३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

साहित्य महोत्सव : राजनीति, कला र खेल

दीपक परियार

(पोखरा) — नेपाल साहित्य महोत्सवको दोस्रो दिन पोखरामा राजनीति, कलादेखि खेलसम्मका विषयमा बहस चल्यो । ‘लोकगीत कि लोकप्रियता’, ‘नेपाल नेक्सस : राजनीतिमा भूराजनीति’, ‘सपनाको सम्मान’, ‘अध्ययनको भोक’, ‘बतासमा बारुदको गन्ध : नक्सलवाददेखि लेखनसम्म’, ‘बालबालिकाको हातमा ‘मोबाइल कि पुस्तक ?’, ‘जाग लम्क, चम्क हे खेलकुदका बदलिँदा आदर्श’ जस्ता सेसनहरू रोचक र अर्थपुर्ण रहे । सहभागीहरूले उत्तिकै चासोका साथ प्रश्न गरे, बक्ताहरूले सवालमा जवाफ पेश गरे ।

साहित्य महोत्सव : राजनीति, कला र खेल

‘सन्दुकलाई राजनीतिको डर’

मोतियाबिन्दुका १ लाख २५ हजार बिरामीको सस्तो मूल्यमा शल्यक्रिया गरेर ख्याति कमाएका तिलगंगा आँखा अस्पतालका वरिष्ठ नेत्र चिकित्सक डा.सन्दुक रुइतलाई सञ्चारकर्मी रवि लामिछानेले सोधे, ‘व्यक्ति मात्र सही भएर हुँदो रहेछ कि व्यवस्थापकीय क्षमताको पनि केही भूमिका छ ?’ चस्मा मिलाउँदै डा.रुइतले भने, ‘प्रतिबद्धता र इमानदारी ठूलो कुरा हो । राम्रो मान्छेलाई छानेर टिम बनाउन सक्ने खुबी हुनुपर्छ । त्यो टिमसँग बसेर निर्णय लिने क्षमता हुनुपर्छ । नेपालको सन्दर्भमा हाम्रोजस्तो संस्था राजनीतिबाट टाढा बस्नुपर्छ ।’


लामिछानेले डा.रुइत र तिलगंगाको सफलताका पाटा/पक्ष खोतले । ‘हामीलाई हाम्रो उपलब्धिबारे कसैले सोध्छ भने हामी भन्न सक्छौं, हामीले तिलगंगालाई राजनीतिबाट धेरै टाढा अहिलेसम्म राख्न सक्यौं । सक्दो रहेछौं । म एक्लैले यो काम गरेको होइन । मेरा असाध्यै राम्रा प्रतिबद्ध टिमका सदस्यहरू छन्,’ डा.रुइतले भने, ‘धन्य, मैले यो सबै कुरा तिलगंगामा पाएको छु । त्यसैले दुई तीन दशकमा केही गरेर देखाउने मौका पाएका छौं ।’


नेपालमा भारतका उत्तरपूर्वी राज्य, भुटान, पाकिस्तान, बंगलादेशबाट समेत आँखाका बिरामी तिलगंगा आउने गरेको उनले सुनाए । शुल्क सस्तो पर्ने भएकाले पनि ती ठाउँका बिरामी नेपालमा आउने गरेको उनले उल्लेख गरे । ‘यसमा सबैभन्दा महत्त्वपूर्ण पक्ष नेतृत्व, व्यवस्थापन र गुणस्तरको सुनिश्चितता हो,’ उनले भने, ‘हे भगवान् राजनीति नपसोस् । हामी गर्न सक्छौं ।’


छलफलमा यसमा उनीहरूले नेपालमा अन्धोपनको समस्या मात्र केलाएनन्, त्यसमा भइरहेका पहलबारे पनि छलफल गरे । डा. रुइतले पुर्‍याएको योगदानबारे पनि प्रस्तोता लामिछानेले केही सन्दर्भ उजिल्याए । रुइतले आफूले नेपालमा नेत्र चिकित्साको क्षेत्रमा गरेका र गर्न खोजेका विषयबारे आफ्ना धारणा राखे । नेत्र चिकित्सकको क्षेत्रमा अर्थात् नेपालमा कम शुल्कमा मोतियाबिन्दुको शल्यक्रिया हुने गरे पनि त्यसलाई औद्योगिक राष्ट्र एवं विकसित मुलुकमा ५ हजार डलर लाग्ने उनले बताए । त्यसैले मोतियाबिन्दुको शल्यक्रिया नेपालका लागि वरदान सावित भएको रुइतको भनाइ छ । आफ्नो कर्ममा प्रतिबद्ध डा.रुइतले यसैमा आफू रमाएको बताए ।


अहिलेको अवस्थामा आफूलाई राष्ट्रपतिको अफर आए पनि त्यसलाई नस्वीकार्ने उनको भनाइ छ । आफ्नो कर्म आफ्ना लागि सबथोक भएको र सर्वसाधारणको सेवा गर्न पाउँदा त्यसले आफूलाई सर्वस्व दिएको उनले बताए ।


‘नेपाल नेक्सस’ र ‘तमस’

महोत्सवकै अवसरमा पत्रकार सुधीर शर्माको पुस्तक ‘नेपाल नेक्सस’ को लोकार्पणसमेत गरिएको छ । लेखक शर्मा र नेता गगन थापाले पुस्तकको लोकार्पण गरेका हुन् । उनीहरुसँगै विश्लेषक यादव देवकोटाले ‘नेपाल नेक्सस : राजनीतिमा भूराजनीति’ सेसनमा बहस चलाए । त्यस अवसरमा नेपालमा बढ्दै गएको राजनीतिक हस्तक्षेप एवं सीमा समस्या, राजनीतिक नेतृत्वमा देखिएको अदूरदर्शीपन, त्यसले निम्त्याएका समस्या, सीमा समस्या समाधानमा नदेखिएको पहल आदि विषयमा छलफल गरे । भूराजनीतिमाथि भइरहेको राजनीतिबारे उनीहरूले व्याख्या विश्लेषण गरे ।


विश्लेषक यादव देवकोटा, पत्रकार सुधीर शर्मा र नेता गगन थापा


महोत्सवमै नारायण ढकालको पुस्तक ‘तमस’ समेत लोकार्पण गरियो । उक्त अवसरमा साहियत्यकार खगेन्द्र संग्रौला र गनेस पौडेलसँग गफिए, भूपेन्द्र खड्का । यो सेसनमा ढकालको यही पुस्तकमाथि वक्ताहरूले चर्चा गरेका थिए । कार्यक्रममा संग्रौलाले पुस्तकसँगै नारायण ढकालको व्यक्तित्वमाथि आफ्ना धारणा राखेका थिए ।


लोक गीतदेखि खेलसम्म

शनिबारको पहिलो सेसन थियो, ‘लोकगीत कि लोकप्रियता ? यो सेसनमा पत्रकार नारायण अमृतसँग गायक एवं प्राज्ञ हरिदेवी कोइराला, युवा पुस्ताका गायक प्रकाश सपुत र लोक संगीत अभियन्ता झुमा लिम्बूले छलफल गरे । यसमा विशेषगरी त्यो बेलाको लोकगीतको अवस्था अर्थात् लोकगीतको आफ्नोपन र वर्तमानमा यसमा आएका परिवर्तनबारे उनीहरूले छलफल गरे । अहिलेका कतिपय विकृति विसंगतिप्रति पनि उनीहरूले चर्चा गरे । सुरुवातमा सुन्न बनाइएको लोकगीत अहिले हेर्न बनाइएको जस्ता आरोप लागेको विषयमा पनि कार्यक्रममा बहस भयो ।


लोकगीतलाई जोगाउँदै सकारात्मक रूपमा यसलाई अघि बढाउनुपर्नेमा उनीहरूले जोड दिए । यही समयमा ‘बालबालिकाको हातमा मोबाइल कि पुस्तक ?’ शीर्षकमा गफिए, करुणा कुँवर, बिना थिङ तामाङ, वसन्त गौतम र भवसागर घिमिरे । उनीहरूले पछिल्लो समय बढ्दै गएको प्रविधिका कारण बालबालिकाका मानसिकतामा पारेको प्रभावबारे आ–आफ्ना धारणा राखे । महोत्सवको दोस्रो सेसनअन्तर्गत दुई कार्यक्रम सञ्चालन भए, ‘सपनाको सम्मान’ र नारायण ढकालको पुस्तक ‘तमस’ माथि अन्तरक्रिया । सपनाको सम्मान सेसनमा बाजुराका चिकित्सक डा.रुपचन्द्र विश्वकर्मा, दलित समुदायका अभियन्ता विमला गायक र सुभाष नेपालीसँग शिवहरि ज्ञवाली गफिए । यो सेसनमा उनीहरूले पिँधमा रहेको समुदायबाट यो स्थानसम्म आइपुग्न आफूले गरेका संघर्षका गाथा सुनाए ।


सञ्चारकर्मी सविना कार्की, नेतृ शान्ता चौधरी र अभिनेतृ करिश्मा मानन्धर । तस्बिर : दीपक परियार/कान्तिपुर


कार्यक्रममा ‘अध्ययनको भोक’ शीर्षकमा अन्तरक्रिया भयो । यसमा सांसद शान्ता चौधरी र अभिनेत्री करिश्मा मानन्धरसँग सविना कार्कीले संवाद चलाइन् । यसमा उनीहरूले नेपालमा बढ्दै गएको पठन संस्कृति र शिक्षा एवं पठन अभिरुचिबारे छलफल गरेका थिए । साथै पठन अभिरुचिबारे समाजमा सचेतना जगाउनुपर्नेमा उनीहरूको जोड थियो ।


यही सेसनको अलि मियाँ कक्षमा ‘कारागारमा किताबी संसार’ शीर्षकमा संवाद चल्यो । यसमा संवाद गरे, महेशविक्रम शाह, धर्मराज विश्वकर्मा र कुमारी लामाले । उनीहरूले नेपालमा कारागारको अवस्था र त्यहाँका दुरवस्थाबारे चर्चा गरे । कारागारमा कतिपय अवस्थामा निर्दोष मानिस पनि परेको र उनीहरूका लागि लडिदिने कोही नभएको गुनासो गरे ।


महोत्सवको अर्को सेसन थियो, ‘बतासमा बारुदको गन्ध : नक्सलवाददेखि लेखनसम्म’ । यसमा सहभागी भए, बंगाली लेखक मनोरञ्जन व्यापारी र दिनेश काफ्ले । रोचक किसिमको यो सेसनमा मनोरञ्जन व्यापारीले आफूले जीवनमा घटाएका वा घटाउनुपरेका अनौठा घटनाबारे रोचक प्रसंग सुनाए । साथै आफ्नो अध्ययन एवं बाल्यकालका कठिन तर रोचक प्रसंगबारे पनि व्यापारीले आफ्ना अभिव्यक्ति दिए ।


यही समयमा ‘राजनीतिको अपराधीकरण, अपराधको राजनीतीकरण’ शीर्षक सेसन रह्यो । यसमा गफिए, नेपाल प्रहरीका पूर्व एआईजी देवेन्द्र सुवेदी, पत्रकार हरिबहादुर थापा र जनकराज सापकोटा । उनीहरूले नेपालमा बढ्दै गएको आपराधिक गतिविधि र तिनका नियन्त्रणका उपाय मात्र सुझाएनन्, राजनीतिक वृत्तमा पनि हाबी भएको अपराधीकरणले कसरी समस्या निम्तिँदै गएका छन् भन्नेबारे छलफल गरे ।


नेपालमा कसरी अपराधीकरण हाबी भइरहेको छ भन्नेमा वक्ताहरूले अन्तर्राष्ट्रिय उदाहरणसमेत प्रस्तुत गरे । निर्वाचनताका जितका लागि उम्मेदवारहरूले कसरी गुन्डाहरूको सहारा लिन्छन् भनेरसमेत यो सेसनमा छलफल भयो । भ्रष्टाचारलगायत अभियोगमा बन्ने गरेका छानबिन आयोग पनि जनताको आँखामा छारो हाल्न मात्र गर्ने गरिएको वक्ताहरूको भनाइ थियो ।


महोत्सवको अर्को सेसन थियो, ‘जाग लम्क, चम्क हे खेलकुदका बदलिँदा आदर्श’ । यसमा अल्ट्राधावक मीरा राई, बडिबिल्डर ननिता वज्राचार्यसँग छलफलमा जुटिन्, शिवानीसिंह थारू । उनले नेपालको खेलकुदको अवस्था, यसका समस्या मात्र केलाएनन्, यसमा जम्न, अघि बढ्न र जित्न कति कठिन छ भन्नेबारे पनि चर्चा परिचर्चा गरे । यस क्रममा आफूहरूले भोग्नुपरेका समस्याबारे पनि उनीहरूले आ–आफ्ना धारणा राखे । यसै समयमा अर्को सेसन पनि चल्यो, ‘राइटिङ होम एन्ड होमल्यान्ड’ शीर्षकमा । यसमा गफिए, जमिल जन कोचाई र इतिशा गिरी । यसमा उनीहरूले आफ्नो जम्नस्थान र देशका बारेमा गरिने सिर्जना एवं साहित्यबारे चर्चा–परिचर्चा गरे ।

प्रकाशित : मंसिर २९, २०७६ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?