२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

यादवलाई मैथिली अनुसन्धान पुरस्कार

काठमाडौँ — विद्यापति पुरस्कार कोषले यस वर्षको ‘मैथिली अनुसन्धान पुरस्कार–२०७६’ कान्तिपुरकर्मी दिनेश यादवलाई प्रदान गरेको छ । अनुसन्धानमुलक लेखेर मैथिली भाषा र साहित्य क्षेत्रमा योगदान पुर्‍याएको भन्दै उनलाई एक लाख रुपैयाँको उक्त पुरस्कार प्रदान गरिएको कोषले जनाएको छ । 

यादवलाई मैथिली अनुसन्धान पुरस्कार

पत्रकार यादवले नेपाली, मैथिली र हिन्दी साहित्यमा कलम चलाउँदै आएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको मैथिली पत्रिका ‘आङन’ र बहुभाषिक पत्रिका ‘सयपत्री’ तथा जनकपुरबाट प्रकाशित हुने ‘आंजूर’, विराटनगरको ‘मिथिला टाइम्स’ र काठमाडौंबाट प्रकाशन हुने ‘अपन मिथिला’ मा यादवको अनुसन्धानमुलक लेख प्रकाशित छन् ।

विद्यापति पुरस्कार कोषद्वारा यो वर्षको चार अन्य विधामा पुरस्कृत र सम्मानित भएका स्रष्टाहरुमा धनुषाका चन्द्रशेखर उपाध्यायलाई नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार २०७६, धनुषाकै लक्ष्मण मण्डललाई विद्यापति कलासंस्कृति पुरस्कार, धनुषाकै उपेन्द्र भगत नागवंशीलाई पाण्डुलिपी पुरस्कार र मोरङका शिवनारायण पण्डितलाई विद्यापति अनुवाद पुरस्कार रहेको छ ।

जनकपुरमा आयोजित कार्यक्रममा प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारले साहित्यकार उपाध्यायलाई दुई लाख र अन्य सबै श्रष्टालाई एक–एक लाख रकम र सम्मानपत्रसहित पुरस्कृत गरेका हुन् । नेपाल सरकारद्वारा २०६८ सालमा एक करोडको विद्यापति पुुरस्कार कोष खडा गरी मैथिली भाषा, साहित्य, कला, संस्कृति र अनुसन्धान क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने पाँच स्रष्टालाई वार्षिक रुपमा पुरस्कृत गर्दै आएको छ ।

प्राविधिक कारणले ०७५ मा बाहेक यो वर्षसहित हालसम्म ३३ व्यक्तित्व र २ संस्थाले विद्यापति पुरस्कार पाइसकेका छन् ।

प्रकाशित : असार २९, २०७७ २२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?