वर्ष पुस्तक : आख्यान र गैरआख्यान
यस वर्ष विश्वका थुप्रै देशमा आन्दोलनहरु भइरहे । कति आन्दोलनहरु हिंसात्मक भएको समाचार हामीले पढ्यौ । यी सबै घटनाहरुलाई हामीले हतारमा पढ्यौं र हतारमै बुझ्यौं । तर, सबै घटनाको पृष्ठभूमिलाई हतारमा बुझ्न सकिन्नँ ।
यस्तोमा मसिनो गरी बुझ्न गैर आख्यान पुस्तक काम लाग्छन् । त्यस्तै तथ्य र समाचारमा नसमेटिएका पात्र र घटनाको विकासक्रम बुझ्न आख्यानले मद्दत गर्छन् । यसै सन्दर्भमा खास गरी आजको समयसम्म हामी कसरी आइपुग्यौं र भविष्यमा हाम्रो दिशा कता मोडिन्छ भन्ने कुरा पुस्तकले देखाउने मानिन्छ ।
यसैले हामीले सन् २०१९ मा प्रकाशित पाँच आख्यान र पाँच गैर आख्यान पुस्तकलाई यहाँ प्रस्तुत गरेका छौं । यी पुस्तकलाई विश्वप्रसिद्ध 'टाइम ' म्यागजिनले वर्षका उत्कृष्ट पुस्तकको रुपमा छानेको हो । म्यागजिनले गैरआख्यानका रुपमा छानेका ५ र आख्यान ५ लाई मिलाएर यो सूची तयार पारिएको हो ।
१. द निकेल ब्वाइज
लेखक : कोलसन व्हाइटहेड
दुई केटाको माध्यमबाट अमेरिकाको इतिहासलाई यो उपन्यासले बताउँछ । फ्लोरिडाको एक स्कूलमा पठाइएका ती दुई युवाको कथा वास्ताविक घटनामा आधारित छ ।
२. द टेस्टामेंट्स
लेखक : मार्गरेट एटवुड
यस पुस्तक ३४ वर्ष अगाडि प्रकाशित एटवुडको उपन्यास 'द ह्यान्डमेड्स टेल'को सिक्वेल हो । यो उपन्यास क्यानडाका सबभन्दा माथिल्लो तप्काका मानिसको दैनिक जीवनको बारेमा छ ।
३. लस्ट चिल्ड्रेन आर्काइभ
लेखक : बलेरिया लुसली
मेक्सिकन लेखकले अंग्रेजी भाषामा लेखेको यस उपन्यासले पारिवारिक विखण्डनको कथा भन्छ । मेक्सिको र अमेरिकाको सीमामा बच्चालाई बुवाआमाबाट छुट्याउने अमेरिकी नीतिबारेमा यस उपन्यास केन्द्रित छ ।
४. द निड
लेखक : हेलन फिलिप्स
यस उपन्यासले एउटी आमाले पतिको अनुपस्थितिमा आफ्नो बच्चाको सुरक्षा गर्दाको समयको वर्णन छ ।
५. ब्ल्याक लिओपार्ड, रेड उल्फ
लेखक : मालोर्न जेम्स
जमैकन लेखकको यसअघिको कृति 'अ ब्रिफ हिस्ट्री अफ सेभेन किलिङ्स’ले २०१५ मा बुकर पुरस्कार पाएको थियो । यो उपन्यास पनि यस वर्ष साहित्यतर्फ नेसनल बुक अवार्डको फाइनलसम्म पुगेको थियो । यसमा उपन्यासले तीन वर्ष पहिले हराएको रहस्यमय केटाको खोजीको कथा भन्छ ।
६. से नथिङ : अ ट्रू स्टोरी अफ मर्डर एन्ड मेमोरी इन नर्दन आयरल्यान्ड
लेखक : प्यट्रिक राडेन किफे
नर्दन आयरल्यान्डमा सन् १९७२ मा भएको एक हत्यालाई पछ्याउदै गर्दा भेटिने इतिहास र अपराधबारे यस पुस्तकमा वर्णन गरिएको छ । ४ सय ६० पृष्ठ लामो पुस्तकका लागि लेखकले ४ वर्ष अध्ययन र अनुसन्धानमा बिताएका थिए ।
७. नो माइ नेम : ए मेमोयर
लेखक : च्यानल मिलर
सन् २०१५ मा स्ट्यानफोर्ड क्याम्पसको यौन हिंसाको घटनाको प्रभावित च्यानल मिलरलाई 'इमिलि डोए’ भनेर पनि चिनिन्छ । उनको यस पुस्तक त्यही घटनामा पर्दाको अनुभव हो ।
८. द एल्लो हाउस : अ मेमोयर
लेखक : सारा एम. ब्रूम
लेखकको यो पहिलो मेमोयर तूफान (प्राकृतिक विपद्)ले एउटा परिवारमा पारेको प्रभावको बारेमा छ। अमेरिकी समाजमा व्याप्त रंगभेदी विभाजन अहिलेको समयमा कसरी झन् झन् क्रुर बन्दैछ भन्ने कुरा यस पुस्तका पाइन्छ ।
९. अन्डरल्यान्ड : अ डिप टाइम जर्नी
लेखक : रोबर्ट म्याकफलेर्नन
यो पुस्तकले पृथ्वीको उत्पत्तिदेखि अहिलेसम्मको मानव जीवनको सभ्यताको विकासको एकसरो कथा बताउँछ। त्यस्तै मानव विकासले प्रकृति र भूगोलमा पारेको असरका बारेमा यस पुस्तकले सुक्ष्म तरिकाले वर्णन गरेको छ ।
१०. इन दि ड्रिम हाउस : अ मेमोयर
लेखक : कारमेन मारिया मचाडो
यो संस्मरणात्मक पुस्तकले बिग्रँदै गएको सम्बन्ध र त्यसको मनोवैज्ञानिक असरलाई आफ्नो अनुभवको आधारमा बताउँछ । अनुभवसँगै पपकल्चर, इतिहास र साहित्यका विषयहरु पनि आउँछन् । अमेरिकनी लेखिका मारियाले यसअघि लघुकथा र निबन्धहरु लेखेकी थिइन्।
प्रकाशित : पुस १५, २०७६ १२:५५