कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

कोरोनाकालका किताब

लकडाउन दौरान निकै थोरै कृति बजारमा आए, केहीका प्रकाशन मिति सारिए भने केही दसैंअघि आउँदै छन् । पुस्तक प्रकाशन र बिक्रीलाई महामारीले कसरी सतायो ?
गोकर्ण गौतम

काठमाडौँ — अखबारी लेखनबाट पाठक बटुल्दै गएपछि सरला गौतमले विस्तारै उपन्यासको खाका बनाउन थालिन् । झन्डै तीन वर्षमा उपन्यासले पूर्णता पायो, ले–आउटमा गयो । गत वर्षको फागुनमा बजारमा ल्याउने तयारी थियो । तर, अनेक प्राविधिक कारणले प्रकाशन हुन सकेन ।

कोरोनाकालका किताब

लगत्तै कोरोना महाव्याधिको सन्त्रास सुरु भयो, लकडाउन भयो । घरबाट बाहिर निस्कनै नमिल्ने अवस्थामा किताब बजारसम्म पुर्‍याउन सम्भव भएन । महामारी हट्ला, बजारमा ल्याउला भनेर उनी र प्रकाशन गृह नेपालय कुरिरह्यो ।

तर, कोरोनाले हामीलाई छोड्ने सुखद संकेतहरू देखा परेनन् । बरु बिस्तारै मान्छेहरू कोरोनासँगै अभ्यस्त हुँदै सामान्य दैनिकीतिर फर्कन थाले, चहलपहल बढ्यो । अनिचाहिँ सरलालाई लागेछ, अब उपन्यास ल्याउनुपर्छ । सामाजिक सञ्जालमा उपन्यासको कभर सार्वजनिक गरेपछि आएको अनपेक्षित प्रतिक्रियाले यो आँट आएको उनको भनाइ छ । ‘हल्लाखल्ला नगरी फेसबुकमा कभर अपलोड गर्‍यौं । देशविदेशबाट पाठकहरूले धेरै चासो राख्नुभयो । यसले मलाई हौसला दियो तर पनि के होला भन्ने चिन्ता थियो नै,’ उनी भन्छिन्, ‘किताब आएपछिको प्रतिक्रियाले त्यो डर भागेको छ, उत्साही छु ।’

सरलाको उपन्यास ‘डुमेरो’ गत साउन १५ मा बजारमा आएको हो । प्रेस विज्ञप्तिबाहेक प्रचारका लागि अन्य औपचारिक माध्यम अपनाइएन । परम्परागत विमोचन शैली, विमोचनमा हुने कृत्रिम समर्थन, अतिरञ्जित प्रचार तर पछि पाठकको हातमा किताब नहुने दुर्दशाबारे उनी जानकार थिइन् त्यसैले अतिथि बोलाएर गरिने विमोचनमा उनलाई लगाव थिएन । झन् पुस्तक प्रकाशनपछि प्राप्त प्रतिक्रियाले त फुरुंग छिन् । ‘विगत दुई दशकदेखि बदलिएको सामाजिक, आर्थिक संरचनाको फ्रेमभित्र आफूलाई खोजिरहेका फरक उमेर समूह, पेसा, वर्गका पाठकबाट उपन्यासमा कहीं न कहीं आफूलाई पाएको प्रतिक्रिया पाइरहेकी छु । त्यसैले महामारीमा उपन्यास सार्वजनिक गरेकोमा पश्चाताप छैन,’ पत्रकारिताबाट आख्यानमा होमिएकी सरलाले भनिन् ।

त्यसो त, गत वर्षको चैत ११ मा लकडाउन भएपछि सार्वजनिक भएको पुस्तक सरलाको मात्र होइन । संख्या उल्लेख मात्रामा घटे पनि विविध विधाका कृतिहरू सार्वजनिक भएका छन् । ‘डुमेरो’ कै प्रकाशक नेपालयले भुवन ढुंगानाको आख्यान ‘परित्यक्ता’ बजारमा उपलब्ध गराएको छ । नेपालयका अर्पण शर्माका अनुसार यो पुस्तक अघिल्लो वर्ष नै प्रकाशित भएको थियो तर महामारीको कारण सार्वजनिक हुन पाएको थिएन । यसलाई असार १४ मा बजारमा पठाइयो । एकालाप शैलीमा बाँधिएको यो कृति मदन पुरस्कार २०७६ को उत्कृष्ट सातको सूचीमा पनि परेको छ । मदन पुरस्कारको आवेदन परेका पुस्तक संख्याबाट पनि यस वर्ष प्रकाशन घटेको प्रस्ट हुन्छ । यस पुरस्कारका लागि अघिल्लो वर्ष २ सय ५७ पुस्तकको आवेदन परेको थियो भने यसपटक १ सय ५१ मा सीमित भयो । अर्को प्रकाशन गृह सांग्रिला बुक्सले लकडाउन यता दुई गैरआख्यान विनोद न्यौपानको ‘संघीयताको अर्थ–राजनीति’ र उद्धव प्याकुरेलले सम्पादन गरेको ‘समाजवाद समृद्धि र विकास’ गैरआख्यान र एउटा उपन्यास ‘कान्छा महारानी’ बजारमा ल्यायो । शिवा शाहले लेखेको यो उपन्यास सगुना शाहले अनुवाद गरेकी हुन् ।

सांग्रिलाका निर्देशक मणि शर्मा नयाँ पुस्तकको बिक्रीबाट सन्तुष्ट छैनन् । ‘गत वर्षको दसैंबाटै पुस्तक बजारमा गिरावट आएको थियो । कोरोना महामारीपछि झन् बिजोग भयो,’ उनले कान्तिपुरसँग भने, ‘पुस्तक किन्नेहरू निम्न मध्यमवर्गीयहरू हुन् । महामारीले यही वर्गलाई ज्यादा समस्यामा पारेको छ । रोजगारी गुमेको छ, व्यवसाय बन्द । त्यसैले पुस्तक बिक्री स्वाट्टै घटेको छ ।’ दैनिक गुजारामै संकट परिरहेकाले किताबमा पैसा खर्चर्ने स्थिति नभएको उनको बुझाइ छ । धेरै किताब त गोदामै थन्किएका छन् ।

पुस्तक प्रकाशनमा प्रतिष्ठित मानिएको फाइन प्रिन्टको प्रकाशन रफ्तार पनि सुस्ताएको छ । लकडाउनपछि फाइनको जम्मा एउटा पुस्तक बजारमा आयो, राजीव उपाध्यायको ‘कबाल्स एन्ड कार्टेल्स ।’ अर्थतन्त्रमाथि लेखिएको अंग्रेजी भाषाको यो पुस्तक लकडाउन औपचारिक रूपमा खुलेपछि २०–२५ जनाको समूहमा विमोचन गरिएको थियो । ‘लकडाउनमा किताबको माग नै थिएन । खुलेपछि बढेको जस्तो भयो । तर, फेरि सुस्ताएको छ,’ फाइनका प्रमुख कार्यकारी अधिकृत नीरज भारी भन्छन्, ‘वर्षभरि करको लफडा भयो, विदेशी किताब पनि पाठकले पाएका छैनन् । अहिले पनि घरबाहिर निस्कने स्थिति छैन, त्यसैले पाठकले नयाँ पुस्तक खोजिरहेका होलान् ।’ काठमाडौंभित्र ‘कबाल्स एन्ड कार्टेल्स’ को बिक्री सन्तोषजनक भएको उनले बताए ।

अहिले घोषित रूपमा लकडाउन त छैन तर दैनिक जीवन लकडाउनका दौरानभन्दा खासै भिन्न छैन । बरु कोरोना संक्रमित र मृतकको संख्या बढिरहेकाले आममान्छे त्रासमा छन् । विभिन्न स्थान सिल गरिएको छ, कतिपय स्थानमा निषेधाज्ञा जारी गरिएको छ । पुस्तक पसलहरूसमेत निर्बाध रूपमा खुल्ने अवस्था छैन । यसले स्वाभाविक रूपमा पुस्तकको बिक्री र प्रकाशनमा नोक्सान पुगेको छ । घरभित्रको बसाई अनिश्चित बनिरहेकाले पठनपाठनतिर मान्छेको लगाव हराउँदै जाने स्थिति छ । यद्यपि प्रकाशन गृह बुकहिलका अध्यक्ष भूपेन्द्र खड्का कोरोना संकटबीच पाठकले स्तरीय किताब पढ्ने विश्वास व्यक्त गर्छन् 

‘पसल नखुले अनलाइनबाट मगाएर भए पनि पाठकले पढ्छन् । राम्रो कृतिको बजारमा अहिले पनि अभाव छ,’ उनले भने । यही विश्वासका कारण हुनुपर्छ महामारीपछि खड्काले दुई नयाँ पुस्तक सार्वजनिक गरे, नारायण ढकालको कथासंग्रह ‘तमस’ र डा. तीर्थबहादुर श्रेष्ठको ‘नेपाल नखुलेका पाटाहरू’ । यी पुस्तक लकडाउनपछि भन्सारमा थन्किरहेका थिए । खड्का भन्छन्, ‘विमोचन गर्ने योजना थियो तर सम्भव भएन । ई–विमोचन पनि उपयोगी हुने देखिएन । त्यसैले सिधैं बजारमा ल्यायौं ।’ बुकहिलले यहीबिच भैरव रिसालको ‘उहिलेको नेपाल’ र सौरभको ‘असहमति’ पुनः प्रकाशन गरेको छ ।

हाल अनलाइन र फोन अर्डर अनुसार काठमाडौंभित्र घरमै पुस्तक पुर्‍याउन सक्रिय खड्काको बुझाइमा लकडाउनको समयमा मान्छेहरूले इतिहास, भूगोल, धर्म, विश्व चिन्तन, समाज, संस्कृतिबारे लेखिएका पुस्तक बढी पढे । त्यसैले अब गैरआख्यान र गहन प्रकृतिका पुस्तकतिर पाठकको ध्यान तानिनसक्छ । ‘किताबको बजार जिरो भएको होइन, घटेको हो । अब स्तरीय कृति मात्र बिक्री हुन्छन् । पहिले पाँच हजार बिक्थे भने अब दुई हजार बिक्लान्,’ उनले भने, ‘अब पाठकले अब्बल किताब खोज्छन् । जुन पायो त्यो किताब बजारमा आउँदैन ।’ उनले आफ्नै लगानीमा किताब निकाल्ने प्रवृत्ति घट्ने ठोकुवा गरे ।

महामारीपछि नेपालयले नयाँ पुस्तक सुरुमै ई–बुकमार्फत सार्वजनिक गरेर नयाँ अभ्यास गर्‍यो । पुस्तक हो, आर्थिक टिप्पणीकार सुजीव शाक्यको ‘अर्थात् परिवर्तन’ । यस पुस्तकमा कोभिडको पछिको अवस्था, नेपालले अगाडि बढ्न लिनुपर्ने बाटोजस्ता पक्षमा लेखिएको छ । यो पुस्तक ‘थुप्रै डटकम’ मा उपलब्ध छ । नेपालयका अर्पण शर्माका अनुसार पुस्तकका पाँच च्याप्टर रिलिज भइसकेका छन् । प्रतिच्याप्टर पढ्न पाठकले १५ रुपैयाँ तिर्नुपर्न । पूरा किताबको मूल्यचाहिं २ सय ५० रुपैयाँ । ‘कुनै च्याप्टर पढेर रोचक लाग्यो भने पूरा किताब किन्दा हुन्छ, नत्र एउटै च्याप्टरको पैसा तिरे पुग्छ । यो हाम्रो सन्दर्भमा नयाँ शैली हो र प्रभावकारी भइरहेको छ,’ शर्माले भने, ‘स्थिति सहज भएपछि यसको फिजिकल कपी निकाल्ने योजना छ तर कहिले, टुंगो छैन ।’ यस्तै, महामारीकै दौरान ‘स्मृतिकथामा सत्त्व’ प्रकाशित भयो । अर्चना थापाले सम्पादन गरेको यस पुस्तकमा विभिन्न क्षेत्रका व्यक्तिहरूको अनुभूति समेटिएको छ ।

जो प्रकाशनको पर्खाइमा छन्

कोरोनाले अस्तव्यस्त बनाएको जनजीवन कहिले सामान्य बन्छ भन्ने अझै अनिश्चित छ । तर, सम्पादनको काम सकिसकेका वा प्रिन्ट भइसकेका पुस्तकहरू बजारमा ल्याउने तयारी भइरहेको छ । दसैं–तिहार पुस्तक बिक्रीका लागि सुगम समय मानिन्छ । प्रकाशकहरूमा कोरोनाबाट बच्दै जीवनयापन गर्न मान्छेहरू अभ्यस्त होलान् र पढ्ने माहोल बन्ला भन्ने आशा पनि छ । तयार पुस्तक त्यतिकै थन्काउँदा आर्थिक हानि झन् थपिने भएकाले नयाँ पुस्तक बजारमा ल्याउने योजनामा छन् प्रकाशकहरू ।

बुकहिलले तुलसी दिवसको ‘नेपाली लोककथा,’ कुमार नगरकोटीको कथासंग्रह ‘कल्पग्रन्थ,’ वासु शशीको कवितासंग्रह ‘पर्खाल लगाए धेरै थोक बाहिर पर्छ,’ गिरीश्रृष मगरको कवितासंग्रह ‘एकलब्यको देब्रे हात,’ मल्ल के. सुन्दरको उपन्यास ‘विमुक्ति’ लगायतका पुस्तक सार्वजनिक गर्दै छ । अन्य आधा दर्जन किताब तयार अवस्थामा रहेको बुकहिलका अध्यक्ष भूपेन्द्र खड्काले जानकारी दिए ।

फाइन प्रिन्टका सीईओ नीरज भारीले जीवा लामिछानेको ‘देश देशावर,’ डा. राजु अधिकारीको ‘आखिर रोज्ने के ?,’ विश्वम्भर प्याकुरेलको ‘आफैंलाई खोज्दा,’ मनुजबाबु मिश्रको ‘एकलानुभूति,’ असीम सागरको ‘क’, ददि सापकोटाको ‘वनको वैभव’ र स्वरूप आचार्यले अनुवाद गरेको मनीषा कोइरालाको ‘जीजिविषा’ प्रकाशनको लागि पाइपलाइनमा रहेको बताए । ‘जति ढिला गर्‍यो, पछिको किताबलाई त्यति असर पार्छ । लगानी बढ्छ । त्यसैले दसैं अगाडि धेरै पुस्तक ल्याइसक्छौं । जुम वा सोसल मिडियामार्फत विमोचन गर्छौं,’ भारीले भने, ‘तर, माहोल कसरी अगाडि बढ्छ, त्यो पनि हेर्नुपर्छ ।’

किताब पब्लिसर्सले केशव दाहालको उपन्यास निकाल्दै छ । पुस्तकको नाम उल्लेख नगरे पनि नेपालयका अर्पण शर्माले माहोल हेरेर पुस्तक प्रकाशन गर्ने बताए । त्यस्तै, सांग्रिलाबाट डा. गोविन्द टन्डनको ‘इतिहासका थप पृष्ठहरू’, डा. मदन भट्टराईको ‘परराष्ट्रका प्रशासक’, रमेशनाथ पाण्डेको ‘क्रान्ति र प्रतिक्रान्ति’ लगायतका किताब बजारमा आउने तयारीमा छन् । ‘बजारबाट पैसा आएको छैन ।

किताबको उत्पादन खर्चका लागि ऋण खोज्दै छौं । पैसाको जोहो भयो भने दसैंअगाडि ४–५ वटा किताब सार्वजनिक गछौं,’ सांग्रिलाका निर्देशक मणि शर्माले निराश हुँदै भने, ‘आर्थिक गतिविधि चलायमान भयो भने थोरबहुत फाइदा हुन्छ तर पुस्तकको प्राथमिकता सुरुवात होइन, अन्तिमतिर मात्र हुन्छ ।’

प्रकाशित : भाद्र २, २०७७ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?