१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

ज्ञानु राणालाई लाइफटाइम

काठमाडौँ — अग्रज गायिका ज्ञानु राणाले हिट्स एफएम म्युजिक अवार्डमा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ पाएकी छन् । शनिबार राजधानी अवार्ड लिँदै गर्दा उनी भावुक भइन् । ‘सिंगो संगीत क्षेत्रकै सम्मान हो यो,’ उनले भनिन्, ‘संगीत साधनालाई निरन्तरता दिन हौसला मिलेको छ ।’ 

ज्ञानु राणालाई लाइफटाइम

समारोहमा विभिन्न १६ विधामा अवार्ड प्रदान गरिएको थियो । अवार्डको २३ औं संस्करणमा ‘तिम्रो यादमा जून टोलाउँदा...’ बोलको गीतबाट अग्रज गायक दीप श्रेष्ठले ‘सर्वोत्कृष्ट एकल गायन पुरुष’ विधाको अवार्ड पाए । यस वर्षको ‘सर्वोत्कृष्ट गीति संग्रह’ को अवार्ड भने सुनिता कार्कीको ‘सुनमाला’ ले पायो । ‘सर्वोत्कृष्ट रचना’ अवार्ड गायिका बर्तिका एम राईले पाउँदा नेपाली मौलिक बाजाहरूको धुनले सजिएको गायक दीपक बज्राचार्यको ‘मनमगन...’ले ‘सर्वोत्कृष्ट गीत’ विधाको अवार्ड पायो ।


‘सर्वोत्कृष्ट समूह गायन’ मा सविन राई एन्ड द फ्यारोह समूहले ‘धन्यवाद...’ गीतबाट अवार्ड उचाल्यो भने ‘सर्वोत्कृष्ट लोकगीत’ को अवार्ड ‘सालको पात टपरी...’ को पोल्टामा गयो । गीतमा विष्णु माझी र कुलेन्द्र बिकको स्वर छ । ‘धन्यवाद...’ गीत नै ‘सर्वोत्कृष्ट रक गायन’ र ‘सर्वोत्कृष्ट पप रक संगीत सिर्जना’ मा अब्बल ठहरियो । त्यस्तै ‘वनफूल...’ बाट ‘सर्वोत्कृष्ट संगीत सिर्जना’ को अवार्ड संगीतकार सुरेश अधिकारीले पाए भने ‘सर्वोत्कृष्ट संगीत संयोजन’ बाट फणिन्द्र राई र ‘सर्वोत्कृष्ट एकल गायन महिला’ विधामा गायिका दुर्गा परियारले अवार्ड हात थापे ।


‘गल्ती...’ बाट विक्रम बरालले ‘सर्वोत्कृष्ट नवप्रतिभा’ दरिँदा ‘सर्वोत्कृष्ट चलचित्र गीत’ राजनराज शिवाकोटीको ‘गोजीमा दाम छैन...’ ठहरियो । ‘सर्वोत्कृष्ट युगल गायन’ अवार्ड भने गीत ‘नाच फिरिरी...’ बाट महेश काफ्ले र मेलिना राईले पाए । ‘सर्वोत्कृष्ट महिला गायन पप’ विधाको अवार्ड ‘छोडेर नजाऊ...’ गीतका लागि आस्था तामाङ मास्केले पाइन् भने ‘सर्वोत्कृष्ट पुरुष गायन पप’ तर्फ ‘मलाई म जस्तै बन्न देऊ...’ बाट शिव परियार अब्बल बने ।

प्रकाशित : माघ ५, २०७६ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?