२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

जुँगा

‘तिमीहरूले हाम्रोविरुद्ध चलचित्र बनाएछौ । इतिहासको नाममा राजाविरोधी चलचित्र बनाउन पाइन्छ ? राजाको विरुद्ध बोल्न पाइन्छ ? सत्ताको विरुद्ध लाग्दा के परिणाम भोग्नुपर्छ, थाहै होला ।’
‘फिल्ममा यो डायलग बोल्ने तैं होइनस् ? कसरी गर्जेर बोलेको थिइस् ? ...यसको अर्थ के हो भन् भन् भन्, ...ए बुझा न मलाई !’
टंक चौलागाईं

बाहिर निस्किने तयारी गर्दागर्दै एक्कासि कोठामा रुमालले मुख छोपेका नौला मान्छे पसे । तीनजना कोठाभित्रै छिरे । एकवचन नसोधी ओछ्यान, खाट, दराज, लुगा राख्ने र्‍याक सबैतिर खोजतलास गरे । छरछार पारे ।

जुँगा

कस्तो मनपरी ! बिनाअनुमति अरूको कोठाभित्र पसेर खोजखाज पार्ने को हुन् ? आँखामा रिस देखिन्थ्यो प्रस्टै ।

‘सोधपुछ गर्नु छ, हामीसँग हिँड् ।’ कठोर आवाजले कानमा घोच्यो । के गर्ने, के नगर्ने शून्य भएँ ।

‘ते थिलो ? बस्नुस् न श्रीमती आउँदै छिन् । उनलाई भनेर जाउँला, जानै परे ।’ मेरो मुखबाट शब्द कम थुक बढी निस्कियो । उनीहरूले न तोते बोलीमा ध्यान दिए न मुखबाट उछिट्टिएको थुकमा ।

पक्रन आएका रहेछन् । टोपी लगाउन भ्याएँ । ढोका पनि बन्द गर्न पाइनँ । तानेर बाहिर निकालेँ । उनीहरू पछिपछि लागे, म अघिअघि । घरबेटी साहुनीले डराएर सोधिन्, ‘कहाँ, किन लगेको ? तपाईंहरू को हो ?’ कसैले केही जवाफ दिएनन् । त्यहाँबाट ओझेल पर्न हतारिए ।

गाडीमा हाले । को हुन्, किन आए, किन लिएर गए, कहाँ लगेका हुन् ? केही थाहा पत्तो पाइनँ । गाडीमा हालेपछि मेरो आँखामा पट्टी बाँध्नुअघि टोपी निकाल्यो एउटाले । आँखामा पट्टी बाँधिदिए । गाडीमा अरू मान्छे पनि थिए । निकै बेर गाडीमा कुदाएपछि एक ठाउँमा रोके । कता पुग्यो, कहाँ केका लागि रोकियो, मलाई के पत्तो ? मनको कुनामा डरैडरको खात लाग्यो ।

गाडीबाट ओरालेपछि घिसार्न थाले । अँध्यारोतिर पुर्‍याएजस्तो लाग्यो । कसैले आँखाको पट्टी खोलिदियो । तिर्मिराएका आँखाले झट्ट हेर्न सकिनँ । केही हेर्नु पनि थिएन सायद । मुखमा रुमाल बाँधेका चारजना रहेछन् त्यहाँ !

एकजना गर्ज्यो, ‘मु... ! यस्तो ...आतंककारीको जस्तो जुँगा किन पालेको ?’ अर्कोले मेरा लामा जुँगा तान्यो । मलाई रिस उठ्यो, ‘म कलाकार हुँ, कथाअनुसार जुँगा पनि पाल्नुपर्ने हुन्छ, कपाल पनि पाल्नुपर्ने हुन्छ’ मात्र भनेँ ।

बिनाकसुर अर्कालाई समाएर ल्याउनेलाई भन्न मन लागेको थियो, ‘कलाकार हुँ, पर्‍यो भने जाँ... पनि काट्नुपर्छ ।’ तर भन्न सकिनँ ।

‘तिमीहरूले हाम्रोविरुद्ध चलचित्र बनाएछौ । इतिहासको नाममा राजाविरोधी चलचित्र बनाउन पाइन्छ ? राजाको विरुद्ध बोल्न पाइन्छ ? सत्ताको विरुद्ध लाग्दा के परिणाम भोग्नुपर्छ, थाहै होला ।’ अर्काे एउटाले समाउनुको रहस्य खोल्यो ।

‘केही मानिस नमरी परिवर्तन सजिलै आउँदैन !’

‘फिल्ममा यो डायलग बोल्ने तैं होइनस् ? कसरी गर्जेर बोलेको थिइस् ? ...यसको अर्थ के हो भन् भन् भन्, ...ए बुझा न मलाई !’ रिसले चुर थियो एउटा ।

‘फिलिम बनाउने अरू नै हुन् हजुर, मैले काम मात्रै गरेको हुँ । म ज्यालामजदुरी गरेर बाँच्ने मान्छे । अरूले अराएको काम गर्ने मान्छे ! मैले शब्दको अर्थ बुझेर हैन खल्तीमा आउने अर्थको लागि काम गरेको हुँ ।’ डरैडरमा आफ्नो बाध्यता बताएँ ।

‘बोलेको हेर् न बोलेको ! साला आतंककारी ! राम्रोसँग बोल्न जान्दैनस् ? कलाकार हुँ भन्दैमा अभिनय गर्दै बोल्नुपर्छ ?’ एउटाले झपार्‍यो ।

अबुझ पक्कै हैनन् । जन्मेदेखि नै तोतेबोली हो भनेर स्पष्टीकरण दिइराख्नु उचित लागेन । जसको अर्थ पनि थिएन ।

‘थाहा छ, सबै थाहा छ । त्यो चलचित्रको निर्देशकलाई भेटाइदिइस् भने तँलाई छोडिदिन्छौं । नत्र तेरो जिन्दगी गयो ।’ एउटाले अलि नम्र स्वरमा फकायो ।

उनीहरू त्यही ऐतिहासिक चलचित्रको कुरा गरिरहेका थिए । चलचित्रको राजनीति मलाई के थाहा हुनु ? कसले कसको विरुद्ध चलचित्र बनायो ? केका लागि बनायो, मलाई के थाहा ? मलाई सेट बनाउन भनियो, बनाएँ । एउटा कलाकारले धोका दियो, अभिनय गर भन्यो, गरेँ, के बिराएँ ?

निर्देशकको घर देखेको थिइनँ । फोन नम्बर पनि थिएन । निर्देशकलाई भेटेको बागबजारको अफिसमा हो । यिनै कुरा भनेँ । पत्याएनन् । पहिलो सजायँ होला, एक्लै त्यही अँध्यारो कोठामा थुनेर गए । हावा पनि अनुमति लिएर आउनुपर्ने कोठामा कतैको सानो प्वालबाट अलिकति उज्यालो पठाइएजस्तो लाग्थ्यो । उज्यालोसँगै हावाले पनि भित्र पस्ने अनुमति पाएको हुनुपर्छ । सुनसान थियो । घरक्क ढोका खुल्यो । एकजना मानिस त्यहाँ आयो । मेरा आँखामा उसैले पट्टी बाँधिदियो । सास रोकिएजस्तो भयो ।

‘तँ आतंककारी होस् ! सबै हामीलाई थाहा छ । थाहा पाएर नै ल्याएका हौं । जहाँजहाँ त्यो तेरो फिलिमको निर्देशक आउँछ, त्यहाँत्यहाँ हामीलाई लिएर जा । त्यसलाई भेटाइस् भने तँ बाँचिस्, नत्र तेरो काल आयो । हेर् केटा, यहाँ तँजस्ता धेरै मरिसके । तँलाई मार्दा हामीलाई केही फरक पर्दैन ।’ एउटाले आएर पिँडुलामा लट्ठी बजायो । बिलौना बरु भित्तोले सुन्थ्यो होला । त्यहाँ भएकाले सुनेनन् । आफू नथाकुन्जेल हान्यो । पिटाइ खाँदाखाँदै दुखेको थाहा नहुने भयो पिँडुला ।

खान दिएनन् ।

मुत्न दिएनन् ।

रातभरि सुत्न पनि दिएनन् ।

सजिलोसँग सास फेर्न दिएनन् ।

निर्मलालाई मात्र सम्झेँ, कठै ! बिचरीले रुँदै कसरी रात काटिन् होली ? उनीसँग भेट होला कि नहोला अब ?

उनीहरूलाई त्यही अफिसमा लिएर गएँ । बागबजार पुगेपछि आँखाको पट्टी खोलिदिए । मलाई अगाडि लगाएर एकजना पछिपछि आयो । बाँकी अरू उतै उभिए । कोही गाडी छेउमा, कोही परपर बाटोमा । अफिस बन्द रहेछ । वरिपरि चिनेका कोही पनि मान्छे थिएनन् । फर्काएर गाडीमै ल्यायो । उनीहरूको आक्रोश बढ्यो । फेरि गाडीमै कोचे । तिनका मुख रुमालले बेरेर बन्द थिए । कसरी चिन्नु ती को हुन् ? किन दुःख दिएका हुन् ?

आँखामा फेरि पट्टी ! अन्धकार !

मृत्युको डर देखाउने क्रम बढाए । सजायँको अर्काे शृङ्खला यसरी सुरु भयो । खै कताकता पु¥याए । एउटा टेबलजस्तो ठाउँमा लम्पसार पारे । ओछ्यानमा सुताएजसरी ! पैतालामा एउटाले गनेर अठतीस लट्ठी हान्यो । कालो अन्धकारबाहेक केही देखिनँ । पानी प्यास लाग्यो । मुख सुकेर प्याकप्याक थियो । रुन पनि ढुक्कले सकिनँ । ऊ थाकेपछि अर्काेले हान्न थाल्यो । पचास लौरो हान्यो होला । मरेँ, मरेँ ! भन्दै चिच्याएर हारगुहार गरेँ । त्यसपछि के भयो होस भएन । सकेसम्म सजायँ कम होस् भन्ने कामना गर्नुबाहेक अरू केही गर्न सक्दिनथेँ ।

चिसो भुइँमा लम्पसार परेको रहेछु । घुँडादेखि तलको भागमा आगोले पोलेको जस्तो चस्का पस्यो । बिस्तारै गोडा माथि सार्न खोजेँ । गोडा नै चलेनन् । दुवै पैतालादेखि पिँडुलासम्म मिलिकमिलिक गरेर रन्किए मात्रै !

त्यहाँ पटकपटक मानिस आउँथ्यो र उस्तै यातना दिएर अनेक प्रश्न गथ्र्यो । त्यो चलचित्रमा खेल्ने हिरो–हिरोइनलाई चिनेको थिएँ । दिमागले ठीकसँग काम गरेन । बेहोसीमा केके बरबराउँथेँ । एक जनासँग उनीहरूको नाम लिएँ । मसँग तिनको नाम र नम्बर पनि थियो । त्यहीँबाट फोन गरेर हिरोलाई आनो हालत बताएँ । साँच्चै समस्या पर्दा कोही साथ नहुने रहेछन् ।

गोबरमा डुबेको प्रसंग उप्काएँ ।

हरेक दिन भेट्नेबित्तिकै गर्धनदेखि ढाडसम्म मालिस गरेको सम्झाएँ ।

गाडीमा जाँदा झोला बोकेर पुर्‍याएको पनि सम्झिएनन् ।

रेस्टुरेन्टबाट मःम ल्याइदिएको पनि बिर्सेछन् ।

काम गर्ने केटो बिरामी हुँदा हिरो–हिरोइन दुवैजनाको घरमा एकएक महिना बसेर काम गरिदिएको थिएँ । त्यो पनि बिर्सेछन् ।

हरेक शनिबार उनीहरूको घर गएर लुगा धोइदिएको सम्झाएँ ।

सहर टेक्दाको आनो कथा सुनाएँ ।

अँह, चिन्दै चिनेनन् ।

‘ब्रो, मलाई सुटिङमा जान हतार भयो । नम्बर कहाँबाट पायो नि ब्रोले ? अबदेखि फोन नगनू, ब्रोले भनेको मान्छे म हैन ।’ फोन काट्यो ।

मन–मस्तिष्कमा अन्धकार मडारिन थाल्यो ।

हातको फोन खोसेर उसले धम्क्यायो, ‘उहाँहरू भनेको राष्ट्रका गहना हुन् । तँ भनेको माओवादी होस् ...आतंककारी होस् । सुराकी होस् ।’

केही सोच्न सकिनँ । म कसरी माओवादी भएँ ? म कसरी आतंकवादी भएँ ? के झुत्रेमुत्रे जति सबै माओवादी हुन् ? हिरोइनको नम्बर दिएर फोन गर्न लगाएँ । अभिनय गर्न कस्तो जानेकी, उसले पनि चिन्दिन भन्दिई । छक्क परेँ ! काम दिने मान्छेले नै कसरी नचिनेको ?

‘कसरी आतंककारी भइस् ? अब थाहा पाउँछस् । धेरै अभिनय नदेखा !’ भुईंमा लम्पसार छोडिदिए । बाहिर निस्किए ।

उभिन सक्ने स्थितिमा थिइनँ । दुवै खुट्टा चल्दैनथे । आगोको भट्टीमा गोडा घुसारेझैं भतभत पोलिरहेको थियो । भुईंको चिसोले भुँडी ढाडियो । मुत आयो । उनीहरूले जहाँ भन्थे त्यही मुत्नुपथ्र्याे । थोत्रो बोराजस्तै घिसार्दै मुत्ने ठाउँमा पुर्‍याए । मुत् भने । मुत्न के सुरु गरेको थिएँ । सास रोकियो ।

करेन्टले झट्का हान्यो । त्यहीँको त्यहीँ ढलेँ ।

अन्धकार !

होस आउँदा उस्तै चिसो भुईंमा लडिरहेको रहेछु । लगाएको पाइन्ट भिजेको थियो । दिन हो कि रात ! ल्याएको दिनदेखि खान दिएनन् । कस्तो कालले यहाँ ल्याएको हो ? दुखाइ असह्य भयो । चाँडै काल आए हुन्थ्यो भन्ने कामना गरेँ । दुखाइ र भयभन्दा मृत्यु सहज होला बरु !

‘तामाल्य मान्छे हुँ म । कसैलाई चिनेको छैन । बरु यसरी दुःख दिनुको सट्टा मारिदिनुस् !’ भुइँमा ढलिढली हात जोडेर तिनलाई बिन्ती गरिरहन्थेँ ।

‘यहाँ आएका सबैले यसै भन्ने हुन् । तँ क–कस्को सुराकी होस्, सबै नखोलेसम्म तेरो प्राण जाँदैन । तेरो शरीरको मासु कुकुरलाई ख्वाउँछौं । हरेक दिन तड्पी–तड्पी मर्छस् ।’ उनीहरूको जवाफ सुनेर अत्यास लाग्थ्यो ।

सजिलै मर्न पनि नपाउनु किन होला ? जवाफ दिने कोही थिएनन् ।

श्वासनलीबाट सासै निस्किएन । बेलाबेला रोकिन्थ्यो ।

घिसार्दै अर्को कोठामा लगे । लम्पसार पारे । सीधा बस्न सक्ने हालत थिएन । त्यहाँ एउटी महिला चिच्याइरहेकी थिइन्, ‘मलाई जबर्जस्ती नगर्नुस् । मेरो पेटमा बच्चा छ ।’ दुष्टहरूको बीचमा तड्पिएर प्रार्थना गरिरहेकी थिइन्, एउटी आमा !

‘आतंककारीको पेट बोकेकी हैनस् ? पख् लट्ठी कोचेर तेरो पेट झारिदिन्छौं ।’ राक्षसको नाच सुरु भयो । उनको शरीरमा झुत्तिरहे !

ती महिला असह्य जलन खप्न नसकी चिच्याइरहेकी थिइन्, ‘म आतंककारी हैन, एक वर्ष भयो विवाह भएको । श्रीमान् ब्याङ्कमा काम गर्नुहुन्छ । मेरो पेटमा पाँच महिनाको बच्चा छ । बिन्ती छ मसँग यस्तो पाप काम नगर्नुस् । माओवादी को हुन्, हामी कसैलाई चिन्दैनौं ।’ केही समयको चिच्याहटपछि उनको ताकत सेलायो । उनी लाससमान भुईंमा पसारिइन् ।

त्यो कोठामा म, ती महिला र दुईजना बलात्कारी भएको अनुमान गरेँ । महिलाको सास रोकियो । मेरो पनि ।

एक्कासि मेरो आँखाको पट्टी खोलिदियो । महिलाको नाङ्गो लास थियो । शरीर नीलो भइसकेछ ! योनीबाट रगत बगेछ ! हेर्नै सकिनँ त्यो कहालीलाग्दो दृश्य ।

बाहिरबाट बाटामा भात ल्याइदियो एउटाले । मेरो आगाडि राखिदियो । भातमा साङ्ला सरोबरी थिए । आँखामा पट्टी बाँधेर निस्कियो । रुचेन । छाद आयो ।

-चाैलागाईंकाे प्रकाशोन्मुख उपन्यास 'उबडखाबड' को अंश । यो उपन्यास शिखा बुक्सबाट प्रकाशित हुँदैछ ।

प्रकाशित : भाद्र ६, २०७७ १४:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?