२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

साहित्य र कला एकेडेमी स्थापना हुने

कान्तिपुर संवाददाता

बुटवल — प्रदेश नं. ५ सरकारले भाषा, साहित्य, कला र संस्कृति संरक्षणका लागि प्रादेशिक साहित्य र कला एकेडेमी स्थापना गर्ने भएको छ । त्यसका लागि सरोकारवालाबीच छलफल सुरु भएको छ । गत वर्ष प्रदेशको भाषा तथा संस्कृति संरक्षणका लागि सामाजिक विकास मन्त्रालयले तीन सदस्यीय कार्यदल बनाएर अध्ययन गरेको थियो । 

कार्यदलले प्रदेशमा बोलिने भाषा, कला, संस्कृति र साहित्यको अवस्था र अब गर्नुपर्ने कामबारे अध्ययन गरेको थियो । उनीहरूले गरेको अध्ययन प्रतिवेदनका आधारमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेशस्तरीय गोष्ठीको आयोजना गरी छलफल गरेको छ । छलफलमा सहभागीले बहुभाषी, बहुजाति र बहुसंस्कृति प्रदेश भएकाले तिनको मर्मअनुसार एकेडेमी गठन गर्न सुझाव दिए । लुम्बिनी वाङ्मय प्रतिष्ठानका अध्यक्ष हिमलाल ज्ञवालीले तिनको अनुसन्धान, संरक्षण र त्यस क्षेत्रका विद्वान्को सम्मान तथा कदर हुने गरी एकेडेमी स्थापना गर्न आग्रह गरे । ‘भाषा, साहित्य, कला र संस्कृतिको थप अध्ययन र संवर्द्धन जरुरी छ,’ उनले भने, ‘त्यसका लागि कला र साहित्यलाई व्यावसायिक बनाउन पनि जरुरी छ ।’


संविधानले प्रदेशको भाषा, कला, संस्कृति र साहित्यको संरक्षणका लागि प्रज्ञा परिषद् गठन गर्न सक्ने अधिकार दिएको छ । त्यसका आधारमा मन्त्रालयले प्रज्ञा प्रतिष्ठान गठनबारे मस्यौदा तयार गरिरहेको छ । मन्त्रालयका सचिव डा. राधा वाग्लेले सभ्यता, संस्कृति र सम्पदाको विकासका लागि साहित्यकारहरू समृद्धिका संवाहक बन्ने गरी मस्यौदा बनिरहेको बताइन् । ‘प्रदेशको समृद्धि र पहिचानका लागि सर्जकहरू जुट्न आवश्यक छ,’ उनले भनिन्, ‘त्यसका लागि उचित वातावरण मन्त्रालयले तयार गरिदिनेछ ।’


प्रकाशित : फाल्गुन १, २०७६ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?