९० वर्षीय लेखकले भने– ‘म अब धेरै बाँच्नेछु’

मनोज बोगटी

(दार्जिलिङ) — दार्जिलिङमा यस्ता धेरै साहित्यकार छन्, जसको चर्चा सतहमा हत्तपत्त देखा पर्दैन । इन्द्रबहादुर राईसित लामो समय सहकार्य गरेका पुराना साहित्यकार सुखनमको नाम भने यसपटक ह्वात्तै चर्चामा आयो । यसको कारण थियो, दुइवटा संस्थानले उनलाई प्रदान गरिने भनिएको पुरस्कारको घोषणा । दान खालिङ साहित्य सम्मान र बद्रीनारायण स्मृति पुरस्कार ।

९० वर्षीय लेखकले भने– ‘म अब धेरै बाँच्नेछु’

अघिल्लो वर्ष नै घोषणा भएको दुईमध्ये बद्रीनारायण स्मृति पुरस्कार ग्रहण गर्न डुवर्सको बाग्राकोट आइपुगेका लेखक सुखनम हर्षित मुद्रामा देखिए । बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानले ९३ औं बद्री जयन्तीकै छेक पारेर उनलाई पुरस्कार प्रदान गरेको हो । ‘मैले तीन कुरा कहिल्यै सोचेको थिइनँ,’ पुरस्कार ग्रहण गर्दै गर्दा सुखनमले भने, ‘एक दिन म पनि लेखक बन्नेछु, बुढेसकालमा मलाई पनि कसैले सम्झनेछन् र कुनै दिन म पनि पुरस्कृत हुनेछु । हो, यही कुरा मैले कहिल्यै सोचिनँ ।’


७० वर्षदेखि उनी लेखनमा छन् । नेपाली भाषा–साहित्यका ११ कृति प्रकाशित छन् । यिनी दार्जिलिङका नामी अनुवादक, इतिहासकार अनि कथाकार हुन् ।


नाम सुखछिरिङ नम्फोक (लेप्चा) भए पनि नाम र जातबाट अघिल्ला शब्द जोडेर सुखनम नाम बनाएर लेखनमा आएका यी लेखकको खासै चर्चा थिएन । केही वर्षअघि साहित्यकार जीवन नामदुङले ‘सुखनमका कथाहरू’ प्रकाशित गरेदेखि साहित्यकार र संघसंस्थाहरूको आँखा उनीमाथि परेको हो ।


‘मैले प्रगतिशील लेखक बद्रीनारायण प्रधानसित जीवनमा तीनपल्ट मात्र भेट्न पाएँ,’ ९० वर्षीय सुखनमले भने, ‘विचारलाई जीवनशैली बनाउने लेखकको नामबाट पुरस्कृत हुन पाउँदा खुसी छु । यो ऊर्जाबाट म अब धेरै बाँच्नेछु । धेरै काम गर्नेछु ।’


उनकै समकालीन साहित्यकार कृष्णसिंह मोक्तानको बाहुलीबाट उनलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा नरबहादुर दाहाल, डा. हर्कबहादुर छेत्री, मीमलाल सापकोटा, सखमन मोक्तान अनमोल प्रसाद, रेमिका थापालगायतका साहित्यकार थिए ।

प्रकाशित : माघ ८, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?