कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

मातृभाषा बहस

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्व मातृभाषा दिवस २०२० को अवसर पारेर मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठान, भाषा आयोग र युनेस्को काठमाडौंले राजधानीमा मातृभाषासम्बन्धी बहस चलाए । बहसमा स्रष्टाहरूले मातृभाषाको अवस्था, महत्त्व, शिक्षा र साहित्यमा यसले खेलेको भूमिकालगायतका विषयमा चर्चा गरे । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भाषा मानिसको जन्मसिद्ध अधिकार भएको बताउँदै संविधानले प्रत्येक जातिलाई भाषिक स्वतन्त्रता दिएको औंल्याए । प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले भाषा आन्दोलनबाट नै जन्मेको मुलुक बंगलादेशलाई स्मरण गर्दै भाषालाई भूगोल र मुलुकलाई चिनाउने आधार रहेको जनाए ।


मातृभाषा विषयमाथि तारामणि राई, लवदेव अवस्थी र अस्मिता मानन्धरले कार्यपत्र प्रस्तुत गरे । राईले ‘नेपालका आदिवासी जनजाति मातृभाषाको वर्तमान अवस्था’ बारे कार्यपत्र प्रस्तुत गरेका हुन् । उनले विसं. २०६८ को राष्ट्रिय जनगणनाअनुसार नेपालमा भारोपेली, आनेग्य, चिनियाँ–तिब्बती, द्रविड, एकल कुसुण्डा भाषा र सांकेतिक भाषा गरी ६ प्रकारका भाषा रहेको उल्लेख गरे । कार्यपत्रमा लेख्यभन्दा पनि कथ्य तथा मौखिक परम्परा रहेका आदिवासी जनजातिका भाषा लोपोन्मूख अवस्थामा रहेको औंल्याइएको छ । कार्यपत्रमाथि प्रा. दुविनन्द ढकालले टिप्पणी गरे ।


भाषा आयोगका अध्यक्षसमेत रहेका अवस्थीले ‘नेपालमा मातृभाषा शिक्षा तथा कार्यान्वयनको अवस्था’ बारे कार्यपत्र प्रस्तुत गर्दै अंग्रेजी भाषाको आसक्तिले नेपाली भाषा तथा मातृभाषा पछाडि परेको बताए । प्रा.नोबलकिशोर राईले टिप्पणी गर्दै नेपालमा अंग्रेजी भाषा जान्दैमा विद्वान् बनिन्छ भन्ने भ्रमलाई मातृभाषा शिक्षामा समेत प्रभाव परेको बताए । त्यस्तै मानन्धरले मौलिक कला, संस्कृति, परम्परा जोगाउन मातृभाषा साहित्यले सघाउँदै आएको बताइन् । उनको ‘समाज रूपान्तरणमा मातृभाषा साहित्यको भूमिका’ विषयक कार्यपत्रमा भोगीराज चाम्लिङले टिप्पणी गरे ।


प्रकाशित : फाल्गुन ७, २०७६ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?