कता जाँदै छ हास्यव्यंग्य ?

कान्तिपुर संवाददाता

काठमाडौँ — आदिकवि भानुभक्त आचार्यले कविताबाटै हास्यव्यंग्य पस्केका थिए । त्यसपछि नेपाली हास्यव्यंग्य परम्परालाई निबन्ध विधामार्फत भैरव अर्याल, केशवराज पिँडालीजस्ता अग्रज स्रष्टाले स्थापित गरिदिए ।

साहित्य लेखनबाट अघि बढेको यो परम्परा अहिले गाईजात्रा प्रहसन, टेलिफिल्म हुँदै फिल्ममा समेत प्रवेश भइसकेको छ । यस्तोमा नेपाली हास्यव्यंग्यको स्थिति के छ ? हास्य र व्यंग्यको मर्मलाई नयाँ पुस्ताले कसरी ग्रहण गरिरहेको छ ? शनिबार राजधानीमा स्रष्टा र कलाकारहरूले बहस गरे ।


जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित ‘नेपाली हास्यव्यंग्य परम्परा’ शीर्षकको बहसमा हास्य कलाकार बसुन्धरा भुसाल, कवि तथा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे र कवि एवं समालोचक नरनाथ लुइँटेलले हास्यव्यंग्य साहित्य र कलाको क्षेत्रमा देखिएको पछिल्लो प्रवृत्ति चिरफार गरे । उनीहरूका अनुसार विसं २०४६ को परिवर्तनभन्दा अघि मुलुकको परिस्थिति भिन्न थियो । हास्यव्यंग्य लेखन र प्रस्तुतिहरू त्यतिबेला पनि हुन्थे, पछि झन् मौलाउँदै गयो । यसपछि निबन्ध विधामा मात्र केन्द्रित हास्यव्यंग्य प्रहसन र कविता हुँदै हास्य टेलिफिल्मतिर पनि पस्यो ।


‘सुरुमा हास्यव्यंग्यलाई निबन्धको पर्यायवाचीका रूपमा लिइन्थ्यो,’ लुइँटेलले भने, ‘अहिले यो लेखनभन्दा बढी प्रस्तुतितिर चल्तीमा आएको छ ।’ पछिल्लो समय लेखनमार्फत खगेन्द्र संग्रौला, विमल निभाजस्ता स्रष्टाले र अभिनयमार्फत मह जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य), मनोज गजुरेल, सीताराम कट्टेल (धुर्मुस) जस्ता व्यक्तिहरूले हास्यव्यंग्य परम्परालाई अघि बढाउन योगदान पुर्‍याए पनि अर्यालभन्दा माथि उठ्न भने कोही पनि नसकेको लुइँटेलले दाबी गरे ।


‘तीन दशकदेखि भैरव अर्यालको ठाउँ रिक्त नै छ,’ उनले भने, ‘गुणात्मक लेखन नभएरै त्यसो भएको हुन सक्छ ।’ उनका अनुसार हास्य र व्यंग्य फरक–फरक हुन् । यसलाई विधाभन्दा पनि शैलीका रूपमा लिनुपर्ने उनको ठहर छ । कवि गाम्नागेले पनि सही थपे । ‘हास्य मनोरञ्जन दिने र अरूलाई हँसाउने खालको हुन्छ,’ उनले भने, ‘व्यंग्यमा चोटिलो प्रहार हुन्छ, जसबाट कसैको मनमा चोट पनि लाग्न सक्छ ।’


हास्य र व्यंग्यलाई एउटै पाटोमा राखे पनि आफैंमा नितान्त भिन्न रहेको मत दिइन् अभिनेत्री भुसालले पनि । झन्डै ६ दशकको कला यात्रा गरिसकेकी उनले हास्य–व्यंग्य क्षेत्रमा पछिल्लो समय विकृति देखा परेको औंल्याइन् । ‘ए रातै’ जस्ता शब्द उच्चारणबाट हास्य विधामा चिनिएका भुसालसँग ‘परालको आगो’ जस्ता पुरानो फिल्मको अनुभव पनि छ । पहिलेका फिल्महरूमा हास्य–व्यंग्य अहिलेको जस्तो भद्दा नरहेको उनको ठम्याइ छ । ‘हामीले अरूलाई हँसाए पनि हाम्रो भाषा सौम्य, सभ्य र शिष्ट हुन्थ्यो,’ उनले भने, ‘हाम्रो बोली र लगाउने कपडामा कुनै उट्पट्याङपन थिएनन् ।’ उनका अनुसार अहिले जसरी भए पनि दर्शकलाई हँसाउनतिर मात्र कलाकारहरू केन्द्रित देखिन्छन् । नाक मुख बंग्याएर, अनुहार बिगारेर, कमजोरलाई हेपेर, भद्दा कपडाहरू लगाएर यस्तैयस्तै । ‘अहिलेका हास्य कलाकारहरू दर्शकलाई जसरी पनि हँसाउन खोज्ने जोकरजस्ता भएका छन् । तर, हामी कलाकार जोकर हुनुहुँदैन । र, होइनौं पनि,’ उनले भनिन् । आफ्नो मर्यादा र अनुशासनमा रहन उनले नयाँ पुस्ताका कलाकारहरूलाई सुझाइन् पनि ।


विकृत बन्दै

हास्यव्यंग्य भन्नेबित्तिकै अहिले नेता, कार्यकता वा कुनै क्षेत्रमा भइरहेको विसंगति, विकृतिविरुद्धको प्रहार र छेडखानी भन्ने आम मानिसको सोचाइमा आइसकेको छ । अझ नेतालाई त गाईजात्राजस्ता प्रहसनमा नामै तोकेर, उसको हुबहु आकृति नै उतारेर उसकै अगाडि व्यंग्य गर्ने प्रचलन बढेको छ । यस्तो प्रचलनले प्रवृत्ति चित्रण र व्यंग्यभन्दा पनि व्यक्तिकेन्द्रित प्रहारको बढोत्तरी गरिरहेको छ । हरेक वर्ष हास्यव्यंग्य देउसीभैलो गर्दै आएको संस्था सिस्नुपानी नेपालका अध्यक्ष गाम्नागे यसलाई केही विकृत भएर अघि बढिरहेको स्विकारे । ‘मुलुकको वास्तविक अवस्थालाई हास्यरस मिसाएर प्रहार गर्दा व्यक्तिगत नै बढी पर्न जाने रहेछ,’ उनले भने । लुइँटेलले भने हास्यव्यंग्यमा व्यक्तिभन्दा प्रवृत्तिलाई बढी जोड दिनुपर्ने बताए । अहिलेको नयाँ कलाकारहरूमा हास्य र व्यंग्यसम्बन्धी सैद्धान्तिक ज्ञानको अभाव रहेको पनि लुइँटेलको मत छ । सैद्धान्तिक पक्षलाई बुझेर मात्र यस क्षेत्रमा लाग्नुपर्ने उनले सुझाए ।


हास्यव्यंग्यलाई शालीन रूपमा दिगो बनाएर अगाडि बढाउने हो भने लेखन, अभिनयजस्ता पक्षहरूमा सेन्सरको व्यवस्था हुनुपर्ने तीनै जना स्रष्टाको विचार थियो । दर्शकलाई जबरजस्ती हँसाएर मनोरञ्जन दिनेभन्दा पनि समसामयिक विषयलाई सान्दिर्भिक बनाएर समाजले पचाउने खालको विषयवस्तु बनाउनुपर्ने उनीहरूको मत थियो । शिलापत्र डटकमले ‘स्रष्टासँग शिलापत्र’ को छैटौं शृंखलाका लागि हास्यव्यंग्य विषय रोजेको हो । शिलापत्रले मासिक रूपमा प्रत्येक महिनाको पहिलो शनिबार साहित्यिक बहस गर्दै आएको कार्यक्रम संयोजक घनेन्द्र ओझाले बताए । प्रकाशित : पुस ७, २०७६ ०९:०६

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

लन्डनमा छुरा प्रहारका घटना बढे

नवीन पोखरेल

लन्डन — पछिल्ला दिनमा बेलायतको राजधानी लन्डनमा छुरा प्रहारका घटनामा निकै वृद्धि भएको छ । गत शनिबार न्युहाममा छुरा प्रहारबाट २९ वर्षीय एक युवाको मृत्यु भएको थियो ।


उनी ७ दिनयता भएका छुरा प्रहारका घटनामा मारिने ७ औं व्यक्ति हुन् । युवाबीचको झगडाका क्रममा उनी सिल्भर टाउनमा मारिएका थिए । प्रहरीले एक जनालाई गिरफ्तार गरीअनुसन्धान अगाडि बढाएको छ ।

द इन्डिपेन्डेन्टका अनुसार सन् २०१९ मा लन्डनमा यो १४६ औं हत्या हो । अधिकारीका अनुसार लन्डनमा सन् २००८ पछि यस वर्ष छुरा प्रहारका घटनामा सबैभन्दा बढी मारिएका हुन् । छुरा प्रहारबाट गत वर्ष १३६ जनाको ज्यान गएको थियो ।

होम अफिसको तथ्यांकअनुसार, सन् २०१८ र ०१९ को अवधिमा बेलायतमा १५ हजार ४ सयवटा आपराधिक आक्रमण भए । छुरा अपराध राजधानीका अन्यत्र सहरभन्दापूर्वी लन्डनमा बढी भइरहेको पाइएको छ ।

गत बिहीबार करिब चार घण्टाको बीचमा ३ जनाको हत्या त्यही क्षेत्रमा भएको थियो । त्यसबाहेक ब्रेन्ट, डेगेनहाम, क्रोयडन, हन्स्लो, वाल्थमस्टो र बार्नेटमा हत्या भए । लन्डनमा हत्या शृंखला बढिरहँदा लन्डन मेयर सादिक खान भने सन् २०१९ मा लन्डनलाई सुरक्षित बनाएको दाबी गर्छन् । पब्लिक हेल्थजस्ता युवा लक्षित कार्यक्रमले युवाबाट हुने अपराध ३० प्रतिशत कमी भएको लन्डन मेयरको दाबी छ । मेयर प्रश्नोत्तर कार्यक्रममा खानले छुरा अपराध नियन्त्रण आफ्नो उच्च प्राथमिकतामा रहेको बताएका छन् ।

लन्डन मेट्रोपोलिटन प्रहरी प्रमुख क्रेसिडा डिकले यस वर्षको सुरुतिर रोकेर खानतलासी गर्ने क्रम बढेपछि अपराध घट्दै गएको दाबी गरे पनि झन् वृद्धि भएको छ । उनले सन् २०१० यता झन्डै २० हजार प्रहरी कटौती गरिएपछि अपराधका घटना बढिरहेको बताएकी थिइन् ।

निवर्तमान प्रधानमन्त्री टेरेजा मे गृहमन्त्री भएर ६ वर्ष काम गर्दा बजेटसँगै प्रहरीको संख्या अत्यधिक कटौती गरिएको थियो । सरकारी अधिकारीहरू प्रहरी संख्या कटौती र छुरा प्रहारका घटना वृद्धिबीच कुनै प्रत्यक्ष सम्बन्ध नरहेको बताउँदै आएका छन् ।
प्रधानमन्त्री बोरिस जोन्सनले आगामी तीन वर्षभित्र २० हजार प्रहरी अधिकृत थपिने र रोकेर खानतलासी गर्ने कार्य थप तीव्र पारिने वाचा गरेका छन् ।

प्रकाशित : पुस ७, २०७६ ०८:५५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×