प्रेम साहित्य सम्मान सरुभक्तलाई- साहित्य/विविध - कान्तिपुर समाचार

प्रेम साहित्य सम्मान सरुभक्तलाई

कान्तिपुर संवाददाता

काठमाडौँ — किताब यात्रा फाउण्डेशनले सन २०२० को ‘प्रेम साहित्य सम्मान’ लेखक सरुभक्तलाई प्रदान गरेको छ । फाउण्डेशनले शनिबारबाट सुरु गरेको ‘किताब जात्रा’ २०२० को उद्घाटन सत्रमा  लेखक सरुभक्तलाई सम्मान गरिएको हो । प्रेमप्रसाद अधिकारीको स्मृतिमा यसवर्षदेखि प्रदान गर्न लागिएको पुरस्कारको राशि ५५ हजार ५ सय ५५ रुपैयाँ छ ।

बि.सं २०१२ को भदौमा पोखरामा जन्मेका सरुभक्तकाले उपन्यास, नाटक, मुक्तकलगायत विभिन्न विद्यामा सशक्त कलम चलाएका छन् । ‘सिर्जनालाई मानवीय अहम्को उदात्तिकरण परिभाषित गर्दै प्रयोग गरेको पूर्णताउन्मुख शून्यवादले नेपाली साहित्यको दार्शनिक मानक स्थापना गर्न सफल भएको ठहर गर्दै यस बर्षको प्रेम साहित्य सम्मान प्रदान गरिएको छ,’ सरुभक्तलाई प्रदान गरिएको सम्मान पत्रमा लेखिएको छ ।


पुरस्कार ग्रहण गर्दै लेखक सरुभक्तले अतिरिक्त मौलिक साहित्य सिर्जना गर्नमा आफू सदैव लागिरहेको बताए । ‘हामी धेरै ज्ञान, दर्शन, विज्ञानबाट पीडित छौँ । जसबाट हामी बाहिर निस्केर मौलिक चिन्तन गर्न सकिरहेका छैनौँ,’ उनले भने, ‘हामी यही पोखरीभित्र रहने हो भने अतिरिक्त मौलिक साहित्य कसरी सिर्जना गर्न सक्छौँ ?’ सरुभक्तले आफूले पाठकको अपेक्षालाई पूरा गर्ने मौलिक प्रयत्न गर्ने बताए ।


‘किताब जात्रा’ २०२० को उद्घाटन ‘लाखे नाच’मार्फत् र पानसमा दीप प्रज्ववन गरेर गरियो । लाखे उपत्यकाका चार्डपर्वमा मनाइने जात्रामध्य एउटा मौलिक नाच हो । उद्घाटन सत्रमा कार्यक्रमका विशेष अतिथि हरिवंश आचार्यले पछिल्लो समय पठक संस्कृतिको विकास भएकाले किताबको भविष्य उज्ज्वल भएको बताए । नेपालमा हुने जात्राहरुमा किताब जात्राले पनि नयाँपन भित्र्याएको हरिवंशको आशय थियो । उनले भने, ‘जात्रा नेपालमा एकदमै राम्रो हुन्छ । काठमाडौंमा घर घरमा खाना डेलिभरी गर्ने धेरै छन् । किताब घर घरमा पुर्‍याउने काम थाहा थिएन । यो साहित्यको सेवा पनि हो । यसबाट म एकदमै खुसी छु ।’


किताब यात्राका अध्यक्ष ऋषिराम अधिकारीले पठन संस्कृतिको विकास गन जात्राको आयोजना गरिएको बताए ।

प्रकाशित : माघ १८, २०७६ १४:५८
प्रतिक्रिया
पठाउनुहोस्

‘नैतिक अपराध भयो’

भूमीश्‍वर पौडेल

काठमाडौँ — बनारस हिन्दु विश्वविद्यालयबाट संस्कृतमा विद्यावारिधि गरिरहेका मनोज भण्डारीले केही दिनअघि फेसबुकमा लेखे– ‘हामीलाई पढे/लेखेको मास्टर चाहिन्छ । डाक्टर पनि छानी–छानी योग्य खोज्छौं । इन्जिनियर पनि नामी चाहिन्छ । अनि पण्डित नि ? हाम्रो घरमा सप्ताह लगाउने गुरुको योग्यता चाहिँदैन ? कैयौं पटक बेइज्जती भएको जान्दाजान्दै उनकै पछि बडेमानको भीड लाग्नुले हाम्रो भेडापना पुष्टि गर्दैन र ?’ उनको यो अभिव्यक्ति आफूलाई कहिले विष्णु प्रपन्नाचार्य त कहिले बालयोगेश्वर बताउने गुल्मीका विजय भण्डारीप्रति लक्षित छ ।


के जसले पनि प्रपन्नाचार्य, बालयोगेश्वर, वाचनप्रवीण, माधुरी कथावाचक, महाराजजस्ता उपाधिबाट चिनाउन मिल्छ ? कि यसका लागि केही नियम वा मापदण्ड छ ?

नेपाल संस्कृत विश्वविद्यालय (नेसंवि) का सहप्राध्यापक एवं देवघाटस्थित महेश संस्कृत गुरुकुल विद्यापीठका प्राचार्य गुरुप्रसाद सुवेदी भन्छन्, ‘नियम छ नि । विशेष किसिमले भगवान्मा शरणागत भइसकेपछि दिइने उपाधि हो प्रपन्न । त्यसमा आचार्य थपिनका लागि उसले शास्त्रीय योग्यता हासिल गरेको हुनुपर्छ ।’ वैष्णवहरूले भने भगवान्को शरणमा प्राप्त भइसकेको भन्ने अर्थमा प्रपन्नाचार्य आदि विशेषण प्रयोग गरिरहेको उनको भनाइ छ । त्यसमा कसैले दास, कसैले शरण आदि पद आफ्ना नाममा जोड्ने गरेको उनले बताए ।

प्रवचकलाई दुई प्रक्रियाबाट चिनिने उनी बताउँछन् । ‘एउटा– विद्वान् छ, शास्त्रका गहिरा कुरा जान्दछ, समाजले शास्त्रीय व्याख्याता हो भनेर उसलाई सम्मान गर्छन्,’ सुवेदीले भने, ‘अर्को– कि त प्रवचन दिने व्यक्तिमा गहिरो साधना हुनुपर्‍यो, कि उसले तपस्याबाट प्राप्त दर्शनमार्फत मानिसलाई जीवनजगत्बारे बुझाइदिन सक्नुपर्‍यो ।’ पछिल्लो समय धर्मका नाममा पैसा कमाउने प्रवृत्ति बढेकोमा उनले चिन्ता व्यक्त गरे ।

सनातन विद्वत् परिषद् नेपालका सचिव ध्रुवश्री ‘महाराज’, ‘वाचनप्रवीण’ जस्ता उपाधि सजिलै प्राप्त गर्न नसकिने बताउँछन् । ‘पुराणमा दक्षता छैन, यससम्बन्धी ज्ञान पनि केही छैन । अलिअलि गाउन जान्यो, मान्छे नचायो, पैसा कमायो,’ उनले भने, ‘अहिले धेरैजसोले गरेको यही हो ।’ यस्तो प्रवृत्तिले शास्त्रको मर्यादा उल्लंघन हुनुको साथै धार्मिक समाजको समेत बेइज्जत भएको उनले सुनाए । ‘शुक्र अस्त, तिथिक्षय, बृहस्पति अस्त आदि बेला शुभकार्य गर्न मिल्दैन,’ ध्रुवश्रीले भने, ‘यस्तो बेला गरिएका कामले फल दिँदैन तर पैसाको लोभमा यी विषयलाई पनि कतिपयले मानेका छैनन् ।’ विधिविधान नपुर्‍याई १००८ जस्तो उपाधिबाट आफूलाई विभूषित गर्ने, कपाल पाल्ने, टीका लगाउने, आँखै तिरमिर्‍याउने पोसाक लगाउने गरेर मात्र भागवत वाचक नभइने उनको भनाइ छ ।

श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ भनेर बोर्ड टाँसिसकेपछि भागवत पाठ पूरा भयो कि भएन, त्यसभित्रको कथा वाचन गरियो कि गरिएन भन्ने प्रस्ट हुनुपर्ने बताउँछन् सुवेदी । ‘त्यो नभए पनि फरक पर्दैन भन्ने किसिमले जुन काम भइरहेको छ, हामी विद्वत् समाज त्यसको विरोध गर्छौं,’ उनले भने । ‘यसका लागि कार्यक्रम बनाएरै अघि बढ्छौं । केही दिनअघि देवघाटमै कथाव्यास सम्मेलन गर्‍यौं,’ सुवेदीले भने, ‘धर्मका नाममा कुकृत्य गर्नेहरूलाई दुरुत्साहित गर्ने र सच्चिन सुझाउने, नभए समाजबाट मान्यता नदिने किसिमका नियम हामीले पारित गर्‍यौं ।’ नेसंविका प्राध्यापक रामचन्द्र गौतमले केही पण्डितले शास्त्रीय मान्यता उल्लंघन गरेको बताए । पैसाको लोभमा परेर त्यस्ता व्यक्तिले गर्न नहुने दिन र समयमा समेत धार्मिक कार्यक्रम गराउने गरेको उनी बताउँछन् ।

प्रकाशित : माघ १८, २०७६ १४:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×