सम्झनामा कविशिरोमणि

काठमाडौँ — एयरपोर्ट गेटको ठीक अघिल्तिर सडक छेवैमा छन् स्वर्ण रंगका तीन मूर्ति । पूर्णकदका यी मूर्ति नेपाली भाषा साहित्य साधक कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाका हुन् । सोमबार यिनै त्रिमूर्ति साक्षी राखेर स्रष्टाहरूले नेपाली भाषा–साहित्यको चर्चा गरे, कविता सुनाए । सन्दर्भ थियो, १३६औं लेखनाथ जयन्तीको । 

सम्झनामा कविशिरोमणि

यी तीनैजना साधकको सम्मानमा स्थापित त्रिमूर्ति निकेतनले लेखनाथ पौड्यालको सम्झना गरेको हो । निकेतनकी अध्यक्ष एवं साहित्यकार इन्दिरा प्रसाईंले इतिहासको सन्दर्भ कोट्याउँदै विसं २००८ साल असार २९ गते पौड्याललाई राजा त्रिभुवनद्वारा कविशिरोमणिको पदवी र मासिक दुई सय रुपैयाँ आजीवन भत्ता प्रदान गरको बताए । उनका अनुसार विसं २०११ मा काठमाडौंमा पौड्यालको रथयात्रा गरिएको थियो । गोपाल पाण्डे असीमको अग्रसरतामा देवकोटा र समसमेत भएर पौड्याललाई रथारोहण गराइएको थियो, जुन नेपाली साहित्यको इतिहासमै पहिलो रथारोहण थियो ।


पौड्यालको पूर्णकदको सालिकमा माल्यार्पण गरी सुरु गरिएको कार्यक्रममा लेखनाथ पौड्याल काव्यसभाका संयोजक प्रा.राजेन्द्र सुवेदी, बालकृष्ण सम फाउन्डेसनका संयोजक मदनदास श्रेष्ठ, त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईं र कार्यक्रम संयोजक यादव भट्टराईले कविशिरोमणि, नाट्यसम्राट् र महाकविको योगदानको चर्चा गरे । स्रष्टा सीता भट्टराई, यादव भट्टराई, ललिता दोषी र भगवती बस्नेतले लेखनाथको सम्झनामा कविता सुनाए ।

प्रकाशित : पुस १६, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?