१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

मेलुङ्ग : पहिले सहर, अहिले गाउँ

आधा दशकअघि नै ग्रामीण पहाडी सहरका रुपमा चर्चित मेलुङ्ग किन यत्रो वर्षसम्म दुर्गम रह्यो त ?
मेलुङ्गका स्थानीय भन्छन्– केन्द्रले गरेको एउटा राजनीतिक निर्णयले गर्दा हाम्रो गाउँ अविकसित र दुर्गम बन्यो । नत्र अहिले यो ठाउँ ठूलो र समृद्ध सहर बनिसक्थ्यो । हामी पनि आर्थिक रुपमा सम्पन्न हुने थियौं ।
शिशिर वैद्य

रामेछाप र दोलखाको सिमाना हो मिल्ती खोला । मिल्ती खोलाको छेवैमा छ शीतला देवीको मन्दिर । यही मन्दिरको नामबाट बसेको शीतली बजारबाट पश्चिम उकालो चढ्न थालेपछि सुरु हुन्छ मेलुङ्ग गाउँपालिका । डाँडाखर्क, भेड्पु, घ्याङसुकाथोकर, पोवटी, अँधेरी खोला हुँदै शैलुङ्गेश्वरी गाउँपालिका र रामेछापको दोरम्बा गाउँपालिकासम्म फैलिएको छ मेलुङ्ग ।

मेलुङ्ग : पहिले सहर, अहिले गाउँ

उबेलाको जमजमाउँदो मेलुङ्ग बजार अहिले सुनसान छ । टुँडिखेलमा लाग्ने हाटमा न रौनक छ न भीड । बेलाबेला भेटेरेनरीका डाक्टरहरु कुकुरलाई रेबिजको सुई लगाउन शिविर लिएर आउँदा गाउँलेहरु घरपालुवा र वरपरका कुकुर बोकेर आइपुग्छन् टुँडिखेलमा । भीड यस्तै यस्तै बेला मात्रै लाग्छ आजकल यहाँ । टुँडिखेल आडैमा छ त्रिभुवन मावि । ०७ सालमै स्थापना भएको यो विद्यालय स्थानीय शिक्षासेवी स्व. ललितबहादुर कार्कीको व्यक्तिगत पहल र खर्चमा स्थापित भएको थियो । विद्यालयमा पढाउन कार्कीले दार्जीलिङदेखि शिक्षकहरु झिकाएका थिए । सत्तरी वर्ष पुग्न लागेको यो ऐतिहासिक विद्यालय र बजार बसेको जमिनको स्वामित्व न विद्यालयसँग छ, न स्थानीयसँग । मेलुङ्गको एक मात्र टुँडिखेल, मेलुङ्ग बजार अनि ऐतिहासिक यस विद्यालय बसेको जमिन नेपाली सेनाको नाममा छ

नेपाली सेना मेलुङ्गमा उनन्सत्तरी वर्षपछि पुनःस्थापित भएको छ । सेनाका जवानहरु टुँडिखेलमा पाल गाढेर बस्न थालेको पनि महिनौं भइसकेको छ । मेलुङ्गमा सेना पुनःस्थापित भएर स्थानीयमा हर्षभन्दा बढी अन्योल छाएको छ । अब विद्यालय र बजारको भविष्य के हुने ?

भर्खरै राष्ट्रिय सडक सञ्जालसँग जोडिएको मेलुङ्ग पुग्ने बाटो अझै कच्ची छ । तर जनता खुसी नै छन् । बाटो नहुनुको पीडा लामो समय भोगेका यस भेगका जनतालाई कच्ची बाटोले छोट्याएको दूरी पिच बाटोमा गुड्दाको भन्दा आनन्ददायी लाग्दछ । स्थानीय भन्छन्, ‘बाटोले हामीलाई दुर्गम क्षेत्रबाट सुगममा परिवर्तित गरेको छ । भेड्पु हुँदै मेलुङ्ग–मुडे सडक राष्ट्रिय राजमार्गसँग जोडिएको लामै समय भइसकेको छ, तर बाटो असजिलो छ । बुढापाकाहरु चार दिन लगाएर पुग्थे काठमाण्डु अब त्यो समय छोट्टिएको छ ।’

सत्तरी वर्षअघि नै दोलखा, रामेछाप र सिन्धुलीको केन्द्र रहेको मेलुङ्गमा पूर्व २ नम्बर गोश्वारा अड्डा थियो । उतिबेला जिल्लाहरुलाई गढी, गौंडा र गोश्वारामा विभाजन गरिन्थ्यो । गोश्वारा र गौंडामा प्रमुखका रुपमा बडाहाकिम नियुक्ति गरिन्थ्यो भने गढीमा गभर्नर (जनरल) वा कर्णेल हुन्थे । आधा दशकअघि नै ग्रामीण पहाडी सहरका रुपमा चर्चित मेलुङ्ग किन यत्रो वर्षसम्म दुर्गम रह्यो त ? मनमा प्रश्न उठ्नु स्वाभाविक हो । तर उत्तर पाउनु सहज छैन । स्थानीयमा उत्तरभन्दा बढी आक्रोश छ । मेलुङ्गको कथाले राजनीतिक निर्णयले कसरी एउटा भेग नै अविकासको भूमरीमा फस्यो भन्ने बयान गर्दछ । मेलुङ्गको कथा जोडिएको छ प्रजातान्त्रिक आन्दोलनसँग, मुक्ति सेनाले गरेको सशस्त्र युद्धसँग, ०१५ सालमा बनेको नेपाली कांग्रेस नेतृत्वको सरकारसँग र ०१७ सालको राजाको ‘कु’सँग ।

राणा शासनविरुद्ध नेपाली कांग्रेसको मुक्ति सेनाले ०७ सालमा सशस्त्र युद्ध गरेको थियो । यसको बयान नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासका पानामा नमेटिने अक्षरहरुले कुँदिएको छ । मुक्ति सेनाको सशस्त्र युद्ध भोगेका र ती घटनाबारे सुनेर हुर्किएका मानिसहरु भन्छन्– ‘खुकुरी, खुँडा, कुटो, कोदालोजस्ता भेटिएजति घरेलु हतियार बोकेर, कांग्रेसीहरु क्या लडेका थिए उतिखेर । जनताले पनि गज्जब साथ दिएका थिए ।’ तर कांग्रेसको इतिहाससँग जोडिएका यी ऐतिहासिक पानाहरु मक्किन थालेका छन् । अक्षरहरु खुइलिन थालेका छन् । नेपाली कांग्रेसको भद्रगोल राजनीतिक अवस्था र वर्तमान राजनीतिमा निष्प्रभावी भूमिकाका कारण सात दशकअघि राणा शासनविरुद्ध छेडिएको युद्धको चर्चा विरलै हुने गरेको छ ।

मुक्तिसेनाले लडेको युद्धको विषयमा कांग्रेस नेता रामहरि जोशीको ‘नेपालको नोभेम्बर क्रान्ति’ पुस्तकमा विस्तृत चर्चा गरिएको छ । जोशी लेख्छन्– माघ १३ गते रामेछाप बिना कुनै रक्तपातले कब्जा भयो र कब्जा गरिएको गोलीगठ्ठाले नै विजयको बढाईं गरियो र सलामी दिइयो । त्यसपछि पूर्व २ नं गोश्वारा मेलुङ्ग कब्जा गर्न जङ्गवीर राईको नेतृत्वमा मुक्ति सेना अघि बढ्यो । मेलुङ्गका बडाहाकिम कप्तान कृपाशुरले बिना कुनै संघर्ष माघ १५ गते आत्मसमर्पण गरिदिए र यसरी मेलुङ्ग पनि बिना कुनै रक्तपात कब्जा भयो । (पृ. ११३, नेपालको नोभेम्बर क्रान्ति¬– रामहरि जोशी)...फागुन ७ गते त्रिभुवनबाट एउटा संयुक्त मन्त्रिमण्डलको घोषणा भएपछि पूर्व २ नम्बरमा पनि सशस्त्र क्रान्ति रोकियो । तर राणाशाहीको कट्टर भक्त गीर्वाण बहादुरले त्यस घोषणाको पनि उल्लंघन गरेर फागुन १० गते अचानक मुक्ति सेनामाथि आक्रमण गर्यो । फलस्वरुप सात जना मुक्तिसेनाका जवानहरु मारिए । आफ्नो मालिकको इशारामा फेरि प्रतिक्रान्ति गर्नेहरुले यहाँ आफ्नो मुन्टो उचाल्न थाले । मेलुङ्ग, चरिकोटमाथि पुनः राणाशाहीका समर्थकहरुको कब्जा भयो र तिनीहरुले कैयन निरपराध जनताहरुको ज्यान लिए । तिनीहरुले यस्तो आतंक मच्चाउन थालेको देख्दा जानता मात्रै किन चुप लागेर बस्थे र तिनीहरुलाई संगठित पारेर जङ्गवीर राई एकचोटि फेरि राणाशाहीका यी अवशेषहरुलाई निमिट्यान्न पार्न अघि सरेर मेलुङ्गमाथि कब्जा गरे । चरिकोटमा घमासान लडाइँ भयो र अन्तमा मुक्ति सेनाकै विजय भयो । (ऐऐ, पृष्ठ ११५)

मुक्तिसेनाले लडेका युद्धको इतिहाससँग जोडिएको मेलुङ्गमा मुक्तिसेनाका जवानहरुले दुश्मनमाथि हमला गर्दा काटिएका थामहरु अझै भेटिन्छन् । भीषण युद्धमा जेजे भेट्टायो छप्काउँदै अघि बढ्दा काटिएका रुखहरु हुन् ती थामहरु भन्छन् स्थानीय । मुक्ति सेनाले युद्ध लड्दा मेलुङ्ग पूर्व २ नम्बरको केन्द्र थियो । मेलुङ्ग गोश्वारा अड्डाका नामले चर्चित थियो यो ठाउँ । बडाहाकिम कप्तान कृपाशुर बस्थे यहाँ । उनैको सुरक्षाका लागि सैनिक दस्ता थियो । बडाहाकिमकै तजबिजमा चल्थ्यो दोलखाको यो भेगदेखि रामेछाप, सिन्धुलीसम्मका थुप्रै गाउँहरु । गोश्वारा हुलाक, वाणिज्य बैंक, प्रहरी चौकी, मौसम विभाग, मलेरिया कार्यालय, स्वास्थ चौकी, सेनाको टुकडी र बारुदखाना, भेटेनरी आदि थुप्रै कार्यालय थिए यहाँ ।

लेकदेखि तामाकोसी नदी छेउसम्मका गाउँलेहरु यहाँ किनबेच गर्न र हाट भर्न आउँथे । बिहान सात बजेबाट सुरु हुने हाट बेलुका अबेलासम्म नै लाग्थ्यो । निकै रमझम हुन्थ्यो । घण्टी झुण्डिएको भाला बोकेर हुलाकी गाउँमा आउँदा बच्चाहरु पछि पछि दगुर्थे । दस दिनमा आइपुग्ने हुलाकीसँग चिठ्ठीपत्रका साथमा हुन्थ्यो राष्ट्रिय अखबार गोरखापत्र । विभिन्न सरकारी अड्डाका नाममा आउने पत्रिका हेर्न गाउँका स्थानीय युवा हुलाकमा ढुकेर बस्थे । भेगभरिमा हवल्दार प्रमुख रहेको एउटै मात्र प्रहरी चौकी थियो । चौकी प्रमुखको प्रभाव यति थियो कि जिल्ला प्रहरी प्रमुख, प्रहरी निरीक्षकका लागि कुखुरा खोज्दै आएकालाई पनि गाउँले ‘हाम्रो हल्दार सापलाई चाहिन्छ दिन्नौं’ भनेर फर्काउँथे ।

तीन जिल्लाको माझ पारेर राखिएको गोश्वारा अड्डा तत्कालीन राजनीतिक दाउपेचका कारण चरिकोट सारिएपछि मेलुङ्गको विकासको गति रोकिएको स्थानीयको आरोप छ । स्थानीय भन्छन्– ‘गोश्वारा अड्डा बसिरहेको भए मेलुङ्ग निकै विकसित भइसक्ने थियो । कांग्रेसले हाम्रो विकासलाई रोकिदिए ।’ स्थानीयमा कांग्रेसप्रति आक्रोश भए पनि मेलुङ्गको अड्डा हट्नुमा कांग्रेस सरकारको भन्दा राजा महेन्द्रको महत्वाकांक्षाले असर गरेको बुझिन्छ । ०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्थ गरी सत्ता आफ्नो हातमा लिएपछि ०१८ साल वैशाख १ गते नेपाललाई राजनीतिक र भौगोलिक रुपमा १४ अञ्चल र ७५ जिल्लामा पुनर्संरचना गरे । यसरी जिल्ला र अञ्चल बनाउने क्रममा दोलखा, रामेछाप र सिन्धुली तीन जिल्ला बने । यस अघि यी जिल्लाहरु पूर्व १ नम्बर र पूर्व २ नम्बर भनेर चिनिन्थ्यो । यो निर्णयसँगै मेलुङ्गबाट पूर्व २ नम्बर गोश्वारा अड्डा पनि हट्यो ।

पर्यटकीय एवं धार्मिक स्थल शैलुङ्ग नजिकै रहेको मेलुङ्गको विकासको अर्को तगारो बन्यो माओवादी सशस्त्र द्वन्द्व । शैलुङ्गको डाँडो नजिकै रहेको र वनजंगल घना हुँदा मेलुङ्ग माओवादीहरुका लागि राम्रो सेल्टर थियो । त्यसैले यहाँ माओवादीहरुको आवतजावत व्यापक थियो । ०५६ सालमा माओवादी आक्रमणपछि मेलुङ्गमा रहेको चौकी हट्यो । चौकी हटेपछि सुरक्षाका कारण देखाउँदै बैंक पनि सारियो । घर छेउमै रहेको राष्ट्रिय वाणिज्य बैंक सारिएपछि सबैभन्दा मारमा परे ज्येष्ठ नागरिकहरु । देश र समाजका लागि आफ्नो युवा उमेर खर्चिएका वृद्धवृद्धाहरु सरकारले दिने पेन्सन त्यही बैंकमार्फत बुझ्दथे । बैंक सारिएपछि सकसपूर्ण यात्रा गरेर चरिकोट पुग्नुको विकल्प रहेन । अहिले एक घण्टाको पैदल दूरीमा रहेको गाउँ भेड्पुमा छ सानिमा बैंक । यसैलाई सुविधा ठानेका छन् मेलुङ्गवासीले ।

तामाकोसी-मन्थली सडकबाट जम्मा आठ किलोमिटरको दूरीमा रहेको मेलुङ्गमा स्वास्थ चौकी छ तर चिकित्सक छैन । अहेवको भरमा चलेको छ स्वास्थचौकी । बाटो खुलेपछि तेङिमा–दाडोमा लामा स्मृति प्रतिष्ठानले एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । नत्र गाह्रोसाह्रो पर्दा बिरामीलाई स्ट्रेचरमा बोकेर शीतलीसम्म पुर्याउनुपथ्र्यो । खानेपानीको सुविधा छ तर त्यो पानी शुद्ध रहे–नरहेको जाँच्ने निकाय छैन । पर्यटकीय स्थल शैलुङ यहाँबाट नजिकै छ ।

गौरीशंकर र अन्य हिमालहरुको सुन्दर हिमश्रृंखला आँखा अगाडि उभिएजस्तो देखिने भएर पनि पूर्वाधारको कमीले पर्यटन विकासको अवधारणा अझै कोरिएको छैन । गाउँपालिकाको बजेटले खन्न थालिएको बाटो कहिले कालोपत्रे हुने हो ठेगान छैन । गाउँका घरहरु धेरैजसो रित्ता छन् भएकामा पनि वृद्धहरु र महिलाहरु धेरै भेटिन्छन् । दक्ष युवा जनशक्ति सम्भावनाहरुको खोजमा सहर पसेका छन्, विदेश भासिएका छन् । गाउँमा मान्छे घट्न थालेपछि स्थानीय बजार सुकेका छन् । मेलुङ्गका स्थानीय भन्छन्– केन्द्रले गरेको एउटा राजनीतिक निर्णयले गर्दा हाम्रो गाउँ अविकसित र दुर्गम बन्यो । नत्र अहिले यो ठाउँ ठूलो र समृद्ध सहर बनिसक्थ्यो । हामी पनि आर्थिक रुपमा सम्पन्न हुने थियौं ।

प्रकाशित : भाद्र ६, २०७७ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?