अमेरिकी लेखक कोल्सन ह्‍वाइटहेडले फेरि पाए पुलित्जर पुरस्कार- साहित्य/विविध - कान्तिपुर समाचार

अमेरिकी लेखक कोल्सन ह्‍वाइटहेडले फेरि पाए पुलित्जर पुरस्कार

एजेन्सी

न्युयोर्क — अमेरिकी लेखक कोल्सन ह्वाइटहेड उपन्यासका लागि दोस्रो पटक पुलित्जर पुरस्कार पाउने चौथो लेखक बनेका छन् । ह्वाइटहेडलाई ‘द निकेल ब्वाइज’ का लागि सन् २०२० को उपन्यास विधातर्फको पुलित्जर पुरस्कारले सम्मानित गरिएको हो ।

‘द निकेल ब्वाइज’ मा एक अफ्रिकी अमेरिकी बालकलाई फ्लोरिडाको बाल सुधार गृहमा गरिएको अत्याचार समेटिएको छ । ह्वाइहेडले फ्लोरिडाको डोजियर स्कुलमा बालबालिकामाथि गरिएको अत्याचारमा आधारित भएर उपन्यास लेखेका हुन् ।

ह्वाइटहेडले सन् २०१७ मा ‘द अन्डरग्राउन्ड रेलरोड’ उपन्यासका का लागि पुलित्जर पुरस्कार पाएका थिए । यसअघि बुथ टार्किन्टन, विलियम फकनर र जोन अप्डाइकले मात्र उपन्यास विधातर्फ पुलित्जर पुरस्कार पाएका थिए ।

कोरोना भाइरसको महामारीका कारण केही हप्तापछि धकेलिएको पुलित्जर पुरस्कार सोमबार घोषणा गरिएको हो ।

कोल्सन ह्वाइटहेडका ‘जोन हेनरी डेज’,‘द कोलोसस अफ् न्युयोर्क’, ‘एपेक्स हाइड्स द हर्ट’,‘द नोबल हसल’,‘साग हार्बर’ लगायतका पुस्तक प्रकाशित छन् ।

अमेरिकी प्रकाशक जोसेफ पुलित्जरले स्थापना गरेको पुलित्जर पुरस्कार सन् १९१७ बाट दिन थालिएको हो । पुलित्जर पुरस्कार विभिन्न २१ विधामा दिने गरिन्छ । प्रत्येक विजेतालाई १५ हजार अमेरिकी डलर प्रदान गरिन्छ । सार्वजनिक सेवातर्फका विजेतालाई स्वर्ण पदक पनि दिइन्छ ।

सम्बन्धित समाचार


कश्मीरी फोटोपत्रकारहरुलाई पुलित्जर पुरस्कार

प्रकाशित : वैशाख २३, २०७७ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्

सत्यमोहनले देखेका दुई महामारी

‘अहिलेको जस्तो सरकारले संकट त घोषणा गरेको थिएन तर त्यो बेलाको अवस्था पनि निकै त्रासपूर्ण थियो’
गोकर्ण गौतम

काठमाडौँ — एक सय वर्ष पूरा गरेका शताब्दीपुरुष सत्यमोहन जोशी लकडाउनका कारण पाटनस्थित घरमै छन् । विश्वभर कोभिड १९ को महामारी फैलिइरहेका बेला उनले विगतमा नेपालमा आएका दुई ठूला महामारी सम्झिए । कान्तिपरसँगको कुराकानीमा उनले त्यसबेलाको चित्रण गरे ।

विसं. २००२ सालतिरको कुरा हो । तत्कालीन राणा सरकारले औद्योगिक व्यापारिक समाचार संग्रह अड्डा खडा गर्‍यो । उद्देश्य थियो, गाउँगाउँ गएर औद्योगिक सर्वेक्षण गर्ने । गाउँको प्राकृतिक स्रोत, खनिज पदार्थ, मान्छेको सामाजिक–आर्थिक जीवन, ग्रामउद्योग आदिको अध्ययन गर्ने । यो अड्डाको पश्चिम ४ नम्बर हाकिम भएर सत्यमोहन जोशी स्याङ्जा पुगे । साथमा केही सहयोगी पनि थिए । ललितपुरको नेवार समुदायमा हुर्किएका तन्नेरी जोशीलाई स्याङ्जाको माहोल नवीन थियो, त्यहाँका हरेक कुरामा विशेष रुचि दिएर अध्ययन गर्दै थिए ।

एक्कासि बिसन्चो भयो । केही दिन काम छाडेर आराम गरे तर निको भएन । झन् च्याप्न थाल्यो । स्याङ्जामा अस्पताल थिएन, नजिकैको अस्पताल भन्नु नै पाल्पाको । उनी हिँडेर जान सक्ने अवस्थामा थिएनन्, सहयोगीले मात्र बोक्न सक्दैनथे । बाटो पहिल्याउनै मुस्किल पथ्र्यो । त्यसैले गाउँ आएका सरकारी हाकिमलाई अस्पताल पुर्‍याउनु गाउँलेले दायित्व ठाने । जोशी अहिले पनि सम्झन्छन्, स्याङ्जाको डेराबाट रानीघाट हुँदै बोकेर आफूलाई पाल्पा पुर्‍याएको । बाटो धेरै लामो हैन, त्यही ७ कोस जति ।

उपचार गर्न आत्तिँदै पाल्पा पुगेका उनी त्यहाँको माहोल देखेर अचम्मित भए । सहयोगी र गाउँले पनि छक्क परे । सूचना र सञ्चारका साधन थिएनन्, ओल्लोपल्लो गाउँमा के भइरहेको छ, पत्तै पाइँदैनथ्यो । जोशी सम्झन्छन्, ‘पाल्पाभरि कोही मान्छे घरबाहिर देखिएनन्, पूरै सुनसान । सबै घरभरि थुनिएका रहेछन् न कोही भित्र पस्न पाउने, न निस्कन ।’

जोशीलाई लाग्छ, अहिलेको जस्तै लकडाउन नै थियो त्यो तर स्वघोषित । मान्छे आफैं डराएर बाहिर ननिस्किएका । कारण थियो, प्लेग अर्थात् मुसाबाट लाग्ने रोग । जोशीका अनुसार मुसा कहाँबाट आउँछ, पत्तो हुँदैनथ्यो तर मान्छे वरपर आएर हैरान । खुरुरर्र आउँथ्यो, मान्छेनजिकै फनफनी घुम्थ्यो, मरिहाल्थ्यो, त्यसको रोग मान्छेमा सरिहाल्थ्यो । जोशीले सुनाए, ‘त्यसपछि मान्छेको परान जान २४ घण्टा पनि लाग्दैनथ्यो । मुसा नमरे पनि देख्नासाथ कसै न कसै गरी मान्छेमा सरिहाल्नेरहेछ ।’

मुसाले कतिसम्म आतंक मच्चाएछ भने अस्पतालसमेत खाली थियो । त्यति दु:ख गरेर अस्पताल पुगे तर चिकित्सक थिएनन्, कम्पाउन्डर मात्र थिए । कम्पाउन्डरले जाँचेपछि थाहा भयो, जोशीलाई फिस्टुला भएको रहेछ । कम्पाउन्डरले चिरफार गरेर पिप निकालिदिए । चार दिन अस्पतालमै बित्यो । जोशी भन्छन्, ‘पूरा निको भइसकेको थिएन तर धेरै बस्दा आफैंलाई रोग सर्लाजस्तो भयो, त्यसैले स्याङ्जा फर्के ।’

अचम्म के भने मुसेरोग पाल्पामा मात्र थियो, स्याङ्जा वा अन्यतिर फैलिएको थिएन । ‘पाल्पामा कतिन्जेल मुसाले सतायो, कति मान्छे मरे, कसरी हरायो, त्यसको रेकर्ड छैन,’ जोशीले भने । मुसाको उपियाँबाट मान्छेमा संक्रमण हुने यो रोग मानव इतिहासको डरलाग्दो महामारी हो । डब्लूएचओका अनुसार १४ औं शताब्दीमा युरोपमा मात्र यो रोगका कारण ५ करोड मान्छेको ज्यान गएको थियो । यसलाई ‘ब्ल्याक डेथ’ पनि भनिन्छ ।

खासमा पाल्पामा मान्छे घरबाट बाहिर ननिस्किएर एकअर्कासँग भौतिक दूरी कायम गर्नु अत्यावश्यक थियो । यो पनि संक्रमितले हाच्छिउँ गर्दा, खोक्दा वा अन्य खालका प्रत्यक्ष सम्पर्कमा रहँदा अर्को व्यक्तिमा सर्ने, अहिलेको कोरोना भाइरसजस्तै । त्यसैले अहिले घरभित्रै बसिरहनुपर्दा जोशीलाई पाल्पाकै त्यो सुनसान दृश्य र भयबीच बाँचिरहेका मान्छेको झल्झली याद आउँछ । भन्छन्, ‘बरु अहिले मान्छे फाट्टफुट्ट बाहिर निस्कन्छन् तर त्यो बेला पाल्पामा घरभित्रको बसाइ कडा र कठोर थियो ।’

उमेर सय पुगे पनि जोशीको सक्रियता खास घटेको थिएन । उनकै शब्दमा, बोलाएको ठाउँमा पुग्ने, दुई/चार शब्द बोल्ने अनि साथीभाइसँग भेटघाट गर्दै दिन बितिरहेको थियो । तन्दुरुस्ती महसुस गर्थे तर अहिले घरभित्रै बसिरहेका छन् । ‘सरकारले भनेजसरी सुरक्षा विधि अपनाइरहेको छु । बारीतिर घुम्छु, बगैंचामा फूल गोडमेल गर्छु । दिन बितेकै छ । अहिले लेख्न र पढ्नचाहिँ अलि गाह्रो हुन्छ,’ उनले भने ।

आफ्नो अनुभव र ज्ञान नयाँ पुस्तालाई सुनाउन उत्साहित हुन्छन्, जोशी । आइतबार उनले कान्तिपुरसँग पाल्पाको त्यो महामारीसँगै पाटनको आफ्नै टोल वरपर आफूले देखेको झाडाबान्ता र हैजाको प्रकोपको सम्झना सुनाए । भन्छन्, ‘अहिलेको जस्तो सरकारले संकट त घोषणा गरेको थिएन तर त्यो बेलाको अवस्था पनि निकै त्रासपूर्ण थियो ।’

योचाहिँ सम्वत् २००४ सालको कुरा हो ।

त्यतिबेला जोशी पाटनस्थित घरमै थिए । टोलटोलमा झाडाबान्ताले सताउन थाल्यो । बान्ता पनि हुने, पखाला पनि लाग्ने । खोप वा अन्य औषधिको उपचार पद्धति हामीकहाँ आइसकेको थिएन । रोग लाग्थ्यो, सडेगलेका खानेकुराबाट । तर, मान्छेहरु देउता रिसाएर उपद्रो गरे भन्ठान्थे ।

‘देवता रिसाए । भूतप्रेत, पिसाच धपाउनुपर्छ भनिन्थ्यो । खासगरी नेवारहरुले रोटी, चिउरा, मुरीका मुरी थुपारेर पूजा गरे,’ झन्डै ७३ वर्षअघिको त्यो घटना यसरी सम्झन्छन् जोशी, ‘स्वस्तिशान्ति गरेपछि रोग हट्छ भन्ने अन्धविश्वास थियो ।’ स्थानीय गणेश, भीमसेनस्थानमा समयवजीको चाङ लगाएर पूजाआजा गरिन्थ्यो । त्यतिबेला पाटन र वरपरको क्षेत्रको महामारीमात्र आफूले देखेको उनले बताए ।

पाटन देशकै केन्द्रबाट यति नजिकै पर्छ तर हैजा अचाक्ली सताउँदामा पनि राज्यको कुनै उपस्थिति थिएन । कसरी बच्ने, उपचार के हुन सक्छ, सरकारलाई वास्तै थिएन । धन्न † विस्तारै टोल–टोलमा जागरण आउन थालेछ, फोहोर खानेकुरा खाँदा रोग लाग्छ, त्यसैले ताजा र सफामात्र खानुपर्छ भन्ने चेतना फैलिन थाल्यो । जोशी भन्छन्, ‘टोलटोलको जागरणले रोग लाग्न नदिन केही भूमिका खेल्यो तर राज्यको उपस्थिति शून्य थियो ।’

उनका अुनसार त्यतिबेला अलि ठूलो वीर अस्पतालमात्र थियो, महिला–पुरुषको छुट्टाछुट्टै । पाटन र भक्तपुरमा स–सानो अस्पताल थियो, मान्छे त्यहाँ पुग्न र उपचार पाउनै धौधौ हुन्थ्यो । हामीकहाँ चिकित्सक थिएनन् । भारततिरबाट आउँथे तर लामो समय बस्दैनथे । वैद्यहरुले हैजा हटाउन सक्ने भएन । ‘कुनै उपाय नदेखेपछि हार खाएर देवताको क्रोध शान्ति भएपछि रोग हराउँछ भनेर पनि मान्छेले पूजाआजा गरेको हुनुपर्छ,’ जोशीको बुझाइ छ । उनले त्यतिबेला अस्पताल गुठीले चलाउने अनि बिरामी र चिकित्सकलाई गुठीले खुवाउने बताए ।

मान्छे मर्‍यो भने रोएर मलामी जानुपथ्र्यो, नेवारी समाजमा । मूलबाटोमा लास लैजाने रुट नै हुन्थ्यो, ‘ताहा बाजा’ (अहिलेको ट्रम्पेटजस्तो) बजाइन्थ्यो । उनी सम्झन्छन्, ‘जति धेरै बाजा बज्यो, त्यति धेरै मान्छे मरेछन् भन्ने थाहा हुन्थ्यो । कहिलेकाहीं त बिहानदेखि साँझसम्म बाजाको आवाज सुनिन्थ्यो । दिनमा ६/७ लास लगेको याद छ ।’ उनका अनुसार मान्छे मरेपछि पाँचवटा काँचो इँटालाई परालले बाँधेर गणेशस्थानमा लगेर फाल्ने गरिन्थ्यो । गणेशस्थान टाढा भए अन्य देवीथानमा फालिन्थ्यो । मरेको मान्छेको लुगाफाटासहित सबै सरसामान लगेर फाल्ने छुट्ट ठाउँ हुन्थ्यो । लास जलाउन पनि तान्त्रिक विधिले बनाइएको सार्वजनिक स्थल हुन्थ्यो, त्यही मात्र जलाउने चलन थियो । शोभा भवगतीमा सबैभन्दा धेरै जलाइन्थ्यो ।

‘स्वास्थ्य सेवाको जनशक्ति, जानिफकार र सम्बन्धित निकाय केही थिएन, तैपनि दुई/तीन महिनापछि आफैं हराएर गयो,’ जोशीले सुनाए, ‘कति मान्छे मरे पनि थाहा पाइएन ।’

प्रकाशित : वैशाख २३, २०७७ १०:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×