प्रेमध्वजलाई कलाश्री

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली गीतसंगीतमा सात दशकको योगदान छ उनको । ‘घुम्तीमा नआऊ है...’, ‘गोरेटो त्यो गाउँको...’, ‘पर लैजाऊ फूलहरू...’, ‘तिमीलाई अचेल कहाँ देखूँ...’ लगायतका कालजयी गीतका गायक प्रेमध्वज प्रधान बिहीबार निकै खुसी थिए । ८२ वर्षको उमेरमा हिँडिरहेका उनलाई नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले ‘राष्ट्रिय कलाश्री सम्मान–२०७६’ प्रदान गर्दै गर्दा उनले भने, ‘साहित्यक संस्थाबाट सम्मानित हुन पाउँदा यस कारण खुशी छु कि साहित्यविना संगीत सधैं अधुरो रहन्छ ।’ 

लामो समय नेपाली आधुनिक संगीतमा अतुलनीय योगदान पुर्‍याएबापत् प्रतिष्ठानले उनलाई सम्मान गरेको हो । एक दशकदेखि हरेक वर्ष दिइँदै आएको सम्मान वरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवस र प्रतिष्ठानकी अध्यक्ष मोमिलालगायतले हस्तान्तरण गरे । यो वर्षको ‘राष्ट्रिय कलाश्री पुरस्कार’ भने नेपाली भाषासाहित्य एवं संगीतमा पुर्‍याएको योगदानबापत् गणेश रसिकले पाए । पुरस्कारमा एक लाख रुपैयाँ र सम्मानपत्र रहेको थियो । त्यस्तै साहित्यिक योगदानकै लागि ‘स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार’ साहित्यकार सरस्वती प्रतीक्षालाई दिइयो । ‘बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार’ साहित्यकार तथा पत्रकार रोचक घिमिरेले पाए भने ‘थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार’ इटहरीका कलाशिल्पी विक्रमश्रीलाई र पद्मनेत्र राष्ट्रिय कलाश्री संगीत पुरस्कार’ गायक शिशिर योगीलाई दिइयो ।


क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ र सम्मानपत्र थिए । स्रष्टाहरूलाई उषा शेरचन, विमल कोइराला, एसपी कोइराला, पत्रकार युवराज घिमिरे, चित्रकार किरण मानन्धरलगायतले पुरस्कार प्रदान गरे । पुरस्कृत रसिक, प्रतीक्षालगायतले नेपाली साहित्य, संगीत र कला क्षेत्रमा प्रतिष्ठानले पुर्‍याएको योगदानको प्रशंसा गरे ।


प्रकाशित : फाल्गुन २३, २०७६ ०९:१४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सर्वनाममा ‘सब ठीक छ...!’

सुशीला तामा‌ङ

काठमाडौँ — अहिले पारिवारिक होस् या व्यक्तिगत अनेकौं व्यावहारिक कारणले मानिसको दिन दौडधुपमा नै बित्छ । यही सिलसिलामा जोकोहीसँग संयोगवश भेट भएमा के छ भनी प्रश्न गर्दा हालचाल बुझाउन सबैले एउटै थेगो बोल्छन्, ‘सब ठीक छ...!’ ठीकको पछाडि धेरै कुराहरू लुकेका हुन्छन् । मानिसको जीवनमा सधैं ठीक मात्र हुन्छ र, उसले ठीक भन्नुको पछाडि उभित्र के–कस्ता अप्ठ्याराहरू छन्, शरीर ठीक हुँदैमा उसको मानसिक स्वास्थ्य पनि ठीक हुन्छ र । यिनै प्रश्नहरूको एकमुष्ट जवाफ नाटक ‘सब ठीक छ’ ले दिने जमर्को गरेको छ । 

राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा फागुन १६ गतेदेखि मञ्चन सुरु भएको नाटकलाई थिएटरकै पूर्वप्रशिक्षार्थी समूहले प्रस्तुत गरेको हो । सोही समूहका रंगकर्मी कृष्ण खड्काले निर्देशन गरेको नाटकमा समाजले मानसिक रोगीलाई हेर्ने दृष्टिकोण र यस्ता खाले बिरामीहरू समाजमा कसरी बढिरहेका छन् भन्ने पक्षलाई उजागर गरेको छ । मानसिक अस्पताल, मानसिक रोगीहरू र मनोचिकित्सककै वरिपरि घुमेको नाटकभित्र विभिन्न थरीका मानसिक रूपमा समस्याग्रस्त पात्रहरू भेटिन्छन् ।

गोपाल, कान्छा दाइ, सुर्बिना, शंकर सबैजना आफ्नै जीवन, समय, समाज, सपना र मायाबाट टाढिएका छन् । जे हुनुपर्ने हो, त्यसको विपरीत भएको उनीहरूको जीवनमा दुःख, पीडा, अभाव र असफल कथाहरूले उनीहरू पिरोलिरहेका छन् । मानसिक रूपमा विक्षिप्त उनीहरूको एउटै थलो ‘समाज मेन्टल हस्पिटल’ बनेको छ । गोपालको फिल्म बनाउने सपना अधुरै छ, कान्छा दाइलाई आफ्नै जीवन र सपनादेखि डर छ, सुर्बिनाको समलिंगी प्रेम परिवारले छुटाएको छ भने शंकरको भर्खरै जोडेको वैवाहिक सम्बन्ध र बाबु बन्ने सपना टुटेको छ । यी सबै बिरामीहरूको हेरचाहका लागि मनोविश्लेषक, चिकित्सकका रूपमा सिर्जन, महेश र विनोद खटिएका छन् ।

मानसिक रोगीकै रूपमा अस्पतालमा भर्ना भएका गोपाल भाग्न खोजेपछि उसलाई बाँधेको दृश्यबाट सुरु भएको नाटकले मानसिक अस्पतालमा तथा परिवारमा मानसिक रोगीलाई उपचारको नाममा दिइने शारीरिक यातनालाई यथार्थ रूपमा देखाउन खोजिएको छ । नाटकका थुप्रै दृश्यमा सिर्जन, महेशले डाक्टर विनोदलाई बारम्बार बिरामीलाई औषधिभन्दा प्राकृतिक उपचार र असल व्यवहार गर्नपर्ने सुझाउँछन् । यसबाट मानसिक रोगीलाई सबैभन्दा राम्रो उपचार नै हामीले गर्ने राम्रो व्यवहार हो भन्ने नाटकले प्रस्ट पार्न खोजेको छ । नाटकभित्र बिरामी पात्रहरूका माध्यममा नै उनीहरूको अवस्थाबारे दर्शकले थाहा पाउन सक्छन् । म को हुँ र मलाई के भएको छ भन्ने मानसिकबोध उनीहरू आफैंले गरेका छन् । नाटकले मानसिक समस्याग्रस्त मानिसले नै पहिले आफैंले आफ्नो अवस्था स्विकार्नुपर्छर् भन्ने पक्षलाई सशक्त रूपमा उठान गरेको छ ।

अहिले शारीरिक अशक्ततालाई मात्र रोग र मानसिक रोगीलाई ‘पागल’, ‘साइको’ जस्ता अनेक उपनामहरू दिने हाम्रो समाजको परिपाटीलाई नाटकमा समावेश गरेको निर्देशक खड्का बताउँछन् । ‘मानसिक रोगीको सबैभन्दा ठूलो नै आत्मबल हो,’ उनी भन्छन्, ‘मानसिक रोगीहरूले आफ्नो समस्यालाई अगाडि ल्याएर यसलाई म जितेर छोड्छु भन्ने आत्मविश्वास राखे मात्र यसबाट छुटकारा पाउन सक्छन् ।’ उनका अनुसार प्रत्येक पात्रहरूलाई आफ्नो पहिचानबोध गराउन नै उनीहरूभित्र लुकेको पीडा आफैंमार्फत बाहिर ल्याएइको हो ।

नाटकमा अदृश्य पात्र सफलको पनि कथा जोडिएको छ । जो ठीक भएर घर फर्के पनि आत्महत्या गर्छ । गोपाल र सुर्बिना पूर्ण रूपमा निको भई मानसिक रोग र रोगीहरूबारे चेतना जगाउन कार्यक्रम चलाउँछन् । शंकर घर फर्के पनि समाजकै कारण फेरि अस्पताल आएर त्यही राख्न आग्रह गर्छ । उसले ‘म पागल हो, मलाई किन पागल भन्छन्’ जस्ता प्रश्नहरू गर्छ । यसलाई खड्का यथार्थ घटनाकै रूपमा लिन्छन् । ‘क्यान्सर नै भएको मानिसलाई पनि निको भएपछि उसलाई ‘क्यान्सर’ ट्याग लगाएर समाजले बोलाउँदै’ उनी भन्छन्, ‘मानसिक रोगीलाई निको भए पनि समाजले उसलाई ‘पागल’ नै सम्झन्छ ।’ मानसिक रोगीका लागि सहयोग, आश्वासन र मायाभन्दा ऊप्रति समाजले हेर्ने नजर नै नकारात्मक रहेको बिडम्बनालाई उनी दुःखद रूपमा लिन्छन् ।

मानसिक रूपमा विक्षिप्तहरूलाई अस्पतालको घेराभन्दा पनि समाजको घेरा र नजरबाट भोग्नुपर्ने कठिनाइलाई नाटककले जीवन्त रूपमा उतारेको छ । मानसिक अस्पतालहरूले रोगीको रोग निदान मात्र होइन उसलाई समाजसँग लड्ने बल पनि प्रदान गर्नुपर्छ भन्ने सन्देश नाटकले सफल र शंकरजस्ता पात्रहरूमार्फत दिएको छ ।

रिया भारतीको ध्वनि परिचालन रहेको नाटकमा प्रकाश परिकल्पना इँगी होपो कोइँच सुनुवारको र परिचालन पासलाक्पा शेर्पाको छ ।

फागुन ३० सम्म मञ्चन हुने नाटकमा निर्देशक खड्का साथै आशिष काफ्ले, धीरज थापा मगर, बिन्दु बीएम, हीरा हमाल, मुक्तिप्रसाद पौडेल, क्षितिज पराजुलीलगायतका कलाकारको अभिनय रहेको छ ।

प्रकाशित : फाल्गुन २३, २०७६ ०९:१३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×