दोस्रो बाह्रखरी कथा प्रतियोगिता घोषणा- साहित्य/विविध - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दोस्रो बाह्रखरी कथा प्रतियोगिता घोषणा

कान्तिपुर संवाददाता

काठमाडौँ — बाह्रखरी बुक्सले दोस्रो कथा प्रतियोगिता घोषणा गरेको छ । प्रतियोगितामा प्रथम हुनेले १ लाख, दोस्रोले ६० हजार र तेस्रोले ४० हजार रुपैयाासहित प्रमाणपत्र पाउनेछन् । प्रतियोगिताका लागि प्राप्त कथा छनोट दुई चरणमा गरिने शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बताइयो । बाह्रखरीको आन्तरिक निर्णायक मण्डलले प्राप्त कथामध्ये उत्कृष्ट ५० कथा चुनेर निर्णायक मण्डललाई उपलब्ध गराउनेछ । ती कथामध्येबाट निर्णायक मण्डलले ‘उत्कृष्ट कथा २०७७’ पुस्तकका लागि २५ कथा छनोट गर्नेछन् । २५ कथाबाटै पहिलो, दोस्रो र तेस्रो छानिनेछ ।

कथा प्रतियोगिता घोषणा कार्यक्रममा बाह्रखरी बुक्सका सम्पादक राजेन्द्र पराजुलीले नेपाली आख्यान प्रतिभालाई प्रोत्साहन गर्न गरिएको कथा प्रतियोगितामा भाग लिन देश भित्र र बाहिर रहेका सबै नेपाली कथा लेखकलाई आग्रह गरे ।


बाह्रखरी बुक्सले लेखक तथा पत्रकार नारायण वाग्लेको संयोजकत्वमा आख्यानकार अमर न्यौपाने र बिना थिङ तामाङ सम्मिलित कथा प्रतियोगिता निर्णायक मण्डल गठन गरेको छ । सोही निर्णायक मण्डलबाट उत्कृष्ट कथा चयन हुनेछ । प्रतियोगिताका लागि १५ सयदेखि बढीमा ४ हजार शब्दभित्र नेपाली भाषामा लेखिएको कथा हुनुपर्नेछ । प्रतियोगिले फागुन १० गते भित्र बाह्रखरीलाई कथा पठाइसक्नुपर्ने छ ।

प्रकाशित : माघ १०, २०७६ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्

'हजार पोस्टरहरुको माया लागेर आउँछ'

१२ सय फिल्मका पोस्टर र नोट डिजाइनरको कथा
रीना मोक्तान

काठमाडौँ — अगाडिका कुर्सीमा युधीर थापा (उपन्यासकार), विदुर शमशेर थापा, इश्वरीराज पाण्डे आसिन थिए । त्यसको ठीक अगाडि एउटा कुर्सी राखिएको थियो । जीवनकै पहिलो अन्तर्वार्ता दिन सुन्दर श्रेष्ठ कुर्सीमा बसे । 

'यत्रो सानो फुच्चे पनि जागिर खान आ'को?' 'लुकेको समाज' र 'सिस्टर कल्पना' जस्ता उपन्यासका लेखक युधीरले प्रश्न गरे ।

भर्खर एसएलसी दिएर राष्ट्र बैंकको जागिरका लागि अन्तर्वार्ता दिन पहिलोपटक काठमाडौं आएका सुन्दरले प्रश्न भुइँमा खस्न नपाउँदै 'हो' जनाउ दिने टाउको हल्लाए। त्यसपछि इश्वरीराज पाण्डेले भने, 'मेरो फोटो बनाउन सक्छौ?' सुन्दरले 'सक्छु' भनिहाले ।

तुरुन्तै पेन्सिल र चित्र कोर्ने कापी आइपुग्यो । असिनपसिन भएका सुन्दरले थर्थराउँदै गरेको हातले इश्वरीको तस्बिर कोर्न थाले । करिब आधा घण्टापछि अन्तर्वार्ता लिन बसेकै मुद्राको चित्र तयार भयो ।

सबैजना चित्र हेरेर छक्क परे । अन्तर्वार्ता सकेर सुन्दर मर्स्याङ्दी होटल फर्किए ।
०००

ती थर्थराएका हात बिस्तारै स्थीर भए र नेपाली नोटको डिजाइनमा लागे । अहिले तपाईंले गोजीमा बोक्ने नोट यिनै सुन्दरले डिजाइन गरेका हुन् । राष्ट्र बैंकबाट हालै अवकास पाएका सुन्दरलाई अहिले पनि नोटको डिजाइन गर्न बैंकले डाक्ने गर्छ ।

सुन्दरले ३० वर्ष राष्ट्र बैंकमा काम गरे । अझै पनि त्यो पहिलो अन्तर्वार्ता उनले भुलेका छैनन् ।

अन्तर्वार्ता सकेर उनी क्षेत्रपाटीमा रहेको मर्स्याङ्दी होटल फर्किए । नतिजा कहिले आउँछ, थाहा थिएन । त्यसैले हरेक दिन बैंक धाइरहन्थे । होटलमा एकदिनको खर्च ८ रुपैयाँ हुन्थ्यो । काठमाडौं आउँदा ३ सय रुपैयाँ लिएर आएका थिए । राष्ट्र बैंकको नतिजा कुर्दा-कुर्दा गोजी रित्तियो । त्यतिञ्जेल होटलकै एकजना स्टाफलाई साथी बनाइसकेका थिए । त्यही साथीलाई नतिजा आएपछि आकाश वाणी (आवा) गरिदिनु भनेर पाल्पा फर्किए ।

त्यसको महिना दिनपछि बल्ल आवा आयो, 'पास भयो, तु आउनु'।

२०३७ को फागुन १४ बाट उनी राष्ट्र बैंकमा जागिरे भए ।

सानैदेखि नै पेन्टिङमा खुब रुची राख्थे सुन्दर । हजुरबुबा नागपञ्चमीमा नागको चित्र कोर्नुहुन्थ्यो, घरको ढोकामा टाँस्न। त्यही देखेर उनलाई पनि चित्र कोर्ने रहर लागेको थियो । हजुरबुबाको नक्कल गर्दा गर्दै उनले चित्रमा पुरस्कार जित्न थाले ।

एसएलसी दिन बुटवल बसेकै बेलामा राष्ट्र बैंकको जागिरबारे सुइँको पाएका थिए । बुटवलमा उनको नजिकै बस्ने दीलिप दाहाल राष्ट्र बैंकमा कार्यरत थिए । उनैले राष्ट्र बैंकमा आर्टिस्ट आवश्यक रहेको कुरा सुनाएका थिए ।

पचासको नोटमा कैली गाई

राजा ‍वीरेन्द्रले गद्दी सम्हालेको २५ वर्ष पुगेको अवसरमा बैंकले पच्चीस र दुई सय पचासका नोट निकाल्ने निर्णय गर्‍यो। त्यो बेला होलोग्राम राखेर उनैले नोट डिजाइन गरे ।

राष्ट्र बैंकको स्थापनामा ५० औं वर्षमा बैंकले नयाँ डिजाइनका पचासका नोट निकाल्ने निर्णय गर्‍यो । त्यसमा राजा ज्ञानेन्द्रकै तस्बिर राखेर उनले नोट डिजाइन गरेका थिए । नोटमा गाईको चित्र, ज्ञानेन्द्रको श्रीपेच लगाएको तस्बिर राख्ने निर्णय भयो ।

नोटमा गाईको फोटो राख्ने त भनियो । तर सल्लाह अनुसारको कैली गाई खोज्न लामो समय लागेको सुन्दर सुनाउँछन् । राष्ट्र बैंककै श्याम बहादुर श्रेष्ठसँग सहकार्य गरेर पचासको नोटको डिजाइन बल्लतल्ल बनाए । 'नोटमा कैली गाई राख्ने सहमति भएको थियो । 'हामी गौचरणमा जताततै गाई खोज्न गयौं । घर- घरमा खोज्न गयौं । कैली गाई भनेर फोटो खिचेर ल्याउँथ्यौं पछि जर्सी गाई परिदिन्थ्यो । धेरै समय लगाएर त्यो नोट बनायौं,' उनले पूराना दिन सम्झे ।

नोट छाप्ने कम्पनीको टेन्डर परेको देश जर्मनीले उनलाई बोलाएको थियो । त्यहाँ त नोटमा, फोटो बनाउने, रुङ्ग भर्ने छुट्टाछुट्टै विशेषज्ञ थिए । तर सुन्दरले त सबै नोटको डिजाइन एक्लैले भ्याउँथे । उनलाई देखेर त्यहाँका विशेषज्ञ पनि छक्क परेका थिए । कम्प्यूटरको जमाना थिएन । हातले सबै डिजाइन कोरेको सुनेर उनीहरुले सुन्दरको प्रशंसा गरे । मख्ख परेर नेपाल फर्किए सुन्दर ।

नोटबाट राजाको फोटो हटाउँदा

२०६२/६३ को जनआन्दोलनले देशमा गणतन्त्र आयो । देशबाटै राजतन्त्र फालिएपछि नोटमा पनि राजा बसिरहने कुरा भएन । नोटबाट राजा हटाउँदा नोटको एउटा भाग नै खाली हुने भयो । यो खाली ठाउँमा के भर्ने? राजनीतिमा त त्यो स्थान राष्ट्रपतिले लिए । तर, नोटमा राष्ट्रपतिको फोटो राख्ने कुरा भएन।

राष्ट्र बैंकको डिजाइन कमिटीमा छलफल भयो । सुन्दरले धेरै खाका बनाए । अन्तिममा सर्वोच्च शिखर त सबैले चिनेको, त्यसैले उक्त ठाउँमा सगमाथा राख्ने निर्णय भयो । सगरमाथा राखरे सबै नोटको रि-डिजाइन उनैले गरेका हुन् । पाँचदेखि हजारसम्मको नोटलाई उनले रि-डिजाइन गरे । पहिला त उनी पेन्सिलले कोरेर डिजाइन गर्थे । अहिले भने कम्प्यूटरमै डिजाइन गर्छन् ।

बेलाबेला भारतले बुद्ध भारतमा जन्मिएको दाबी गरेपछि सुन्दरले नोटमा लुम्बिनीको अशोक स्तम्भ राखेर 'लुम्बिनी द बर्थ प्लेस अफ द लर्ड बुद्ध' भनेर डिजाइन गरे ।
नोटमा हिमाल राखेपछि तराईको प्रतिनिधित्व भएन भन्ने आवाज आयो। त्यसपछि २ रुपैयाँको सिक्कामा हिमाल, पहाड अनि तराईका नेपालीले हलो जोतेको तस्बिर राखेको डिजाइन उनले कमिटीलाई पेस गरे । कमिटीले डिजाइन मन परायो । उक्त सिक्का विश्वमै राम्रा मानिएका सिक्कामा पर्ने गरेको दाबी गर्छन् सुन्दर । 'त्यो दुईको सिक्का मस्ट ब्युटिफुल करेन्सीमा समेत परेको थियो । त्यो बेला निकै खुशी लाग्यो,' उनले आफ्नो खुशी साटे ।

उनले डिजाइन थाल्दा एक रुपैयाँको नोट बन्द नै भइसकेको थियो । एकको सिक्कामा अगाडि नेपालको नक्सा पछाडि सगरमाथा राखेर उनले नै डिजाइन तयार पारे ।

'निकै मेहेनेत लाग्ने भएर होला नोटसँग मेरो छुट्टै सम्बन्ध छ । कतै नोट देखिहाल्यो भने पनि माया लागेर आउँछ,' अरुका लागि नोट सम्पत्ति हुन् । सुन्दरका लागि भने नोट सम्पत्ति र पैसामात्र नभइ जीवनको एउटा हिस्सा नै हो।

नोटभन्दा फिल्मको पोस्टर प्यारो

जीवनमा ठूलो सन्तुष्टि भने उनलाई नोटभन्दा बढी फिल्मको पोस्टरले दियो ।
त्यतिबेला नेपाली फिल्मको पोस्टर भारतको बम्बईमा बन्थ्यो ।

पशुपति क्याम्पसमा आइए पढ्दा सुरेन्द्र श्रेष्ठबाट उनको भेट रत्नकुमार श्रेष्ठसँग भयो । दुवैलाई पेन्टिङमा रुची । रत्नकुमारले 'सन्तान' फिल्मका निर्माता भगवान श्रेष्ठलाई चिन्थे । उनीहरुले भगवानलाई भने- पोस्टर हामी यहीं बनाउँछौं । सुरुमा त भगवानले मानेन् । 'तिमीहरुले सक्दैनौ भन्नु भयो । हामी प्रयास गर्छौं नि चान्स दिनुस् भनेर माग्यौं,' उनले सम्झे ।
हातैले पोस्टर डिजाइन गरे । पोस्टरको डिजाइन देखेपछि भने भगवान खुशी भए ।

सुन्दरलाई नोटभन्दा फिल्मको पोस्टर बनाउँदा आनन्द आउन थाल्यो । 'किनभने नोट मान्छेले गोजीमा हालेर लुकाएर राख्ने चिज पर्‍यो, पोस्टर त बजारभरी टाँसिन्थ्यो,' उनले भने । पोस्टरमा डिजाइनरको नाम पनि लेख्न पाइन्थ्यो ।

'अहिलेजस्तो पोस्टर ठूलो बनाउन सकिन्न थियो । फोटो कन्सर्नबाट जत्रो फोटो बनाइदियो त्यही फोटो टाँसेर रङ्ग भर्नुपर्थ्यो । तीन पत्रे डिजाइन गर्नुर्थ्यो । अहिले कम्प्यूटरमा जस्तो अक्षरमा रङ्ग भर्ने पनि हुँदैन थियो । पहिला फोटो टाँस्थें । त्यसमाथि ट्रेसिङ पेपर अनि त्यसमाथि बटर पेपर राख्थें,' उनले पोस्टर बनाउँदाको दु:ख सम्झे, 'बटर पेपरमा यो अक्षर यो रङमा छाप्ने भनेर राखिन्थ्यो । एकदम मेहेनेत लाग्थ्यो । धेरै गाह्रो थियो ।'

फिल्मको कथाअनुसार नै पोस्टर बनाउन लागि पर्थे उनी दुई । पोस्टरको डिजाइन सकिएपछि फोटोकपी गरेर ब्ल्याक एन्ड ह्वाइट पोस्टर निर्माण टिमलाई देखाउँथे। निर्माण टिमले रुचाएपछि मात्र त्यो पोस्टर बम्बई पठाइन्थ्यो ।

एक समय यस्तो थियो, सुन्दर बिहान पशुपति क्याम्पसमा आइए पढ्थे । ५ बजेसम्म राष्ट्र बैंकको काम त्यसपछि बागबजार पुगेर पोस्टर डिजाइन ।

१२ सय फिल्मका पोस्टर
सुन्दरले पछि बागबजारमा 'क्रियटिभ भिजन' (अहिलेको आइडियल डिजाइनर्स) खोले । 'सन्तान' लगत्तै 'मायालु', 'भुमरी' र 'साइनो'का पोस्टर लगातार बने ।

'हाम्रो पैसा विदेश गएन नि, त्यसमा मलाई गर्व लाग्छ,' मुसुक्क मुस्कुराउँदै उनी भन्छन् ।

उनीहरुले डिजाइन गरेका पोस्टर भने छापिन बम्बई जान्थे । बम्बई पठाएको एक महिनामा पोस्टर बनेर आउँथ्यो । कतै गल्ती भएको छ भने त्यही छापिएर आउँथ्यो । र देशैभरी टाँसिन्थ्यो ।

त्यति बेला वर्षमा १/२ वटा फिल्म बन्थे । शाही नेपाल चलचित्र संस्थानले बनाउने फिल्मको पोस्टर पनि सुन्दरले नै बनाउन थाले । अहिलेसम्म सुन्दरले लगभग १२ सय भन्दा बढी फिल्मको पोस्टर बनाइसके । साथी रत्न भने अष्ट्रेलियामा छन् ।

सुन्दरले एक दिनमै १५ वटा फिल्मको पोस्टर डिजाइन गरेका थिए ।

आफूले डिजाइन गरेका १२ सयमध्ये सुन्दरलाई सबभन्दा सुन्दर लाग्ने पोस्टर हो- 'तृष्णा' फिल्मको । 'त्यो फिल्म उगेन छोपेलले निर्देशन गरेको हो । फिल्मको पोस्टरमा पृथ्वी रदेवताको तस्बिर एकसाथ थियो । त्यसैले मलाई त्यो पोस्टर एकदम मनपर्छ,' उनले भने । उनीहरुले कम्प्युटरमै डिजाइन गरेको पहिलो पोस्टरचाहिँ उज्ज्वल घिमिरेको फिल्म 'जिन्दगानी' को हो ।

राजेश हमालपछि फेरियो पोस्टर
त्यो बेला फिल्मको नाम अनुसारको पोस्टर डिजाइन गरिन्थ्यो । फिल्मको नाम 'आक्रोश' भयो भने, कलाकार आक्रोशित भएको पोस्टर बनाइन्थ्यो । तर, राजेश हमालको इन्ट्रीपछि पोस्टरमा पनि नयाँपन आएको सुन्दरको अनुभवले बताउँछ ।

'राजेश हमालको इन्ट्री पछि त उहाँ एक्लैको ठूलो फोटो राखेपछि पोस्टर बन्थ्यो । उहाँको नामले नै फिल्म चल्थ्यो त्यो बेला,' उनले सुनाए, 'निखिलको प्रवेशपछि पनि पोस्टरमा निखिल उफ्रेको, दौडेको फोटो राख्नासाथ पोस्टर बन्थ्यो । अहिले अनमोल केसी पनि त्यस्तै बन्ने गरेको मैले सुनेको छु ।'

सुरुका कति फिल्मको त उनले पारिश्रमिक नै लिएनन् । अहिले पनि पोस्टर डिजाइनरले आकर्षक पारिश्रमिक नपाउने उनी बताउँछन् । अहिले यो कामले पेशाकै रुप लिएकोमा भने उनी सन्तोष मान्छन् ।

पोस्टर च्यातिएको देख्दा दु:ख लाग्छ
पोस्टर च्यातिएर भूईंभरी छरपस्ट बनाएको देख्दा भने उनको मन खल्लो हुन्छ । विशेषतः चाबहिलबाट बागबजार जाँदा कुमारी हलछेउ पोस्टर च्यातिएको देखेर निकै दुःखी हुन्थे । 'दु:ख लाग्छ नि आफूले मेहेनत गरेर बनाएको पोस्टर च्यातेर भूइँभरी छरपस्ट पारेको हुन्छ । मेरो मेहेनत त भइहाल्यो, निर्माताको पैसा पनि खेर गयो नि,' उनले भने ।

पछिल्लो समय नगरपालिकाले फिल्मको पोस्टर टाँस्नसमेत दिँदैन । यसमा पनि उनको फरक मत छ । 'एउटा पोस्टरको २ सय, २ सय पचास लाग्छ ।तर, आज टाँस्यो, भोलिपल्ट नगरपालिकाले च्यातिदिन्छ । पोस्टर टाँस्न सिमित भए पनि ठाउँ त दिनुपर्छ,' उनले भने । अहिले पनि २५ प्रतिशत दर्शक पोस्टर हेरेर नै फिल्म हेर्न हल जाने गरेको बताउँछन् उनी ।

फिल्मको कार्यक्रम र क्रेडिट टाइटलमा समेत पोस्टर डिजाइनरको नाम नदेख्दा उनलाई साह्रै झोंक चल्छ । कतिवटा कार्यक्रमबाट त उनी बीचमै उठेरसमेत हिँडेका छन् । अवार्ड कार्यक्रमका आयोजकहरुलाई उनको एउटा सुझाव छ- 'अवार्डमा पोस्टरको पनि एउटा विधा राख्नुपर्‍यो ।'

प्रकाशित : माघ १०, २०७६ १६:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×