सिँगारियो कविशिरोमणि घर

लालप्रसाद शर्मा

(पोखरा) — गेटमै छ टिकट काउन्टर । गेटबाट छिर्नसाथ ढुंगाका छपनी बिछ्याएर चिरीच्याट्ट पारिएको बाटो । बाटोको कान्लामा टाँसिएका छन्, कविताका हरफ । खरले छाएको पुरानो घर मर्मत गरेर चिटिक्क पारिएको छ । पिँढीमा ढिकी, जाँतो, स्याँखुलगायत परम्परागत घरायसी वस्तु । आँगनमा पनि ढुंगा छापिएको छ । डिलमा तुलसीको मोठ । 

नजिकै ढुंगाले बनेको र जस्ताले छाइएको नयाँ घर छ, जसलाई कविशिरोमणि लेखनाथ संग्रहालय बनाइएको छ । चारैतिरको कम्पाउन्ड तारजालीले घेरिएको छ । शान्त वातावरण । अलि माथि पुगेपछि देखिन्छन् हिमाल । फेदीतिर भने तालतलैया सजिलै देख्न पाइन्छ । पूरै ग्रामीण परिवेश । पहिलोपटक पुग्नेले भन्छन्– ‘आहा कस्तो गज्जबको ठाउँ ।’ गेटनजिकै साहित्यिक कार्यक्रमका लागि ट्रस्ट बनिसकेको छ । पिकनिकस्थल पनि भएकाले यतिबेला पिकनिक खानेको भीड उस्तै छ ।


पोखरा महानगरपालिका–२७ अर्चलेस्थित कविशिरोमणि लेखनाथ पौडेल जन्मस्थलको पछिल्लो दृश्य हो यो । अचेल साहित्यिक पर्यटकीयस्थलका रूपमा कविघरको छवि बदलिएको छ । केही समययता विभिन्न साहित्यिक गतिविधि पनि यहाँ हुन थालेका छन् । ‘कुनै बेला ओझेल परेको अर्चले अहिले पर्यटकीय गन्तव्य बनेको छ,’ लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालले भने, ‘अझै केही पूर्वाधार थपिन बाँकी छन्, त्यसपछि सिर्जना ग्रामका रुपमा यसको विकास हुनेछ ।’


जन्मस्थल विकास समितिले कविशिरोमणिको बाल्यकाल, रहनसहन, रीतिरिवाज, संस्कृतिलगायत उतिबेला प्रयोगमा आएको सामग्री संकलन र संरक्षण गरेर संग्रहालय बनाइरहेको छ । पौडेलको जन्मदेखि मृत्युसम्मको अवस्थालाई डकुमेन्ट्री फिल्म बनाएर पनि पाहुनालाई देखाउने योजना छ । ‘लेखनाथ जन्मेको घर, प्रकाशित, अप्रकाशित कृति, सय वर्षअघिका विभिन्न सामान संग्रह गरेर अध्ययन, अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने उद्देश्यसहित संग्रहालय बनाएका छौं,’ समिति अध्यक्ष विश्वप्रकाश लामिछानेले भने । गेटबाट पस्नसाथ लेखनाथका कविता सुन्न सकिनेगरी आधुनिक पुस्तकालय पनि बनाउने योजना रहेको उनले बताए ।


उनका अनुसार संग्रहालयका लागि निर्मित पक्की भवनको तल्लो कोठामा कविशिरोमणिका दुर्लभ तस्बिर राख्ने र उनको जीवनीमा आधारित आधा घण्टाको वृत्तचित्र देखाइनेछ । माथिल्लो तलामा भने उनताकाका विभिन्न घरायसीलगायत प्रयोजनमा प्रयोग हुने सामग्री राखिनेछन् ।


‘लेखनाथ जन्मेकै घरलाई संग्रहालयका रूपमा विकास गर्ने लक्ष्य थियो । तर जीर्ण भइसकेकाले अर्को बनाउनुपर्‍यो,’ लामिछानेले भने, ‘पुरानो घरलाई संरक्षण गरी बाहिरबाट मात्रै हेर्न मिल्ने बनाइएको छ ।’ भूकम्पले चर्केपछि संग्रहालयका लागि अर्को घर बनाइएको हो । आफैं तपस्वी बनी रूखलाई पात्र बनाएका थिए– कविशिरोमणिले । सोही कृतिको नामबाट जन्मघरदेखि २ किलोमिटर तल तरुण तपस्वी पार्क बनाइएको छ ।


पार्कमा पोखरी, चौतारी र ट्रस्ट बनाइएको छ । कविले पहिलोचोटि आफ्नै काका पितृप्रसादले लेखेको कविता भट्ट्याएपछि कविता लेख्न प्रेरणा पाएको दोपहरे पाखालाई कविकुञ्ज पार्क बनाउने र त्यसमा गाई चर्दै गरेको, पितृप्रसादले अगाडिपट्टि कविता लेखेको र कविले भट्ट्याएको बिम्बात्मक शिला पनि बनाइने योजना समितिको छ । पृथ्वीराजमार्गको अर्घौंचोकबाट जन्मस्थलसम्मको सडकमा कविका कविताका हरफहरू लेखिएका ७ स्तम्भमा कविता पढ्दै अर्चले जान सकिन्छ । समितिका सहसचिव रामप्रसाद तिमिल्सिनाले कवि, कलाकारलाई यहाँ आएर आफ्नो सिर्जना गर्ने वातावरण बनाउने उद्देश्यले पूर्वाधार बनाइएको बताए । अर्चलेबाट फेवा, बेगनास, दिपाङ, न्युरेनी, खास्टेलगायत ताल देख्न सकिन्छ । साथै माछापुच्छ्रे, अन्नपूर्ण र धौलागिरि हिमालको अवलोकन गर्न सकिन्छ ।


पछिल्लो समय कविशिरोमणिको घर हेर्न आउनेको संख्या बढेको स्थानीय कृष्णमणि लामिछानेले बताए । कविशिरोमणिको घरको विकाससँगै अर्चलेमा अहिले होटल र रिसोर्ट सञ्चालनमा आइसकेका छन् । जग्गा खोज्दै बजारबाट आउनेको पनि लर्को लागेको लामिछानेले बताए ।


लेखनाथ साहित्य प्रतिष्ठानकी सल्लाहकार प्राज्ञ हरिदेवी कोइरालाले अब एउटा कविकुञ्ज र साहित्यिक तीर्थस्थलको रूपमा विकास गरेर अघि जानुपर्ने बताइन् । ‘पछिल्लो समय अर्चलेको विकास राम्रैसँग भएको छ । एउटा साहित्यिक पर्यटकीय गन्तव्य बनिसकेको छ,’ उनले भनिन् ।


२०५४ मा कविशिरोमणिकै लेखनाथ नगरपालिका नामकरण भयो । त्यसअघि बजारमै सामान्य हिसाबले लेखनाथको जन्मजयन्ती मनाइन्थ्यो । २०५५ मा लेखनाथ साहित्य प्रतिष्ठान गठन भयो । प्रतिष्ठानको पहलमा व्यवस्थित हिसाबले जन्मजयन्ती मनाउन थालियो । कवि, कलाकार, साहित्यकारलगायतलाई लक्षित गरी चारकोठे भवन बनाउन थालिएको छ । यसका लागि पोखरा महानगरले ५० लाख रुपैयाँ छुट्टाएको छ ।


अब बन्ने भवनको नाम सिर्जनाग्राम रहनेछ । लेखनाथकको जन्मघर हेर्न २० रुपैयाँको टिकट व्यवस्था गरिएको छ । विद्यार्थीलाई भने १० रुपैयाँ लिइन्छ । मंगलबार लेखनाथको १३६ औं जन्मजयन्तीका अवसरमा अर्चलेमा विविध साहित्यिक कार्यक्रम हुँदै छ । यस वर्षको लेखनाथ साहित्य पुरस्कार प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलालाई दिने निर्णय भइसकेको छ ।


प्रकाशित : पुस १५, २०७६ ०८:४६

प्रतिक्रिया
पठाउनुहोस्

हुलाक टिकटमा संगीतज्ञ

कान्तिपुर संवाददाता

काठमाडौँ — हुलाक सेवा विभागले नेपाली संगीतका क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउने संगीतज्ञ अम्बर गुरुङ र नरराज ढकालका नाममा हुलाक टिकट सार्वजनिक गरेको छ । विभागका महानिर्देशक देवीप्रसाद ज्ञवालीले आइतबार आयोजित एक समारोहमा गुरुङ र ढकालको मुखाकृति अंकित १० रुपैयाँ मूल्यको हुलाक टिकटमा प्रथम टाँचा लगाएका थिए । 

नेपाली आधुनिक संगीतका अभियन्ता एवं नेपालको राष्ट्रिय गानका संगीतकार गुरुङका २ सयभन्दा बढी गीत–संगीत प्रचलित छन् । त्यस्तै, शास्त्रीय संगीत विधामा संगीतज्ञ ढकालको नाम अग्रणी छ । विभागले व्यक्तित्व मालाका टिकटसँगै वनस्पति जगत्का केतुके, लोक्ता, अल्लो र जिब्रो छेड्ने जात्रा, बौद्ध तेमाल जात्रा, शंखेकीरा, भगवान् बुद्धको समेत हुलाक टिकट प्रकाशनमा ल्याएको छ ।

प्रकाशित : पुस १५, २०७६ ०८:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×