२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

१० देशका संस्कृतिविद् काठमाडौंमा

काठमाडौँ — शताब्दी पुरुष सत्यमोहन जोशी नेपाली लोकजीवन र परम्पराको संरक्षण हुनुपर्ने बताएका छन् । ‘घरको चुलामा आगो बल्न छोड्यो, ढिकीमा चिउरा कुट्न छाडे यी र यस्तो हाम्रो संस्कृतिमा धब्बा लाग्दै गयो,’ परिवर्तनशील समयको चापलाई रोक्न नसकिने उल्लेख गर्दै उनले भने, ‘हाम्रा पुर्खाहरू सयौं वर्ष लगाएर आर्जन गरेको सीप, ज्ञान, परम्पराहरू भावी पुस्तालाई कम्तिमा संग्रहालय बनाएर र साहित्य लेखेर साँच्न जरुरी छ ।’

१० देशका संस्कृतिविद् काठमाडौंमा

नेपाली लोकवार्ता तथा संस्कृति समाजले आयोजना गरेको सातौं अन्तर्राष्ट्रिय लोकसंस्कृति सम्मेलनका प्रमुख वक्ता जोशीले उक्त अभिव्यक्ति दिएका हुन् । ‘आज भोली पैसा कमाउने धुनमा हाम्रो लोकसंस्कृतिमा केही विकृति आएको छ तर यथार्थ जनजीवनको खोजी हुनसकेमा सांस्कृतिक विविधता र वैभव जोगिन्छ,’ राज्य पक्षबाट भौगोलिक रुपमा सांस्कृतिक अध्ययन अनुसन्धान हुन नसकेको उल्लेख गर्दै संस्कृतिविद् जोशीले भने । उनले लोकसंस्कृतिको गहन अध्ययन हुन नसकेको बताएका छन् । ‘प्रज्ञा प्रतिष्ठानले २०२७ सालमा मेरो अगुवाईमा कर्णालीको लोकसंस्कृतिबारे स्थलगत अध्ययन, अनुसन्धान गरायो । हामी पाँच जनाको टोलीले त्यही कृतिबाट मदन पुरस्कारसमेत पायौं । तर त्यसयता राज्य पक्षबाट लोकसंस्कृतिबारे गहन अध्ययन कार्य हुनसकेको छैन’ उनले भने । संस्कृतिविद जोशीले विविध जात, जाति, भाषा, भाषीको संस्कार, परम्परा, जनजीवनको संरक्षण, संवर्द्धन गर्नसकेमात्र सरकारले घोषणा गरेअनुसार ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा सार्थक हुने उल्लेख गरे । काठमाडौंमा सुरु भएको तीन दिने लोकसांस्कृतिक सम्मेलनमा दस देशमा विज्ञ सहभागी छन् ।


सम्मेलनको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मुलुकको सांस्कृतिक विविधता संरक्षण गर्दा सामाजिक सद्भाव बढ्ने बताए । ‘सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा आयोजित लोकसंस्कृति सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ,’ सबै देशका प्रतिनिधिलाई स्वागत गर्दै मन्त्री भट्टराईले भने, ‘पर्यटन, प्रकृति, संस्कृति एक अर्काका परिपूरक हुन् । सम्मेलनमा सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिनिधिलाई स्वागत गर्दछु ।’

समाजका अध्यक्ष संस्कृतिविद तुलसी दिवसका अनुसार सम्मेलनमा ८६ वटा सम्मेलनपत्र प्रस्तुत गरिने छन् । त्यसैगरी विदेशी पाहुनाहरूलाई काठमाडौं उपत्यकाको ऐतिहासिक, सांस्कृतिक धरोहरहरूको अवलोकन गराइने जनाए । नेपाल, भारत, बंगलादेश, श्रीलंका, बेलायत, अमेरिका, जापान, स्पेनलगायत मुलुकका प्रतिनिधिले लोकसंस्कृति, परम्परा, पर्यावरणलगायत विविध विषयमा सम्मेलनपत्र प्रस्तुत गर्नेछन् । त्यसैगरी विभिन्न देशको लोकबाजा, लोकनाचसमेत प्रदर्शन गरिने छन् ।

प्रकाशित : मंसिर २७, २०७६ २०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?