन पनि । तर, झरी–वर्षाको हरेक याममा ऊ एउटा ओसिलो विम्ब बनेर मेरो सम्झनामा भने जरुर आइपुग्छ ।

प्रकाशित : भाद्र १३, २०७७ १४:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?