१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जातीय विभेदको ‘मैदारो’

दलित समुदायको वेदना बोकेको, मर्मस्पर्शी विषय समेटिएको, रसिक ढाँचामा लेखिएको साहित्य हो, भूपिनको उपन्यास ‘मैदारो’ ।
रणेन्द्र बराली

आख्यान होस्, काव्य विधा वा चलचित्रका कथावस्तुमै किन नहोस्, दलितका मुद्दामा कलम चलाउने सर्जकहरूको सघनता अहिले बढेको छ । यिनमा कतिपय सिर्जना गोहीको आँसु झार्ने वा आत्मरति पूरा गर्नेमा सीमित छन् ।

जातीय विभेदको ‘मैदारो’

कतिपयले साँच्चै नै दलित समाजको अन्तर्यबोधसहित जर्जरान्ध समाज परिवर्तनमा टेवा पुग्नेसम्मका जिम्मेवारी निर्वाह गरेका छन् । यस्तै दलित समुदायको वेदना बोकेको, मर्मस्पर्शी विषय समेटिएको, रसिक ढाँचामा लेखिएको साहित्य हो, भूपिनको उपन्यास ‘मैदारो’ ।

परिचय

कुनै पनि कामको समाप्तिलाई मैझारो भनिन्छ । पश्चिम नेपालतिर बोलिने यही शब्दको अपभ्रंश ‘मैदारो’ लाई उपन्यासको नाम दिनु यो पुस्तकको नौलो चिनारी हो । एउटा विख्यात चित्रकारले बनाएको उल्टो चित्रको अर्थ खोलिएको कथा वस्तु हो– ‘मैदारो’ । दुर्गमको अँधेरी गाउँमा जन्मेको दीनदु:खी दलितको छोरोले राजधानी पुगी फाइन आर्टमा स्नातक गरेर कमाएको प्रसिद्धिको विशेषता थियो, उल्टो चित्रको अभिव्यञ्जना । हाम्रा देवीदेवता, राजा, समाजका ठूलाबडालाई उल्टो चित्रमा झुन्ड्याएर धर्म र राज्यव्यवस्थालाई नै उल्टो साबित गर्न चेष्टा गर्ने, देशद्रोही भनेर पक्राउ पर्ने, यातना, मुद्दा र ज्यान मार्ने धम्कीसम्म खेप्न बाध्य भएको ‘नदिन’ नामक सार्की युवक यो उपन्यासको मूल मात्र हो । नदिनकै गाउँका छिमेकी बिष्ट काहिँला क्षेत्रीकी छोरी, अखिल विद्यार्थीको संगतले विज्ञान र परिवर्तनमा विश्वास गर्ने कला नामकी युवती अर्की मूलपात्र हुन् । जसले कठोर संघर्ष गरेर बालसखा नदिनसँग अन्तरजातीय विवाह गरिन् ।

त्यसै कारण सामाजिक तिरस्कार र स्वयम् आफ्ना मातापितासमेतबाट बहिष्करणमा परेपछि रूढिग्रस्त समाज चिर्न र परिवर्तन गर्न उनले जनयुद्ध रोजिन् । क्रान्तिलाई एकमात्र विकल्प ठहर गरेर तीनमहिने छोरी श्रीमान्को जिम्मा लगाएर जनमुक्ति सेनामा सामेल हुन्छिन् कला । उनले बेनीको भीषण आक्रमणमा सहादत प्राप्त गरेको खबरले नदिनको जिन्दगी चकनाचुर हुन्छ । शोकले अर्धचेत हुँदै गाउँ फर्केका नदिनलाई कलाका बाबाले ‘हाम्री छोरीलाई युद्धमा होमेर मार्ने हत्यारा, तँ कुजात किन टेक्छस् हाम्रो आँगन ?’ भन्दै रगताम्मे हुने गरी कुटपिट गर्छन् । पीडाले भाउन्न भएका नदिनले आत्महत्या गर्ने निधो गर्छन् । अनि लेख्छन् सुसाइट नोट– ‘ए जिन्दगी मलाई माफ गर ! मैले आत्महत्याको बाटो रोजेँ ।’ त्यसलाई पाटेभीरको टाकुरामा ढुंगाले च्यापेर छंगाछुर काली गण्डकीको भुमरी ताक्दै हावामा बाँकटे हान्छन् नदिन ।

घरगाउँका सबै मिलेर हप्तौँ खोज्दा पनि घडी र चप्पलबाहेक केही निसाना नपाएपछि नदिनलाई नदीले बगाएको ठहर्‍याएर परिवारले क्रियाकर्म गरिसकेको हुन्छ । तर नदिन भने हाम फाल्दा रूखमा अल्झिएर हाँगैसित लछारिँदै पाटेभीरेको बीच ओढारमा अड्किएका हुन्छन् । कैयौँ दिनपछि होस खुल्दा आफूलाई ओढारनजिक हाँगाले च्यापिएको अवस्थामा पाउँछन् । त्यहाँबाट निस्कन त के, चाहेर पनि फेरि हाम फाल्नसम्म नसक्ने गरी घाइते भएका उनले स्मरण गरेका जीवन–जगत्का आरोह–अवरोह नै उपन्यासको कथावस्तु हो ।

अनकन्टार गुफामा मिल्किएको नदिनको तन्द्रामा गाउँको भँडुवा बाजेले जमानामा सुनाएको एउटा घटना आएर नाच्दछ । त्यही गाउँका बाहुन युवा हरिनारायण र गाइने (गन्दर्भ) युवती कान्छी प्रेमको पोखरीबाट निस्कन नसकेपछि डाँडै काटेर भागेका थिए । पछि लागेका आफन्तले भेटेपछि ‘तिमीहरूको विवाह गरिदिन्छौं’ भन्दै घर फर्काए । विवाह पनि गरिदिए रे । तर जबरजस्ती अर्काअर्कैसँग । यो पीडाले पाकेर उनीहरू एउटै डोरीले बाँधिई त्यही पाटेभीरबाट हाम फालेका थिए ।

झल्याँस्स तन्द्रा खुल्दा नदिनका अगाडि त्यही प्रेमिल जोडी आकारको ढुंगा एकअर्कालाई अँगालो मारेर बसेजस्तो देखिन्छ । त्यो ढुंगालाई पूर्णाकारको चित्र बनाउने अठोट गर्छन् उनले । सकीनसकी घिस्रँदै चराका अण्डा, झारपात र अँगार मिलाएर रंग बनाउँछन् । रूखका मसिना हाँगाको टुप्पो थिचेर ब्रसको रूप दिन्छन् । त्यसैबाट ढुंगाको क्यानभासमा उतारेको आकृति नै उनको चित्रकारिताको ‘मैदारो थियो । यसरी बुनिएको कथामा जातीय, वर्गीय, लिंगीय विभेदले समाजमा निम्त्याएको दर्दनाक परिघटनाको वर्णन नै ३५२ पृष्ठको उपन्यास ‘मैदारो’ हो ।

उद्देश्य

यस कृतिले नेपाली समाजमा विद्यमान छुवाछूतसम्मको जातीय विभेदलाई अविलम्ब हाम्रै पालामा हामीले नै ‘मैदारो’ गर्नुपर्छ भन्ने उद्देश्य बोकेको छ । स्वाभिमानको सपना बोकेर जनयुद्धमा लागेका र जातीय विभेदको पीडा असह्य भएर आत्महत्या गर्ने हजारौँ दलितको प्रतिनिधित्व गरेका छन्, यस उपन्यासका पात्रले । छुवाछुत मुक्तिका लागि सचेतना जगाउन राजनीतिक, सांगठनिक र सामाजिक अभियानका शृंखला रसपूर्वक जोडिएका छन् ।

खासगरी यसमा समेटिएको बागलुङको अँधेरी खोला र अँधेरी गाउँले सिंगो मुलुकको प्रतिनिधित्व गरेको छ । गरिब दलितको छोराले पढ्दाका बखत भोग्नुपर्ने जातीय असमता र आर्थिक विषमता, स्कुल पास गरेपछि पनि उच्च शिक्षा आर्जन गर्ने गक्ष नहुँदा मुगलान भासिनुपर्ने यथार्थ, कसैका जीवनमा एकादुई दातृ–संस्थाको सदाशयले अघि बढ्न पाएका अवसरलाई मर्मस्पर्शी ढंगले चित्रण गरिएको छ ।

बाहुनी केटीसँग प्रेमविवाह गरेको नदिनले जातकै कारण डेरा नपाउने, अझ दलितबाटै छुवाछुत भोगेर गरेर डेरानिकाला गरिनेजस्ता जीवन्त समस्या सान्दर्भिक तबरले उजागर गरिएको छ । नदिनको पहिलो चित्र किन्ने यादा पराजुली, वाममन्थी विचारको बीजारोपण गर्ने परी थापा दिदी, पढाइमा अब्बल देखेर उच्चशिक्षा (फाइन आर्ट) पढ्न अवसर दिलाइदिने रमन दाइ, पहिलो काम दिने रोहिणी थापा, पोखराका आर्टिस्ट आकाश गुरुङ, आर्ट ग्यालरीमा स्व. नदिनको एकल चित्र प्रदर्शनीमा उल्टो चित्र झुन्ड्याइएको देखिएपछि जिज्ञासापूर्वक पूरै कथावस्तुको रहस्य उद्घाटन गर्ने अभियन्ता हुन् स्मरण गुरुङ ।

त्यस्तै दलित संघर्षका इतिहासबोध गराउने मनवीरे सार्कीजस्ता पात्रहरूलाई मथेर उद्देश्य प्राप्तिका आधार स्तम्भ निकालिएको छ । वर्तमान सामाजिक राजनीतिलाई सूक्ष्म किसिमले पीडित जनताका आला घाउप्रति ध्यानाकर्षण गराउने र मुक्तिमार्गमा बत्ती बाल्ने उद्देश्य बोकेर कलात्मक शैलीमा पस्किइएको यो रचनाले केही अलग पहिचानसमेत बोकेर आएको छ ।

विशेषता

उल्टो चित्रले बोलेको कथानक परिदृश्य नै यस उपन्यासको अलग पहिचान र विशेषता बनेको छ । एक दिन एकान्तमा क्यानभास कोरिरहेका नदिनको नजिक आएर प्रेमिका कलाले भन्छिन्, ‘आज पनि उल्टै चित्र ?’ नदिनले सहज उत्तर दिन्छन्– ‘आफूले देखेको जे छ त्यसलाई जस्ताको तस्तै उतार्नु, त्यो नै सुल्टो हो ।’ उल्टो प्रचलनलाई सुल्टो देख्नेहरू जति छन् ती सबै उल्टा हुन् भन्ने भाव उनको हुन्छ । ‘मानिस बचाउन बनेका धर्म मान्छे मार्ने उद्यममा छन्, ती उल्टा । मानिसलाई जोड्न बनेका संस्कृतिले मानिस विभक्त गरिरहेछन्, ती उल्टा । कानुन दुरुस्त छन्, कार्यान्वयन उल्टा । मुक्तिका मार्ग दुरुस्त छन्, परिणाम उल्टा । गाउँमा सबैभन्दा श्रम गर्ने, बढी अन्न उब्जाउने, ऊ सधैं भोको, यो चलन उल्टो । जसले मन्दिर र मूर्ति बनाउँछन्, उनैले छुन पाउँदैनन्, यो चलन उल्टो । पशु घरभित्र, मान्छे बाहिर, यो चलन उल्टो । अरू त अरू, सबैभन्दा पवित्र प्रेम गर्ने मानिस सबैभन्दा अपमानित छन्, यो चलन उल्टो । लाग्छ, सभ्यता नामको रूखका हाँगाहरू चमेराझैं उल्टो झुन्डिरहेछन् ।’ (पृ.२०७) यसरी समाजको विकृति–विसंगतिलाई उल्टो चित्र बनाएर विद्रोह गर्नु फरक विशेषताको उपज हो ।

यो कृतिले जोड गरेको अर्को विषय हो– चित्रकलाको मध्यमबाट मानव इतिहास निर्माण हुन्छ । सामाजिक क्रान्ति हुन्छ । यतिसम्म कि चित्रकलाको संवेदनशीलताले मान्छेलाई आत्महत्यासम्म गराउँछ र स्वयम् कलाकारसमेतले आत्महत्या रोज्छन् । यसको उदाहरण ‘ह्विट फिल्ड विथ क्रोज’ शीर्षकको चित्र बनाएको दुई हप्तामा विश्वविख्यात कलाकार म्यान गगले आत्महत्या गरे । यस्तै अर्का महान् कलाकार गडवार्डले ‘न्युड अन द बिच’ रचना गरेको एक महिनापछि १९२२ मा आत्महत्या गरेका थिए । (पृ.३१९) उपन्यासको मूल पात्रका बारेमा पनि यही कुरा लागू हुन्छ ।

लेखकले यो उपन्यासमा प्रयोग गरेका आञ्चलिक भाषा अहिलेसम्म प्रयोग गरिएका जनजिब्रोको प्रस्तुतिमध्ये अघिल्लो पंक्तिमा पर्छ भन्दा अत्युक्ति नहोला । पश्चिमी गाउँघरमा बोलिने आञ्चलिक भाषाको मिठासले पाठकलाई सम्मोहित गराइदिन्छ ।

खड्केका केही कुरा

मानवीयताको अमुक विषयलाई नयाँ शैलीमा शिल्पकलाको मसला पुर्‍याएर पकाइएको चौरासी व्यञ्जनयुक्त यो उपन्यासको केही परिकारमा नुनचुक नमिलेको आभास हुन्छ । कला भन्छिन् ‘समाजमा जरो गाडेको बर्बर संस्कार र संस्कृति उखेलेर फाल्न सानो युद्धले सम्भव छैन ।’

नदिन भन्छन्, ‘ध्वंस–हिंसालाई प्रेम गर्न सकिन्न, यी घृणाका लायक छन् । यसरी भकाभक निर्दोष मान्छे मारेर गरिने कुनै पनि युद्धलाई क्रान्ति मान्दिनँ म ।’(पृ.२५५)

यो भनाइ विरोधी वर्गको पात्रले भनेको भए सुहाउँथ्यो । सामाजिक परिवर्तनको पक्षधर नदिनले यसो भनिरहँदा के जनयुद्धको उद्देश्य भकाभक निर्दोष मान्छे मार्ने नै थियो होला त ? अथवा कुनचाहिँ युद्ध हुन्छ हिंसारहित भन्ने प्रश्न उठ्ने ठाउँ रहेको पाइन्छ ।

बागलुङको ऐतिहासिक दलित आन्दोलनको प्रसंगमा विश्व सर्वजन संघ खोलिएको २००३ हुनुपर्नेमा २००४ भएको छ । स्थान भालुमारे चौतारो हो, ओमप्रकाश चौतारो भएको छ । (पृ.१५०) नाम र ठाउँ कि पूरै काल्पनिक कि पूरै यथार्थ हुँदा जाती होला ।

यो समाजको सारतत्त्व बोकेको आख्यान भएकाले विश्वसनीयताको आवश्यकता हुन्छ । नदिन घाइते अवस्थामा ओडारमा वर्षौं बसेको देखाइएको छ । उसले घाइते ज्यान कसरी उपचार गर्‍यो ? के खाएर बाँच्यो । खासै खुलाइएको छैन । काठ, ढुंगाबाट आगोको उद्भव, तप्केनी सँगालेर भए पनि पानीको जोहो, गुफामा पाइने चरा–चमेरोको सिकार, कन्दमूल आदिको आहारविहार गरेर बाँचेको बनाएको भए पनि मिल्थ्यो कि ? एक–दुई हप्तामै कथान्त गरेको भए पनि सुहाउँथ्यो होला कि । गुफाबाट निस्केर घर पुग्दा आफ्नै आमाले नचिन्ने गरी दाह्रीकपालले ढाकेको अस्थिपञ्जर मात्र हुन्छ । एक–दुई हप्ताको परिवेशमा त्यस्तो कहाँ हुन्छ र ?

यस्तै अपत्यारिलो छ नदिनकी आमाले अँध्यारैमा पानी भर्न गएका बेला देखेका भूत र मसानको प्रसंग । ती कुरा वास्तविक जीवनमा नभई छिटो पानी भर्न जाने सोचमा निदाएका बेला देखेको सपना वा कसैले सुनाएको कथाको सन्दर्भमा भए राम्रो हुन्थ्यो । यस्तो तर्साउने कुरा गाउँघरमा धेरै सुनाइन्छ तथापि वास्तविकता त होइन नि ।

गाडीमा एक–दुई पार्टपुर्जा अल्टर परेजस्ता केही कुरा खड्कनुबाहेक प्रस्थानविन्दुबाट गन्तव्यसम्म अविरल गतिमा हुनहुनाएर यात्रा तय गरेको छ, यो ‘मैदारो’ नामक वाहनले ।

समकालीन साहित्यका उदीयमान् स्रष्टा भूपिनजीले प्राध्यापन, साहित्य र सञ्चारको क्षेत्रमा कार्यरत रहनुका साथै विभिन्न सिर्जना प्रकाशित गर्दै आउनुभएको छ । कविता र निबन्ध फाँटमा स्थापित भइसक्नुभएको छ । यो कृतिले औपन्यासिक जगत्मा पनि भूपिनको कद उचालिने नै छ ।

रसिला र भरिला सिर्जनाले जन–साहित्यको भकारी भर्न मैदारो (मैझारो) नगरी लागिरहनुहुनेछ भन्ने विश्वासका साथ आगामी दिनमा यसरी नै नयाँ, नौला आयाम बोकेर साहित्याकाशमा चम्किरहनुहोस् । शुभकामना छ ।

प्रकाशित : श्रावण ३१, २०७७ १४:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?