अयोध्या काण्ड- साहित्य/विविध - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अयोध्या काण्ड

लोककला, लोकसाहित्य र लोकआस्थाभन्दा भिन्न किसिमको विमर्श किन उभ्याउनु ? रामायणको घटना, पात्र, स्थानप्रतिको विविध मान्यता र दृष्टिकोणलाई किन चुनौती दिनु ? फरक इतिहासबोधका लागि तथ्यको खोजी किन गर्नु ? के यस्ता आधारहरुको खोजी गर्नु हुँदैन ?
रमेश रञ्‍जन

‘अवतारवाद हिन्दुत्वको सबभन्दा घातक शस्त्र रहँदै आएको छ । बुद्धको विचारलाई पनि त्यस्तै शस्त्रबाट घाइते पारिएको थियो । उहाँको विचारप्रति संशय उत्पन्न गराउन बुद्धलाई विष्णुको अवतार घोषित गरियो र उहाँका अनुयायीहरुले खासै आपत्ति प्रकट गरेनन् । दीनाभद्रीलाई पनि राम र लक्ष्मणको अवतारको रुपमा महिमा मण्डन गरिन्छ र आफूलाई उनका वंशज मान्नेहरु त्यसैमा गौरवान्वित छन् ।

आर्यहरुविरुद्ध सङ्घर्ष गरेका दीनाभद्रीलाई आर्यराजा राम र लक्ष्मणको अवतार मानिनु अनार्य दीनाभद्रीको सौर्य र सङ्घर्षलाई अवमूल्यन गर्नु हो ।’

मुसहरहरुको लोकदेवता दीनाभद्री र तीनका गाथामाथि मैले मैथिली भाषामा लेखेको लेखको नेपाली अनुवाद हो यो ।

कोलकाताबाट प्रकाशित हुने ‘मिथिला दर्शन’ म्यागजिनको लागि मैले लेख पठाएपछि मैथिलीका चर्चित रङ्गकर्मी, निर्देशक तथा सम्पादक कुणालले मलाई फोन गरेर भन्नु भयो– ‘तपाईं पनि रामलाई आर्य राजा मान्न थाल्नु भयो ?’ एकछिन म अलमलमा परें । यो प्रश्न नै अप्रत्याशित थियो । उहाँको प्रश्नको आशय बुझेपछि मलाई मेरो दृष्टिकोण राख्न कठिनाई भएन ।

अहिले यो प्रसङ्ग उल्लेख गर्नुको एउटै कारण हो प्रधानमन्त्री केपी शर्मा ओलीको अयोध्या प्रसङ्गमा आएको विचार । प्रमको अभिव्यक्तिको प्रतिक्रियामा सामाजिक सञ्जालका पर्खालहरु रङ्गिए । पर्खालका रङ्गहरु कुरुप नै छन् । एकथरि तिनै रङ्गमा रमेका पनि छन् । व्यंग्यका नयाँ शैली र शब्दहरु उकेरिएका छन् । केही मर्यादित पनि होला तर अधिंकाशत: अमर्यादाकै श्रेणीमा आउने शब्दहरु छन् ।

यस्ता प्रतिक्रियाको उद्गमस्थल (मधेश ?) अहिले उनीहरु आफ्नो अनुकुलताको लागि मिथिला भन्न हच्किइरहेका छैनन् । कारण प्रमको अभिव्यक्तिलाई विवादास्पद र अमार्यादित ठहर्‍याउन मिथिला अवध सम्बन्धलाई महिमामण्डन गर्नैपर्ने हुन्छ । मिथिलाको भूगोल, संस्कृति र भाषासँग तर्सिने राजनीतिक जत्था रामको विवाह भने त्यही मधेशको जनकपुर भन्ने ठाउँमा भएको भन्न हच्किँदैनन् । तर, मिथिलासँगको सम्बन्ध र साइनोप्रति अछूतजस्तै व्यवहार देखाउँछन् । अहिले कमसेकम प्रमलाई विरोधै गर्नलाई भए पनि मिथिला अवधको सम्बन्धलाई स्वीकार त गरिएको छ । यी स्वीकारोक्तिलाई सकारात्मक भन्न पनि मिलेन कारण अहिले मिथिलाको स्वीकार तात्कालिक र बाध्यात्मक मात्र हो ।

यो त घरभित्रको कोलाहल र क्रन्दन हो । त्यस विचारमा गम्भीर कुटनीतिक अर्थ छ र त्यसैकारण परराष्ट्र मन्त्रालयको संयमित विज्ञप्ति पनि आइसकेको छ । यसको राजनीतिक र कुटनीतिक अर्थ, विवाद र समाधानका संभावना र सूत्र तथा यस प्रसङ्गको विराम र बिस्तारको बिषयमा आफ्नै किसिमको अभ्यास पनि भइरहेकै हुनुपर्छ । तर, मलाई रामायणकालीन घटना, पात्र, स्थान आदि बिषयमा भएको अन्वेषण र त्यसमाथि पर्याप्त प्राज्ञिक बहसको आवश्यकता छजस्तो लाग्छ ।

विगतदेखि नै विवादास्पद रहँदै आएको रामको जन्मस्थल अयोध्यासँग एउटा अरु नयाँ विवाद जोडिएको छ । नेपाली भाषामा रामायणका अनुवादक भानुभक्त आचार्यको जयन्तीको दिनमा प्रम केपी ओलीले भारत उत्तरप्रदेशमा रहेको अयोध्यामाथि प्रश्न उभ्याउँदै नेपालको ठोरीमा अयोध्या हुनसक्ने आशय व्यक्त गर्नु भयो । उहाँको अभिव्यक्तिमा भारतद्वारा सांस्कृतिक अतिक्रमणको कुरा पनि थियो । यस प्रसङ्गलाई बिर्सिने कोसिस गरे पनि अब सहजै बिर्सिन दिइँदैन । यो देशको प्रमुख कार्यकारीको अभिव्यक्ति हो । देशभित्र मात्र होइन छिमेकले पनि आवश्यकता अनुसार यस विषयलाई उपयोग गर्न सक्छ ।

भारतीय राजनीति र अयोध्या

अयोध्याको रामयणकालीन महत्व छ । इसापूर्वको अयोध्या नामक गाउँ वा नगरले भारतीय जनजीवनका धेरै परतसँग सम्बन्ध राखेको छ । आर्यावर्तको सामाजिक, सांस्कृतिक र राजनीतिक सङ्घर्ष, उत्कर्ष र पतनको साक्षी अयोध्या रहेको छ । चिनियाँ नागरिक फा हियानको अयोध्या वृतान्तले उक्त नगर सनातन धर्मको प्रभावभन्दा पनि बौद्ध धर्मको प्रभावमा रहेको उल्लेख छ ।

अहिले अयोध्या वर्तमान भारतीय राजनीतिको निर्णायकस्थल हो । भारतको पाँच सय पैतालीस सदस्यीय संसदमा साङ्केतिक प्रतिनिधित्व हुने दल अहिले दुई तिहाई बहुमतसहित सरकारमा छ र त्यसको मुख्य कारण अयोध्या अर्थात् राम जन्मभूमि मानिन्छ । मुगल, ब्रिटिस र स्वतन्त्र भारतको राजनीतिलाई अयोध्याले प्रभावित गर्दै आएको हो । मुगल शासक बाबरले राम मान्दिरलाई ध्वस्त पारी बाबरी मस्जिद निमार्ण गरेको भन्ने विवादलाई हालै भारतीय सर्वोच्च न्यायालयले टुङ्गो लगाएको छ । भारतकै सबभन्दा बढी विवदास्पद मुद्दाबारे निर्णय गर्न नसक्ने अड्कलबीच विवादित ढाँचा मस्जिद नभइ मन्दिर भएको निर्णय अदालतले दिएको हो ।

हुनत सत्ताधारी दल र तिनका संगठनहरु रामजन्मभूमिकै रुपमा अदालतको निर्णय आएको जस्तो प्रचारित गर्न चुकेका छैनन् । अदालतको यस निर्णयलाई सत्ताधारी पार्टी भाजपाले सबभन्दा ठूलो जीतको रुपमा व्याख्या गरिरहेको छ । यसको श्रेय वर्तमान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको कारण संभव भएको भन्ने प्रचारित गरिँदैछ । यो निर्णय गर्दा सर्वोच्च अदालतका प्रधानन्यायाधीश रहेका रन्जन गोगोईलाई भाजपा सरकारले अहिले माथिल्लो सदन राज्यसभामा मनोनित गरेको छ भने मोदीमा अयोध्यामा राममन्दिर निर्माणको सिलान्यास पनि गरिसकेका छन् ।

तर, प्रम मोदीको ‘थिंक ट्या‌ंक’लाई थाहा छ, दिल्लीको सिंहासनको सिंढी अयोध्याबाट सुरु हुन्छ । त्यसैले अयोध्या र आयोध्यामा रामजन्मभूमि मुद्दाको मृत्यु भयो भने प्रकारान्तरले भारतीय राजनीतिको वर्तमानस्वरुप बदल्न सक्ने राजनीतिक पण्डितहरुको ठहर छ । भाजपाका रणनीतिकार यस मुद्धालाई जसरी पनि बचाईराख्ने दवाबमा छन् ।

भारतीय मनोविज्ञान र अयोध्या

भारतीय स्वतन्त्रताको सत्तरी वर्षमा उल्लेख गर्नलायकको उपलब्धि भारतसँग छ । अर्थ, विज्ञान, शस्त्र, सेना, बजार, उपभोक्ता, चन्द्र वा मंगलयात्रा, एटमिक हतियार वा अन्य । तर, सामाजिक सांस्कृतिक चेतनाकोस्तरमा अधिंकाश भारतीय भूतकालीन प्रभावबाट मुक्त हुन सकेका छैनन् । भारतीय जनताको मनोविज्ञान भारत पाकिस्तान विभाजनमै अड्काइएको छ । राजनीतिक महात्वकांक्षा, धर्मको राजनीतिक प्रयोग मूख्यत: विभाजनका कारण मानिए पनि तात्कालीन अवस्थामा समाज र राजनीतिको समुन्नत मष्तिष्कको योजनबद्ध प्रयत्नबाट देश विभाजन भएको थियो ।

सत्तरी वर्षको भोट बैंकको राजनीतिक अभ्यासले धार्मिक ध्रुवीकरणलाई मलजल गरेको छ । जातीय भोट बैंकको प्रयोगशाला र धार्मिक उन्मादीय विश्वविद्यालयहरु यही ज्ञान गुण वितरण गरिरहेका छन् । भारतको राजनीतिमा अझै पनि निर्णायक जाति र धर्म नै छ । कुनै बेला ‘कार–सेवकहरु’ले भारतको गाउँगाउँबाट इँटा बोकेर राममन्दिर निर्माण गर्न अयोध्या गएका थिए । त्यतिबेला राममन्दिर बनेन तर विवादित ठाँचा ढल्यो । बाबरी मस्जिद ढालेको ६ दिसम्बर १९९२ को दिनलाई भाजपाका प्रभावशाली तर उदारवादी मानिने नेता अटलबिहारी बाजपेयीले ‘राष्ट्रिय भावनाओं का प्रकटीकरण’ संज्ञा दिएका थिए । अपेक्षित रुपमा कट्टर हिन्दुवादी मानिने नेता लालकृष्ण अडवानीले घटनालाई ‘दुखद्’ भन्दै एक शब्दीय टिप्पणी मात्र गर्न भ्याए ।

उक्त घटनाबारे वाणी प्रकाशनद्वारा प्रकाशित ‘क्रिएटिङ अ नेसनालिटी : राम जन्मभूमि मुभमेन्ट ऐंड फियर अफ द सेल्फ’मा तत्कालीन उत्तर प्रदेशका मुख्यमन्त्री, भारतीय जनता पार्टीका वरिष्ठ नेताहरु, राष्ट्रिय स्वयंसेवक संघले योजनाबद्ध रुपमा पुरानो ठाँचा ढाल्न लगाएको भनी अध्ययन रिपोर्टमा उल्लेख गरिएकोछ । यो रिपोर्टलाई एकछिनको लागि पन्छाए पनि भारतका एक सय तीस करोड नागरिकलाई थाहा छ विवादित ढाँचा कसले ढालेको हो । ‘कार–सेवकहरु’मा रामनाम कीर्तन गर्दै मुक्तिमार्ग पहिल्याउनेहरु मात्रै थिएनन् । ती कार–सेवकहरु सत्तरी वर्षको भारतीय राजनीतिलाई एउटा इँटाको बलमा परिवर्तन गर्दै थिए ।

अयोध्या विवादको पत्रहरु खोज्न मूगलकालीन हिन्दुस्थानसम्म पुग्नै पर्छ । त्यतिबेला पनि धर्मदण्डले उत्पात मच्चाएकै थियो । अहिले पनि ती दण्डहरुको प्रभाव मन्द भएको छैन । बरु अझै तीव्र भएको छ । देववाणीको प्रयोगबाट मानव समाज आहत हुँदै आएको हो । यस्तो ईश्वरीय वाणीको विस्तारमा हिंसाको प्रयोग प्रभावकारी ठहरिँदै आएको छ । तर, शान्तिको मन्त्र जप गर्दै हिंसाको पुरातन अभ्यास अझै पनि हुँदैछ । एउटा धार्मिक हिंसाको विकल्पमा अर्को धार्मिक हिंसा । यस सवालमा भारतीय जनता बाँडिएका छन् । त्यो विभाजन जामा र नागपुरबीचको विभाजन हो । दुवैको वैचारिक र सांगठनिक संरचना गाउँगाउँमा छ । धर्मका अगाडि पेटको अन्न, जिउको लुगा, जीवनका लागि पानी, बालबालिकाको किताब, काखे शिशुको आमाको दूधजस्ता मौलिक विषयलाई पनि गौण बनाइदिएको छ । तिनका लागि महत्वपूर्ण हुन पुगेका छन् अयोध्याको रामलला, वाराणासीको विश्वनाथ, मथुराको बाँकेबिहारी । कसैको लागि बाबरी मस्जिद र अन्यअन्य । कोही जिहादको नाउँमा जन्नत र कोही ‘धर्म स्थपनार्थाय:’को नाममा बैकुण्ठ जाने अनगिनत लेनका मार्गहरु बनाई राखेका छन् ।

नयाँनयाँ शब्दको आविष्करण र अर्थस्थापना हुँदैछ । ‘लभ जिहाद’को नाममा गैरअदालती मृत्युदण्ड दिइने गरिएको छ । कुनै जनावरलाई आमा घोषित गरिन्छ र आमाको अपहरणको आरोपमा मनुष्यलाई ‘मब लिन्चिङ’ गारिन्छ । धर्मको आडमा यी सम्पूर्णलाई जायज पनि ठहराइरहिएको छ र संरक्षण पनि गरिएको छ ।

भारतीय राजनीतिमा धार्मिक, साम्प्रदायिक र जातीय विभाजनको निकृष्ट प्रयोग हुँदै आएको हो । प्रतिध्रुवीय कित्ता योजनाबद्ध रुपमा वर्गीय चेतलाई कमजोर बनाउन धर्म र जातिको कार्डलाई प्रयोग गरेको छ । भारतमा यो कार्ड सफल भएको हो । पश्चिम बंगाल, त्रिपुरा र केरलाका संसदीय व्यवस्था प्रयोग गर्ने कम्युनिष्टहरु र छत्तीसगढ, झारखण्ड, बिहार, आन्ध्रप्रदेश तथा महाराष्ट्रका वर्गीय मुक्तिका लागि युद्धरत कम्युनिष्टहरुको प्रभाव निस्तेज पार्न धर्म र जाति दुवैको मूख्य भूमिका रहेको छ । धर्मको राजनीतिक प्रयोगको विम्ब हो अयोध्या । अयोध्याका रामलला अर्थात् राम घरबारविहीन हुनु भनेको हिन्दुत्वको उग्रचेतना भड्किनु हो । रामसँग मुगलदेखि अहिलेसम्मका शासकहरुले अन्याय गर्दै आएका विचार योजनाबद्ध रुपमा प्रक्षेपण गरिँदैछ । यस्ता विचारसँग असहमत हुनेको संख्या न्यून हुँदै गएको छ । न कुनै तर्क, न विवेक न त बहस सुन्ने पक्षमा कोही देखिन्छ । भारतका ‘हिन्दु मानस’को मनोविज्ञान अयोध्या भूमिसँग गहिरो गरि गाँसिन पुगेको छ । अहिलेसम्म यसको विकल्प न त कुनै दार्शनिक अवधारणासहितका राजनीतिले, न त कुनै ‘सोसल इन्जिनियरिङ’ले नै खोज्न सकेको छ ।

लोक र राम : सन्दर्भ मिथिला अवध

मिथिलामा सीतालाई छोरी वा बहिनी र रामलाई ज्वाइँ मानिँदै आएको छ । प्रत्येक दुलाहा र दुलहीमा सीता र रामको छवि हेर्ने चलन छ । शिशु जन्मने बेलामा गाउने गीतहरु सोहर, बधैया, खेलौना, लोरी, ब्रतबन्ध, विवाहका विभिन्न प्रसङ्गहरु, विदाई अर्थात मृत्यु यात्रासम्ममा पनि ‘लोकगीत समदाओन’ र ‘रामनाम सत्य हो’को ध्वनीसँगै हुन्छ । अर्थात् कुनै पनि संस्कारिक कार्य सीताराम बिना अपूर्ण नै हुन्छ । लोकगीतमा सीताराम बिनाका पद्यहरु खोज्न गम्भीर अन्वेषण गर्नु पर्छ ।

यो प्रभाव मिथिला र अवधमा मात्रै छैन । सम्पूर्ण दक्षिण एसियाको हिन्दु बहुल जनपदहरुमा सीतारामको व्यापक प्रभाव छ । असंख्य पुरुष र महिलाको नाउँमा राम र सीता जोडिएको हुन्छ । जस्तै रामजनम, रामअवतार, रामसिनेही, रामआधार, राममूर्ति, बाबुराम, राजाराम आदि । त्यस्तै रामकली, रामदुलारी, रामरती, रामप्यारी, सीताकान्त, सीताशरण, जानकी रमण, जानकी शरण आदि । सयौं गाउँ र नगरको नाम पनि राम र सीताको नाउँमा राखिएको छ । रामपुर, रामगढ, रामनगर, त्यस्तै सीताको नाउँमा सीतापुर, किशोरी नगर, जानकी नगर, वैदेही यस्ता सयौं नाउँहरु भेट्न सक्छ ।

कृषि तथा व्यापार क्षेत्रमा पनि सीतारामको नाउँको व्यापक प्रयोग छ । किसानले अन्न उत्पादन गरिसकेपछि तौल गर्ने बेला ‘रामहि राम’ बाट सुरुवात गर्छन् । कोही परिचित वा अपरिचत भेट्दा अभिवादनको रुपमा ‘जय रामजी’ भन्ने गरिन्छ । व्यपारमा मोलतोल हुँदा रामको नाउँ प्रयोग हुन्छ । व्यपारमा मोलतोल गर्दा त्यसलाई विश्वसनीय बनाउन रामको नाउँ प्रयोग गर्छन् । धेरै जसो रितु गीत र अन्य उत्सवहरुमा गाइने लोकगीतहरुमा रामको प्रयोग अलापको रुपमा गरिन्छ । ‘पिया बिन सेज मोरा सुना हो रामा पिया नइ आएल’ वा ‘की अरे रामा लंका चलत हनुमान मारत कीलकारी रे हारी’ यस्ता गायनहरुमा भक्ति मात्र छैन । यस गीतमा मर्यादा पुरुषोतम राम र राजाराम भन्दा पनि लोकजीवनले रामको छविलाई आफ्नै कल्पनाशीलताको आधारमा निमार्ण गरेका छन् ।

जीवन जिउनुको जटीलताबीच अलौकिक शक्तिको कल्पना गर्छ मान्छे । आफू असमर्थ भएको बेला आफ्ना आस्थाप्रति विश्वस्त हुन खोज्छ । भय, आतङ्क र दुविधाहरुबाट मुक्त भइरहन कुनै नाम चाहिन्छ । लोकले यस्ता नामको खोजी कुनै महानग्रन्थ अध्ययन गरेर गर्दैन । कुनै वेद, उपनिषद्, काव्य र महाकाव्य पनि घोक्दैन । उसले धान र गहुँ फल्नु, आँप वा केरा फल्नु र कुनै प्राकृतिक वा मानवीय अवरोधबिना घर भित्र्याउन पाउनुलाई नै ईश्वरीय चमत्कार मान्छ । बाढी, आगोजस्ता प्राकृतिक प्रकोपबाट जोगिनु, हिंस्रक जनावरबाट बन्धुवान्धवसहित सुरक्षित रहन सक्नु महानतम् चमत्कार हो । आफ्नै सचेतना र सावधानीका कारण यस्तो भएको हो भन्ने कोही मान्न तैयार छैन । राम नामको इश्वरको कृपाले यो सबै भएको हो भन्ने बलियो विश्वास छ ।

हजारौं वर्षमा मानवले जिउने पद्धतिको विकास गरेको छ । त्यसै क्रममा उसले आफ्नै आवश्यकता अनुसारको, आफ्नै रुपरङ्ग र पहिरनको देउता पनि निमार्ण गरेको छ । हिन्दुहरुको तेत्तीस कोटी देवताहरुमा लोकजीवनमा सबभन्दा बढी प्रिय भनेको नाम राम नै हो । रामको त्यही लोकप्रियताका कारण राजनीतिले रामलाई लोकबाट खोस्दै मार्यादा पुरुषोतम र राजारामको चरित्रलाई व्यापक बनाउने प्रयत्न गर्दैछन् । रामको नामलाई अब भक्ति र मुक्तिको माध्यम मात्र नभएर भोट उत्पादनको अलौकिक अवतार बनाइदिएको छ ।

नाउँको अनुकरण र विवाद

उही नामका अनेकौँ ठाउँहरु छन् । एउटै नामका अनेकौं प्रयोग छन् । काठमाडौं उपत्यका भित्रै पनि ठूलठूला भारतीय महानगरहरुसँग नाम मिल्ने टोल, क्षेत्र र इलाकाहरु छन् । जनकपुर नाउँका नेपाल र भारतभित्र अनेकौं ठाउँहरु छन् । अयोध्या नाम गरेका कैयौं गाउँ, वस्ती र सहरहरु छन् यी दुवै देशभित्र । यस्ता सबै ठाउँहरु पक्कै पनि सीता वा रामजन्म स्थान हुन सक्दैनन् । लोकआस्था र धार्मिक विश्वासका आधारमै अहिलेसम्म यी स्थानहरुले मान्यता पाएका छन् । तर ती ठाउँहरु विवादरहित अवस्थामा छैनन् ।

भारतीय केन्द्र सरकारका संस्कृतिमन्त्री महेश शर्माले सीतालाई संसारकै पहिलो ‘टेस्टट्युब बेबी’ भनेपछि उनको व्यापक विरोध भएको थियो । मिथिला स्टुडेन्ट युनियनको कडा विरोधका कारण उनले माफी माँगेका थिए । भारतीय संसदको माथिल्लो सदन राज्यसभामा उनीसँग सांसदहरुले सीता प्राकट्यस्थल बिहारको सीमावर्ती सहर सीतामढीको पुनौराधामको सन्दर्भमा प्रश्न गर्दा मोदी सरकारका मन्त्री शर्माले सीता प्राकट्यस्थल भनिने ठाउँको कुनै आधिकारिक प्रमाण नरहेको बताएका थिए । ‘भारतीय पुरातत्व विभागले उक्त ठाउँको अहिलेसम्म सर्वे नगरेकोले ऐतिहासिक रुपमा उक्त स्थानको पुष्टि हुँदैन । आस्थास्थललाई इतिहास मान्न सकिँदैन ।’

उनको जवाफले बिहारबाट प्रतिनिधित्व गर्ने सांसदहरु असन्तुष्ट देखिन्थे । तर त्योभन्दा भिन्न केही दिनपछि मात्रै भारतीय जनता पार्टीका राष्ट्रिय उपाध्यक्ष प्रभात झाले सीता जन्मस्थलको रुपमा पुनौराधाममा भव्य प्रचारात्मक कार्यक्रम आयोजना गरेका थिए । कवि, साहित्यकार तथा सामाजिक र सांस्कृतिक रुपमा स्थापित व्यक्तिहरुलाई कार्यक्रममा सहभागी गराइएको थियो । भारत सरकारले उक्तस्थलको लागि विशेष प्याकेज बनाइरहेको घोषणा पनि प्रभात झाले गरेका थिए । बिहारका मुख्यमन्त्री नितीश कुमारले २०१८ अप्रिल १८ मा पुनौराधाममा आफ्ना गठवन्धन दल भाजपाका उपमुख्यमन्त्री सुशिल मोदीसहित भ्रमण गर्दा सीता प्राकट्यस्थललाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटकस्थलको रुपमा विकास गर्दै लाने र तत्कालै ४८ करोड रुपैयाँ विनियोजन गरेको घोषणा गरेका थिए । यसले के प्रष्टिन्छ छ भने एउटा निश्चित योजनाअनुसार जनकपुरधामको ठाउँमा पुनौराधामलाई सीता जन्मस्थलको रुपमा स्थापना गर्न खोजिँदैछ ।

अहिले बुद्ध जन्मस्थलको बारेमा बृहत् चर्चा नगरौं । तर, यसमा पनि भारतको विरोधाभाषपूर्ण बयान आउन बन्द भएको छैन । भारतका केन्द्रीय र राज्य सरकारका निकायहरुले बुद्ध जन्मस्थल नेपालमै रहेको स्वीकार गरेकै छैनन् । स्वयं प्रधानमन्त्री मोदीकै अभिव्यिक्त पनि अस्थिर नै देखिएको छ । नेपालको प्रतिनिधिसभालाई सम्बोधन गर्ने क्रममा बुद्ध नेपालमै जन्मिएको हुन् भनेर बोल्दा सांसदहरुले टेबलमा बजाएको थपडीको आवाज अहिले पनि टिभिमा प्रत्यक्ष हेर्नेहरुले नर्बिसेको हुनुपर्छ । तर, मोदीको यो अभिव्यक्ति अल्पसमयमै बद्लियो । उनले केही दिनमै बुद्ध जन्मेको देश भारत भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ठोरीको अयोध्यानगर क्षेत्रलाई रामको अयोध्या हुन सक्ने संभावना व्यक्त गर्नुको मुख्य आधार नजिकै रहेको वाल्मिकी आश्रम र जनकपुरसँगको दूरीलाई मानिएको छ । सीता परित्यागको कथालाई थोरै विश्लेषण गर्‍यो भने एउटा भिन्न अयोध्याको परिकल्पना गर्ने ठाउँ भेटिन्छ । लक्ष्मण सीतालाई वन अर्थात् बाल्मिकी आश्रम नजिकको ठाउँ छोडेर एक दिनमै फेरि अयोध्या कसरी फर्किए होला ? यसै आधारमा राम जन्मस्थल मानिँदै आएको अयोध्या साँचो अर्थमा उत्तरप्रदेशकै अयोध्या हो वा होइन भन्ने प्रश्न तेर्सियाएको छ । अयोध्याको अनुकरणको रुपमा सयौं गाउँ नगरको नाउँ राखिए पनि ठोरीको अयोध्यालाई त्यसै श्रेणीमा राख्न मिल्दैन । रामयणकालीन घटनाको साइनो त्यो भूगोलसँग जोडिएको छ ।

आख्यान–इतिहास मिथ र यथार्थ

रामायण र महाभारतको आख्यानलाई कुशीलवो, ग्रांथिको, सूतो वा पौराणिकाद्वारा जनसमाज सम्मुख वाचिक परम्परामा प्रस्तुत गर्ने गरिन्थ्यो । यो कुशीलव, ग्रांथिक, सूत र पौरणिक आख्यानको मूल पाठलाई यथावत पाठ पनि गर्दथे र बीचबीचमा श्रोता समाजलाई सम्वोधन पनि गर्दथे । श्रोताको इच्छा अनुसार कुनै खास प्रसङ्गको बिस्तार पनि गर्थे । कुशीलव, ग्रांथिक, सूत पौराणिक भनेको प्रर्दशक समूह हो । कुनै ग्रन्थ, पुराणआदिलाई पाठ, अभिनय, गायनद्वारा यी समूहहरुले प्रस्तुत गर्थे । वैदिक कालमा पनि प्राचीन कथा वाचनलाई पनि आख्यान नै भनिन्थ्यो । ‘रामायण’ र ‘महाभारत’मा पनि कुनै प्राचीन र बृहत् कथा जनाउन आख्यान शब्द नै प्रयोग गरिएको छ । यी दुवै ग्रन्थलाई पनि आख्यान नै मानिएको छ । मनुलाई महामत्स्यद्वारा प्रलयबाट बचाउने आख्यान दक्षिण एसियाबाहेक अरु राष्ट्रहरुमा पनि प्रचलित छ (शतपथब्राम्हण १.८.१.) । त्यस्तै असुरद्वारा तीनवटा नगर स्थापना गर्ने आख्यान जो त्रिपुरदाहको प्रसिद्ध कथाको रुपमा विकसित भयो । (शतपथ ३.४.४. र ऐतरेयब्राम्हण १.२.३) हरिशचन्द्रले छोरा रोहितलाई वरुणको बलीबाट बचाउन विकल्पको रुपमा पशुको खोज र पछि शुन: शेप नामक ब्राम्हण बालकलाई बलीका लागि लैजाँदा विश्वामित्रद्वारा ती बालकको रक्षाको कथा व्यापक परिवर्तित भई सत्य हरिशचन्द्रको पौराणिक कथामा रुपान्तरित भयो ।

वाल्मिकी ‘रामायण’को बालकाण्डको ५२ देखि ६५ अध्यायसम्म विश्वामित्रको आत्मवृतान्त छ । यसमा राजा हरिशचन्द्र अंवरिस बनिसकेका छन् । शुन: शेपको बली प्रसङ्ग अझै छ । वरुणका अघि आफ्ना वचनबाट पछि हटेका हरिशचन्द्र स्थितप्रज्ञ भइसकेका छन् । यस प्रसङ्गबाट के प्रमाणित हुन्छ भने आख्यानहरुको स्वरुप परिवर्तित हुँदै आएको छ । यसका पात्र, पात्रका नाम, स्थान र घटना पनि यथास्थितिमा छैनन् । विभिन्न भाषामा लेखिएका ‘रामायण’हरुमा पनि भिन्नता छ । कतिपय भाषामा मूल कथ्य नै परिवर्तित छ ।

लेखन, वाचन र प्रर्दशनले विषयवस्तुलाई तात्कालीन सामाजिक र सांस्कृतिक सन्दर्भ र मान्यता, सोच र द्वन्द्वलाई सहज रुपमा स्वीकार गरेको छ । ऐतिहासिक घटनाको रुपमा लिइँदा समस्याहरुको पोको थुप्रिँदै जाने हो । यसको उदाहरणको रुपमा रावण विजयपश्चात रामले युद्धमा मारिएका वानरहरुलाई अमृत वर्षा गराएर जीवित बनाएका थिए । र, अप्सराहरुबाट उत्पन्न रावणकी छोरीलाई तिनै वानरद्वारा भोग गर्न अनुमति दिएका थिए । उनीहरुलाई जम्बुद्वीप नामको राज्य दिए र भने– अर्काे जुनीमा तिमीहरु गोरंडो (गोरा वा ब्रिटिस)का रुपमा जन्म लिने छौ र राज्य गर्ने छौ (भविष्य पुराण, भविष्य पर्व) भन्ने छ । यसलाई के भन्ने ? पुराणको यो प्रस्तुति शैली हो ! आख्यानको प्रत्यक्ष र प्रतिकात्मक उपस्थापन हो ! रामले आफ्नै सेनालाई अङ्ग्रेज बन्ने श्राप वा वरदानलाई कसरी व्याख्या गर्ने ? कति तात्कलिकतामा रामकथालाई हेर्ने र विवेचना गर्ने ।

आरजी कलिंगवुड (१९४६) ले भने– ‘संसार यस्तो कीनारामा उभिएको छ जसलाई इतिहासको सबभन्दा बढी खाँचो छ ।’ संभवत: उनलाई थाहा थियो इतिहास खोज्ने बेला हो यो । विगत समयदेखि नै इतिहासको चिहान भत्काउने क्रम सुरु भएको छ । एक युगको विनासले सामूहिक पहिचान, उत्पादन प्रणाली र त्यसैअनुसारको सम्बन्धको स्थापना गर्दछ । अर्कोतिर इतिहासको चिहान उत्खनन् गरेर त्यसमा गाडिएका वस्तु छरपस्ट गर्दै आफ्ना विश्लेषण जताबाट मन लाग्यो त्यतैबाट सुरु गर्ने र जता मन लाग्यो त्यतै स्थगित गरिदिने प्रवृति विकसित भएको छ । यसले रोमाञ्चक कथा, नाटक, प्रहसन आदिको रचना त हुन सक्छ तर इतिहासको समानान्तर विमर्श उभ्याउन सकिँदैन ।

समानान्तर विमर्श उभ्याउने कार्य दुरुह नै हो । यसको लागि तीनवटा तत्वको आवश्यकता हुन्छ । पहिलो, स्थापित भइसकेका पक्षसँग असहमतिका लागि ज्ञान मीमांसीय एवं तत्वमीमांसीय प्रतिबद्धताको अपेक्षा । दोस्रो, पर्याप्त भौतिक र साहित्यिक साक्ष्य हुनु । तेस्रो, इतिहासको कथ्य तथा तथ्यलाई उसैको परिप्रेक्ष्यमा हेर्नु र अन्वेषण गर्नसक्ने क्षमताको विकास गर्नु । ज्ञानमिमांसा र तत्वमिमांसा बिना इतिहासको विमर्श तैयार गर्दा विमर्शकर्ताको अवस्था एउटा शाखाबाट अर्काे शाखामा छलाङ लगाउनुबाहेक केही पनि रहँदैन । साक्षीहरुको भित्री र बाह्य सांस्कृतिक, समकालिक तथा भूतकालिक पर्यवेक्षणले इतिहास विमर्शलाई सदृढ बनाउँछ ।

मत के छ भने, इतिहासलाई इतिहासकारको आँखाबाट हामी हेर्छौं । यस अवस्थामा इतिहासभन्दा इतिहासकारको दिमागबाट इतिहासलाई जान्ने प्रयत्न गरिरहेका हुन्छौं । भूतकाललाई जान्न इतिहासकारको दिमागमा जानुभन्दा पनि उसको दिमागभित्र जानुपर्छ जसको इतिहास हामीले जान्न चाहेको हो । यसले मिथकीय आख्यानको इतिहासबोध र इतिहासबोधको मिथकीय आख्यानलाई एक्कै ठाउँमा उभ्याउँछ । अर्काे सत्य र मत दुई भिन्न अवयवलाई एउटै पृष्ठभूमिमा हेर्नु खतरनाक ठहरिन सक्छ । यस आधारमा हामीले इतिहास विमर्श गर्‍यौं भने विद्वेष, सङ्घर्ष, शोषण, हिंसा र अन्यायको पुरावशेष खोजमात्रै गर्न सकिन्छ ।

भनिन्छ विश्वका कुनै पनि इतिहासकारले इतिहासलाई न्याय गरेका छैनन् । झन् भारतीय इतिहासको अधिंकाश प्राचीन कृतिमा इतिहासबोधको अभाव छ (विसेंट स्मिथ: १९९०:।) । सनातनीहरु भिन्न मत राख्दै आफ्नो आरोपित ग्रन्थको रक्षाको लागि सनातन परम्पराभन्दा भिन्न इतिहास, भिन्न समूह र भिन्न सम्प्रदाय बनाउने स्वतन्त्रता पाएको तर्क दिन्छन् । उपनिषद्, ब्रम्हसूत्र, गीतामाथि भाष्य लेखेर नवीन सम्प्रदाय र नूतन इतिहासबोधसहितको संसार बसाल्ने छुट तिनै ग्रन्थहरुबाट पाएको भन्छन् ।

शास्त्र, पुराण र प्राचीन ग्रन्थहरुले कतिपय अवस्थामा उदारता देखाए पनि शक्तिशाली समूहले आफू अनुकूल व्याख्या गर्दै आएको छ । भारतीय इतिहासको ईसापूर्व हजारदेखि छ सय बर्षको काललाई महाकाव्य र पौराणिक काल मानिएको छ । यस कालखण्डमा दुई महाकाव्यहरु ‘रामायण’ तथा ‘महाभारत’ र अठार पुराणहरु लेखिएका छन् । यी महाकाव्य र पुराण कैयौंपटक सम्पादित भइसकेकोले यसको मूल स्वरुप हामीसँग वा इतिहासकार र अनुसन्धानकर्तासँग छ कि छैनन् भन्ने प्रश्न छ । इतिहासको महाकाव्यकाल भन्नुमै पनि पर्याप्त ऐतिहासिक तथ्य रहेको देखिँदैन । अर्थात् महाकाव्यबाहेक अन्य तथ्यहरु छैन् भने घोषणा हो यो । भारतीय इतिहासको प्रारम्भ इस्वी पूर्व १५ सयभन्दा अगाडिको हरप्पा सभ्यताको पुरातात्विक तथ्यहरु उपलब्ध छ भने त्यसपछिको रामायणकालको तथ्य किन खोज्न सकिएको छैन ? अर्थात् अहिलेसम्म रामायणकालीन घटना, स्थान र पात्रहरु महाकाव्यकारको कल्पनाकै आधारमा उभ्याइएको छ । लोकआस्थाको शक्ति पाएर ती मिथकीय घटना इतिहास जस्तो देखिए पनि इतिहासका लागि चाहिने आधार उपलब्ध हुन सकेको छैन ।

केही हप्ता अगाडि मात्रै भोगीराज चाम्लिङको ‘रामायणको लंका’ र प्रधानमन्त्री ओलीको अभिव्यक्तिपछि ‘अयोध्या कहाँ ?’ भन्ने शीर्षकको लेख कान्तिपुर दैनिकमा प्रकाशित भयो । पर्याप्त सन्दर्भ उल्लेख भएको ती दुवै लेखमा पाठकलाई विश्वस्त पार्न सक्ने क्षमता छ, ‘रामायणमा वर्णित उल्लिखित भूगोल, नदी र सन्दर्भलाई भाषा, इतिहास, भूगोल, मानवशास्त्र र वनस्पति विज्ञानका आधारमा विश्लेषण गर्दै भारतको मध्यप्रदेशस्थित अमरकंटक क्षेत्र नै लंका हो भन्नेमा विद्वानहरुबीच लगभग मैतक्यता देखिन्छ ।’ विद्वान लेखकले आधिंकाशत: भारतीय विद्वानहरुले गरेको अध्ययनलाई आधार बनाउनु भएको छ । हनुमानले कुन पहाडमा सञ्‍जीवनी बुटी भेट्नु भयो भन्ने कुराको अनुसन्धान कुनै आयुर्वेदाचार्य वा वनस्पति वैज्ञानिकले गरिदिन सक्छ । त्यसै आधारमा रामायणमा उल्लेख भएको पर्वतको भूगोल पनि निर्धारण हुन सक्छ । पहाडसहित हनुमान लंका जाने बेलामा स्वभाविक रुपमा अयोध्या पनि बाटोमै आउँछ । अयोध्याबाट लंका कति योजन रहेको वा लंका जान कति समय लाग्ने भन्ने कुरा भरत–हनुमान संवादबाट प्रस्ट भइहाल्छ । त्यसैलाई आधार बनाई अयोध्या र लंका दुवैको भूगोल निधारण गर्न के को समस्या ? अहिलेसम्म ‘रामायण’बारे जति अध्ययन भएको छ त्यसको प्रकृति यही हो ।

रामकथाले लोकजीवनमा गहिरो प्रभाव पारेकोले विभिन्न भाषिक र सांस्कृतिक समुदायका लोककला र साहित्यमा रामसीताको पृथक–पृथक रुपहरु पाइन्छ । त्यसका पात्र, परवेश पनि भिन्न छन् । ती लोकगीत, गाथा, लीला र रामकथामाथि केन्द्रीत लोक साहित्य कलालाई सन्दर्भ बनाएर इतिहासकार, भूगोलविद्, मानवशास्त्री, समाजशास्त्री, वनस्पती वैज्ञानिक, कला–साहित्य विश्लेषक आदिले अध्ययन गरेर श्रीलंकासँग रावणको लंका खोसेर भारत मध्यप्रदेशको अमरकंटकलाई बनाइदिन सक्छन् भने रामको अयोध्यालाई भारतबाट किन अल्गयाउन सकिँदैन ? अयोध्या कहाँ ? खोजी गर्दा रामको अयोध्याको खोजी नै गरिएको छैन ।

अध्ययन मूलत: अयोध्याको खोजीमा केन्द्रित छ । ब्राम्हण साहित्य, भागवत पुराण, स्कन्द पुराण, कालीदासको रघुवंशम (नाटक) चिनियाँ नागरिक फा हियान, चिनियाँ यात्री हु वेन साङ, रामायण, समुद्रगुप्तको ताम्रपत्रसहित अन्य तिनै ग्रन्थहरुको शब्द, घटनालाई विश्लेषण गर्दै, अक्षर र उच्चारणलाई सच्याउँदै अयोध्यालाई उत्तर प्रदेशस्थित अयोध्या प्रमाणित गर्न खोजिएको हो । जुन ग्रन्थहरुको बिषयमा विश्वका प्रसिद्ध इतिहासकारहरुले इतिहासबोध छैन भनेर भनिसकेका छन् । मैथिली भाषामा एउटा लवहरि–कुशहरि भन्ने गाथा छ । यस्तै विज्ञ बसेर विश्लेषण शुरु भयो भने राम, रामका परिवार र रामको दरबारको स्थापित विश्वास भङ्ग हुन सक्छ ।

निष्कर्ष

मैले लेखको प्रारम्भमै मुसहरहरुको लोकदेवता दीनाभद्रीको चर्चा गरेको छु । दीनाभद्री दाजुभाइलाई राम लक्ष्मणको अवतार मान्न थालिएको छ । रामायणअनुसार राम आर्य थिए । दीनाभद्री वन सम्पदामा जीविका निर्भर भएका यस भूखण्डका मूल निवासी थिए । अनार्यलाई कसरी आर्य रामको अवतार घोषित गरिएको होला ? भन्ने प्रश्नको मैले उत्तर खोजें अनि आफैंलाई सच्याएँ । रामलाई किन आर्य राजा मान्नु ? रामलाई महाकाव्यभन्दा बाहिर किन निकाल्नु ?

लोककला, लोकसाहित्य र लोकआस्थाभन्दा भिन्न किसिमको विमर्श किन उभ्याउनु ? रामायणको घटना, पात्र, स्थानप्रतिको विविध मान्यता र दृष्टिकोणलाई किन चुनौती दिनु ? फरक इतिहासबोधका लागि तथ्यको खोजी किन गर्नु ? के यस्ता आधारहरुको खोजी गर्नु हुँदैन ?

आर्कियोलोजीकल सर्भेबिना मिथकीय विश्वास र आस्थालाई विवादरहित बनाउन सकिन्छ र ? जुन मिथमाथि हाम्रो विश्वासमात्र होइन हाम्रो भौगोलिक सरोकार पनि छ त्यसमाथि दाबी किन छोड्नु ? धर्मको राजनीति र धर्मको बजारीकरणको दौडमा प्रतिस्पर्धा नै नगर्नु त ! तथ्यको अन्वेषण ज्ञानमार्गमा हिँड्नु हो । अनि के चौतारोमै निदाइहाल्नु ? कि रामलाई रहन दिउँ कुनै खास देशको खास पार्टीको भोट उत्पादकको रुपमा ?

प्रकाशित : श्रावण २४, २०७७ १४:५३
प्रतिक्रिया
पठाउनुहोस्

गाउँमा लकडाउनको प्रभाव र राज्यको दुरगामी योजना

रमेश रञ्‍जन

काठमाडौँ — मिथिला सामाजिक र साँस्कृतिक रुपमा उत्सवी समाज हो । अत्याधिक जनघनत्व भएको भूगोलमा बसोवास गर्न रुचाउने यो समुदायका बीच आपसी सम्बन्धका र सामूहितकताका अनेकौं रुप छन् ।

कोरोना भाईरस विश्वव्यापी महामारीको रुपमा प्रकट भएपछि (सोसल डिस्टान्स) सामाजिक दूरीको कुरा अचानक बारम्बार हाम्रा कानले सुन्नु परेको छ । र, व्यवहारमै भौतिक दूरी बढाउने दबाव पनि अपरझट्ट हामीमाझ आइलागेको छ ।

सामाजिक दूरी बढाउने सरकारी घोषणासँगै यस सन्दर्भमा अनेकौं प्रकारको संशय र बहस हुन थालेको थियो । फरकफरक अर्थ र विश्लेषण, फरकफरक कोणबाट हुन थालेको थियो । आमरुपमा भन्ने हो भने सकारात्मक प्रतिक्रिया एकदम थोरै पाइन्छ ।

समाजको विकासक्रमलाई हेर्ने हो भने चाडपर्व, उत्सव सबैजसो समुदायको विशिष्टता हो । इतिहास, भूगोल, परम्परा, उत्पादन सम्बन्ध र आर्थिक स्थितिले साँस्कृतिक वा धार्मिक उत्सवहरुमा प्रत्यक्ष प्रभाव पारेको देखिन्छ । मिथिलाको कुरा गर्दा समथर मैदानी भाग र पर्याप्त जलसिंचन भएको यस क्षेत्रमा राज्यको प्रारम्भ कालदेखि नै यो भूभाग समृद्ध थियो । समृद्धिले सामाजिक सोच र चिन्तनमा भिन्न आयाम ल्याउँछ ।

कृषिमा आधारित जीवन प्रणाली सुरु भएपछि सुरु भएका कतिपय उत्सव र संस्कार आजसम्म आइपुग्दा तत्तत् समाजमा जीवनपद्धतिको अंश बनिसकेका छन् । चाडपर्व, उत्सव, भोजभतेर भएन भने सामाजिक जीवनमा निराशा छाएको जस्तो बन्न जान्छ । जीवनशैलीलाई प्रभावित गर्नसक्ने कुनै किसिमको बाध्यात्मक अवस्थामा परिनसकेको समुदायको लागि यो एउटा जटिल परिस्थिति हो । जसभित्र छटपटि छ । विद्रोहको मनसाय नभए पनि व्यवहारबाट अनुशासनको परिधि भत्काउन लागेको देखिन्छ ।

लकडाउन अघिको गाउँको अवस्था र वातावरण भिन्न थियो । मन्दिरमा भजन, मस्जिदमा अजान । मस्जिदको निर्धारित समय भए पनि मन्दिरमा त जतिबेला पनि घण्टी बजाउने वा माइक लगाएर प्रवचन फलाकिन्थ्यो । धेरै गाउँहरुमा ध्वनी प्रदूषणको समस्या, छात्रछात्राको अध्ययनमा समस्या थियो नै । चर्को ध्वनीको कारणले आपराधिक गतिविधि हुनसक्ने सम्भावना बारे गाउँलेहरुमा खासै चिन्ता देखिन पाइएन ।

मानिसहरु मोजमस्तीमा यति अभ्यस्त भए, दिनपिच्छे भोजभतेर वा नाचगानका लागि खासै विशेष कारण पनि नचाहिने रहेछ । जन्म, मृत्यु संस्कार, व्रतबन्ध, विवाह आदिमा त उहिल्यैदेखि ठूलो कर्मकाण्डीय क्रिया र भोजभतेर हुँदै आएको हो । अहिले त पास्नी, गुन्युचोलो, जन्मदिन, गृहप्रवेश र अन्य सामान्य दैनिकी जसमा खासै उत्सव गर्नुपर्ने कारण नै नभए पनि देखासिकीले भोज अपरिहार्यजस्तो हुने गरेको छ । परिवारमात्रैबाट सम्पन्न हुने किसिमका कार्यहरुमा पनि पूरै गाउँलाई सहभागी गराउने वा आफ्नो जात–समुदाय, कुटुम्बलाई निमत्याउने चलन बढ्दो छ । यो परम्पराको नौलो र विस्तारित रुप हो । विस्तारै यस्ता अनुत्पादक र खर्चिलो सामाजिक क्रियाबाट टाढिनुभन्दा झन् अपनत्व ग्रहण गर्नेहरु बढ्दो छ । त्यसको एउटै कारण कथित समाजिक प्रतिष्ठा र देखासिकी हो ।

लकडाउनका अनेकौं पीडा र दुरगामी असर छन् । तर, एउटा राम्रो कुरा भनौं साँझ पर्ने बित्तिकै गाउँका किर्तनमण्डलीहरुको गायन स्वर अहिलेलाई त बन्द छ । तर, सँधै यस्तै नरहला । प्रत्येक समूहहरुको आफ्नै साउण्ड सिस्टम छन्, जसको प्रयोग निर्वाधरुपमा ती समूह गर्छन् । पारम्परिक लोकलयका साथै भक्तिपरक नयाँ रचनाहरु पनि सुनाई रहन्छन् । तर, यसको पनि विडम्बना के हो भने एकभन्दा बढी समूहहरु भएको कारण अन्तर प्रतिस्पर्धा पनि छ । त्यसैले एकै समयमा एकभन्दा धेरै समूहले आ–आफ्नो माइकको भोल्युम बढाएर अझ शक्तिशाली बनाएर स्रोतासमक्ष पुर्‍याउने कोशिस गर्छन् । त्यसो गर्दा माइकको आवाज जुधेर वा अत्याधिक ठूलो आवाज भएर ध्वनी प्रदुषण मात्रै बढेको पाइन्छ । सुन्न विवस गाउँलेहरुको लागि यो निक्कै ठूलो सास्ती हो ।

गाउँको थोरै मात्रै नियमित गतिविधिबारे मैले यहाँ उल्लेख गरें । यी सामान्यजस्तो लाग्ने अभ्यासले अनेकौं प्रश्न जन्माउँछन् । आमव्यक्तिको मनोविज्ञान आजको सामाजिक आवश्यकताप्रति चासो नभएको देखिन्छ । धार्मिक अनुष्ठान, परम्पराको नाउँमा जडसंस्कृतिको पुनरावृत्तिप्रति आकर्षण छ । भीड र देखावटी संस्कृति प्यारो हुँदै छ । त्यसमार्फत् राजनीतिक र सामाजिक शक्ति आर्जन गर्ने मानिसहरु पनि त्यसै भित्र हुन्छन् । जसले त्यस भीडलाई आफ्नो निश्चित राजनीतिक स्वार्थमा रुपान्तरित गरिरहेका छन् ।

कुनै पनि समुदाय, राष्ट्रको साँस्कृतिक, चेतना वा समृद्धिको आधार भनेको त्यस ठाउँको राजनीति व्यवस्था नै हो । हरेक राजनीतिक आन्दोलनपछि स्थापित नेपालको शासकीय व्यवस्थाले समाजलाई कति लामो समयसम्म जागरणको अभियानमा हिडाउन सक्यो त ? यो अहम प्रश्न हो अहिलेको समयमा । वर्गभेद र वर्ग संघर्षजस्ता राजनीतिक शब्दावली ग्रामीण जनताको चेतनामा विस्तारै प्रवेश गरिरहेका थिए । अभिजात्य र गैरअभिजात्यमा सामाजिक विभाजन उग्ररुप देखिन थालेको थियो । तर चुनावी प्रतिस्पर्धा बाहेकको अन्य बेलामा यस्ता बैचारिक अभियानहरु प्रभावहीन देखिन्छन् । वर्तमान अवस्थामा कम्युनिष्ट शासन भएकै बेलामा अझ सामाजिक रुपान्तरणका मार्क्सवादी स्कुल लथालिंग छ । समाजवाद र प्रजातन्त्रको चेतना विस्तारमा विराम लागेको अवस्था छ । किनकि हरेक राजनीतिक पार्टीहरुले आफ्नो राजनीतिक चेतना वा विचारलाई चुनावका लागि मात्रै प्रयोग गरे । समाजिक रुपमान्तरणको अभियानमा आफूलाई दूरगामी रुपमा समाजसम्म जोड्न नै सकेनन् ।

एकखाले सांस्कृतिक पुर्नउत्थानका संवाहकहरु पुनः धर्म, जाति र अन्यमाध्यमले संयन्त्र निर्माणको प्रकृयामा छन् । जहाँ नजानिँदो किसिमले परम्पराको गुलियो चुसाएर मानिसहरुलाई प्रभावमा ल्याउँदै छन् । एकखाले संस्थाले पारेको प्रभावहरुले मान्छे आफ्नो वर्तमान र भविष्यप्रति सही मार्ग अबलम्बन गर्ने अवस्थामा छैनन् । समाजिक र पारिवारिक दायित्व भनेको धार्मिक आयोजन र कर्मकाण्डीय समापनसम्म सिमित भएको छ ।

कृषिमा निर्भर ग्रामीण समुदायको आर्थिक सामर्थ्यमा वृद्धि भएको छ । खास गरी वैदेशिक रोजगारले गाउँको अर्थतन्त्रलाई बलियो बनाएको छ । स्वभाविक रुपमा क्रयशक्ति बढेकै हो । सहरको खानपिन गाउँमा पनि भेटिन थालेको छ । जंक फूडदेखि कोल्ड ड्रिंक र मदिराको पसल थपिँदै गएको छ । त्यतिमात्रैले कामचलाउन सक्नेको लागि सामान्य अवस्थामा खुल्ला सिमानाका कारण अन्य पदार्थ पनि सजिलै प्राप्त भइरहेको छ । खुल्ला सिमानामा आउने ती पदार्थहरु सरकारको रेकर्डमा छैनन् । वा कतिपय कानुनी रुपमा वर्जित पदार्थ पनि सजिलै वारपार भइरहेका छन् ।

यहाँका युवा पुस्तालाई यस्ता पदार्थप्रति रुचि गहिरो छ । जसलाई निरुत्साहित गर्न न कुनै सामाजिक, न साँस्कृतिक, न राजनीतिक गतिविधिमा सक्रियता छ । सरकारको त कुरै नगरौं ।

अहिले लकडाउनको कारणले कति मजदुरहरु सहरबाट गाउँ आएका हुनाले गाउँमा युवाहरु पनि देखिन्छन् । तर, कुनै बेला वृद्धवृद्धाहरु मात्रै देखिन्थे । अर्थात् गाउँको रक्षकको भूमिकामा महिला र वृद्धवृद्धाहरु नै छन् जसले भविष्यलाई जेनतेन हुर्काई रहेका छन् । अहिले युवाहरु गाउँमा हुनुको कारण पनि बाध्यता नै हो । संभवतः यस्तै अवस्थामा रोमका विद्वान् येस्कियस सेसिलियस साइप्रिनायसले तेश्रो शाताब्दीमा ‘अद देमित्रायन’मा लेखेका छन् ‘तपाईंलाई थाह हुनुपर्ने हो, युग अब वृद्ध भइसक्यो, अब यसमा त्यति शक्ति रहेन । उभिन सक्ने शक्ति पनि क्षय भईसकेको छ । संसार स्वयंले आफ्नो पतनप्रकृया आफैंलाई साक्षी राखी आफ्नो समाप्तिको घोषणा गर्दै छ ।’

यो दार्शनिक चेतले वा यी भविष्यद्रष्टाको निष्कर्षले वर्तमान सामाजिक र साँस्कृतिक विघटनतिर संकेत गरेको छ । समाज विकासको क्रममा हामी हजारौं वर्ष पछाडि छौं भनिन्छ तर हामी नकारात्मक चेतना ग्रहण गर्ने सन्दर्भमा पनि पछाडी नै छौं । यी विद्वानको भनाईबाट यही प्रमाणित हुन्छ । भन्नुको अर्थ युरोपमा जुन सामाजिक र साँस्कृतिक विघटन र अराजकताको प्रकृया तेश्रो शताब्दीमा थियो, हाम्रो ग्रामीण समाज आजको दिनमा उस्तै अवस्थाबाट गुज्रिरहेको छ ।

कोरोना भाइरसको आगमनलाई कतिपयले प्रकृतिमा अत्याधिक मानव हस्तक्षेपसँग पनि जोडिरहेका छन् । प्राकृतिक असन्तुलनकै कारण यस्ता विपदहरु देखापर्दैछन् भन्ने धारणा व्याप्त छ । अर्थात् मनुष्यको शत्रु अरु कोही होईन अन्ततः मनुष्य नै हो । मनुष्य जतिको स्वार्थी र व्यक्तिवादी अन्य जीव र प्राणी हुने कुरै भएन । स्वयं मनुष्यभित्र पनि स्वार्थका यी द्वन्द्वमा जो बढी सामर्थ्यवान र शक्तिशाली छन् ती मनुष्यजातिका लागि ठूलो खतराको रुपमा देखा पर्दै छन् ।

रोमनका लेखकले त्यतिबेलै पर्यावरण नष्ट हुने अवस्थामाथि पनि चिन्ता जाहेर गरेका छन् । ‘पृथ्वीको कक्षामा शरदकालीन वर्षामा कमी आएको छ । धानलाई परिपक्व गर्ने ग्रीष्मकालीन ताप मन्द भईसकेको छ । पहाडमा ढुंगा घट्दै गएको छ, खानीबाट रत्न निस्किसकेको छ ।’ मानवद्वारा प्राकृतिक दोहनको डरलाग्दो चित्र तेश्रो शताब्दीमा कोरिएको थियो । यसले के संकेत गरेको छ भने युरोपले जुन अवस्था त्यहीताका भोगेको थियो आज हाम्रो सामाजिक क्रिया र दृष्टिकोण निर्माण सोही अनुरुप हुँदैछ ।

सामाजिक, नैतिक संक्रमणका बारेमा उनले वर्णन गरेका छन्, ‘खेतमा किसानको कमी भइसकेको छ । सेनामा सैनिक छैन । बजारबाट ईमान्दारी गइसकेको छ । कचहरीमा न्याय छैन । मित्रतामा प्रेम देखिदैन । कलामा कौशल छैन । चरित्रमा दृढता छैन ।’ तात्कालीन युनानी रोमन सांस्कृतिक परिस्थितिको चित्रण हो यो । यसमा हाम्रो वर्तमानको प्रतिध्वनि छैन ?

अहिले नेपालको मिथिलाको गाउँ यस्तै अवस्थाबाट गुज्रिदै छ । विद्वान लेखकका अभिव्यक्ति राष्ट्रकै मामिलामा पनि मेल खान्छ । एउटा ईकाईको रुपमा गाउँलाई आधार बनाएर हेर्न सकिन्छ वा राष्ट्रलाई नै धेरैजसो ठाउँमा राखेर हेर्न सकिन्छ । कृषिमा कार्य गर्ने किसानको अभाव हुँदै जाने सन्दर्भ अहिले सबभन्दा ठूलो समस्याको रुपमा देखा पर्दैछ । श्रम गर्नसक्ने युवा गाउँबाट पलायन भइसकेका छन् । गाउँमात्रै हैन सहरमा पनि छैनन् । विदेशी भूमिमा आफ्नो श्रम सिंचन गरीरहेका छन् । आफ्नो भूमि बाँझो भएको छ । कृषि र पशुपालनमा आधारित ग्रामीण अर्थतन्त्रले आफ्नो स्वरुप गुमाइसकेको छ ।

विदेशबाट आउने रेमिट्यान्सका आश्रयमा बाँच्नेहरुको संख्या बढ्दो छ । वृद्धवृद्धा, महिला र बालबालिका विगतभन्दा यिनका जीवन सुविधाजनक भएको टाढाबाट हेर्दा देखिन्छ । पहिला खड र बाँसको घरको ठाउँमा अहिले पक्की घर बनिसकेको छ । जिउमा वस्त्र छ । भोको पेट बस्नु परेको छैन । थोरै धान वा चामलको लागि कुनै मालिक कहाँ धाइरहनु पर्ने अवस्था पनि छैन । तर पनि आश्रयबिहिन छन् । खाडी, मलेशियाबाट आउने पैसाले वृद्धवृद्धा, महिला र बालबालिका तीनवटैको भौतिक आवश्यकता पूरा गरिरहेको छ तर अभिभावकीय आवश्यकता कहाँबाट पूरा हुने ? शिक्षा, चेतना र दिगो इलमको ब्यवस्था कसले गरिदिने । वैदेशिक रोजगारी क्षणिक कमाई मात्रै भयो । जसले हार्डवेयरको लागि थोरै योगदान गर्छ । तर, मान्छेको सफ्टवेयर र पारिवारिक विखण्डनमा यसले ठूलो समस्या सिर्जना गरेको छ ।

बुढाबुढीहरुको आँखामा आँसुको ठाउँ रेगिस्तानको बालुवाले लिइसकेको छ । उजाड मौसममा आँखा रसाउन पनि छोडिसक्यो । विरामी पर्दा त के मर्दा पनि छोराछोरीको हातबाट दागबत्ती पाउने आशा मारिसकेका छन् । गाउँको छिमेक र नावालिग नातिनातिना माथि मात्रै थोरै आशा छ । बाबुआमा, काकाकाकी, मामामइजु वा अन्य नातागोताको कुरा छोडौं । श्रीमानश्रीमतीहरु एकआपसको शारीरिक र मानसिक आवश्यकतालाई विवस भएर भत्काउन बाध्य छन् । यस्तो विवसतामा परेका अभिभावकले आफ्ना सन्तानलाई स्याहार गर्न पाएका छैनन् । बच्चा अभिभावकीय जिम्मेवारी र स्नेहबाट बञ्चित छन् । किशोर नहुँदै ती बच्चा अनियन्त्रित भइरहेका छन् । उसको मानसिक र शारीरिक परिवर्तनका बेला उचित परामर्श र मार्गदर्शन गर्न सक्ने अभिभावक छैन । कुण्ठा र मानसिक उद्वेलनको अवस्थामा सहजै नसाको दुर्व्यसनमा पुग्नबाट रोक्ने कोही छैन ।

दुर्भाग्य नै भन्नु पर्छ, लकडाउनजस्तो विसम परिस्थितिले सिमाना र सिमाना नजिकका गाउँहरुमा हुने कतिपय आपराधिक क्रियाकलाप रोकिएको जस्तो भएको छ । भौतिक दुरी वा भनौं सामाजिक दूरी कतिपय तस्कर र आपराधिक व्यवहारमा मानिसलाई असैहृय भएको छ । कर्मकाण्डीय आयोजनमाथि विराम लागेको छ । कीर्तनको गर्जन बन्द छ । भीडले आफ्नो प्रभाव खुम्चिएको अनुभव गर्न थालेका छन् । सिमानाकाहरूमा हाम्रा अवोध वालकहरूको आवागमनमा अवरोध छ । तर यो त एउटा बाध्यात्मक परिस्थिति हो । यो दर्भाग्यपूर्ण परिस्थितिले नियन्त्रित कतिपय आपराधिक गतिविधि फेरि लकडाउन खुलेपछि सुरु हुनसक्छन् ।

मेरो घर जनकपुर बजारबाट करिब आठ किलोमिटर दक्षिण पूर्व अवस्थित पर्वाह हो । भारत नेपाल सिमानामै । मेरै गाउँ भएर रेलको लिक तेर्सिएको छ । माथि उल्लेखित कतिपय घटनाको अमुक साक्षी भएर मेरो गाउँ निरिह छ । यस्ता भित्री गाउँहरुमा स्थानीय सरकार, राज्य वा समाजलाई अग्रगामी बाटोमा लाने अभियानहरु कहिले आइपुग्लान् ? लकलाउनले गाउँभित्र सिमित भएको म आफ्नै गाउँको भविष्य सम्झिएर पिरोलिएको छु ।

प्रकाशित : वैशाख २०, २०७७ १९:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×