नेपाल साहित्य महोत्सव : ‘लेक रहे पो लेकसाइड’- साहित्य/विविध - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल साहित्य महोत्सव : ‘लेक रहे पो लेकसाइड’

कान्तिपुर संवाददाता

(पोखरा) — मंसिरको झरी र फेवातालको चिसो सिरेटोलाई बेवास्ता गर्दै साहित्यानुरागी शुक्रबार लेकसाइडमा भेला भए । विद्वान्का प्रवचन सुने । संघीयताको बहसमा सहभागी बने । नेपाल साहित्य महोत्सवको आठौं संस्करणको पहिलो दिन विभिन्न सेसनमा रोचक एवम् बौद्धिक छलफल चल्यो । 


बुकवर्म फाउन्डेसन र र्‍यान्डम रिडर्स सोसाइटीको आयोजनामा शुक्रबारदेखि तालबाराही चोक लेकसाइडमा महोत्सव सुरु भएको हो । महोत्सवको पहिलो सेसन थियो, ‘लेक रहे पो लेकसाइड’ । यसमा देवेन्द्रराज लामिछाने, किशोर थापा, विश्वप्रकाश लामिछाने र गणेशबहादुर भट्टराईले लेकसाइडबारे आफ्ना भनाइ राखे ।


दीपेन्द्र श्रेष्ठ प्रस्तोता रहेको यो सेसनमा सहभागीले अतिक्रमणमा परेको फेवातालबारे मात्र कुरा उठाएनन्, यसको समस्या समाधानका लागि पनि सरोकारवाला निकायले पहल गर्नुपर्नेमा जोड दिए । फेवातालमा भइरहेको अतिक्रमणबारे उनीहरूले आवाज उठाए, सँगै यसलाई जोगाउनेतर्फ पनि सरोकारवालाले आ–आफ्नो स्थानबाट पहल गर्नुपर्नेमा उनीहरूले जोड दिए ।


दोस्रो सेसन थियो, ‘समानताको लडाइँ’ । यसमा चन्द्र भद्रा, भारती सिलवाल गिरी, बिन्दा पाण्डे र अमित ढकालले छलफल गरे । यो सेसनमा महिला आन्दोलनदेखि लोकतन्त्रको प्राप्तिसम्म महिलाका योगदान र समानता आदिका विषयमा चर्चा भयो । महिला हिंसा किन हुन्छ, यो कहाँबाट सुरु हुन्छ र यसमा समाज एवं पारिवारिक भूमिका के कस्तो रहन्छ भन्नेबारे उनीहरूबीच गहन छलफल भयो ।

महोत्सवको तेस्रो सेसन, हास्यव्यंग्य निबन्धकार भैरव अर्यालमाथि आधारित थियो । ‘हास्यव्यंग्य : भैरव अर्याल मीमांसा’ शीर्षक सेसनमा गफिए, साहित्यकार अमर न्यौपाने र रोचक घिमिरे । उनीहरूले हास्यव्यंग्य निबन्धको क्षेत्रमा भैरव अर्यालले पुर्‍याएको योगदानबारे चर्चापरिचर्चा गरे । यो सेसनमा भैरव अर्यालले आफ्नो जीवनमा भोग्नुपरेका कठिन अवस्थाबारे पनि उनीहरूले कुराकानी गरे । भैरव अर्यालले स्वेच्छाले मृत्युवरण गरेका विषयबारेका घतलाग्दा प्रसंग पनि छलफलमा आए ।


चौथो सेसन रह्यो, ‘संघीयताको सकस’ । यसमा टीकाराम यात्रीसँग छलफलमा थिए, प्राध्यापक कृष्ण खनाल र संविधानविद् भीमार्जुन आचार्य । नेपालमा संघीयतापछिको अवस्था र यसका सकारात्मक एवं नकारात्मक असरबारे उनीहरूले छलफल गरे ।


पाँचौं सेसन थियो, ‘काव्यिक आन्दोलन’ । यो सेसनमा तीर्थ श्रेष्ठ, मणि काफ्ले, ज्योति जंगल र अक्षर काकाले नेपालमा काव्यिक आन्दोलनका विषयमा समीक्षात्मक अभिव्यक्ति दिए ।


प्रकाशित : मंसिर २८, २०७६ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्

नेपालभाषा साहित्यको प्रवर्द्धन गर्न माग

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालभाषा साहित्यको गुणस्तर, पुस्तक वितरण प्रणालीदेखि बजार व्यवस्थापनको विषयमा सरोकारवाला पक्षले चासो र चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समय नेपालभाषा बोल्नेको संख्या न्यून भएसँगै साहित्यमा परेको प्रभावप्रति साहित्यकारहरूले चासो दिएका हुन् । 

काठमाडौंमा भएको एक कार्यक्रमका सहभागीले नेपालभाषा साहित्यको विकास र प्रवर्द्धनका लागि सरकारी स्तरबाटै ठोस पहल हुनुपर्ने मागसमेत गरे । कार्यक्रममा बोल्दै साहित्यकार वसन्त महर्जनले नेपालभाषाको साहित्य विकास गर्न आन्तरिक छलफल र अन्तरक्रिया आवश्यक रहेको बताए । ‘हाम्रो साहित्य बिक्री गर्न गाह्रो भइरहेको छ,’ साहित्यकार महर्जनले भने । साहित्य विकास गर्न भाषा प्रयोग गर्नेको संख्या बढाएर गुणस्तरमा ध्यान दिनुपर्ने उनको तर्क छ । कार्यक्रममा साहित्यकार राजुराम मुनकर्मीले गजल साहित्यको छन्द, मात्रादेखि अन्य प्राविधिक पक्षको विषयमा चर्चा गरे । उहाँले आफ्नै रचनाको गजलसमेत वाचन गरेका थिए ।

त्यस्तै, नेपालभाषा सफू सहकारीका अध्यक्ष हरिप्रसाद श्रेष्ठले सहकारीमार्फत नेपालभाषाको साहित्य विकास गर्नुपर्नेमा जोड दिए । श्रेष्ठले सहकारीमार्फत साहित्य क्षेत्रमा रुचि राख्ने महानुभावलाई सदस्य बनाएर पुस्तक वितरण, विमोचन, प्रकाशन तथा अन्य तवरले सहकार्य गर्दै आएको बताए । हुन पनि साहित्यप्रति रुचि बढाउन र विकास गर्न केही वर्ष यतादेखि नेपालभाषा सफू बहुउद्देश्यीय सहकारी संस्थाले अभियानै चलाएको छ ।

प्रकाशित : मंसिर २८, २०७६ ०९:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×