१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सम्झनामा अम्बर

कान्तिपुर संवाददाता

काठमाडौँ — नौ लाख तारा उदाए धर्तीको आकाश हाँसेछ

सम्झनामा अम्बर

शरद लाग्यो वनमा फूलले प्रीति गाँसेछ....


अगमसिंह गिरीको यो शब्दमा यस्तै कालजयी संगीत र सुमधुर आवाज दिने अम्बर गुरुङ नेपाली आधुनिक संगीतको आदर्श प्रतिभा हुन् । उनैले बसालेको जगमा टेकेर आज नेपालमा सुगम संगीतले फड्को मारेको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले उनै साधकको स्मृति सभा गरिरहेको बेला प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन) ले भन्दै थिए, ‘पञ्चायतको समय हामी फरक विचारमा थियौं, बाटो फरक थियो ।’


पञ्चायतकै विरोधमा राल्फा अभियान लिएर गाउँबस्ती पुग्दा गुरुङलाई दार्जलिङमा पहिलो पटक भेटेको स्मरण गरे रायनले । ‘पहिलो भेटमै म प्रभावित भएको थिएँ, निकै सरल र सहज स्वभावको हुनुहुन्थ्यो ।’ मुलुकमा लोकतन्त्र आएपछि भने रायन र गुरुङबीच सहकार्य झाँगिएछ । पञ्चायतकै बेला नेपाल प्रज्ञा प्रतिष्ठानमा संगीत निर्देशक भएका गुरुङसँग मिलेर पछि एउटा संगीत विद्यालय नै चलाएको रायनले सम्झे । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको संस्थापक कुलपतिसमेत भएका गुरुङको असंख्य सुमधुर संगीतले नेपालीलाई भावनात्मक रुपमा जोडिदिएको उनले दाबी गरे ।


‘विश्व संगीतलाई हेर्ने दृष्टिकोण र नेपाली संगीतको विकासको बाटोबारे कलाकारबीच बहस चलाउने उहाँको ठूलो इच्छा थियो तर पूरा भएन,’ यानले आफूहरूबीच भएको छलफलमा गुरुङको चाहना नजिकबाट बुझेको बताए । उनका अनुसार संगीत पुस्तान्तरणमा गुरुङ निकै चिन्तन गर्थे । प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले नेपालमा अकेस्ट्रा बनाउने गुरुङको सपनाले आफूलाई झकझक्याइरहेको बताए । तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानमा तीन दशकअघि संगत गरेका शर्माले आफ्नो नाट्य कर्मको क्रममा भएको सहकार्यको स्मरण गर्दै भने, ‘मैले गर्ने नाटकको भाव बुझेर संगीत धुन दिने गर्नुहुन्थ्यो । नाटकमा संगीत प्रयोग नेपालमै पहिलो पटक उहाँबाटै भएको हो ।’


नारायणगोपाल संगीत कोषका निर्देशक राजकुमार श्रेष्ठले संगीतकार गुरुङको संगत नै आफ्नो संगीत जीवनको महत्त्वपूर्ण पाटो रहेको बताए । संगीतकार प्रकाश गुरुङले नेपालको राष्ट्रिय गानको संगीत सृजनाबाट उनको कृति विश्वमाझ स्थापित हुन पुगेको औंल्याए । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले अम्बर प्रतिष्ठानमा अल्झिएको दाबी गरे । ‘राजा महेन्द्रले नेपाल बोलाएको बेला आउनुभएन, पछि ढिलागरी नेपाल आउनुभयो, थप सृजनामा लाग्नुपर्ने बेला तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानमा आवद्ध भएर अल्झिनुभयो ।’ संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव श्याम तमोटले अम्बरको संगीत कर्मबारे आजको पुस्ताले जान्नुपर्ने बताए ।

कार्यक्रममा अन्तरा ब्यान्डले गुरुङका गीतहरूमध्ये ‘नौ लाख तारा...,’ ‘फुलेको फूलजस्तो सुन्दर यो जिन्दगानी...’, लगायत प्रस्तुत गर्‍यो । प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव जगत्प्रसाद उपाध्याय, सांस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारी, संगीतकार किशोर गुरुङ, शिलाबहादुर मोक्तानलगायतले गुरुङको तस्बिरमा पुष्पार्पण गरे । गोरखाका उजुरीसिंह गुरुङ भारतीय सेनामा भर्ती भएपछि दार्जिजिङमा जन्मिएका अम्बरको तीन वर्षअघि निधन भएको थियो ।


प्रकाशित : फाल्गुन १६, २०७६ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?