डबली हुँदै डिजिटलतिर गाईजात्रा - साहित्य/विविध - कान्तिपुर समाचार

डबली हुँदै डिजिटलतिर गाईजात्रा 

बेथितिमाथि व्यङ्ग्य हुन छाड्यो, रञ्‍जन कोइरालाको केसमा त भएन : सत्यमोहन जोशी
रीना मोक्तान

काठमाडौँ — पुत्र शोकले विह्लल रानीलाई सम्हाल्न राजा प्रताप मल्लले दुनियाँले यस्तै दु:ख भोग्ने गरेको देखाउन परिवारका सदस्य गुमाएका नगरवासीलाई आफ्नो दरबारअगाडिबाट झाँकी लिएर नगर परिक्रमा गर्न लगाएको कथा छ । यसरी रानीलाई खुसी पार्न बेढंगको पहिरन, बेथितिको मेकअप लगाएर गाईजात्राको सुरुवात भएको मानिन्छ ।

त्यसो त आफ्नो घरका परिवार बित्दा राजाले झाँकीमा बोलाएको भन्दै नगरवासीले व्यंग्यात्मक शैलीमा गाईजात्रा सुरु गरेको भन्ने कथा पनि सुन्न पाइन्छ । प्रताप मल्लको पालाभन्दा अगाडि पनि यो पर्व मनाइने गरेको छलफल बेलाबखत हुने गर्दछ ।

संस्कृतिविद् सत्यमोहन जोशी राजा प्रताप मल्लको समयदेखि यो पर्व सुरु भएको बताउँछन् । यो पर्व प्रताप मल्लको पाला अगाडिदेखि नै मनाइने गरको बताउँने हास्यकलाकार शैलेन्द्र सिम्खडा व्यंग्य गर्न भने प्रताप मल्लकै पालादेखि सुरु भएको बताउँछन् । नेवार समुदायले मनाउने गरेको गाईजात्रा डबलीमा मनाइन्थ्यो । अहिले भने डबली हुँदै रंगमञ्च र डिजिटल प्लेटफर्ममा अहिले व्यंग्य गर्न थालिएको छ ।

डबलीको गाईजात्रा – कलात्मकता

'त्योबेला डबलीमा गाईजात्रा हुने गर्थ्यो । म भक्तपुर पुग्थें- रामशेख नकर्मीको प्रस्तुति हेर्न,' कलाकार शैलेन्द्र सिंखडा सम्झिन्छन् । डबलीको गाईजात्रामा बढी व्यंग्य हुने गरेको उनी बताउँछन् । त्योबेला नेपाल भाषामा व्यंग्य हुन्थ्यो । डबलीको व्यंग्य कलात्मक पनि हुने गरेको उनको स्मृति छ ।

डबलीमा त्योबेला टोलटोलबाट झाँकी निकालिन्थ्यो । कोही महाराजा, नेता बनेर आउँथे । पुरुष महिलाको भेषमा आउँथे । टोल-टोलबीच कसको झाँकी राम्रो हुने प्रतिष्पर्धा नै चल्ने गरेको सम्झना छ कलाकार हरिवंश आचार्यसँग ।

त्यतिबेला महिलाहरु झाँकीमा उपस्थित हुँदैन थिए । 'कोही बाजा बजाएर आउँथे, प्वाल परेको छाता, कोही कर्कलोको पातको छाता ओढेर आउने, जे मन लाग्यो त्यो गरेर आउनी, त्योबेला त्यसरी हाउभाउले मान्छे हसाउँथे,' हरिवंश सुनाउँछन्, 'त्यो बेला स्टेजमा प्रस्तुति दिएको मलाई सम्झना छैन ।'

हरिवंशसँग डबलीमा व्यंग्य प्रस्तुत गर्दाको अनुभव पनि छ । डबलीमा प्रस्तुति दिँदा १४/१५ वर्षका थिए हरिवंश । उनी कार्यक्रम गर्ने स्थानमा पुगेर आफ्नो प्रस्तुति राखिदिन अनुरोध गर्थे । कार्यक्रमको अन्तिमतिर प्रस्तुति दिन पाउँथे । ३/४ पटक त्यसरी नै व्यंग्य प्रस्तुत गरेपछि भने उनीहरुले निरन्तर उनलाई बोलाउन थाले । २०३२ सम्म डबलीमा गाईजात्रा निकै चल्यो ।

सामाजिक बेथिति र विसंगतिमा व्यंग्य गर्न पाइन्थ्यो गाईजात्राका दिन । राजा महेन्द्रले २०१७ साल पुष १ गते सैन्य बलमा प्रजातन्त्रमाथि 'कु' गरेपछि व्यवस्थामाथि व्यंग्य गर्न नपाइने भयो । व्यंग्यात्मक कार्यक्रम लामो समय बन्द भयो । त्यसपछि व्यंग्यलाई संस्थागत गर्न प्रज्ञा प्रतिष्ठानमा गाईजात्रा महोत्सव सुरु गरिएको सत्यमोहन बताउँछन् ।

हरिवंश भने त्यसअघि नै अर्को समूहले व्यंग्य गर्न संस्था खोलेको बताउँछन् । 'मदन दाइ (कलाकार मदनकृष्ण श्रेष्ठ)ले भन्नु भएअनुसार नेवारी समुदायको एउटा समूहले मुनास भन्ने एउटा संस्था खोलेर नेवारी भाषामा कार्यक्रम गर्थे । रामशेखर नकर्मी, आशाकाजी, कृष्णा नापितहरुको समुहले कविता, गीत व्यंग्य प्रस्तुत गर्ने कार्यक्रम गर्न गर्थे । त्यसपछि भने २०३३ मा प्रज्ञा प्रतिष्ठानले गाईजात्रा महोत्सव सुरु गरेको हो,' हरिवंशले भने, 'त्यतिबेला सत्यमोहन जोशी प्राज्ञ हुनुहुन्थ्यो ।'

त्यो बेला व्यंग्य गर्न दरबारबाट स्विकृति लिनुपर्थ्यो । 'हामीले व्यंग्यका लागि दरबाट स्विकृति लियौं,' सत्यमोहन सम्झन्छन् ।

डबलीबाट मञ्चमा गाईजात्रा महोत्सव हुनुका पछाडि अर्को कारण देख्छन् शैलेन्द्र । 'डबलीमा गाईजात्रा हेर्न दर्शक रातिको खाना खाएर आउँथे । अबेला हुन्थ्यो । गाईजात्रा हुने ठाउँका केही समुदायले मात्र हेर्न पाउने भए । त्यसैले त्यो बेलामा प्रज्ञा प्रतिष्ठानले मञ्चमा व्यंग्य महोत्सव मनाऔं भनेर डबलीकै कलाकार ल्याएर स्टेजमा सुरु गरियो गाईजात्रा,' शैलेन्द्रले सुनाए ।

प्रज्ञा प्रतिष्ठानमा व्यंग्य गर्न दर्खास्त दिनुपर्थ्यो । स्क्रिप्ट पहिल्यै बुझाउनु पर्थ्यो । स्क्रिप्ट पास भए पछिमात्र कलाकारले अवसर पाउँथे । कलाकारले पहिला प्राज्ञहरुको अगाडि व्यंग्य प्रस्तुत गर्थे अनि मात्र दर्शकको बीचमा पालो पाउने गरेको हरिवंश बताउँछन् ।

'गाईजात्रा महोत्सव'को पहिलो दिन राजादेखि नेताका लागि कार्यक्रम देखाइन्थ्यो । राजालाई देखाउने रोयल सोमा कडा सेन्सर हुन्थ्यो । हरिवंश भन्छन्, 'एकदम कडा सेन्सर हुन्थ्यो स्क्रिप्टमा,' उनले आफ्नो अनुभव सुनाए, 'राजालाई पर्ला भनेर ‘र’ पनि भन्न दिन्थेनन्। त्यो बेला व्यंग्य गर्नु ठूलो विषय हुन्थ्यो।’

रोयल सो ९० मिनेटको हुने गरेको शैलेन्द्र सुनाउँछन् । 'राजा ९० मिनेटसम्म मात्र बस्ने छोटो समयअवधिमा हामीले कार्यक्रम दिनुपर्थ्यो,' उनले भने ।

प्रज्ञा प्रतिष्ठानमा गाईजात्रा महोत्सव हुन थालेपछि हास्यकलाकारहरु व्यंग्य व्यवसायिक हुन थालेको बताउँछन् उनी । 'गाईजात्राको टिकट पनि राम्रै बिक्थ्यो । एउटा गाईजात्रामा प्रस्तुत गरेका कलाकारले दशैं मनाउन राम्रै खर्च पाउँथे,' शैलेन्द्रले भने, 'यो क्षेत्र बिस्तारै व्यवसायिक हुँदै गयो ।'

डबलीबाट मञ्चमा गाईजात्रा हुन थालेपछि व्यवस्थित हुन थालेको हरिवंशको अनुभवले भन्छ । 'डबलीमा हामीजस्तो कलाकारलाई पैसा दिइन्न थियो । तर, मञ्चमा कलाकारले पैसा पाउन थाले । व्यवस्थित हुँदै गयो,' उनले सुनाए ।

गाईजात्राको दिनबाट कृष्णाअष्टमिसम्म ७ दिन मञ्चमा कार्यक्रम प्रस्तुत गरिन्थ्यो । अहिले समय फेरबदल भएको छ । 'अहिले समय लम्बाएर कतिले अगाडि त कतिले पछाडि पनि कार्यक्रम गरिरहेका हुन्छन्,' २०३८ देखि मञ्चमा गाईजात्रा गर्दै आएका शैलेन्द्र सुनाउँछन् ।

बहुदल आएपछि प्रज्ञा प्रतिष्ठानले यो कार्यक्रम गर्न छोड्यो । डबलीबाट मञ्चमा गाईजात्रा हुँदा केही कुरामा परिवर्तन आएको शैलेन्द्र बताउँछन् । 'डबलीमा यो पर्व थियो । झाँकी, राँको सम्पूर्ण कुरा डबलीमा थियो । तर, डबलीबाट मञ्चमा पुग्दा राँको लगिएन,' उनले भने, 'झाँकी देखाएर विभिन्न पात्रमा व्यंग्य हुन्थ्यो ।'

२०४६ मा बहुदल आएपछि व्यंग्यमा सेन्सर नभएको शैलेन्द्रको अनुभवले बताउँछ । बहुदल आएपछि सर्वसाधरण आफैंले हाँस्यकलाकारको व्यंग्यमा सेन्सर गर्न थालेको उनी सुनाउँछन् । 'कुनै जात, धर्म र संस्थालाई व्यंग्य गर्दा नागरिकले यस्तो भन्न हुने/नहुने भनेर सेन्सर गर्न थाले । पिके क्याम्पस मेरो ससुराल भन्दा म पनि सेन्सरमा परेको छु' उनले भने ।

डिजिटल प्लेटफर्मको गाईजात्रा

यसपालि कोभिड-१९ ले गर्दा भीडभाड गरेर हलमा कार्यक्रम गर्ने अवसर कलाकारहरुलाई जुरेन । त्यसैले मनोज गजुरेलको टिमले डिजिटल प्लेटफर्ममा गाईजात्रा आयोजा गर्योर । 'यसपटक पनि निरन्तरता दिनुपर्छ लाग्यो । त्यसैले डिजिटल प्लेटफर्ममा आयौं,' मनोजले सुनाए, 'हामीले एउटा आशा दिन खोजेका हौं । कोभिडले मानिस यसै पनि त्रसित छ । मानसिक रुपमा पनि कमजोर छ । समग्र मानवता कता जाला भनेर मानिस अलमलमा छन् । यस्तो अप्ठ्यारो अवस्था आए पनि आशाका ढोकाहरु बन्द गर्नु हुँदैन भन्ने हिसाबले गरियो ।'

उनका लागि पनि यो प्लेटफर्म नयाँ थियो । हुन त यसअघि पनि विभिन्न टेलिभिजन र युट्युब च्यानलका प्लेटफर्ममा दर्शक हसाउँदै आएका थिए हास्य कलाकार । यसपटक भने कोभिड-१९ ले गर्दा मञ्चको कार्यक्रम नै विस्थापित गरिदियो । अनि दर्जन बढी टिमसँग गजुरेलले डिजिटल प्लेटफर्ममा व्यंग्य गरे । धेरैले रुचाइदिएका छन् उनको डिजिटल प्रस्तुतिलाई पनि ।

कलाकार बसुन्धरा भुसालले २०२३ सालदेखि हाँस्यकलाकार राजपाल हाडासँग मिलेर गाइजात्रा प्रस्तुत गर्न थालेकी हुन् । उनले राजा महेन्द्रको जन्मोत्सवमा राजपाल हाडासँगै हास्यव्यंग्य प्रस्तुत गरेकी थिइन् । डबलीको गाईजात्रामा महिला सहभागी हुनु नै बदनामीका लागि पर्याप्त गरेको उनी बताउँछिन् । 'त्यतिखेर स्वास्नीमानिसहरु डबलीमा आउनु ठूलो बदनामी हुन्थ्यो । डबलीमा लोग्नेमान्छे नै स्वास्नीमान्छे बनेर गाईजात्रा गरेको देखेको छु । त्योबेला महिलालाई व्यंग्यमा आउन धेरै गाह्रो थियो । जोकर्नी, नौटंकी भनेर बात लगाउँदा पनि म यो क्षेत्रमा निरन्तर सक्रिय रहें,' उनले भनिन् ।

उनले राजपाल हाडा, महजोडी, मनोज गजुरेललगायतका हास्यकलाकारसँग मञ्चमा व्यंग्य प्रस्तुत गरेकी छन् । डिजिटल गाईजात्राको विषयमा उनी सकरात्मक सुनिन्छिन्, 'अहिले डिजिटल प्लेटफर्ममा गाईजात्रा भयो । देशको परिस्थितिलाई ध्यानमा राखेर यो प्लेटफर्ममा सुरु गर्नु भएछ खुसी लागेको छ ।'

दशकदेखि लगातार मञ्चमा हास्यव्यंग्य प्रस्तुत गरिरहेका शैलेन्द्र भने डिजिटलसम्म आइपुग्दा गाईजात्रा प्रस्तुतिमा मात्रै सीमित भएको बताउँछन् । 'डिजिटलमा आउँदा गाईजात्रे गेटअप कहिल्यै देखिएन । कलाकार आफ्नो कार्यक्रममात्र लिएर आए । अहिले त शब्दमा मात्र गाईजात्रा छ । न झाँकी देखाइन्छ, न गाई देखाइन्छ । खाली गाईजात्रा भनेर अक्षर कि त कार्टुन प्रसारण हुन्छ,' शैलेन्द्रले भने, 'मलाई डिजिटलमा कताकता अप्ठ्यारो अनुभव भयो । स्टेजमा प्रस्तुति दिनासाथ तुरुन्त प्रतिक्रिया पाइन्थ्यो । तातो माया पाइन्थ्यो । ताली पाइन्थ्यो । तुरुन्तै गाली पाइन्थ्यो । डिजिटलमा खिचेको १० दिन पछाडि कार्यक्रम प्रशारण हुन्छ ।'कोभिडले गर्दा गाईजात्रा अब डिजिटलतिर बढ्दै जाने शैलेन्द्र बताउँछन् । 'अब फेरि गाईजात्रा डबलीमा जाला कि भन्ने डर छ । अब कि डबली कि त डिजिटल हुन्छ होला,' उनले सुनाए । उनले पनि यसपालि भर्चुअल गाईजात्रामा प्रस्तुति दिए । यसरी डिजिटल माध्यममा व्यंग्य गर्दा लाइभको मज्जा नहुने अनुभव यसपटक उनले बटुलेका छन् ।

हरिवंशले यसपालि डिजिटल माध्यममा कुनै प्रस्तुति दिएनन् । उनी पनि यस्तो माध्यममा काम गर्दा असहज हुने बताउँछन् । 'दर्शक राखेर प्रतक्ष प्रस्तुति गर्दा जुन जागर जोश आउँछ नि, दर्शकको हुटिङ, ताली, सिट्ठीको आवाजमा जुनजोश जाँगर आउँछ त्यो स्टुडियोमा निकाल्न गाह्रै हुन्छजस्तो लाग्छ,' उनले सुनाए ।

भोलिका दिनमा गाईजात्रा डिजिटल प्लेटफर्ममा जम्नसक्ने उनको धारणा छ । 'अहिले संसारको नै ट्रेन्ड परिवर्तन भइरहेको छ । त्योबेला प्रायोजन भन्ने हुन्थेन, टिकट काट्नुपर्थ्यो । अहिले प्रायोजनतिर लक्षित गरेर डिजिटल कार्यक्रम हुन सक्छ,' उनले भने, 'डिजिटल गर्दा पनि केही प्रतिशत दर्शक राखेर गर्दा प्रभावित होला । स्टुडियोभित्र राखेर गर्दा जीवन्त हुन गाह्रो पर्छ । कोभिडले गर्दा फिल्महरु पनि डिजिटल प्रदर्शनमा गइरहेका छन् । यो ट्रेन्ड बसेको बस्यै पनि हुन सक्छ ।'

प्रविधिको विकाससँगै गाईजात्रा डिजिटल माध्यममा हुन थालेको संस्कृतिविद जोशी बताउँछन् । उनी पछिल्लो समय गाईजात्रामा सामाजिक वेथितिमाथि कम व्यंग्य हुने गरेको बताउँछन् । 'गाईजात्रामा सामाजिक वेथिति, राजनैतिक विषयवस्तुमा व्यंग्य हुनेगर्थ्यो,' जोशीले भने, 'हालै पत्नीहत्याको अभियोगमा दोषी ठहर भइ डिल्लीबजार कारागारमा रहेका पूर्वडीआईजी रञ्जन कोइराला जेलमुक्त भए । पत्नी मार्ने पापीको सजाय कटौती भयो । प्रधानन्यायाधीशलगायत उनलाई बाहिर निकाल्नेहरुबारे व्यंग्य हुनुपर्थ्यो यसपटक । खोइ भएजस्तो लागेन ।'

सत्यमोहनले भने झैं सामाजिक विषयवस्तुमा व्यंग्य कम भएको स्वीकार्छन् गजुरेल । 'अहिले राजनीति अलि हावी भएको हो । राजनीति अलि बढी बिग्रेको हो समाजभन्दा पनि । त्यसकारण जहाँ विकृति विसंगति हुन्छ त्यहाँ व्यंग्य बढी हुने हो,' उनले भने, 'राजनीति सुध्रिनेबित्तिकै सामाजिक विषयवस्तु नजरमा पर्छन् । त्यतातिर छुँदै नछोएको होइन । कम भएको चाहिँ हो ।'

प्रकाशित : श्रावण २४, २०७७ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्

डाक्टर केसीद्वारा मुगुमा दुई जनाको नि:शुल्क शल्यक्रिया, ८४ जनाको स्वास्थ्य परीक्षण

राजबहादुर शाही

मुगु — छायाँनाथ रारा नगरपालिका–१० घट्टलेख गाउँकी १० वर्षीया रेश्मा भामलाई डाक्टर गोविन्द केसीले शनिबार बिहान जिल्ला अस्पताल ठिनीमा निःशुल्क देब्रे हातको अप्रेसन गरेका छन् ।

तीन वर्षअघि रेश्मा गाई चराउन वनतिर जाँदा भीरबाट लडेर हात भाँच्चिएको थियो । आर्थिक अभावले हातको अप्रेसन गर्न नसक्दा जोखिम अवस्थामै हिँडडुल गर्न बाध्य भएकी थिइन् ।

‘यत्रो वर्षसम्म छोरीको हात सञ्चो भएन । तराई लिएर औषधि गर्ने क्षमता हाम्रो भएन,’ रेश्माकी आमा दन्ता भामले भनिन्, ‘कताबाट भगवानजस्तै डाक्टर केसी भेटिए । निःशुल्क छोरीको हात अप्रेसन गरी दिए । अब मेरो छोरीको हात राम्रो हुने भयो नदुख्ने भयो ।’

नगरपालिका–७ बालै गाउँका १७ वर्षीय गगन भामको देब्रे खुट्टाको पनि डाक्टर केसी अप्रेसन गरेका छन् । एक वर्षअघि लडेर उनको खट्टाको पिडौला नजिकको हड्डी भाँचिदा घाउ भएको भित्री भागमा पिप जमेर पाकेको यताउती हिँडडुल गर्न गाह्रो अवस्था थियो । डाक्टर केसी आएको थाहा पाएपछि उनी अस्पतालमा आएर चेक गराएपछि केसीले अप्रेसन गरेर खुट्टा सन्चो बनाएपछि भाम पनि खुसी भएका छन् ।

‘डाक्टरले मेरो तिघ्राको अप्रेसन गरेर सधैंको लागि सन्चो बनाइदिए,’ भामले भने, ‘एक वर्षदेखि घाउले मलाई सारै दुःख दिएको थियो अब निको हुने भयो ।’

जुम्लाबाट २ दिन पैदलै मुगु आएका डाक्टर केसीले बिहीबार ४७ जना र शुक्रबार ३७ जनाको निःशुल्क स्वास्थ्य परीक्षणसहित दुई जनाको अप्रेसन गरिदिएका छन् ।

जिल्ला अस्पतालमा डाक्टर केसी आएको जानकारी पाएपछि जाँच गराउन महिला पुरुष बालबालिकाको चाप बढेको छ ।

डाक्टर केसी अस्पतालमा पुगेर बिरामीको जाँच र शल्यक्रिया सेवा दिन थालेपछि अस्पतालमा कार्यरत चिकित्सक सहित स्वास्थ्यकर्मी उत्साहित भएका छन् । चिकित्सक नर्सहरुले केसीसँग सल्लाह सुझाव लिन पाएका छन् ।

शनिबार डाक्टर केसीले अस्पतालमा कार्यरत चिकित्सक स्टाफ नर्सलगायत स्वास्थ्यकर्मीहरुलाई हड्डीको रोग विषयमा प्रशिक्षण दिने जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख निर्मल नगरकोटीले बताए ।

आइतबार मध्याहृनसम्म फेरि बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने सोमबार डाक्टर केसी मुगुबाट फर्किने जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

प्रकाशित : श्रावण २४, २०७७ १३:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×