बुद्ध सम्झिँदै कोरोना कविता 

कान्तिपुर संवाददाता

काठमाडौँ — कार्यक्रम थियो, ‘शान्ति कविता गोष्ठी’ । बुद्ध जयन्तीको सन्दर्भ पारेर नेपाली कला साहित्य डट कम प्रतिष्ठानले बिहीबार राजधानीमा गरेको गोष्ठीमा अधिकांशले भने कोरोना त्रासका कारण सिर्जिएको अवस्थालाई कवितामा उतारे । कवि डा. विमल कोइरालाले त ‘कोभिडीयोलोजी’ शीर्षकमा कोरोनाको त्रास जुगजुगसम्म ठूलो अध्ययनशास्त्र नै बन्नसक्नेप्रति इंगित गरे ।

यसैमा थपे राजेश्वर कार्कीले । उनले पनि कोभिड–१९ को सामाजिक–मनोवैज्ञानिक त्रासलाई सिर्जनामा उतारे । ‘पछिल्लो मनोवैज्ञानिक त्रासबाट हाम्रो साहित्य पनि प्रभावित छ’, प्रतिष्ठानकी अध्यक्ष एवं साहित्यकार मोमिला जोशीले भनिन्, ‘शान्ति कवितमा पनि यस्तै देखियो ।’

प्रतिष्ठानले दुई दशकदेखि हरेक वर्ष शान्ति कविता गोष्ठी गर्दै आएकोमा यसपटक कोरोना त्रासका कारण ढिलोगरी गरिएको थियो । गोष्ठीमा कोइराला र कार्कीसँगै साहित्यकार उषा शेरचन, एस्पी कोइराला, मोमिला, अरुणा वैद्य, मणि लोहनी, सुरेश हाचेकाली, सविता दाहाल, अनुपम रोशी, शशी लुमुम्बु, केशव सिग्देल, महेश पौड्याल, प्रज्वल अधिकारी लगायतले कविता सुनाए ।

त्यस्तै विभिन्न ३ सयभन्दा बढी स्रष्टाहरुको रचना समेटिएको साहित्यक पत्रिका ‘कलाश्री’ को पूर्वअर्थमन्त्री एवं कवि एस्पी कोइरालाले लोकार्पण गरे भने कृतिमै छापिएका मध्ये एक सिर्जनालाई दिँदै आएको कलाश्री सिर्जना पुरस्कारबाट सुरेश हाचेकाली पुरस्कृत भए । प्रतिष्ठानबाट दुई दशकदेखि संचालन हुँदै आएको वार्षिक इ–पत्रिका नेपाली कला साहित्य डटकमको नयाँ संस्करण पनि पूर्वमन्त्री कोइरालाले लोकार्पण गरे । यो मुलुककै पहिलो साहित्यिक अनलाइन पत्रिका हो ।

कार्यक्रममा कवि कोइरालाले निजी क्षेत्रबाट नेपाली भाषा–साहित्यको प्रवर्द्धनमा प्रतिष्ठानले उल्लेख्य भुमिका निर्वाह गरेको दाबी गरे । आफूहरुले ‘सद्‍भाव र सिर्जना’ थिमका साथ दुई दशकदेखि विभिन्न स्थलगत साहित्यिक अभियान, अनुसन्धान, प्रकाशन र साहित्यिक आदान–प्रदान जस्ता गतिविधि गर्दै आएको प्रतिष्ठानकी अध्यक्ष मोमिलाले बताइन् ।

प्रकाशित : श्रावण ९, २०७७ २१:३७
प्रतिक्रिया
पठाउनुहोस्

मत्स्येन्द्रनाथको रथारोहण हुने

प्रशान्त माली

काठमाडौँ — कोभिड–१९ का कारण पटक–पटक स्थगन भएको अन्न र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथारोहण शनिबार नागपञ्चमीको अवसरमा पुल्चोकमा हुने भएको छ । मत्स्येन्द्रनाथका ज्योतिषि, पानेजु (पुजारी), गुठियार, ज्यापू समाज, गुठी संस्थान र ललितपुर महानगरपालिकालगायत सरोकारवालाको शुक्रबारको छलफलपछि यस्तो निर्णय गरिएको हो ।

रथारोहणको साइत भने १२ बजेर ५ मिनेटबाट १० मिनेटसम्म रहेको मत्स्येन्द्रनाथका ज्योतिषि कीर्तिमदन जोशीले बताए ।

ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनका अनुसार परम्पराअनुसार रथारोहण गरेको चार दिनभित्र रथयात्रा सुरु गर्नुपर्छ । ‘तर कोभिड–१९ कारण लकडाउन पूरा रूपमा खुलेपछि मात्र रथयात्रा गर्ने तय भएको छ,’ उनले भने । रथारोहण यसअघि असार २४ गते गर्ने तय भएको थियो । तर लकडाउनका कारण स्थगित भयो । तिथिअनुसार रथारोहण वैशाख १२ गते गर्नु पर्दथ्यो । मत्स्येन्द्रनाथका ज्योतिषी जोशीका अनुसार नागपञ्चमीमा रथारोहण नभएमा दसैंसम्म अर्को साइत छैन । यसलाई मध्यनजर गरेर बिहीबार ३२ पानेजु संघ, ज्योतिषी, गुठियारलगायत अन्य सरोकारवालाहरू मिलेर ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट र ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनसमक्ष ध्यानाकर्षण गर्न पुगेका थिए । ललितपुरका प्रमुख जिल्ला अधिकारी भट्टले सरकारले तय गरेको मापदण्डमा रहेर रथारोहण गर्न सकिने बताए । ‘भीडभाड नगरी सामाजिक दूरी कायम, मास्क र सेनिटाइजर प्रयोग अनिवार्य गर्नुपर्‍यो,’ उनले भने ।

मत्स्येन्द्रनाथका पुजारी कपिलदेव वज्राचार्यले रथारोहण गर्न सम्पूर्ण तयारी पूरा भइसकेको बताए । ‘बौद्ध परम्पराअनुसार प्राणप्रतिष्ठा गराई पुरुष र नारी दुवैलाई गरिने जातकर्म, नामकर्म, अन्नप्राशन, उपनयन, चूडाकर्म, इही (बेल विवाह) र गुफा राख्ने दसकर्म सबै विधि सम्पन्न भइसकेको छ,’ उनले भने । गुठी संस्थान ललितपुर शाखा कार्यालय प्रमुख राजन भुजुले गुरुजु पल्टनलाई पनि जानकारी गराइसकेको बताए । लकडाउनका कारण चैतमा गरिएको महास्नानमा भने हनुमानढोका दरबारस्थित शार्दूलजंग गुल्मबाट आउनुपर्ने गुरुजु पल्टन उपस्थित भएनन् । रथारोहणमा ललितपुरका सत्रौं शताब्दीका राजा सिद्धिनरसिंह मल्लको ऐतिहासिक खड्ग भने झल्लरवाल छत्रले ओढाएर सम्मिलित गराउने परम्परा छ । मत्स्येन्द्रनाथ जात्रा सञ्चालनका लागि शुक्रबार नेवाः पत्रकार राष्ट्रिय दबु ललितपुरले सरोकारवालासँग अन्तर्क्रिया गरेको छ ।

प्रकाशित : श्रावण ९, २०७७ २१:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×