नयाँ युगमा प्रवेश गरेको देश (कविता)
शब्दहरुको गोलाबारी बर्साएजस्तो गरी
घरीघरी भनिएको छ
यो देश नयाँ युगमा प्रवेश गरेको छ
र, म खोजिरहेछु
नयाँ युगमा प्रवेश गरेको त्यो देश ।
देश बोकेर हिँडिरहेकाहरुले भनिरहेछन्
तिनका सल्लाहकारहरुले भनिरहेछन्
जानिफकारहरुले भनिरहेछन्
इन्टेलिजेन्स सम्हालेकाहरुले भनिरहेछन्
बजेट बनाइरहेकाहरुले भनिरहेछन्
योजना बनाइरहेकाहरुले भनिरहेछन्
देश दौडाहामा निस्केकाहरुले भनिरहेछन्
ठेकेदारहरुले भनिरहेछन्
हल्लाखोरहरुले भनिरहेछन्
नयाँ युगमा प्रवेश गरेको छ यो देश
र, म खोजिरहेछु
नयाँ युगमा प्रवेश गरेको त्यो देश ।
किताब लेख्नेहरुले
राष्ट्रिय गीत लेख्नेहरुले
टेलिभिजनमा समाचार पढ्नेहरुले
रेडियोमा धार्मिक पुराण वाचन गर्नेहरुले
अखबारमा हेडलाइन लेख्नेहरुले
बाजा बजाउनेहरुले
लोकभाकामा नाच्नेहरुले
ताली बजाउनेहरुले
सबले भनिरहेछन्
माथिबाट
तलबाट
शिरबाट
पुच्छारबाट
कहिले लय मिलाएर
कहिले लय बिगारेर
जो जहाँ–जहाँ छन्, तिनले त्यहाँ–त्यहाँबाट भनिरहेछन्
नयाँ युगमा प्रवेश गरेको छ यो देश
र, म खोजिरहेछु
नयाँ युगमा प्रवेश गरेको त्यो देश ।
राष्ट्रिय पोसाक लगाएर भनिरहेछन्
नयाँ युगमा प्रवेश गरेको छ यो देश
राष्ट्रिय पोसाक उतारेर भनिरहेछन्
नयाँ युगमा प्रवेश गरेको छ यो देश
विदेशी पोसाकमा सजिएर भनिरहेछन्
नयाँ युगमा प्रवेश छ गरेको यो देश
घरी चस्मा लगाएर भनिरहेछन्
घरी चस्मा उतारेर भनिरहेछन्
रक्सीको गिलास उचाल्दै, रक्सीको गिलास रित्याउँदै
डिनर खानुअघि, डिनर खाईवरि भनिरहेछन्
नयाँ युगमा प्रवेश गरेको छ यो देश
र, म खोजिरहेछु नयाँ युगमा प्रवेश गरेको त्यो देश ।
साइरन बजाउँदै सवारीमा जानुअघि भनिएको छ
उद्घाटनमा भनिएको छ
सम्बोधनहरुमा भनिएको छ
विसर्जनहरुमा भनिएको छ
शुभकामनाहरुमा भनिएको छ
राष्ट्रिय सम्मेलनहरुमा भनिएको छ
अन्तर्राष्ट्रिय सम्मेलनहरुमा भनिएको छ
मञ्च उक्लेर भनिएको छ, मञ्च ओर्लेर भनिएको छ
सूर्य उदाउँदा भनिएको छ, सूर्य अस्ताउँदा भनिएको छ
नयाँ युगमा प्रवेश गरेको छ यो देश
र, म खोजिरहेछु नयाँ युगमा प्रवेश गरेको त्यो देश ।
आह !
नभेटिएर त्यो नयाँ युगमा प्रवेश गरेको देश
आजित भएको छु म
र त्यो अब
एकादेशको कथा बनेको छ
अलमलिएको छु
यो ज्यादतीले कमजोर बनेको छु म
फैलिँदै गरेका नयाँ युगका हल्लाहरुले अब म बहिरो बनेको छु
र सोधिरहेछु–
यो भुलभुलैया हो कि नारा हो ?
नीति हो कि कार्यक्रम हो ?
घोषणा हो कि मन्त्र हो ?
षड्यन्त्र हो कि मायाजाल हो ?
दर्शन हो कि धोका हो ?
निदको गोली हो या स्लो पोइजन ?
यो ठूलो आशा हो या विकसित हुँदै गैरहेको झन् ठूलो त्रास ?
आतंक हो या आउँदै गरेको अशुभ समाचारको
संकेत ?
(हाल अमेरिकाको टेक्सासमा बस्दै आएका कवि मीनबहादुर विष्टका ‘साला पहाडमें क्या है’, ‘गाउँको पाठशाला’, ‘जरसाहेबको कुकुर’, ‘यो पनि कुरैकुराको वर्ष हो’, ‘सिक्रेट सल्काइदेऊ थापा दाइ’ जस्ता कविताहरु निकै रुचाइएका छन् ।)
प्रकाशित : श्रावण ३१, २०७७ १३:४८