कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नारी दिवसमा ‘स्मृतिलोकको यात्रा’

कान्तिपुर संवाददाता

काठमाडौँ — अन्तर्राष्ट्रिय नारी दिवसकै अवसर पारेर प्राध्यापक  अञ्जना वस्ती (भट्टराई) को नवीनतम कृति ‘स्मृतिलोकको यात्रा’ आइतबार सार्वजनिक भएको छ ।

नारी दिवसमा ‘स्मृतिलोकको यात्रा’

साहित्यकार ज्ञानु पाण्डे, साधना प्रतीक्षा, ज्ञानु अधिकारी, उषा थपलिया र लेखक स्वयम्ले कृतिको लोकार्पण गरे । त्रिभुवन विश्वबिद्यालयमा अंग्रेजी शिक्षाकी प्राध्यापक भट्टराईले अंग्रेजी भाषाविज्ञान र व्याकरणमाथि पुस्तक लेख्दै आए पनि नेपालीमा अनुभूतिजन्य संस्मरण भरेर ‘स्मृतिलोकको यात्रा’ लेखेकी हुन् । ‘स्मृतिलोकको यात्रा’ मा संस्मरण र श्रद्धासुमन विधाका २० वटा निबन्ध संकलित छन् ।


कृतिबारे टिप्पणी गर्दै प्राध्यापक ज्ञानु पाण्डेले ‘समानताको विषयलाई सतही भएर बुझ्नु–बुझाउनुको साटो यसको उपादेयता व्यवहारमा देखिनुपर्ने’ धारणा राखिन् । ‘भट्टराईको कृतिमा यही समानताको विषय उल्लेख छ, घरपरिवारका अग्रजप्रति अनुगृहीत हुँदै सकारात्मक सोचमा लेखिएको यो कृति धेरैका निम्ति पठनीय खुराक हुन सक्छ,’ पाण्डेले भनिन् । उनले नारी हक–अधिकारको पक्ष कुनै नारा, कानुनी वा मुलुकी ऐनमा लेखेर मात्रै कुनै अर्थ नरहने बताएकी थिइन् ।


एमए अध्ययनरत छँदै बिहा भएपछि लेखक भट्टराईले विद्यावारिधि गर्दासम्म गरेको संघर्ष, दुई छोरी हुर्काउँदा र ती छोरीको सामाजिक सुरक्षामा लिएको चिन्ता, विश्वविद्यालयमा प्राध्यापक तहसम्म पुग्दाको संघर्षलाई कृतिमा समेटिएको वक्ता अनिता पन्थीले सुनाइन् । ‘कृतिमा आफ्नो जीवनप्रतिको गुनासो र बेहोरेको कठिनाइभन्दा अरूबाट पाएको साथसहयोगको बयान उल्लेख्य छ,’ अर्की वक्ता गंगालक्ष्मी भण्डारीले भनिन्, ‘यसमा आफ्नोभन्दा पनि अरूको जीवनको सकारात्मक पाटोबारे चर्चा गरिएको छ ।’


नारी हक–अधिकारका ठूला कुराले मात्रै केही नहुने बताउँदै समीक्षक उषा थपलियाले ‘हरेक घरमा पुरुषले नारीलाई स्थान दिने हो भने बाहिर गएर हक–अधिकारका कुरा गर्नै नपर्ने’ अनुभव सुनाइन् । समीक्षक ज्ञानु अधिकारीले ‘स्मृतिलोकको यात्रा’ मा एउटी महिलाको संघर्ष, धैर्य र सहनशीलताको कथा भरिएको बताउँदै कृतिका हरेक संस्मरण सरस र सहज रहेको बताइन् । लेखक भट्टराईले आफूले भोगेको र बेहोरेको स्मृतिजन्य कुरालाई फुर्सदको उपयोग गर्दै लेखिएको र यसमा आग्रह–पूर्वाग्रहभन्दा आफूले बोध गरेको जीवनको सकारात्मक पक्षलाई बढी स्थान दिएको बताइन् । ओरिएन्टल बुक्सले प्रकाशित गरेको यो कृतिअघि भट्टराईको ‘जीवनका घुम्ती र देउरालीहरू’ नियात्रा संग्रह प्रकाशित छ ।

प्रकाशित : फाल्गुन २६, २०७६ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?