नेपालभाषा साहित्यको प्रवर्द्धन गर्न माग

काठमाडौँ — नेपालभाषा साहित्यको गुणस्तर, पुस्तक वितरण प्रणालीदेखि बजार व्यवस्थापनको विषयमा सरोकारवाला पक्षले चासो र चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समय नेपालभाषा बोल्नेको संख्या न्यून भएसँगै साहित्यमा परेको प्रभावप्रति साहित्यकारहरूले चासो दिएका हुन् । 

काठमाडौंमा भएको एक कार्यक्रमका सहभागीले नेपालभाषा साहित्यको विकास र प्रवर्द्धनका लागि सरकारी स्तरबाटै ठोस पहल हुनुपर्ने मागसमेत गरे । कार्यक्रममा बोल्दै साहित्यकार वसन्त महर्जनले नेपालभाषाको साहित्य विकास गर्न आन्तरिक छलफल र अन्तरक्रिया आवश्यक रहेको बताए । ‘हाम्रो साहित्य बिक्री गर्न गाह्रो भइरहेको छ,’ साहित्यकार महर्जनले भने । साहित्य विकास गर्न भाषा प्रयोग गर्नेको संख्या बढाएर गुणस्तरमा ध्यान दिनुपर्ने उनको तर्क छ । कार्यक्रममा साहित्यकार राजुराम मुनकर्मीले गजल साहित्यको छन्द, मात्रादेखि अन्य प्राविधिक पक्षको विषयमा चर्चा गरे । उहाँले आफ्नै रचनाको गजलसमेत वाचन गरेका थिए ।


त्यस्तै, नेपालभाषा सफू सहकारीका अध्यक्ष हरिप्रसाद श्रेष्ठले सहकारीमार्फत नेपालभाषाको साहित्य विकास गर्नुपर्नेमा जोड दिए । श्रेष्ठले सहकारीमार्फत साहित्य क्षेत्रमा रुचि राख्ने महानुभावलाई सदस्य बनाएर पुस्तक वितरण, विमोचन, प्रकाशन तथा अन्य तवरले सहकार्य गर्दै आएको बताए । हुन पनि साहित्यप्रति रुचि बढाउन र विकास गर्न केही वर्ष यतादेखि नेपालभाषा सफू बहुउद्देश्यीय सहकारी संस्थाले अभियानै चलाएको छ ।

प्रकाशित : मंसिर २८, २०७६ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?