‘पश्चिम भारतमा नेपाली भाषा–साहित्य ओझेल’

अर्जुन शाह

(धनगढी) — भारतका विभिन्न ठाउँबाट धनगढीमा जमघट भएका नेपाली भाषी स्रष्टाले पश्चिमोत्तर भारतमा नेपाली भाषा र संस्कृति ओझेलमा पर्न थालेको औंल्याएका छन् । पूर्वोत्तर भारतमा भने नेपाली भाषाको विकास तथा प्रवर्द्धन राम्रो रहेको उनीहरूले दावी गरे । 

धनगढीमा जारी विश्व नेपाली साहित्य महोत्सवमा सहभागी हुन बिहीबार आइपुगेका दार्जिलिङका विन्द्या सुब्बा, सिलीगुडीका लतिका जोशी, अशमका नव सापकोटा, मणिपुरका वसन्ती पौडेल र देहरादूनका डा. दिनेश शर्मा लगायतका साहित्यकारले ‘कस्तो छ नेपाल बाहिरको नेपाली भाषी जीवन’ विषयमा बिहीबार अन्तरसंवाद गरे ।


त्यस क्रममा उनीहरूले नेपाल बाहिर नेपाली भाषा र संस्कृतिको जगेर्ना गर्न ठोस कार्य गर्नुपर्नेमा जोड दिएका छन् । नेपाली भाषी साहित्यकारले पूर्वोत्तर भारतका असम, नागाल्यान्ड, मणिपुर, सिक्किम लगायतमा नेपाली भाषा र साहित्यको राम्रो पहिचान रहेको बताए । तर पश्चिमोत्तर भारतको देहरादूनलगातयका क्षेत्रमा भने भाषा र संस्कृति मेटिँदै गएकोमा चिन्ता व्यक्त गरे । ‘पूर्वोत्तर भारतको तुलनामा पश्चिम–उत्तरमा नेपाली भाषा र साहित्य कमजोर अवस्थामा छ,’ डा. शर्माले भने, ‘नेपाली संस्कृति जोगाउन गोरखाली जाति समूहको नामबाट नेपाली संस्कृति जोगाउने प्रयास भइरहेको छ ।’


दार्जिङका विन्द्या सुब्बाले पूर्वोत्तर भारतमा नेपाली भाषा साहित्य संस्कृतिको अवस्था परिस्कृत रहेको बताइन् । प्रदेश सरकारले पनि विद्यालय शिक्षा तथा नेपाली भाषाको विकासलाई प्रयास गरिरिहेको उनले बताइन् । देश विदेशबाट आएको नेपाली भाषा, कला र साहित्य क्षेत्रका ख्यातिप्राप्त स्रष्टाको जमघट धनगढीमा बाक्लिएको छ । नेपाली भाषा, संस्कृति र साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले धनगढीमा सञ्चालन भइरहेको विश्व नेपाली साहित्य महोत्सवका क्रममा साहित्य क्षेत्रका ख्यातिप्राप्त व्यक्ति धनगढी पुगेका हुन् । एक साता जारी रहने महोत्सव अवधिमा भाषा र साहित्यसम्बन्धी ५० वटा सत्रमा डेढ सय साहित्यसकारले मन्थन गर्ने कार्यसूची छ । बिहीबार तीन जना मदन पुरस्कार विजेता साहित्यकार लोकेन्द्रबहादुर चन्द, मोदनाथ प्रश्रित र नारायण वाग्लेबीचको अन्तरसंवादले धेरैलाई आकर्षित गरेको थियो । वाग्लेले ‘साहित्य र राजनीति अन्तरद्वन्द्ध कि अन्तरसम्बन्ध’ विषयमा चन्द र प्रश्रितसँग साहित्य मन्थन गरेका थिए ।


हास्यव्यंग्य विद्याका हस्ती मदनकृष्ण श्रेष्ठ, हरिवंश आयार्य र मनोज गजुरेलको मन्थन पनि उत्तिकै रोमाञ्चक भएको थियो । रामाइलो तथा हाँसोठट्टा मात्र नभई उनीहरुले हास्यव्यंग्य विधाको महत्त्वका बारेमा पनि गहनतम चर्चा र अन्तरक्रिया गरेका थिए । ‘हास्यव्यंग्य साहित्यको क्रान्तिकारी विधा हो,’ मनोज गजुरेलले भने, ‘नागरिक स्वतन्त्रतासँगै यो विधा फस्टाएको हो ।’


पत्रकार मनमोहन स्वाँरले प्रतिनिधिसभाकी सांसद शान्ता चौधरी र सुदूरपश्चिम प्रदेशसभा सदस्य उमा वादीसँग ‘संघर्ष र सफलताको कथा’ विषयक अन्तरसंवाद गरे । बेग्लै संघर्ष र उत्पीडनको प्रत्यक्ष भोगाइबाट हुर्केका चौधरी र वादीले अतीतका पाटाहरू उधिन्दै गर्दा दर्शक भावुक भएका थिए । आफूहरू हाल राजनीतिमा सक्रिय र पद प्राप्त गरेका भए पनि र यहाँसम्म यस स्थानसम्म आइपुगे पनि समग्र महिलाको अवस्था सन्तोषजनक नभएको उनीहरूको भनाइ थियो ।


‘अहिले पनि समाजमा महिलामाथिको विभेद कायम छ,’ सांसद चौधरीले भनिन्, ‘महिलाहरू अझै जुर्मुराउनुपर्छ । हामीले जगमा इँटा थप्यौं । अब सबैले लाग्नुपर्छ ।’ प्रदेश सांसद वादीले महिलामाथिको विभेद र हिंसा अन्त्य गर्न सशक्त आन्दोलनको खाँचो रहेको बताइन् । प्रकाशित : फाल्गुन १६, २०७६ ०८:१६

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

दुधौलीमा मातृभाषा

गणेश राई

(सिन्धुली) — (इतिहास हराएमा संस्कृति हराउँछ, संस्कृति हराए संस्कार हराउँछ, संस्कार हराए भाषा भेषभूषा, भाषा हराएमा जातिको पहिचान हराउँछ..)

‘इतिहास हराइब त संस्कृति हराइतो
संस्कृति हराइब त संस्कार हराइतो
संस्कार हराइब त भाषा भेषभूषा
भाषा हराइब त जातिक पहिचान....’

यी हरफ दनुवार भाषाका हुन् । कवि पुष्पा धामी दनुवारले सिर्जना गरेकी हुन् । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा सिन्धुलीको दुधौलीमा सम्पन्न बहुभाषिक कविता गोष्ठीमा वाचन गरेकी हुन् । दुधौली प्रज्ञा प्रतिष्ठानले पहिलो पटक गरेको काव्यगोष्ठीमा पुष्पाले मातृभाषामै कविता रचना अवसर पनि पहिलो पटक नै पाएकी हुन् । ‘नेपाली भाषामा कविता र गजल त सुनाउँदै आएकी छु,’ सिन्धुली बहुमुखी क्याम्पसमा स्नातकोत्तर (नेपाली) अध्ययनरत पुष्पाले भनिन्, ‘आफ्नै भाषामा वाचन गर्दा आनन्द आउने रहेछ ।’ तथ्यांकअनुसार देशभरि दनुवार जातिको जनसंख्या करिब ८५ हजार छ । सबैभन्दा धेरै सिन्धुलीमा बसोबास रहेको छ ।

सिंहबहादुर घिसिङले तामाङ मातृभाषामा ‘ह्याङ्ला ह्युल्सा’ (हाम्रो देश) शीर्षकको कविता सुनाए । तामाङमा घिसिङ, अर्जुनबहादुर तामाङ र मोतीलाल बल, दनुवारमा धर्मलाल दनुवार, माझी भाषामा कुलवीर माझी, सुनुवारमा प्रेमबहादुर सुनुवार, खड्गबहादुर सुनुवार, वाम्बुलेमा शुभराज राई (काजी), गुरुङमा सन्तोष गुरुङ, मगरमा हरिहर थापा मगरले कविता सुनाए । नेपालीमा जीवनहरि आचार्य, शैलेन्द्र घिमिरे, रवीन्द्र भट्टराई ‘सागर’, अशोक गुरुङ, कपिल अधिकारी, लोकेन्द्र डहरे र बालकवि विवेक राईले रचना सुनाए ।

दुधौली नगरपालिकाले गत कात्तिकमा प्रज्ञा प्रतिष्ठान गठन गरेको थियो । प्रतिष्ठान गठन भएपछि गत माघमा स्रष्टा लोकेन्द्र पौडेलको ‘सन्की सिपाही’ मुक्तक संग्रह निकालेको प्रतिष्ठानका अध्यक्ष दिल पौडेलले जनाए । मेयर घनश्याम राउतले स्थानिय भाषा, साहित्य, कला, संस्कृति संवर्द्धन गर्न प्रतिष्ठान बनाएको बताए । कलाकार कुलवीर माझी, गीतकार अशोक गुरुङ, गायक कुमार लामा, धर्मलाल दनुवार लगायत १४ जनाले सम्मान पाए । गान्धीराज मगरले ‘दुधौलीमा मगर भाषा साहित्यको अवस्था’, उजिर राना मगरले ‘मगर भाषा साहित्यको वर्तमान अवस्था’, अर्जुन तामाङले ‘तामाङ साहित्यको वर्तमान अवस्था’, रामेश्वर अधिकारी दनुवारले ‘दनुवार भाषा र संस्कृतिको अवस्था’ शीर्षक कार्यपत्र प्रस्तुत गरे ।

प्रकाशित : फाल्गुन १६, २०७६ ०८:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×