२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

होलेरीमा मिडिया मेला

काशीराम डाँगी

(होलेरी, रोल्पा) — सशस्त्र द्वन्द्वको उद्गम थलो मानिन्छ होलेरीलाई । गत वर्ष यस थलोमा साहित्यकारहरू द्वन्द्व साहित्य खोतल्दै पुगेका थिए । यसपटक भने लेखक तथा पत्रकारहरूको मेला सुरु भएको छ । स्थानीय उत्पादन, संस्कृति, पर्यटकीय सम्भावना र पूर्वाधार खोतल्न दक्षिण रोल्पास्थित रुन्टीगढी गाउँपालिकाले राष्ट्रिय मिडिया सम्मेलन गरेको हो । 

होलेरीमा मिडिया मेला

बिहीबार सुरु सम्मेलनमा राष्ट्रिय मिडियाका सम्पादकहरू बोलाइएको थियो । सम्मेलनको उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सशस्त्र द्वन्द्वकालीन समय पार गरेपछि विकास भित्र्याइएको दाबी गरे । संघीय संरचनापछि विकासका सम्भावना झन् वृद्धि भएको उनले सुनाए । ‘नयाँ संविधान बनाएपछि र संघीय संरचनामा आएर विकास र सम्भावनाका ढोका खुलेका छन्,’ मन्त्री पुनले भने ।


‘पहिले बन्दुक बोक्यौं र युद्ध लड्यौं,’ सशस्त्र द्वन्द्वको स्मरण गर्दै मन्त्री पुनले भने, ‘अहिले लडाइँ गर्नुपरेको छैन । अब विकास गर्ने हो ।’ करिब २५ वर्ष होलेरीस्थित प्रहरीचौकीमाथि दुईपटक आक्रमण गर्दा उनी लडाकुका

कमान्डर थिए ।


पत्रकार टीकाराम यात्रीसँग गफिँदै मन्त्री पुनले होलेरी आक्रमणको नालीबेली सुनाए । त्यसअघि बिहीबार बिहान मन्त्री पुनले आक्रमण गरिएको तत्कालीन होलेरी प्रहरीचौकी रहेको स्थानमा निर्माण गरिएको शान्ति स्मारकको उद्घाटन गरेका थिए । गाउँपालिकाको करिब १० लाख रुपैयाँ लगानीमा उक्त स्मारक निर्माण गरिएको गाउँपालिकाका नायब सुब्बा दीपक डाँगीले बताए ।


माओवादी सशस्त्र द्वन्द्वको सुरुवाती दिन फागुन १ को सन्दर्भ पारेर होलेरी आएका मन्त्री पुनले द्वन्द्व भुलेर विकासको मार्गमा लाग्न आव्हान गरे । उनले आफैं सम्मिलित राजनीतिक लडाइँको युग समाप्त भए पनि विकास–निर्माणको मार्गप्रति प्रतिबद्ध हुनुपर्ने समय आएको बताए । मन्त्री पुनको होलेरी आक्रमण अनुभव सेसनपछि सम्पादकहरूबीच संघीयता, समृद्धि र सञ्चार विषयको सेसनमा समाचार, सञ्चारमाध्यम र उत्तरदायित्वबारे

बहस गरे ।


सम्पादकहरू गुणराज लुइँटेल, प्रशान्त अर्याल, किरण नेपाल, नारायण अमृत, टीकाराम यात्रीले समाचार ट्रेन्डबारे धारणा राखेका थिए । पत्रकार दिनेश सुवेदीले सहजीकरण गरेको उक्त सेसनमा लेखक तथा पूर्वसम्पादक नारायण वाग्ले पनि सहभागी थिए ।


रोल्पाको द्वन्द्व र अर्थतन्त्रबारे पत्रकारहरू नारायणप्रसाद शर्मा, सुशील गौतम, खेम बुढा, गंगा बीसी, नवीन विभास र घनश्याम आचार्यबीचको सेसन पत्रकार वसन्त आचार्यले चलाए । तत्कालीन द्वन्द्वको प्रभाव र त्यसले रापती क्षेत्रमा पारेको असरबारे उनीहरूबीच बहससमेत भयो । उनीहरूले तत्कालीन सशस्त्र द्वन्द्वका मुख्य एजेन्डा बिर्सिएको तर्क गरे ।


द्वन्द्वपीडितबारे राज्य अझै मौन हुनु दुःखद् भएको उनीहरूको निष्कर्ष थियो । यस्तै, पत्रकार दुर्गालाल केसीले महिला आवाज र समावेशीबारेको सेसनमा निर्मला शर्मा र नितु पण्डितबीच छलफल चलाए । लेखक भूषिता वशिष्ठले लोकतन्त्रमा नारीआवाज र समावेशितामाथि झन् आक्रमण भएको तर्क गरिन् ।


कार्यक्रममा डा. गोविन्द आचार्यले रुन्टीगढी नै किन आउने तथा पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपानेले रोल्पाको पत्रकारिताबारे कार्यपत्र पेस गरेका थिए ।


रुन्टीगढी गाउँपालिकाले अघिल्लो वर्ष पूर्वाधार विकासका लागि विकास सम्मेलन र साहित्यको प्रवर्द्धन गर्न अक्षर सम्मेलन सम्पन्न गरेको थियो । स्थानीयदेखि राष्ट्रिय व्यक्तित्वसँग छलफल गर्न यस्ता कार्यक्रम आयोजना गर्ने गरिएको गाउँपालिकाका अध्यक्ष बालाराम बुढामगरले बताए । गाउँपालिकाले आगन्तुक पाहुनालाई दहवन, गढीलेक, मुरुले, रुन्टीलगायत स्थानमा घुमाएको छ ।


प्रकाशित : फाल्गुन २, २०७६ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?