१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

‘मेमोरी कल्चर’ को मर्म

यी स्मृतिकथा हाम्रो समाज, संस्कृति, संकोच, सोच, सभ्यता हेर्ने स–साना संकथन हुन् । यिनले पाठकलाई सहानुभूतिशील, संवेदनशील बनाउँदै सशक्तीकरणतिर पनि लैजान्छन् ।
विमल आचार्य

महिलाहरूका अनुभव–अनुभूति संग्रह गरेर ‘टेलिङ अ टेल’ अनि ‘स्वअस्तित्वको खोज’ किताब सम्पादन गरिसकेकी कथाकार अर्चना थापाको सम्पादनमा उस्तै तर नयाँ पुस्तक आएको छ, ‘स्मृतिकथामा सत्त्व’ ।

‘मेमोरी कल्चर’ को मर्म

महिला हुनुका, एलजीबीटी (लेस्बियन, गे, बाइसेक्सुअल, ट्रान्सजेन्डर) हुनुका, पुरुष हुनुका, दलित हुनुका, मधेसी हुनुका, अभिनेत्री हुनुका, यस्ता विभिन्न खाले भविताका चौबीस भोगाइ किताबमा छन् ।

आफू आफैँसित समलिंगी पुरुष गेका रूपमा परिचित हुन एमए पढ्दाको उमेरसम्म पर्खेका अनुज पिटरले इष्ट र मित्रबीच यही परिचयका रूपमा सार्वजनिक हुन झेल्नुपरेको सकसबाट पुस्तक सुरु हुन्छ । देउसी खेल्दा केटी हुने रहर पूरा गर्ने सञ्जीव गुरुङ आफ्नी फुपूकी छोरी बिहे गर्नुपर्ने जालोबाट उम्किँदै कसरी पिंकी गुरुङ भइन्, अनुभव अप्ठेरो छ । क्लिभेज देखिने लुगा लगाउन मन पर्ने उनी ब्रा, सिताराजडित सेतो क्रिमी टप र हाई हिलमा पहिलोचोटि घरबाट निस्केर बसुन्धरा चोक अनि ‘यो छक्का चढ्ने गाडी हैन’ सम्मका वचन पचाएर अहिले पारलिंगी महिलाका रूपमा अभियन्ता बनेकी छन् । जनेन्द्रियका आधारमा जेन्डर तोक्ने, सेक्सुअल ओरिएन्टेसनको कुनै माने नदेखी आत्महत्या प्रयाससम्म गरेका सुदीप गौतमकी आमा भन्नुहुन्छ, ‘तँलाई मैले छोरी जन्माएको हो । तँ कसरी हुन्छस् यस्तो ?’ उनी आफूलाई तेस्रोलिंगी, ट्रान्स पुरुष बताउँछन् । यौनिक परिचयका स्टिरियोटाइप भत्काउन यी तीन स्मृति पठनीय छन् ।

धनकुमारी सुनार र पवित्रा सुनारले थरकै कारण भोगिरहेको यातना र घृणालाई ‘स्मृतिकथा’ मान्न सकिन्न । यी पुराना ‘स्मृति’ होइनन्, वर्तमानकै ‘दैनिकी व्यथा’ हुन् । आफू र सानो छोराले पाएका पुरस्कार कोठामा लुकाउनुपर्ने, घरमालिकले ‘सुनार’ देखे कोठा छोडेर निस्किनुपर्ने पीडाभन्दा माथिको अपराध अर्को छैन ।

रोजिता बुद्धाचार्य र लाक्पा फुटी शेर्पाको अनुभवले हामीलाई सगरमाथातिर लैजान्छ । आरोहणका क्रममा रजस्वलाले महिलालाई कति अप्ठेरो पार्छ भन्ने बयानले महिलाको शरीरबारेका सहानुभूतिशील कथनलाई बल पुर्‍याउँदैन, बरु यसले ‘महिला स्वभावै (शरीरै) ले कमजोर–कोमल–कारुणिक हुन्छन्’ भन्ने भालेभुकाइलाई झोक्राइदिन्छ ।

नाकाबन्दीका क्रममा जनकपुर–वीरगन्ज बाइक यात्रामा दुर्घटनामा परी स्मृति गुमाएका दौलत झाको ‘विस्मृति’ ले सत्त्वको न्यारेसनलाई फरक ढंगले बुझाउँछ । सम्पादक अर्चना दम्पतीलाई आठ वर्षअघि अमेरिकाको येल युनिभर्सिटी घुमाएका दौलत यादको लतमा छैनन् । स्मृतिबारे सोध्दा भनेका छन्, ‘खास केही लाग्दैन ।’

स्कुल पढ्दा आफू कसरी पढाइबाट बाहिर पारिएँ अनि आठ कक्षामा, एसएसलीमा फेल हुँदा कस्तो अँध्यारोमा यात्रा गरेँ ? नारायणी देवकोटाको यो भोगाइ व्यक्तिगत नभई सामाजिक–राजनीतिक छ । छिमेकी बेलुमा दिदीको सहयोग पाएर ‘नयाँ क्षितिज’ मा पाइला टेकेकी कैलाश राईले परिवारको तारबारबाट उम्किन गरेको संघर्षमा सत्त्व घनीभूत छ । रीता साहले बालविवाहबाट उम्किन, पढ्न, लेख्न, जागिर खान गरेको यात्रामा आएका स्पिडब्रेकर पन्छाएर आफ्नो बाटो खाली गरेकी छन् ।

अभिनेत्री बन्ने धुनमा चितवनबाट राजधानी छिरेकी विनिता बरालले यहाँ पाएको वाइन कोसेली विम्बात्मक छ । ‘कति कुरा नभन्दा नै मिठामिठा हुन्छन्’ भनेर स्मृति अन्त्य गरेको भए पनि उनले रिल संसारको रियलपन बोलेकी छन् । निर्देशकका ‘हेर्नुस् न विनिताजी, यो चलचित्र खेल्न फलानोले जे पनि गर्न सक्छु भनेकी छ । उसले त मलाई नगरकोट बोलाई ।’ भन्नेसम्मका नियत लेखेर उनले सिने–संसारका हिंसाबारे ‘मीटू’ भनेकी छन् ।

दिदी बितेपछि भिनाजुले साली बिहे गर्न पाऊँ भनेर ससुरालीमा गरेको ‘नियमित भ्रमण, अनशन तथा रुवाबासी’ ‘...सालीलाई फकाउनु पर्दैन’ कै रूप हुनुपर्छ । स्मृतिकार प्रभा बरालले नटेरेपछि भिनाजुले आफूजस्तै एउटा छोरा भएकी एकल महिलासित बिहे गर्छन् । डकुमेन्ट्री बनाउन पश्चिम पहाड पुगेकी देवकी विष्टले आफू त्यहाँ रजस्वला हुँदा लुकाउनुपर्‍यो । त्यहाँकी बहिनी आफ्नो तीन वर्षको बच्चा लिएर छाउगोठमा सुतिरहँदा उनी भने पूजाकोठामै सुतिन् । जहाँ गाउँगाउँमा देवीदेउता, धामीझाँक्रीको शासन छ, त्यो ठाउँमा आठ दिन बस्दा एक दिन मात्र नुहाइन् । प्रयोग गरेका प्याड लुकाएर राखेकी उनले कोहलपुर होटेलमा आएपछि मात्र व्यवस्थापन गरिन् । छाउको घाउ व्यवस्थापन कहिले हुने होला यो देशमा !

जीवनका जम्मै दुःख, उपेक्षा र अत्याचारहरू खेतका आलीआलीमा छन्झैँ गरेर सरिता तिवारीले जोडजोडले फरुवा झ्याप्प–झ्याप्प पार्दा उनलाई अजिबको आत्मसन्तोष पैदा हुन्थ्यो । सोह्र वर्षकै उमेरमा चारदाम (स्वयंवर) मा बाँधिन विवश बिना थिङले आफूलाई पुतली बनाइदिइसकेपछि आफ्ना बाबुले किनिदिएको घडीसितको घर्षण मर्मस्पर्शी छ । हातमा सुनका बेरुवा औंठी, कानमा झुम्का र घाँटीमा सिक्री बाँधिएपछि उनी जाँदाजाँदै त्यो घडी फुकाल्छिन् । पढ्न–कहीँ जान नपरेपछि समय किन हेर्नुपर्‍यो ठान्दै उनी बाले दिएको घडी निकालेर बासित प्रतीकात्मक विद्रोह गर्छिन् ।

कलेजमा साथीले हजुरआमाजस्ती भनिदिएपछि सोचमग्न भएकी दुर्गा कार्कीको पाठ ‘आधुनिकता अध्ययन’ को सन्दर्भसामग्री हो । भन्छिन्, ‘युवा जमातमाझ फेसन, रमाइलो, एटिच्युड लोकप्रिय भइरहँदा महिला सशक्तीकरण भनेर बस्ने मै पो पछाडि परेँ कि ? सायद जिन्दगी हाँस्ने, नाच्ने र रमाइलो गर्ने नै हो कि ?’ सात वर्षसम्म साथसाथ रहेका पति नरहेपछि ‘छोरीहरू लिएर पोइला जा’ भन्न थालेको ‘काठमाडौँको मुटु’ को पढालिखा घरबाट गुज्रिँदागुज्रिँदा सर्वोच्च अदालत धाइरहेकी रञ्जना निरौला न्यायको पर्खाइमा छिन् । पति बितेका पत्नीलाई बिचरी र बेजती, चरित्रहीन र बोक्सीको अलंकार दिने पितृसत्ताको अहंकार बुझिनसक्नु छ ।

आफ्नो ज्योतिषविद्या फेल भएपछि प्रभादेवी कैनीका पिता छोरी जन्मिनेबित्तिकै दिउँसैदेखि सिरक ओढेर सुतेर केही नखाएर (छाक छोडेर) विस्मात् मनाउँछन् । पुरेतको अवरोधबीच आमालाई दागबत्ती दिन चितालाई साक्षी राखेर राधा पौडेलले गरेको प्रतिवाद हालको मार्क्सवाद–नेपालमा पुरानो भइसक्नुपर्ने हो । तर, भालेसत्ताले संस्कार र संस्कृतिका नाममा विकृतिको ठेक्का लिइरहँदा प्रकृतिको नियमविपरीत जाँदा कोभिडको महामारी फैलिएको भन्न बेर छैन !

आइमाईजस्तो, नामर्द, डरछेरुवा विशेषण पाएका रुद्र चुडाल प्रेमिकाको स्कुटर पछाडि नबसी कहिल्यै स्कुटर नचलाएका भए पनि प्रेमिकालाई पछि राखेर हुइँक्याउन पाउँदा आत्मविश्वासी हुन्छन् । भातभान्सा, बच्चा स्याहार–सुसारमा आफूहरू सह–भागी भएको उनले लेखेका छन् । सञ्जीव उप्रेतीलाई छोरोमान्छेले कीर्ति नराखे जुनी धिक्कार हुने दबाबको तनाव थियो । आफ्ना स्कुले साथीहरूको कीर्तिको तुइन कसरी चुँडियो भन्नेमा उनले अर्थ धेरै अर्थपूर्ण हो कि भनेका छन् ।

घरमा मैथिली, साथीहरूसित राजवंशी, स्कुलमा नेपाली, रुचि अंग्रेजी–संस्कृत भाषातिर भएका अंग्रेजी प्राध्यापक प्रमोद मिश्रको स्मृतिकथाले राष्ट्रियताको राजनीति र राजनीतिको संकीर्ण राज्यियताबारे घोत्ल्याउँछ । विष्णु सापकोटालाई आफू पढे–हुर्केको पोखरामा अहिले पर्यटक बनेर जान, फिस्टेल होटलमा बस्न संकोच लाग्छ । पीएन क्याम्पस पढ्दा जागिर गर्नैपर्ने बाध्यताका कारण थोत्रो साइकल ‘उपहार’ पाएका उनी साइकलबापतको महँगो पैसा तिर्नुपरेको स्मृति सम्झन्छन् अनि पत्नी र छोरोसित साइक्लिङ नगरी मनैमनमा गुन्छन्, ‘वर्तमानमा चढेको साइकल भौतिक गन्तव्यतिर होइन, मेरो पच्चीस–तीस वर्षको विगततिर नै फर्किन्छ ।’

पुस्तक विषयका हिसाबले जति सशक्त छ, सम्पादनका हिसाबले उति नै कमजोर । पाँच–दसवटासम्म त्रुटि नभएको कुनै पेज नै छैन । कथित नभनीकन अथवा उद्धरण चिह्नभित्र नराखीकनै तल्लो जात, माथिल्लो जात नलेखेको भए । २०६२ मा गणतन्त्र आइसक्या भनेर नलेखेको भए । ‘लेक्चरसँग बिहे’, लेक्चररसँग भएको भए । ‘बुबाको कोक फ्याक्ट्रीमा जागिर’, बुबाको फ्याक्ट्री थिएन, जागिर मात्र थियो । मदेसी, रोबोर्ट, सपांगता, सिँह/सिँङ, तीघ्र, सामाग्री, चाहाना, धरासायी, महिनाबारी, अबस्था, माओबादी, ब्रतवन्ध, तनाब, सामीप्यता, चाडोँ, डाडाँ, आखाँ, ठाँउ, छँलाङ, कोहोलपुर, घम्की, फ्याट (फ्ल्याट), यर्थाथ, आफिस, आक्सिजनजस्ता शब्द पढ्न नपरेको भए ।

संस्मरण ठूलाठालुका ठूला गफका मात्र हुनुपर्छ, मै हुँ भन्दै लेख्नुपर्छ, नाफा–घाटा हेरेर तौलीतौली मात्र क्रिटिकल हुनुपर्छ र यो बुढ्यौलीमा मात्र छाप्ने ट्रेन्ड चलिरहेका बेला यो पुस्तकले ‘मेमोरी कल्चर’ को मर्म प्रस्तुत गरेको छ । यी स्मृतिकथा हाम्रो समाज, संस्कृति, संकोच, सोच, सभ्यता हेर्ने ससाना संकथन हुन् । यिनले पाठकलाई सहानुभूतिशील, संवेदनशील बनाउँदै सशक्तीकरणतिर पनि लैजान्छन् ।

प्रकाशित : भाद्र ६, २०७७ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?