१४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

आदिकथा : पानीमाथि तैरिएको घाम 

अचम्मै भयो । दरबारमा आगो सल्किएको धेरैबेरसम्म पनि चिम्नीबाट धुँवा निस्किएन । पछि थाहा भयो, दरबार जलेको दुनियाँले थाहा नपाउन भनेर दरबारभित्रका आसेपासेहरुले धुवाँ निल्ने दुस्साहस गरेका रहेछन् । धेरैभन्दा धेरै धुँवा निलेर राजा खुसी पार्ने नाममा कैयन दिनसम्म आगो दरबारभित्र फैलिरह्यो ।
सयौं नागरिकहरु छाला कन्याउँदा कन्याउँदैका आनन्दीमा बिते । कति कन्याएको ठाउँमा भएको घाउमा उकुच पल्टेर मरे । हावामा खबर प्रसार हुने तत्व नभएकाले यसरी कति नागरिक मरे भनेर धेरैले थाहै पाएनन् ।
जनकराज सापकोटा

त्यतिबेला मन्जुश्रीको कुनै अस्तित्व थिएन । विशाल तलाउबीचको सानो थुम्को नै त्यो लघु राज्यको सीमा र शक्ति दुवै थियो ।  एकथरी विद्वत तर्क गर्थे, तलाउबीचको अवस्थितिले राज्यको रणनीतिक महत्वलाई उचो राखेको छ । अर्काथरी विद्वत दाबी गर्थे, तलाउले राज्यको सीमा र हैसियत दुवै खुम्च्याएको छ ।

आदिकथा : पानीमाथि तैरिएको घाम 

बहस र छलफलको परिधिभन्दा बाहिर रहेका नागरिहरुलाई यस्ता तर्कबारे उतिसारो चासो थिएन् । किनकी उनीहरुका आफ्नै रैथाने चिन्ता र चासो, छटपटी र ऊहापोह थिए ।

राज्यका केही विशिष्ट नियमहरु थिए । पात्रोले समयको हिसाब–किताब राख्छ र घडीले समयको कित्ताकाट गर्छ भन्ने जानेर राजाले यी दुवैको प्रयोगमा स्थायी प्रतिबन्ध लगाएका थिए । त्यही भएर यहाँ सुनाउन आँटिएको कथा कति सालको हो ? कति बजे त्यस्ता घटना घटेका थिए भनेर कुनै अनुमान लगाउन सकिने अवस्था देखिएन ।

सुपूर्णवीरका बाबु किसान थिए । तर पनि उनी चलाख थिए । किनकी उनी पसिना र रगत सँगसँगै बगाउँदैनथे । चलाख भएर पनि उनी किन नेता भएनन, बिचौलिया भएनन् भनेर त्यस राज्यमा कसैले प्रश्न उठाउँदैनथे । किनकी प्रश्नहरुको प्रवाह हुन हावामा जुन तत्व चाहिन्छ त्यसलाई राज्यले नियन्त्रणमा राखेको थियो । तर यस्तो कुरा आम नागरिकहरुलाई थाहा थिएन । उनीहरुका कानलाई प्रश्नको आयाम र महत्वबारे थाहै थिएन । शासकहरुलाई यसमा बढो गर्व और हाइसन्चो थियो ।

प्रश्न नभएकै कारण नागरिकहरुमा उतिसारो जिज्ञासा पनि थिएन । अनि नागरिकहरु कसैले कसैको कुरा काटने काम गर्दैनथे । त्यसैले त्यहाँ नागरिक समाज पनि थिएन । अनि तिनीहरु विज्ञप्ति पनि निकाल्दैनथे । कसैले निकालिहाल्यो भने पनि अक्षरसँग चिनापर्ची नभएका नागरिकले त्यसलाई बेवास्ता गरिदिन्थे ।

अन्य राज्यमा झैं त्यहाँ पनि शासकको वरिपरि प्रदक्षिणा गर्ने मान्छेको जमात थियो । तिनीहरुले विभिन्न विशेषणसहित आफ्नो परिचय दिन्थे । कोही आफूलाई पत्रकार भन्थे, कोही लेखक भन्थे । केही कानून्ची भन्थे, कोही प्राध्यापक भन्थे, कोही अगुवा भन्थे, कोही अनुसन्धानकर्मी । तिनीहरु खासमा को थिए भन्नेबारे केही द्विविधाहरु छन् । लिपिबद्ध इतिहास नभएकाले कथाका धेरै पात्रहरुको इतिहास तोडमोड भएको हुनसक्ने आकलन गर्न सकिन्छ ।

क्वारेन्टाइनमा भएको सस्तो मृत्युअघि बाबुले सुपुर्णवीरलाई एउटा कथा सुनाएका थिए । यो त्यही कथाको लेख्य स्वरुप मात्रै हो । समयक्रममा कथामा आएका बदलावबारे उतारकर्ता जिम्मेवार छैन ।

कति हो कति वर्ष अघिको कुरा हो । उक्त राज्यमा विप्लव भयो । ताल किनारका नागरिकले मारेका माछाको हिसाबकिताबबाट सुरु भएको विद्रोहको डढेलो सल्किँदै सल्किँदै दरबारभित्रै छिऱ्यो । कति कथाकारले देशी–विदेशी तत्वका कारण यस्तो भएको भनेर कथा बनाए । कति लेखकले मत्स्य राज्यको प्रतिनिधिले सुलह सल्काएको कथ्य पनि रचे । भलै समयको रफ्तारमा यस्ता कथाहरु कता मिल्किए–मिल्किए ।

अचम्मै भयो । दरबारमा आगो सल्किएको धेरैबेरसम्म पनि चिम्नीबाट धुँवा निस्किएन । पछि थाहा भयो, दरबार जलेको दुनियाँले थाहा नपाउन भनेर दरबारभित्रका आसेपासेहरुले धुवाँ निल्ने दुस्साहस गरेका रहेछन् । धेरैभन्दा धेरै धुँवा निलेर राजा खुसी पार्ने नाममा कैयन दिनसम्म आगो दरबारभित्र फैलिरह्यो ।

धुँवा निल्नेहरुको बुता सकिएपछि अन्तत: दरबारको आकाशमाथि एक्कासि धुँवाको मुस्लो देखा पऱ्यो । भन्न त दरबारियाहरुले राजाले लगाएको कोटीहोमको धुँवा हो भनेर विषयान्तर गर्न खोजे । तर आगोले आफ्नो धर्म बिर्सेन । धुँवा आकाशभरि फैलियो । दिउँसै अँध्यारो भएजस्तो भयो । भुईंकुहिरोभन्दा बाक्लो धुँवा चारैतिर फैलिएको मौका पारेर दरबारको पूर्वी गेटबाट सयौं आसेपासेहरु लस्कर लागेर निस्किए ।

धुँवामण्डलकै बीचमा राज्यमा विप्लव भयो । अनि यही विप्लवमा दरबारबाट निस्किएकाहरु वस्त्र बदलेर सामेल भए । धुँवाको कुहिरीमण्डमा जनताले तिनलाई चिन्नै सकेनन् । अनि थाहै नपाई फोक्सोभरि धुँवा बोकेकाहरु नाम र भेष बदलेर सत्ताको केन्द्रमा पुगे ।

नयाँ सरकार बनेकै दिन सनद जारी भयो । लेखिएको थियो, जनताको बलिदानीलाई खेर जान नदिन सरकारका मान्छेहरु सार्वजनिक सभा समारोहमा देखिएर मुख चलाउँदैनन् । खुरुखुरु मन्त्रालयमा बसेर काम मात्रै गर्छन् । सारा जनताले कर्तल ध्वनिका साथ सरकारी निर्णयको स्वागत गरे ।

तिनीहरुलाई के थाहा मुख खोल्दा दरबारिया धुँवा निस्कन्छ र जनताले आफ्नो असलीयत थाहा पाउँछन् भनेर गरिएको षड्यन्त्र थियो । सरकारी मान्छेहरुले फोक्सोमा जम्मा भएको दरबारिया धुँवा निकाल्न अनेकन यत्न पनि गरेका थिए भन्ने सुनिन्छ । तर त्यसबारे यथेष्ट प्रमाण भेटिँदैन ।

सरकारी मान्छे किन सार्वजनिक कार्यक्रममा जाँदैनन् ? किन जनतासँग एकाकार गर्दैनन ? कसैले पनि यस्तो प्रश्न गरेनन् ? किनकी अघि नै भनिसकियो उक्त राज्यको हावामा प्रश्न बहाउन सक्ने ताकत थिएन भनेर ।

मान्छेको भीडभाडमा संक्रामक रोगहरु सर्न सक्छ भनेर जनताको भलाइकै निम्ति राज्यले यस्तो नीति अख्तियार गरेको होला भन्ने तर्कनामै जनताले चित्त बुझाए । माछा मार्नेहरुले मारिरहे । खेती उब्जाउनेले उब्जाइरहे । पशु पाल्नेहरुले पालिरहे । सबैको दिमाग शान्त भइरह्यो ।

शान्त राज्यमा एकदिन अचानक महामारी सल्कियो । यस्तो रोग कसले साऱ्यो, कसले फैलायो ? कसैले केही भेउ पाउन सकेनन् । शासकका ठूला–ठूला निजी पण्डितहरुले महामारी सल्किनुलाई अनिष्ट संकेत भनेर टिप्पणी गरे । तर यस्तो संकेतको खबर जनतामा प्रसार भएन । किनकी अघि नै भनिसकियो, उक्त राज्यको हावामा खबर प्रसार हुने तत्व थिएन् ।

रोगको प्रकृति मूलत: यस्तो थियो ।

साँझ ढल्किदै गएपछि तिघ्रा र पाखुराको छालामा अनौठो खसखस उत्पन्न हुन्थ्यो । एकैछिनमा उक्त खसखस चिलाईमा परिणत हुन्थ्यो । दुवै हातका दश औंलाका नङले छालामा बेस्सरी जोतेपछि चिलाई त शान्त हुन्थ्यो तर छाला रातो भएर भब्बाइरहेको हुन्थ्यो । यतिबेला हुने जलन खप्न नसकेर मान्छेहरु यसरी कराउँथे, जसरी साँझका बेला बासघारीमा जम्मा भएका सारौं वा डाङ्ग्रे कराउछन् । रोग सल्किएसँगै कुनै सुर न तालबिनाको यस्तो चिच्याहठ राज्यभरि फैलिन थाल्यो । दिनभर त मानिसहरु अनेकन काममा मन भुलाउँथे । तर साँझ छिप्पिन थालेपछि भने राज्यभरि अनौठो चिच्याहट सुरु हुन्थ्यो ।

कति नागरिक रोग थेग्न सक्ने अवस्थामा छन, कति रोगसँग हारेर परमधामको यात्रा तय गर्नेवाला छन् र अरु कति नागरिकलाई रोग सल्किनेवाला छ भन्नेबारे राज्यसँग कुनै तथ्य र तथ्यांक थिएन । किनकी सरकारका मान्छेहरु गणितमा कमजोर थिए ।

तैपनि केही भई पो हाल्छ कि भनेर सरकारले केही खोजीनीति गरेजस्तो गऱ्यो । एकजना मन्त्रीले भिरमौरीको मह दले निको हुन्छ भनेर प्रधानमन्त्रीलाई जाहेर गरे रे भन्ने पनि सुनियो । अर्का एकज नाले राज्यको हावामा अलौकिक शक्ति भएकाले आत्तिन नर्पने सुझाव दिए रे ।

सयौं नागरिकहरु छाला कन्याउँदा कन्याउँदैका आनन्दीमा बिते । कति कन्याएको ठाउँमा भएको घाउमा उकुच पल्टेर मरे । हावामा खबर प्रसार हुने तत्व नभएकाले यसरी कति नागरिक मरे भनेर धेरैले थाहै पाएनन् ।

चिलाइको आनन्द उत्कर्षमा पुगेर मर्न पाउनु पनि भाग्य हो भनेर पनि कथ्यहरु निर्माण गरिए । कतिले यही कुरा पत्याए र आनन्दको मृत्युवरणमा आफूलाई सामेल गरे ।

चिलाउने रोग फैलिरहेका बेला सरकार कहाँ थियो ? के गर्दै थियो ? के तिनीहरुको कुनै भूमिका थिएन भनेर कसैले प्रश्न गरेन । भनिहालियो उक्त राज्यमा प्रश्न निर्माण हुने कुनै तत्व नै थिएन । कथम्कदाचित कसैले सोधेको भए पनि उत्तरभन्दा पहिला मुखबाट धुवाँ निस्किन्छ र आफ्नो विगत थाहा हुन्छ भनेर कुनै नेताले बोल्नेवाला थिएनन् ।

रोग सल्किरहेका बेला सरकारभित्र विवाद सल्किएको थियो रे भन्ने गाइँगुइँ पनि सुनियो । भागवण्डाको विषयमा मन्त्रीहरु झगडा गर्दा तिनका मुखबाट फुस्स–फुस्स धुँवा निस्कन्थ्यो रे । यस्तो धुँवाले तिनको अनुहारमा तैरिएको लाचारीलाई छोपिदिन्थ्यो रे ।

‘रे...रे’ का यस्ता कुराहरुमा सत्य थिए कि असत्य भन्ने कसैले मेसो पाएनन् । कुनै सिपालु कथाकारले हालेको कथाको कुनै अंश पो थियो कि ? कुनै सिपालु पत्रकारले लेखेको फिचरको अंश थियो कि ? कसैलाई दिमाग खियाउने मौका नै मिलेन । किनकी सबैले चिलाइको जलन मार्न आफ्नो हात छालामा खियाइरहेका थिए ।

कोही पातीको झोल निकालेर छालामा दलिरहेका थिए । कोही निमपत्ताको पात ओखलमा कुटिरहेका थिए । कोही गाईको गहुँत दलिरहेका थिए । कोही धसिङगरे चपाउँदै जिब्रो कालो बनाइरहेका थिए ।

जनताको यस्तो छटपटीले सरकारमा कुनै असर पारिरहेको थिएन । सरकारका मन्त्रीहरु आ–आफ्नो ईष्ट देउताको वरिपरि परिक्रममा लिन भइरहेका थिए । मन्त्रीको यस्तो साधनाबाट मिल्ने ज्ञानले रोगको उपचार विधि पत्ता लगाउनेछ, त्यतिन्जेल धैर्य गर्नु भनेर उनका आसेपासेहरु गाउँमा आएर सुनाइरहेका थिए ।

मुखबाट धेरै धुँवा निस्कने र कम धुँवा निस्कने, बेला बेला मात्र धुँवा निस्कने र तारन्तार धुँवा निस्कने मन्त्रीहरु आ–आफ्नो कित्तामा बाँडिएका थिए रे ।

चिलाउने रोगको पहिलो चरणको संक्रमण तिनैलाई भइरहेको थियो, जसको आङमा सफा कपडा थिएन । जसका छालाले मुलायम र बास्नादार कपडाको स्पर्श पाएका थिएनन् । जसका छालाले क्रिम र पाउडरको गन्ध थाहा पाएका थिएनन् ।

दिनहीन र दु:खीहरुको मृत्युको हिसाब राख्ने कुनै सरकारी अड्डा पनि उक्त राज्यमा थिएन । यस्ताहरुको कथा लेख्ने कथाकारहरु पनि थिएनन् । पत्रकारहरु पनि थिएनन् । केही कुशल भनिएका फिल्म निर्माताहरु सरकारको वीरताबाट मुग्ध देखिन्थे । नागरिक समाज भन्ने थियो कि थिएन भन्नेबारे यकिन तथ्य भेटिँदैन । कतिले नागरिक समाजका मान्छेहरु कतिबेला होसमा आउँछन् र कतिबेला मुर्छा परेजस्तो गर्छन् भनेर कसैले अनुमान नै गर्न नसक्ने अवस्था थियो भनेर पनि वर्णन गरेका छन् ।

संक्रमणको पहिलो चरण कसरी दोस्रो चरणमा बदलियो ? कसैले मेसो पाएन । बाहिर निस्कँदा सुकिला कपडा लगाउन सक्ने, खानेकुरा पनि धेरैबेर चपाएर निल्ने र कुरा पनि औधी चपाएर बोल्नेहरुमा दोस्रो चरणको संक्रमण फैलिएको थियो रे । राज्यमा संक्रमण र सरकारभित्र संक्रमण उस्तै रफ्तारमा फैलिरहेजस्तो देखिन्थ्यो । पहिले पो दरबार थियो र सबैजना त्यतैतिर मुख फर्काउँथे । आशा र निराशाका दुवै नजर त्यतैतिर सोहोरिन्थे । अहिले त शक्तिका मुख पनि दशतिर फर्किएका थिए । नागरिकका आँखा पनि दश दिशातिर सोहोरिएका थिए । बडो अनौठो कोलाज निर्माण भइरहेको थियो ।

पहिलो चरणको रोग संक्रमणले दिनहीनहरु सखापै भए । पहिलो चरणको राजनीतिक संक्रमणले सरकारको बचाउ गर्दा गर्दै आफू निवस्त्र भएका आसेपासेहरु सखापै भए । दोस्रो चरणको रोग संक्रमण बढदै जाँदा राज्यमा कोलाहल पनि बढदै गयो । दोस्रो चरणको राजनीतिक संक्रमण वढदै जाँदा आसेपासेहरु दृश्यबाट हराउँदै गए ।

स्वरहरु एकआपसमा ठोक्किएर नयाँ स्वरहरुको निर्माण भइरहेको थियो । तर नयाँ स्वरको अर्थ पहिल्याउने भाषाविद्हरु देशभित्र थिएनन् । नयाँ स्वरको अर्थ, त्यसको गहिराइ, अभिधा, लक्षणा र व्यञ्जना के हो भनेर खुट्याउन नसक्दा अनौठो कोलाहलको निर्माण भइरह्यो । यही कोलाहलका बस्च एउटा वाक्य टड्कारो सुनियो । चिच्याहटका हजारौं ध्वनिहरुको मन्थनबाट निस्किएको उक्त वाक्य सबैले एकैचोटि सुने ।

तातो पानीमा भकभकी उमालेर सेलाएको लेदो माटो शरीरमा दल्यो भने चिलाउने रोग बिसेक हुन्छ ।

अर्थ बुझनेबित्तिकै कोही कुटो कोदालो बोकेर निस्के । कोही गैंती, बेल्चा बोकेर निस्के । केही शक्तिशाली भने डोजर नै लिएर निस्के । सबैले धमाधम माटो खन्दै बोरामा, झोलामा, डोकोमा, थुम्सेमा, डालोमा, चिंगरीमा बोकेर घर लैजान थाले ।

यही बेला राज्यले जनताको नाममा घोषणा गर्‍यो, ‘आफुखुसी माटो खनेर लैजाने काम गर्दा तलाउको बीचमा रहेको राज्यको जगमा असर पर्न सक्छ । माटो आवश्यक पर्नेले जिल्ला प्रशासनबाट अनुमति लिनू ।’

राज्यको यस्तो निर्देशनको पालना होला कि नहोला भन्ने संशयका माझ जिल्ला प्रशासन अघि हजारौंको भीड जम्मा हुन सुरु भयो ।

त्यतिन्जेल चिलाउने रोग सबैतिर व्याप्त भइसकेको थियो । कसैले भोलि आफैलाई रोग लाग्यो भने चाहिन्छ भनेर माटो जम्मा गरिरहेका थिए । कसैले आफ्ना स्नेही बा–आमा वा प्रेमिल पति पत्नीको रोग निको पार्न माटो खोजिरहेका थिए । कसैले आफ्नो सन्तानको अनुहारबाट रोगका कारण गुमेको खुसी फर्काउन माटो खोजिरहेका थिए ।

प्रशासनअघि ठूलो भीड जम्मा हुन थालेपछि र त्यसलाई व्यवस्थापन नै गर्न नसकिने देखेपछि राज्यले अर्को घोषणा गऱ्यो । जसको सार थियो, जनताको सर्वोपरि हितका खातिर निश्चित कम्पनीहरुलाई माटो निकालेर जनताको घर–घर पुऱ्याउने जिम्मेवारी दिइएको छ ।

यस्तो घोषणा लगत्तै प्रत्येक मन्त्री निकटका केही कम्पनीहरुले माटो निकालेर घर–घर लैजानको ठेक्का पाए । राज्यको ढुकुटीबाट ती कम्पनीहरुले ठूलो रकम बुझे रे भन्ने सुनियो ।

तर छोटे समयमै रकम धेरै बुझ्ने र थोरै बुझ्‍ने, शक्तिशाली र कम शक्तिशाली कम्पनीहरुको शीतयुद्ध बिस्तारै सतहमा देखियो । सनैसनै त्यस्तो द्वन्द्व राजनीतिमा संक्रमित भयो ।

कति र कस्ता कम्पनीलाई माटो निकाल्ने लाइसेन्स दिने भन्ने विषयमा मन्त्रिमण्डलका सदस्यबीच हल्का विवाद चल्यो । विवादको झोक्का कसरी–कसरी भूमरीमा परिणत भयो । भन्न त जलवायु परिवर्तनका कारण सामान्य विवाद पनि झगडाको भूमरीमा परिणत हुने मौसम देखा पर्दैछ भन्ने अनुमानहरु सार्वजनिक भइरहेका थिए । आम जनताले मन्त्रिमण्डलको विवाद पनि यस्तै जलवायु परिवर्तनको असर होला भन्ठाने र चित्त बुझाए ।

तर विवादको भूमरी हुर्किंदै गयो । भागबण्डाको हिसाब मिलाउन मन्त्रीहरु रातरात छलफलमा जुटे । उनीहरुले राज्यका विभिन्न भागमा छरिएका आफ्ना दूतलाई राजधानी डाके । खाने र सुत्नेको तालिकाको पनि प्रवाह नगरी उनीहरु छलफलमा जुटे । अन्तमा सबै मन्त्रीको इच्छा जनताको सर्वोपरि हितका निम्ति हुने भन्दै सबै मन्त्रीपिच्छेका कम्पनीलाई माटो निकालेर जनताको घर घर वितरण गर्ने लाइसेन्स वितरण गर्नेमा भद्र सहमति जुट्यो ।

लाइसेन्स बाढिएको सााझ सहरका अनेकन कुनाबाट हात्तीको जस्तो अजंगका सुाड भएका डोजरहरु सडकमा मार्च पासमा निस्किएझंै निस्किए । सकेसम्म जनताको घरघरमा धेरैभन्दा धेरै माटो पुऱ्याएर चिलाइरहेका मान्छेको रोग बिसेक पार्न तिनीहरुले माटो खन्न थाले । कसैले गाडीमा माटो लोड गरे । कसैले बोरामा हाले । कसैले डोको र थुन्सेमा हाले । कसैले किलो–किलोका प्याकेट बनाए । कसैले माना र पाथीको हिसाबमा पोको बनाए ।

कैयन रातसम्म अनवरत माटो निकाल्ने क्रम चलिरह्यो । जनताको सेवामा खटिएका डोजरहरुबीच प्रतिस्पर्धाको तीव्र रफ्तार चल्यो । कसले धेरै माटो निकाल्ने ? जनताको सेवा गर्ने भाव यसरी उम्लियो कि उनीहरुले देशको जनसंख्या कति छ ? तिनलाई कति माटो चाहिनेवाला छ भन्ने हिसाब नै गर्न बिर्सिए ।

बिहान घाम नउँदाउदै सिंगो राज्य ढलपल गरिसकेको थियो । माटो निकालिएका सुरुङहरुबाट पानीको भल छिरिसकेको थियो । गहिरा खाडलहरु लघुकुण्डमा परिणत भएका थिए ।

क्षितिजमा पर कतै कलिलो घाम देखिादै गर्दा उक्त राज्यभित्र पानी छिरिसकेको थियो । तीव्र गतिमा आफ्नो दिशा पक्रिएको पानीको भेलले हेर्दा हेर्दा टापु राज्य डुब्न थाल्यो । त्यस्तो बेला पनि केही मन्त्रीहरु अनयासै चित्कार निस्किएला र सँगसँगै मुखभित्रबाट धुँवा निस्किएला भनेर बहुमूल्य मास्क लगाईरहेका थिए । तर केही इतिहासकारहरुले भने त्यसरी मास्क लगाउनुको अर्थ दुनियााले लाचारीले भरिएको आफ्नो अनुहार चिन्लान् भनेर अपनाइएको उच्च कोटीको घटिया जुक्ति हो भनेर पनि टिप्पणी गरेका छन् ।

त्यसदिनको घाम माटोमाथि परेन । पानीको तलाउमा घाम तैरिरह्यो । मन्जुश्री हुन्थे भने पहाड काटेर पानी बाहिर पठाइदिन्थे । तर उक्त राज्यमा मन्जुश्री थिएनन् ।

सुन्नेलाई सुनको माला । भन्नेलाई फूलको माला । यो कथा बैकुन्ठै जाला । भन्ने बेलामा खुरुरु आइजाला । अस्तु ।।

प्रकाशित : जेष्ठ १७, २०७७ १४:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सेयर खरिद–बिक्री प्रकरणमा नियामक निकाय निष्क्रिय राखेर छुट्टै छानबिन समिति गठन गर्नुको कारण के हो?