१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

पुस्तकमा सर्वजित

पोखरा — जातीय छुवाछुतविरुद्ध संघर्ष गर्ने नेपालको पहिलो संगठन ‘विश्व सर्वजन संघ’ का संस्थापक भगत सर्वजित विश्वकर्माको जीवनी समेटिएको पुस्तक सार्वजनिक भएको छ ।

रणेन्द्र बरालीले लेखेको पुस्तक ‘संघर्षशील युगपुरुष भगत सर्वजित विश्वकर्मा’ को पोखरामा गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले लोकार्पण गरे ।


भगत सर्वजित विश्वकर्मा प्रतिष्ठान बागलुङले पुस्तक प्रकाशन गरेको हो । बरालीले भगत सर्वजितको पारिवारिक पृष्ठभूमि, बाल्यकाल, दलित आन्दोलनको थालनी, संगठित संघर्ष, आरनको टुँडो भाँच्ने आन्दोलन, पाल्पा कारागारको यातना, मोहन शमशेरबाट लालमोहरलगायत प्रसंग पुस्तकमा उल्लेख गरेका छन् ।


विश्वकर्मा थरको थालनी, लेखन र कृतिकरण, संघर्षको सिंहावलोकन, जात र भेदभावसम्बन्धी आलेख पुस्तकमा समेटिएका छन् । बरालीले आफ्नो पुस्तकमा सर्वजितले विसं २००३ मा विश्व सर्वजन संघ गठन गरी संगठित दलित आन्दोलनको सुरुवात गरेको उल्लेख गरेका छन् ।


विसं १९५० मा बागलुङको मूलपानीमा जन्मिएका सर्वजित सानैदेखि विद्रोही थिए । उनले भारतको बनारसबाट संस्कृतमा आचार्य गरे । हिन्दु धर्मग्रन्थका वेद, उपनिषद्, पुराण, स्मृतिलगायत ग्रन्थको गहिरो अध्ययन गरे । विश्व सर्वजन संघ गठन गरेर दलितका मुद्दा उठाए । जेलनेल भोगे । विसं २०१२ मा उनको निधन भयो ।


साहित्यकार खगेन्द्र संग्रौलाले पुस्तकको भूमिकामा लेखेका छन्, ‘भगत आफ्नो समयका दलित नायक हुन्, प्रथम पुरुष हुन् ।’ बरालीले लामो समय अनुसन्धान गरी पुस्तक लेखेको प्रतिष्ठानका अध्यक्ष ओमबहादुर विश्वकर्माले बताए ।


उनका यसअघि नेपालमा ‘अछुत जातीय संघर्ष’ (२०३८), ‘आफ्नै व्यथा’ (नाटक–२०५६), ‘इतिहासको एक पैका’ उपन्यास (२०६५), ‘चीनको कोसेली’ यात्रा संस्मरण (२०६६) लगायत कृति प्रकाशित छन् ।

प्रकाशित : पुस १६, २०७६ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?