शान्तिको अर्थ
काठमाडौँ — एकादेशमा एक राजा थिए । उनले त्यस्तो अधिराज्यमा शासन गर्थे, जहाँका सबै मानिस खुशी थिए । उनका छिमेकी अधिराज्यहरु भने निरन्तर युद्ध गरिरहेका हुन्थे ।
एक दिन राजाले आफ्ना सल्लाहकारलाई बोलाएर भने, ‘हाम्रो देशमा मात्र कसरी शान्ति रहेको छ ?’
‘किनभने मानिसहरु सन्तुष्ट छन्,’ सल्लाहकारले उत्तर दिए ।
‘तर मानिसहरु के कुराले सन्तुष्ट छन् ?’ राजाले फेरि सोधे ।
‘किनभने आफूले गर्ने काममा सबै रमाएका छन् ।’
‘युद्धले घेरिएर बस्न खतरा हुन्छ,’ राजाले चिन्तित हुँदै सोचे, ‘आपसमा लड्दालड्दा वाक्क भएर उनीहरुले एक दिन हामीलाई आक्रमण गर्न के बेर ! हामीले कसरी हाम्रा छिमेकीलाई शान्तिको महत्व सिकाउन सक्छौं ?’
एक दिन राजा तालतिर हेरेर टोलाउँदै गर्दा एक जना माझी उनीसामु आए । उनले माझीलाई सोधे, ‘हाम्रा छिमेकीलाई शान्तिको महत्व सिकाउने कुनै उपाय तिमीलाई थाहा छ ?’
‘ती सबैले फरकफरक भाषा बोल्छन्,’ माझीले भने, ‘तिनीहरुले कसरी बुझ्न सक्लान्, मलाई थाहा छैन ।’
माझी सही थिए ।
तालको अवलोकनमा पूरै दिन बिताएपछि राजालाई एउटा जुक्ति फुर्यो ।
अर्को दिन उनले आफ्नो अधिराज्यका सम्पूर्ण जनतालाई एक ठाउँमा बोलाए । ‘शान्तिबारे सबैभन्दा राम्रो चित्र जसले बनाउँछ, उसले सुनका १० ओटा सिक्का पाउँछ,’ राजाले भने ।
उनका सबै उत्साहित प्रजा चित्र बनाउने काममा लागे ।
कढाई कारिगर।
रोटी सेक्ने।
सैनिक।
हिप्पी।
योगी।
साधु।
स्कुलको सबैभन्दा राम्रो विद्यार्थी ।
स्कुलको सबैभन्दा नराम्रो विद्यार्थी।
सबैले वर्षको अन्त्यसम्ममा आआफ्ना चित्र बुझाए, लोभलाग्दो पुरस्कार पाउने लालसामा ।
रासका रास चित्र थुप्रिए । कुन चित्रले सबैभन्दा राम्ररी शान्तिलाई झल्काउँछ भनेर निर्णय गर्न राजालाई कठीन भयो । धेरै चिन्तनपछि अन्त्यमा उनले नतिजा सुनाउन आफ्ना प्रजालाई डाके ।
‘तपाईंहरुको प्रयासका लागि धन्यवाद । तपाईंहरु सबैले बनाएका चित्र उत्कृष्ट थिए । किनकि ती प्रेमपूर्वक बनाइएका थिए । तर पुरस्कार दिनका लागि मैले एउटा मात्र चित्र छान्नुपर्थ्यो । छान्न त मलाई यो चित्र छान्न मन थियो,’ राजाले एउटा चित्र देखाउँदै भने, ‘यसमा हिमालको शक्ति छ, सूर्यको ऊर्जा छ, घरको सुरक्षा छ, खानाको सुविधा छ, तालको शान्ति छ, वनको छहारी छ, चराको खुसी छ र छ बच्चाको निर्दोषता । यो सुन्दर चित्र हो । शान्तिको साँच्चै प्रतिनिधित्व गर्ने अर्को चित्र नभएको भए पक्कै मैले यसलाई पुरस्कार दिन्थें ।’
राजाको छनोट देखेर मानिसहरु स्तब्ध भए ।
‘मलाई लाग्छ, हाम्रा राजा पागल भएका छन्,’ एक महिलाले भनिन् ।
‘त्यस्तो कुरुप चित्रले शान्तिको प्रतिनिधित्व गर्छ भनेर गम्भीरतासाथ त राजाले भन्नु नपर्ने,’ रोटी सेक्नेले भने ।
‘सायद हामीले कला बुझ्ने मानिसलाई बोलाउनुपर्छ होला,’ राजाका ज्योतिषीले भने ।
‘कि म कलाबारे केही जान्दिनँ, कि म शान्तिबारे केही बुझ्दिनँ भन्ने तपाईंहरुले सोच्नुभयो होला,’ राजाले भने, ‘यो चित्र हेर्दा सुरूमा त म पनि स्तब्ध भएको थिएँ । यसमा सबै प्रकृति नै आक्रोशमा छजस्तो भान हुन्छ । तर, वेग वायुले हिर्काइरहेको त्यो रूखलाई हेर्नुभयो भने मैले देखेसरी तपाईंहरुले देख्नुहुनेछ— त्यहाँ एउटा हाँगो छ । त्यस हाँगोमा एउटा गुँड छ । त्यस गुँडमा आफ्नी आमाले खाना ल्याइदिँदै छिन् भनेर खुशी हुँदै बसेको चराको बचेरो छ । मेरा लागि त्यो नै साँचो शान्ति हो । जब तपाईंको मन खुशीले परिपूर्ण हुन्छ, जब तपाईंसँग आफ्नो परिवार हुन्छ र त्यो परिवारका लागि तपाईं लड्न सक्नुहुन्छ, तब तपाईंको वरिपरि के भइराखेको छ, त्यसले अर्थ राख्दैन । किनकि शान्तिसँगै तपार्ईंले सबै कठिनाइलाई पराजित गर्नुभएको हुन्छ ।’
त्यो चित्रलाई प्रदर्शन गर्दै अन्य थुप्रै अधिराज्यमा लगियो । त्यहाँका सबैले राजाको सन्देश बुझे र सबैको हृदय शान्तिले भरिपूर्ण भयो ।
अनुवाद : अजित बराल
प्रकाशित : वैशाख ४, २०७७ १४:४९