दुर्गाप्रसादलाई अन्तर्राष्ट्रिय पुरस्कार

कान्तिपुर संवाददाता

काठमाडौँ — भारत काशीका नेपाली साहित्यकार दुर्गाप्रसाद श्रेष्ठलाई नइ प्रकाशनले २ लाख रुपैयाँसहित ‘नइ देरूनीख अन्तर्राष्ट्रिय पुरस्कार’ दिने भएको छ । सात दशकदेखि नेपाली साहित्यमा समर्पित रही कथा, कविता, उपन्यास, समालोचना, निबन्ध लेखनका साथै अनुवाद विधामा योगदान दिएबापत् ८२ वर्षीय श्रेष्ठलाई सो पुरस्कार समर्पण गरिने भएको हो ।

यो पुरस्कार नेपालीमूलका विदेशी नागरिकलाई प्रदान गरिँदै आएको छ ।१९९३ सालदेखि काशीबहादुर श्रेष्ठको प्रकाशन र सम्पादनमा भारतको बनारसबाट ‘उदय’ मासिकको प्रकाशन आरम्भभएको थियो । सोही पत्रिकामा ईश्वर बरालले २००४ मा लक्ष्मीप्रसाद देवकोटालाई सर्वप्रथम महाकवि लेखेका थिए ।


काशीबहादुर श्रेष्ठका जेठा छोरा दुर्गाप्रसाद श्रेष्ठबाट नै चार दशक अघिदेखि ‘उदय’ पत्रिकाको समेत निरन्तर सम्पादन र प्रकाशन हुँदै आएको छ ।


श्रेष्ठले २०२० मा प्रदर्शित प्रथम नेपाली कथानक चलचित्र ‘आमा’ को पटकथा र संवादसमेत लेखेका थिए । हीरासिंह खत्रीद्वारा निर्देशित ‘आमा’ को उनी सहायक निर्देशकसमेत थिए ।


शताब्दीपुरुष सत्यमोहन जोशीको १०१ औं जन्मोत्सवका अवसरमा आगामी व‌ैशाख २९ गते काठमाडौंमा पुरस्तक वितरण गरिने नइ प्रकाशनका सदस्यसचिव नरेन्द्र प्रसाईंले जनाए । प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको बैठकले पुरस्कारसम्बन्धी निर्णय लिएको हो । प्रकाशित : चैत्र १, २०७६ ०८:१६

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कपिलधाम ‘साहित्य तीर्थ’

मनोज पौडेल

कपिलवस्तु — मुलुकका लागि अमूल्य योगदान गरेका दिवंगत वा जीवित साधक एउटै थलोमा देख्न चाहनुहुन्छ भने कपिलवस्तुको कपिलधाम आउँदा हुन्छ । यहाँ अहिले विभिन्न क्षेत्र र भाषा वाङ्मय साधना गर्ने राष्ट्रका १७ अमूल्य निधिका प्रतिमा एकै ठाउँमा देख्न सक्नुहुन्छ । सबैका अर्धकदका प्रतिमा छन् ।

वाणगंगा नगरपालिका–९, कपिलधामस्थित उक्त ठाउँलाई ‘साहित्य तीर्थ’ नाम दिइएको छ ।बनगाई–भलवार्ड कालोपत्रे सडक खण्डको उत्तर लहरै सालिक देख्न सकिन्छ । सबैभन्दा पहिले आदिकवि भानुभक्त आचार्यको सालिक राखिएको छ । उनको सालिक ०७० मा अनावरण गरिएको थियो । उनको सालिक साहित्यकार हरिराज शर्माको खर्चमा स्थापना गरिएको थियो ।

त्यसपछि कविशिरोमणि लेखनाथ पौडेलको सालिक छ । उनको सालिक नेपाल प्रज्ञा प्रतिष्ठान र वाणगंगा साहित्य प्रतिष्ठानको लागतमा बनाइएको हो । त्यसपछि क्रमशः विभिन्न स्रष्टा, संस्कृतविद्, शिक्षासेवी, योगी, महापण्डित, नेपाली वाङ्मय र कला साधनाद्वारा राष्ट्रको गौरव बढाउने व्यक्तित्वका प्रतिमा राखिएका छन् ।

दधिराम मरासिनी स्मृति प्रतिष्ठानद्वारा पं. दधिराम मरासिनी, भीमनिधि तिवारी साहित्य प्रतिष्ठानद्वारा भीमनिधि तिवारीको र धर्मराज सावित्री थापा प्रतिष्ठानद्वारा जनकविकेशरी धर्मराज थापाको प्रतिमा राखिएको छ । लीलाध्वज थापा साहित्य प्रतिष्ठानद्वारा लीलाध्वज थापा, जयतु संस्कृतम् समितिद्वारा पूर्णप्रसाद ब्राहृमण र खिल शर्मा, राजीव लोचन जोशीद्वारा राजीवलोचन जोशीको प्रतिमा राखिएको छ । रुद्रराज साहित्य सेवा समितिद्वारा सरदार रुद्रराज पाण्डे, विष्णुराज आत्रेयद्वारा रश्मिराज आत्रेय र मास्टर मित्रसेन स्मृति प्रतिष्ठानद्वारा मास्टर मित्रसेन थापाको प्रतिमा राखिएको छ ।

त्यस्तै, थारू अगुवा कृष्णबहादुर चौधरीद्वारा नेपालका त्रिभुवन, मदन र साझ पुरस्कार पाउने एकमात्र सहित्यकार भवानी भिक्षुको र रूपादेवी तथा अनन्त पन्थीद्वारा टीकाराम पन्थीको प्रतिमा राखिएको छ । त्यस्तै एक मात्र महिला कवयित्री लोकप्रिया देवीको प्रतिमा शशी रिमाल र शंकर रिमालले स्थापना गरेका हुन् । उनी लक्ष्मीप्रसाद देवकोटाकी बहिनी हुन् । सबैभन्दा पछिल्लोपटक गत सोमबार वासु स्मृति प्रतिष्ठानद्वारा कवि वासु शशीको र समालोचक कुमारबहादुर जोशीको प्रतिमा अनावरण गरियो । ‘यो राज्यले गर्नुपर्ने सद्भाव र सोचको कुरा हो,’ वासु शशी स्मृति परिषद्का अध्यक्ष एवं गायक गणेश रसिकले शशीको प्रतिमा अनावरण क्रममा भने, ‘यो पवित्र स्थल कुनै दिन साहित्यिक पर्यटनको गन्तव्य बन्ने निश्चित छ ।’

प्रतिमालाई सुरक्षित राख्न टिनको छाना पनि बनाइएको छ । प्रतिमा २ देखि ४ फुट अग्ला छन् । प्रतिमा ढुंगा, पित्तल र फलामका बनाइएका छन् । एउटा प्रतिमा राख्न डेढदेखि २ लाख खर्च हुन्छ । लुम्बिनी वाङ्मय प्रतिष्ठानले संयोजन गरेर साहित्य तीर्थ बनाएको हो । कपिल आरोग्य मन्दिर कपिलधाम धार्मिक वनको ३ बिघा जग्गामा प्रतिष्ठानले साहित्य तीर्थ बनाइरहेको हो । ‘एउटा लाइनमा २० वटा प्रतिमा राख्ने योजना छ,’ कपिलधाम धार्मिक वन अध्यक्ष तथा प्रतिष्ठान सदस्य शंकरप्रसाद आचार्यले भने, ‘विस्तारै थप्दै लैजान्छौं ।’ अहिलेलाई १७ प्रतिमा ठडिएका छन् । यसमध्ये कृष्णप्रसाद कोइरालाको मात्र प्रतिमा राख्न बाँकी छ ।

दुई साहित्यकार रश्मिराज आत्रेय र भीमनिधि तिवारीको प्रतिमा राखिए पनि अनावरण गर्न बाँकी नै छ । त्यस्तै, साहित्यकार मंगलप्रसाद नेपाली, हर्षबहादुर बूढा र अन्य जनाको प्रतिमा राख्ने निर्णय भएको छ । २० प्रतिमा पूरा भएपछि अर्को लाइनबाट नयाँ प्रतिमा राखिनेछन् । प्रतिमा पूर्व–पश्चिम लामो लाइन बनाएर राखिएको छ । ४ मिटर फराकिला दूरीमा छन् । प्रतिमाको दक्षिणतिर फलामको द्वीपस्थल बनाइएको छ । उनीहरूको जन्मजयन्तीलगायतका कार्यक्रम गर्दा द्वीप प्रज्ज्वलन गर्न द्वीपमाला बनाइएको हो ।
राष्ट्रको गौरव बढाउने प्रतिभावान् मूर्धन्य साधकको योगदानका उच्च मूल्यांकन गर्न यहाँ प्रतिमा राखिएको लुम्बिनी वाङ्मय प्रतिष्ठानका अध्यक्ष हिमलाल ज्ञवालीले बताए । ‘साहित्य पर्यटनको गन्तव्य बनाउन नयाँ सोचले अगाडि बढेका छौं,’ उनले भने, ‘यसले साहित्यानुरागीको प्यास मेटाउँछ , साहित्य तीर्थका रूपमा विकास हुन्छ । एकै ठाउँमा मुलुकभरिका अमूल्य निधिको अध्ययन अवलोकन गर्ने केन्द्रका रूपमा विकास गर्छौं,’ उनले भने, ‘नेपाली साहित्यको आद्योपान्त थाहा पाउन धेरै ठाउँ चाहर्नु पर्दैन । नेपालमा नै नयाँ अवधारणामा ल्याएर काम गरिरहेका छौं,’ उनले भने ।

यहाँ प्रतिमा राख्नका लागि लुम्बिनी वाङ्मय प्रतिष्ठानले ३ सदस्यीय मूल्यांकन उपसमिति छ । नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको साहित्यकार कलाकारको रोस्टरमा नाम सूचीकृत हुन अनिवार्य गरिएको छ । त्यसपछि मात्र प्रतिमा राख्न दिने/नदिने निर्णय गरिनेछ ।
यहाँ मुलुकभरिका १ सय १ स्रष्टाको प्रतिमा राख्ने योजना बनाइएको हो । नेपालबाहिर रहेर पनि नेपाली भाषा, साहित्य र कला श्रीवृद्धिमा योगदान गर्ने साधकका पनि यहाँ प्रतिमा राखिने बताइएको छ ।

प्रकाशित : चैत्र १, २०७६ ०८:१२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×