सम्झिइन् तारादेवी

काठमाडौँ — हलको ठूलो ब्यानरमा ठूलो तस्बिरसहित लेखिएको थियो, ‘सम्झनामा तारादेवी’ । नेपाली आधुनिक, लोक तथा फिल्मी गीतसंगीतको क्षेत्रमा गायिका तारादेवीको अतुलनीय योगदान छ । उनै स्वरकिन्नरीको कर्मलाई बिहीबार राजधानीको राष्ट्रिय सभागृहको हलमा अग्रजदेखि नयाँ पुस्ताका संगीतप्रेमीले उनकै गीत गाएर सम्झिए ।

सम्झिइन् तारादेवी

तारादेवीको निधन भएको झन्डै डेढ दशक बित्न लाग्दा पनि उनका कालजयी गीत ‘उकाली ओरालीहरूमा...’, ‘फूलको थुँगा...’, ‘शुभकामना...’ सबैको मनमस्तिष्कमा ताजै छन् ।


१४ औं पुण्यस्मृतिका अवसरमा तारादेवी स्मृति फाउन्डेसनले गरेको कार्यक्रममा एक दर्जनभन्दा बढी गायकगायिकाले तारादेवीद्वारा स्वरबद्ध गीत गाए । अग्रज गायिका ज्ञानु राणादेखि रेकिसा केसीसम्मकाले सुमधुर गीत पस्के । गायिका राणाले धर्मराज थापाको शब्द तथा नातिकाजीको संगीतमा रहेको तारादेवीको ‘कालीपारे दाइ कति राम्रो...’ गीत गाइन् । अर्की गायिका संगीता थापाले माधव घिमिरेको शब्द तथा नातिकाजीकै संगीत रहेको गीत ‘फूलको थुँगा...’, यादव खरेलको शब्द तथा शिवशंकर मानन्धरको संगीत रहेको ‘नौ सय खोला तरेर जाने...’ गीत प्रस्तुत गर्दा माहोल निकै भावुक बनेको थियो ।


प्रस्तुतिकै क्रममा बिमला गुरुङले चाँदनी शाहको शब्द तथा नातिकाजीको संगीत रहेको ‘मनको निश्चलतामा अडेर...’, सरस्वती मानन्धरले शाहकै शब्द तथा नातिकाजीको संगीत रहेको ‘शुभकामना...’, गीता पाण्डेले किरण खरेलको शब्द तथा शिवशंकरको संगीत रहेको ‘हिमालको काखमा छ सानो मेरो गाउँ...’ प्रस्तुत गरे । कार्यक्रममा डेढ दर्जनभन्दा बढी वाद्यवादक समूहको सहायतामा प्राश्ना शाक्य, सरिता शाही, विष्णु चेम्जोङ, लाबोनी चक्रवर्ती, राजीव परियार, आरती गोले, जिना रसाइली, रेकिसालगायतका पुराना र नयाँ गायकगायिकाले तारादेवीका गीत सुनाए । आस्था कला केन्द्रलका कलाकारले तारादेवीकै ‘यो नेपाली शिर उचाली...’ र ‘तिम्रा पाउहरूमा...’ गाए ।


फाउन्डेसनले कार्यक्रममा तीन स्रष्टालाई सम्मान समेत गर्‍यो । नेपाली संगीत तथा साहित्यमा पाँच दशक योगदान पुर्‍याएबापत भैरवबहादुर थापालाई दिइएको सम्मान उनकी पत्नी धर्मदेवी थापाले ग्रहण गरिन् । त्यस्तै, कालजयी गीतका संगीत सिर्जना गरेका नातिकाजीलाई पनि सम्मान प्रदान गरिएको थियो । नातिकाजी संगीत कोषकै अध्यक्ष संगीतकार शम्भुजित बाँस्कोटाले उक्त सम्मान ग्रहण गरे । रचनामार्फत संगीत क्षेत्रमा योगदान गरेका गीतकार किरण खरेललाई पनि फाउन्डेसनले सम्मान गरेका थियो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, सहरी राज्यमन्त्री रामवीर मानन्धर, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र फाउन्डेसनका अध्यक्ष दीपक केसीलगायतकाले सम्मानित सबै स्रष्टालाई सम्मानपत्रसहित जनही २५ हजार रुपैयाँ हस्तान्तरण गरे ।


सम्मान ग्रहण गर्दै संगीतकार बाँस्कोटाले तारादेवीलाई गायिकासँगै संगीतकारका रूपमा पनि सम्झिनुपर्ने उल्लेख गर्दै फाउन्डेसनले यसबारे पनि खोजी गर्ने आशा व्यक्त गरे । उपप्रधान तथा रक्षामन्त्री पोखरेलले तारादेवीको भौतिक शरीर नभए पनि उनको योगदान हामीमाझ मुलुककै सम्पत्तिको रूपमा रहेको उल्लेख गरे । कलाले एकता ल्याउने काम गर्नुपर्ने तर्क गर्दै भने, ‘यो विधामा राजनीतिको रोग सरेर फुट्नु हुँदैन ।’


कला र यसलाई विकास गर्ने कुनै पनि ठोस निर्णयलाई आफूले सम्बोधन गर्ने उनले प्रतिबद्धता जाहेर गरे । उनलाई समर्थन गर्दै मेयर शाक्यले पनि कला विकासमा महानगरले सक्दो पहल गर्ने जनाए ।

प्रकाशित : माघ १०, २०७६ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?