नेपाली फिल्मको लैंगिकताको पाटो- साहित्य/विविध - कान्तिपुर समाचार

नेपाली फिल्मको लैंगिकताको पाटो

नेपाली फिल्म र फिल्मका कलाकारको नाम बाक्लै पढिरहँदा बेलाबेला उपन्यास पढिरहेको कि नेपाली फिल्म क्षेत्रभित्रैको काम गरिरहेको कसैको स्मरण पढिरहेको हो भन्ने महसुस भइरहन्छ । नियमित रुपमा सञ्चारमाध्यममा दोहोरिने समाचारहरुको कतिपय ठाउँमा उही रुपमा पाइन्छ । तर, सहज लाग्छन् ।
नारायणी देवकोटा

कोरोना महामारीका कारण महिनौंदेखि बन्द भए पनि कहिले महानायकको खोजीमा त कहिले मानहानीको दाबीसहितको मुद्दा बोकेर नेपाली फिल्म उद्योग तातिरहेको छ । यी दुई यस्ता सवाल हुन् जसले समानता, भावना र सानातिना भनेर घोषणा गरिएका कामको सम्मान गर्दैनन् ।

जब कुनै पनि पेसामा मानिसहरुले आफ्ना भूमिका राम्ररी निभाउन सक्दैनन् तब त्यहाँ महानायकको खोजी हुन्छ । चाहे त्यो समाज होस्, चाहे राजनीति होस् चाहे फिल्म उद्योग होस् वा अरु नै कुनै । लैंगिकताका आँखाबाट हेर्दा यो अझै ‘मेलस्ट्रिम’ देखिन्छ । किनकि विभाजन नै गरेर हेर्दा पनि यसले कहिल्यै महानायिकाको खोजी गर्दैन । महानायिकाको कुरा त धेरै पर नायिकाले ‘मैले दुर्व्यवहार महसुस गरें’ भनेर रुन पनि मिदैन । त्यसैले त

दोषीको नाम नलिई एक नायिकाले आफूले भोगेको दुव्र्यहारको बारेमा बोलेको विषयलाई लिएर करोडौँ क्षतिपूर्तिको माग दाबीसहित मुद्दा दायर गर्न हिम्मत आउँछ नायक तथा निर्मातालाई ।

फिल्म उद्योग गरमागरम बहसमा उत्रिरहेका बेलामा संयोगले (वैशाखमा बजारमा आउने भनिएको किताब लकडाउनका कारण साउनमा बजारमा आएको छ) लामो समयदेखि पत्रकारिता र स्वतन्त्र लेखनमा सक्रिय सरला गौतमले आफ्नो पहिलो उपन्यास डुमेरो लिएर आएकी छिन् । लेखक गौतमले नेपाली फिल्म उद्योगमा आफ्नो जिन्दगी खोजिरहेकी युवतीको कथालाई लिपिबद्ध गरेकी छन् । जसको सुरुवात ‘नारनघाट’ बजारमा फिल्म सुटिङ हुँदा नायक राजेश हमाल र नायिका कृष्टि मैनालीलाई हेर्न विद्यालयका कक्षा हापेर हिँडेकी किशोरीको बिस्तारै कार्यक्रम प्रस्तोताको यात्रा, टेलिभिजनमा काम गर्दा गर्दै टेलिफिल्ममा अभिनय, व्यापारिक फिल्मदेखि फिचर फिल्मसम्मको अभिनय र निर्देशकीय भूमिकासम्मको यात्रालाई उतारेकी छन् ।

कथानक भनिने नेपाली (अरुतिर पनि) फिल्ममा काम गर्ने मानिसका पर्दामा नदेखिने कथाहरु छन् । काठमाडौं बाहिरबाट आएकामध्ये धेरैका फिल्म उद्योगमा न आफन्त छन्, न बलियो आर्थिक आधार छ, न त परिवारको सहयोग नै छ । त्यसमाथि नायिकाका थप दुख्ख छन्, सधैँ सुन्दर, सुकोमल, शालीन भइदिनु पर्ने । बौद्धिक भनेका सञ्चार जगतका फिल्म पत्रकार छन्, जो हिरोइनका क्लिभेज कहिले देखिएला वा कहाँ के गल्ती गर्ला र समाचार बनाउँला भनेर सुन्दरता र शालीलनताको फिता लिएर नाप्न बसेका छन् । फिल्मका कथा छन् अधिकांश एउटै कथा बस्तुमा आधारित (धनी बाबुकी सुन्दर छोरी, जो गरिब गाउँले केटाको प्रेममा पर्छे, तर उसँग बिहे गर्न चाहन्छ बाबुको बिजनेस पार्टनर) । र, जोडिएका छन्, प्रेम, विवाह, सुहागरात र बलात्कारका सिन । जुन सिन खिच्ने बेलामा चुरोट, पान वा रक्सीको गन्धले वान्ता आउला जस्तो भए पनि पस्कनुछ अदाकारी मुस्कान । अप्ठेरो भयो, असहज भयो भने बजारमा चर्को प्रतिस्पर्धा छ र तयार छन् पुरानालाई रिप्लेस गर्न आतुर झन् ज्ञानी नायिकाहरु ।

यस्तो बजारमा मनमा ‘श्रीषा कार्कीको आत्महत्या आत्महत्याभन्दा बढी हत्या हो’ भन्ने सोच बोकेर हिँड्ने नायिका चलिरहेको फर्मुला फिल्मभन्दा फरक फिल्म खेल्न चाहन्छे । जसलाई बनाउने न आर्थिक रुपमा बल्लियो निर्देशक छन् न आफ्नो आर्थिक हैसियत राम्रो छ । केही राम्रा फिल्म खेलेकी हिरोइनलाई सानो अपार्टमेन्ट किन्ने पैसा हुँदैन र उ सानै भए पनि आफ्नो घर बनाउने उद्देश्यले अमेरिकामा काम गर्न जान्छे र रेस्टुँरामा काम गर्छे ।

नेपाली फिल्म र फिल्मका कलाकारको नाम बाक्लै पढिरहँदा बेलाबेला उपन्यास पढिरहेको कि नेपाली फिल्म क्षेत्रभित्रैको काम गरिरहेको कसैको स्मरण पढिरहेको हो भन्ने महसुस भइरहन्छ । नियमित रुपमा सञ्चारमाध्यममा दोहोरिने समाचारहरुको कतिपय ठाउँमा उही रुपमा पाइन्छ । तर, सहज लाग्छन् । उपन्यास नेपालको फिल्म उद्योगभित्रका महिलाको कथामा आधारित भए पनि, समाजमा महिलालाई हेर्ने दृष्टिकोणमा आउँदै गरेको परिवर्तन, आमरुपमा महिला स्वयं, परिवार र प्रेमका बारेमा भत्किँदा मानक, फिल्म पत्रकारिता, पर्यावरण पनि जोडिएर आउँछन् ।

कैयौं ठाउँमा कथाकी मूल पात्रसँग जोडिएकी पत्रकार युवती बोल्ड रुपमा प्रस्तुत हुन्छे । कयौँ ठाउँमा उपन्यासकी लेखकले सामाजिक सञ्जाल र पत्रिकामा लेखमार्फत उठाउँदै आएका विषयहरुलाई जस्ताको त्यस्तै पत्रकार साथीको तर्फबाट राख्दा लेखकलाई पछ्याइरहेका व्यक्तिलाई यो कुरा त दोहोरियो नि भनेझैं महसुस भए पनि झर्को भने लाग्दैन । अङ्ग्रेजीका केही शब्द र केही गालीहरुलाई नराखेको भए पनि हुन्थ्यो कि भन्ने पनि भइरहन्छ । तर, आम रुपमा बोलिने शब्दहरु राखेर जीवनन्तता दिन खोजेको जस्तो लाग्छ ।

यो उपन्यास पढिरहँदा मैले केही वर्ष अगाडि लेखक शिवानीसिंह थारुले आफूले पढ्न चाहेको कथा नेपाली साहित्यमा अझै नलेखिएको भनेर बताएको कुरा सम्झिरहेँ । सरलाले नेपाली फिल्म जगतको अहिलेसम्म नलेखिएको तर सबैले महसुस गरेको कुरालाई पुस्तकका रुपमा ल्याएर बहसको ढोकालाई अझ फराकिलो पारेकी छिन् । काठमाडौं बाहिरबाट काठमाडौं केही बन्ने सपना बोकेर आउने मानिसहरुले यो कथामा आफूलाई पाउनेछन् । त्यसैगरी नेपाली फिल्म उद्योगका मानिसहरुले उपन्यास पढे भने कयौँ ठाउँमा आफूलाई पाउलान् । तर, के नेपाली फिल्म उद्योगका मानिसहरुले यो किताब पढ्लान् ?

प्रकाशित : श्रावण २४, २०७७ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्

नागरिक उड्‍डयन प्राधिकरणको बजेट ४१ अर्ब ११ करोड 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकता
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आर्थिक वर्ष २०७७/०७८ का लागि ४१ अर्ब ११ करोड ३ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । प्राधिकरणले निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताएको छ ।

क्यानले सार्वजनिक गरेको नीति तथा कार्यक्रम एवं बजेटमा विमानस्थलको विकास र स्तरोन्नति गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ । क्यानले चालु आर्थिक वर्षको बजेट गत आर्थिक वर्षको भन्दा ५ अर्ब ८५ करोड रुपैयाँले कम विनियोजन गरेको छ । गत आर्थिक वर्ष २०७६/०७७ मा क्यानले ४६ अर्ब ९६ करोड ५० लाख ९९ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

यस वर्ष कोभिड १९ का कारण विमानस्थलहरु बन्द रहँदा आम्दानी घट्ने भएकाले बजेटको आकार कम गरिएको प्राधिकरणले बताएको छ । चार महिनायता प्राधिकरणका क्रियाकलाप बन्द भएकाले नीति तथा कार्यक्रममा कुनै नयाँ कार्यक्रम समावेश भएको छैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति सँगसँगै प्राधिकरणको संस्थागत सुधार, सञ्चार उपकरण, सुरक्षा उपकरण र मौसमी उपकरण जडान गर्ने विषयले प्राथमिकता पाएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न गरी चालु आर्थिक वर्ष भित्रै सम्पन्न गर्ने लक्ष्य पनि क्यानको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण गर्न २ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण पनि यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य क्यानले लिएको छ । यस विमानस्थलका लाग अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण गर्न ७८ करोड रुपैयाँ विनियोजन भएको छ ।

यसबाहेक निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना तयार गर्ने विषयलाई पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ । यो विमानस्थलका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण गर्न २० करोड रुपैयाँ विनियोजन भएको छ ।

प्रकाशित : श्रावण २४, २०७७ १४:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×