२०७७ को ललितकला पुरस्कार घोषणा

काठमाडौँ — ललितकला क्षेत्रमा लेखन र कला सिर्जनाले विशेष योगदान पुराउँदै आएका व्यक्तिहरुलाई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले दिँदै आएको यस वर्षको ललितकला पुरस्कार घोषणा गरेको छ ।

वैशाख २ गतेदेखि हुने ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०७७’ लकडाउनका कारण स्थगित भएपछि संकलन भएका कलाकृतिहरुको मूल्यांकनका आधारमा पुरस्कारको घोषणा गरिएको प्रतिष्ठानबाट मंगलबार जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

एक लाख रुपैयाँ राशी रहेको यस वर्षको ‘राष्ट्रिय अरनिको सम्मान –२०७७’ शंकरनाथ रिमाल र शन्तकुमार शाक्यलाई प्रदान गरिने भएको छ । त्यस्तै ‘ललितकला राष्ट्रिय लेखन पुरस्कार–२०७७’ लय मैनाली र ‘ललितकला राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७७’ केशवराज खनाललाई प्रदान गरिने छ । दुवैले जनही २५ हजार राशी प्राप्त गर्ने छन् ।

६० हजार राशीसहितको हस्तकला तर्फको ‘राष्ट्रिय ललितकला पुरस्कार’मा मिलन सेरचन र यसै विधामा २५ राशीको विशेष पुरस्कारमा माणिकमान शाक्य, राजेश महर्जनको नाम घोषणा गरिएको छ । त्यस्तै, ६० हजार राशीकै पुरस्कार रहेको परम्परागत मूर्तिकला विधामा सुरेश लावट, आधुनिक मूर्तिकला विधामा भुषण दुवाल, परम्परागत चित्रकलातर्फ कृष्णराम घेमेसु, आधुनिकतर्फ गणेश जिसी, लोककलामा लक्ष्मण मण्डल, भावभङ्गी कलातर्फ प्रमिला लामाको नाम घोषणा गरिएको छ ।

हस्तकला, मूर्तिकला, चित्रकला,लोककला र वास्तुकला तथा अन्य सिर्जनात्मक कलाका पाँचवटै विधा तर्फका २५ हजार राशीको विशेष पुरस्कार शुभरत्न बज्रचार्य, विशाल सारुमगर, जिम्मे तामाङ, सुरेश बस्नेत विद्यमान तामाङ, मित्थु थारु लगायत प्रतिस्थापन कलामा सुमन राई, छविकलामा कुशल कार्की, कार्टुन कलामा रवि मिश्र पुरस्कृत हुने भएका छन् । त्यसैगरी कौशिला राई, रविकुमारी कर्ण, प्रकाश मिजार, गणेशदेवी चौधरी लगायत सात जनालाई कलाका पाँचै वटा विधातर्फबाट २५ हजार राशीको प्रादेशिक पुरस्कार प्रदान गरिने भएको छ ।

विज्ञप्तिका अनुसार कोभिड–१९ले गर्दा स्थगित भएको ललितकला प्रदर्शनीलाई अनलाइन वा अन्य कुनै वैकल्पिक माध्यमबाट सञ्चालन गरिने भएको छ । कोरोना संक्रकणबाट सुरक्षित हुन अहिले भौतिक उपस्थितिभन्दा अनलाइन माध्यम नै उपयुक्त हुने प्रतिष्ठानका कुलपति केके कर्माचार्यले बताए । प्रतिष्ठानमा हाल छलफल चलिरहेकोले छिट्टै प्रदर्शनी सुरु गर्ने कर्माचार्यको भनाइ छ ।

प्रकाशित : असार ३, २०७७ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?