पाउलो कोएलोको बालकथा : ए, बी, सी, डी

महामारीको यस समयमा पढ्न सकियोस्, बच्चाहरुलाई पढेर सुनाउन सकियोस् भन्ने उद्देश्यले पाउलो कोएलोको यो कथा कोएलोका लिटरेरी एजेन्सीसँगको सहकार्यमा अजित बरालले अनुवाद गरेका हुन्  । 
पाउलो कोएलो

काठमाडौँ — त्यो दिन रियो दी जनेरियोका सबैभन्दा गरिबतम मध्ये एक जिल्लाका मजदूरहरु इस्टर पर्व मनाउने उद्देश्यले आफ्नो चर्चमा भेला भएको देखेर पादरीले आफैंसँग भने, ‘मानिसको मनमा भक्ति अझै छ ।’

पाउलो कोएलोको बालकथा : ए, बी, सी, डी

उनी खुसी भए र गम्भीर बन्दै वेदीतिर गए । त्यहाँबाट उनले एउटा आवाज सुने— ए, बी, सी, डी ।

त्यो आवाज बालकको जस्तो थियो । त्यो आवाजले त्यस क्षणको गाम्भीर्यलाई बिगारिरहेको थियो । त्यहाँ उपस्थित सबैले चिढिएर वरिपरि हेरे । तर आवाज निरन्तर आइरहृयो— ए, बी, सी, डी ।


‘त्यो तुरून्तै रोक,’ पादरीले भने ।


बालक बेहोसीबाट ब्यूँझे झैं भए । डराउँदै उनले वरिपरिका मानिसलाई हेरे र लजाएर रातै भए ।


‘तिमीले के गरेको ? हाम्रो प्रार्थना बिथोलिरहेको हेक्का भएन ?’


बालकले आफ्नो टाउको निहुर्‍याए । उनका गालाबाट आँसु झरे ।


‘तिम्री आमा कता छिन् ?’ पादरीले सोधे, ‘प्रार्थना गर्दा के गर्नुपर्छ भनेर उनले तिमीलाई सिकाइनन् ?’


टाउको अझै निहुर्‍याएर उनले भने, ‘मलाई क्षमा गर्नुस्, फादर । मैले कहिल्यै पनि कसरी प्रार्थना गर्ने भनेर सिकिनँ । बाबुआमाबिना म सडकमा हुर्कें । आज इस्टर सन्डे हो र मलाई लाग्यो, मैले भगवान्सँग कुरा गर्नुपर्छ । मलाई थाहा छैन, उनले कुन भाषा बोल्छन् । त्यसैले मैलै आफूले जानेका वर्णमालाका अक्षरहरु दोहोर्‍याइरहेको छु । मैले सोचें, माथि कतै उनले ती अक्षरहरु मिलाएर आफूलाई मनपर्ने शब्द र वाक्यांशहरु बनाउन सक्लान् ।’

बालक उठे ।


‘अब म जान्छु,’ उनले भने, ‘भगवान्सँग राम्रो बोल्न जान्नेहरुलाई म बाधा पुर्‍याउन चाहन्नँ ।’


‘आऊ मसँग,’ पादरीले भने ।


उनले बालकको हात समाते र अलि माथि वेदीसम्म लगे । त्यसपछि उनले चर्चमा भेला भएकाहरुलाई भने, ‘आज हाम्रो नियमित प्रार्थनाअघि हामी एउटा विशेष प्रार्थना गर्नेछौं । हामी भगवान्लाई उहाँले जे सुन्न चाहनुहुन्छ, त्यो लेख्न दिनेछौं । उहाँका ती प्रत्येक अक्षर गत वर्षको त्यो समयसँग मिल्नेछन्, जतिखेर हामीले राम्रो काम गर्न, वीरतापूर्वक लडेर आफ्नो सपना साकार पार्न वा शब्दहीन प्रार्थनामात्र भए पनि गर्न सक्यौं । र हाम्रा जीवनका अक्षरहरुलाई मिलाएर राखिदिन हामीले उहाँलाई आग्रह गर्नेछौं । आशा गरौं, यी अक्षरहरुबाट उहाँले आफूलाई मनपर्ने शब्द र वाक्यांशहरु बनाउनुहुनेछ ।’


आफ्ना आँखा मज्जाले बन्द गरेर पादरीले वर्णमाला बाच्न थाले । एकछिनमै पूरै चर्च भनिरहेको थियो— ए, बी, सी, डी ।


अनुवाद : अजित बराल

प्रकाशित : चैत्र २८, २०७६ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?