१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

महामारीमा युङ, जिजेक

जिजेकको तर्क छ– वुहान केन्द्रीय अस्पतालको चिकित्सक ली वेनलियाङको सुरूको चेतावनीलाई प्रशासनले सुनेको भए सम्भवत: कोरोना भाइरसले यो महामारीको रुप लिन्थेन ।
बलराम अधिकारी

युवा अवस्थामा सिग्मन्ड फ्रोइडको ‘अ जेनेरल इन्ट्रोडक्सन टु साइकोएनालिसिस’ को हिन्दी अनुवादबाट म मनोविज्ञान र मनोविश्लेषणतिर खिचिएको हुँ । उतिबेला मलाई यौन तत्त्व नै मानव मनोजगतको नाभीय ऊर्जा हो भन्ने लागिरहन्थ्यो । अझ त्यसमा ओशोको ‘सम्भोग से समाधी की और’ ले मभित्रको भुतभुते कामनाको आगोमा हावा दिन थाल्यो ।

महामारीमा युङ, जिजेक

यी दुवैको बोधको व्यापकता, उनीहरूको तथ्य र तर्कलाई काट्ने आधार ममा थिएन । तर, आफ्नो अनुभव र बोधको दायरा फैलिँदै गएपछि म आफूलाई यिनीहरूसँग आंशिक रूपले मात्र सहमत भएको पाउन थालेँ । मानव अचेतन केवल यौन ऊर्जाको कालीरह होइन र यसमा केवल फ्रोइडले भनेझैँ दमित मनोविकार मात्र थुप्रिएको हुँदैन भन्ने कुरा मलाई धेरै पछि कार्ल गुस्ताव युङले बुझाए । फ्रोइडबाट प्रेरित तथा दीक्षित युङ मानव अचेतनको स्वस्थ र सृजनशील पाटोतर्फ खिचिए, जसका कारण गुरु–चेलाबीच फाटो आयो ।

अन्ततः युङले विश्लेषणात्मक मनोविज्ञानको आफ्नै सम्प्रदाय खडा गरे । आफ्नो अचेतनको गर्तमा पुग्ने मेरो चाहनाले उनको ‘मोर्डन म्यान इन सर्च अव अ सोल्’ (आधुनिक मानव आत्माको खोजीमा) को यात्रा गरायो । बीसौँ शताब्दीका एक अधिक प्रभावशाली र मौलिक मनोदार्शनिक युङका सिद्धान्त र अवधारणा बुझ्न चाहनेका लागि यो पुस्तक निकै उपयोगी छ । ईश्वर अथवा अदृश्य शक्तिमाथिको विश्वासको आवश्यकता, स्वप्न, अचेतन र साहित्यबीचको अन्तरंग सम्बन्ध, जीवनको अर्थ र सान्दर्भिकताको गहिरो खोजीमा रहेकाहरूको रोजाइमा यो पुस्तक पर्न सक्छ ।

सन् १९३३ मा जर्मन भाषामा प्रथमपटक प्रकाशित र त्यही वर्ष क्यारी बाइनेसद्वारा अंग्रेजीमा अनूदित यस पुस्तकमा युङका ११ वटा लामा लेख संगृहीत छन् । समीक्षकहरूले यस पुस्तकलाई युङ्गियन चिन्तनको सर्वोत्कृष्ट दस्तावेज भनेका छन् । यसमा मनोविज्ञान, मनोविश्लेषण, रहस्यवाद, ब्रह्मवाद, पूर्वीय दर्शन, अध्यात्म, धर्म, मिथिहास, र साहित्यको सूक्ष्म एवम् जटिल संयोजनको पठन पाइन्छ । स्वप्न विश्लेषण, आधुनिक मनोउपचार, मनोउपचारको उद्देश्यजस्ता लेखहरू मनोविज्ञानको आधारभूत ज्ञान भएका पाठले मात्र छिचोल्लान् यद्यपि जीवनका चरणहरू, आद्यमानव, मनोविज्ञान र साहित्य, आधुनिक मानवको आध्यात्मिक समस्याजस्ता लेखहरू भने आमपाठकको बोधको सीमाभित्र रहन्छन् । जीवनको औचित्य के ? बाँच्नुको अर्थ कहाँ खोज्ने ? किन खोज्ने ? आफ्नो अन्त्य अवश्यम्भावी छ भन्ने जान्दाजान्दै पनि मानिस नैरन्तर्यको कामना किन गर्छ ?

कस्तो मनोवस्थामा ऊ मृत्युलाई जीवनको अन्तिम गन्तव्यका रूपमा सहर्ष स्विकार्न सक्छ ? व्यक्तिले आफ्नो जीवनको सूर्योदयदेखि, मध्याह्न, अपराह्न र सूर्यास्तसम्मको यात्रालाई कसरी बुझ्ने ? ‘जीवनका चरणहरू’ पढ्दा म यी प्रश्नहरूको जवाफ पाउँछु । मनोविज्ञान र साहित्यबीच सम्बन्ध पढेपछि फ्रोइडले भनेझैँ साहित्य सृजना केवल केटाकेटीको दिवास्वप्न र सर्जकको दमित कामवासनाको उदात्तीकरण होइन भन्ने निष्कर्षमा पुग्छु ।

युङका लागि कला मानिसमा व्यप्त जन्मजात ऊर्जा हो, जसले उसलाई आफ्नो वशमा लिन्छ र उसका माध्यमबाट प्रकट हुन्छ । सामूहिक अचेतनका प्रवर्तक युङ सर्जकलाई आफ्नै स्वतन्त्र इच्छा शक्तिबाट चल्ने एकल व्यक्तिभन्दा पनि सामूहिक मानव चेतनका रूपमा अर्थ्याउँछन् । यस्तो व्यक्ति जसले मानवजातिको अचेतन मनोजगत् र आत्मिक जीवनलाई धारण गर्छ, आकार दिन्छ र व्यक्त गर्छ । त्यसैले उसको जीवन सदा व्यक्तिगत र सामूहिक स्पेसमा विभक्त हुन्छ । त्यसैगरी उनले सृजनाको स्रोत के ? आफ्नो मनोजगत्को सीमाभित्र मात्र रहेर व्यक्त हुने ‘साइकोलोजिकल’ लेखन र आदिम चेतनालाई व्यक्त गर्ने ‘भिजनरी लेखन’ बीच के भिन्नता हुन्छ ? जस्ता प्रश्नहरूमा सूक्ष्म चिन्तन गरेका छन् ।

यो पुस्तक पढिरहँदा युङ मनोवैज्ञानिक तथा मनोविश्लेषक कम धार्मिक, आध्यात्मिक, रहस्यदर्शी, कला–चिन्तक र दार्शनिक ज्यादा लाग्छन् । उनी सम्झाउँछन्— भौतिक विकासका लागि तथ्य आवश्यक हुन्छ तर खुसी र आनन्दका लागि तथ्यभन्दा रहस्य र विश्वास ज्यादा महत्त्वपूर्ण हुन्छ । विज्ञानले मानिसको ईश्वर या भनौँ अदृश्य शक्तिमाथिको विश्वास टुक्राटुक्रा पारिदियो तर दुःखको कुरा त्यस रिक्त स्थानमा राख्ने अर्को कुनै चीज दिएन । आजका मानिसको अचेतनको त्यो स्थान रिक्त छ, जसले गर्दा ऊ आफूलाई कुनै आडभरोसा नभएको पाउँछ । त्यो रिक्त स्थान उसले वैज्ञानिक तर्क र भौतिक समृद्धिले भर्ने प्रयास गरिरहेको छ । भौतिक समृद्धिले बाहिरी आवश्यकता पूरा त गरेको छ तर आत्मिक घाउ झन् चर्काएको छ ।

अर्को महत्त्वपूर्ण कुरा, बाहिरको केओस अर्थात् कोलाहल, द्वन्द्व, हिंसा केवल मानिसको सामूहिक मनोदशाको प्रक्षेपण हो । त्यसैले व्यक्तिले आफूभित्रको ज्वारभाटालाई नबुझेसम्म उसले बाहिरको केओस बुझ्ने छैन । यसका लागि ऊ आफैँभित्र फर्कियोस्, आफ्नो मनोजगत्को निरीक्षण गरोस् । आफूभित्रको सामूहिक अचेतनसँग जोडियोस् र आफ्नो अचतेनको गर्तमा रहेको आदिम मानवलाई बुझोस्, आफूभित्रको मिथोपोएटिक तत्त्वहरूलाई जगाओस्, सृजनशील र मानसिक रूपले स्वस्थ जीवन बाँचोस् । सदा केओसमा बाँचेको म (उत्तर) आधुनिक मनुवा झन्डै शताब्दीअघि युङले दिएका यी सुझावहरूमा रुमल्लिन्छु र कोभिड महामारीले निम्त्याएको बाध्यकारी एकान्तवासलाई आफ्नो मनोजगत्को यात्रामा जाने अवसरका रूपमा लिन्छु ।

फ्रोइडबाट सुरु भई युङको बाटो हुँदै मनोविश्लेषक ज्याक लकाँबाट म अहिले स्लोभानियन मनोविश्लेषक तथा दार्शनिक स्लाभो जिजेककोमा छु । हेगेलको दर्शन र ज्याक लकाँको मनोविश्लेषण र चिन्तनका हिमायती जिजेक यस युगका एक असमान्य चिन्तकका रूपमा चिनिन्छन् । उमेरले सत्तरी कटेका यी बहुकृतिक र बहुआयामिक चिन्तकको सक्रियताले जो कोहीलाई पनि उदेकमा पार्छ ।

‘प्यानिक प्यान्डेमिक : कोभिड– नाइन्टिन सेक्स द वर्ड (महामारी : कोभिड १९ ले विश्व थर्थराउँछ) अहिलेको महामारी बुझ्नका लागि एक उपयुक्त पठन हुन सक्छ । सन् २०२० मार्चमा प्रकाशित ११४ पृष्ठको यस पुस्तकले व्याप्त महामारीलाई दार्शनिक, मनोवैज्ञानिक, राजनीतिक र पपुलर कल्चरको कोणहरूबाट बुझाउने प्रयास गरेको छ । दस छोटा अध्यायमा विभाजित यस पुस्तकमा जिजेकले कोरना भाइरसको यस महामारीले चिनियाँ शैलीको कम्युनिजम र पश्चिमी उदारवादी पुँजीवाद दुवैको विकल्प खोज्ने अवसर जुराएको तर्क गरेका छन् । यस महामारीमा कम्युनिजमले काम गर्न सक्दैन किनभने कम्युनिस्ट राज्य संयन्त्रले जनतालाई कहिल्यै विश्वास गर्दैन । जनतामाथि सदा शंका गर्छ ।

आजको कम्युनिस्ट सरकारले ‘जनतालाई विश्वास गर’ भन्ने माओको आदर्श वचनलाई रछ्यानमा गाडिसकेको छ । माओ वाणीमा देखिएको व्यापक विचलनलाई जिजेकले राम्ररी बुझेका छन्— जनतालाई सुरक्षा देऊ, हेरचाह गर, नियन्त्रण गर, माया पनि गर, तर विश्वास नगर (८) । जिजेकको तर्क के छ भने वुहान केन्द्रीय अस्पतालको चिकित्सक ली वेनलियाङको सुरुको चेतावनीलाई प्रशासनले सुनेको भए, उनलाई गलत समाचार फैलाएको आरोपमा ताडना नदिएको भए, सुरुका केसहरू नलुकाएको भए सम्भवतः कोरोना भाइरसले यो महामारीको रूप लिन्थेन । जबसम्म राज्यसंयन्त्र आफ्नो जनतालाई विश्वास गर्दैन, जबसम्म उनीहरूको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दैन, उनीहरूको आवाज सुन्दैन तबसम्म कोरोनाजस्तो महाकहर दोहोरिरहन्छ ।

अर्कातर्फ यस महामारीले विश्व पुँजीवादी व्यवस्थालाई धराशायी बनाएको छ । कोरोना भाइरसले बजार अर्थात् पुँजीवादको मुटुमा आक्रमण गरेको छ । पुजीँवादी अर्थतन्त्रमा जनता केवल वस्तु हुन्छ भने बजार जीवित र चलायमान संयन्त्र । वास्तवमा मानिसले बजार होइन बजारले मानिसलाई उपभोग गरिरहेको छ । त्यसैले यस महामारीको बीचमा प्रायजसो सबै देशका सरकारले जनता मरून् तर बजार जीवित रहोस् भन्ने अव्यक्त रणनीति अपनाएका छन् । कोरना भाइरस महामारीबाट हुन सक्ने थप विश्वव्यापी विनाश रोक्न जिजेक जनतालाई अविश्वास गर्ने कम्युनिजम र जनतालाई केवल वस्तु ठान्ने पुँजीवाद दुवैको विकल्प खोज्न सुझाउँछन् । यसका निम्ति उनले नयाँ प्रकारको कम्युनिजमको उदयको अपेक्षा गरेका छन् । यस्तो शासन व्यवस्था जुन विश्व संगठनबाट नियन्त्रित र परिचालित अर्थतन्त्रमा उभिएको हुन्छ र जसले विश्वव्यापी स्वास्थ्य हेरचाह सञ्जालको निर्माण गर्छ र स्वास्थ्य सेवालाई नाफाखोरी बजार संयन्त्रबाट मुक्त गराउँछ । जिजेकको वैकल्पिक कम्युनिजमले मार्क्सको परिकल्पनामा रहेको राज्यविहीन शाश्वत् कम्युनिजमको झझल्को दिन्छ । तर, वास्तवमा यो उनको दार्शनिक स्वैरकल्पनाभन्दा बढी केही देखिँदैन । तर, जे होस्, कोरना भाइरसले चेताएको मूल पाठ के हो भने विश्वव्यापी ऐक्यभाव, समन्वय र सहकार्यबिना अबको विश्वले कुनै पनि संकटको सामना गर्न सक्दैन ।

पुस्तक परिचयको शीर्षक छ— नछोउ मलाई । जिजेकसँग लय मिलाउँदै म थप्छु— यस भाइरसले हामी सबैलाई स्वघोषित अछुत बनाएको छ । हामी आपसी समझदारीमा एकअर्काका लागि अछुत भएका छौँ । जिजेक बोल्छन्— नछोऊ मलाई, केबल हेर मेरा आँखामा । मेरा मित्रजन, मेरा आत्मीयजन हातको स्पर्शभन्दा आँखाको संवादले एकअर्कालाई स्पर्श गरौँ । उपयुक्त दूरीमा रहेर आफ्नाजनको आँखामा हेर्दा सम्बन्धको जति गहिराइमा पुगिन्छ सम्भवतः हातको स्पर्शले त्यो गहिराइमा पुग्न पक्कै सकिँदैन । यस भौतिक दूरी र एकान्तवासले हामीलाई आफ्नाजनको उपस्थितिको महत्त्व अझ बुझाएको हुनुपर्छ ।

मेरो अनुभव— कसैलाई छोइन्छ कि भन्ने हरपलको भयमा बाँच्दाको उकुसमुकुस पनि उत्तिकै छ । जिजेकको ‘नछोऊ मलाई’ अंश पढिरहँदा मेरो मनमा एउटै प्रश्न बारम्बार उठिरहन्छ— स्वघोषित र आपसी समझदारीमा अछुत हुँदा त यस्तो उकुसमुकुस हुन्छ भने समाजले लगाइदिएको अछुतको ट्याग बोकेर युगौंदेखि एकान्तवासमा र सामाजिक, सांस्कृतिक क्वारेन्टिनमा बस्न बाध्य बनाइएकाहरूको पीडा कस्तो होला ? यस्तो ट्यागको बोझले थिचिएका मेरा बालसखाहरूको अव्यक्त उकुसमुकुस यतिबेला मेरो घाँटीमा अड्केको छ । जिजेकले भने जस्तो वैकल्पिक कम्युनिजम त आउला भन्नेमा विश्वास छैन र देशमा कम्युनिस्ट सरकारको दुर्दशा देखी भोग्दा यस्तो चाहना पनि छैन । तर, कम्तीमा यो महामारीले युङले सुझाएजस्तो आफ्नो मनोजगत्को द्रष्टा बन्ने अवसर मिल्न सक्छ । त्यसैगरीे सदिऔँदेखि सामाजिक क्वारेन्टाइन तथा एकान्तवासमा रहन बाध्य बनाउने सामाजिक भाइरस कति घातक छ भनी बुझ्ने उपयुक्त समय पनि हो यो ।

प्रकाशित : भाद्र १३, २०७७ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?