कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

नेपाल साहित्य महोत्सव पोखरामा सुरु

स्वरुप आचार्य

पोखरा — आईएमई नेपाल साहित्य महोत्सवको आठौं संस्करण पोखरामा शुक्रबारबाट सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पानसमा बत्ती बालेर  महोत्सव उद्धघाटन गरेपछि नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डेको विद्वत्प्रवचनबाट महोत्सव सुरु भएको छ । 

नेपाल साहित्य महोत्सव पोखरामा सुरु

महोत्सव पर्यटकीय नगरी पोखरामा चार दिनसम्म चल्ने छ । मंसिर ३० सम्म फेवातालको किनारमा संचालन हुने कार्यक्रममा १०० भन्दा बढी वक्ताहरुले विभिन्न विषयमा विमर्श गर्नेछन् ।

उद्धघाटनकै दिनमा वर्षाले केही बाधा उत्पन्न गरे पनि त्यसले महोत्सवमा सहभागी हुने देशका विभिन्न भाग र विशेषगरी काठमाडौंबाट आएका वक्ता, प्रस्तोता तथा दर्शकहरुको जोशलाई भने रुझाउन सकेको छैन ।


देवेन्द्रराज पाण्डेले 'लोकतन्त्रको विकास र सार्वजनिक दायित्व'का बारे प्रवचन दिएका थिए । उद्घाटन सत्रमा ममता, मनिता र अनिता सुन्दास 'सुन्दास सिस्टर्स'ले वेदका ऋचा वाचन गरेका थिए । आएइ ग्रुपका अध्यक्ष चन्द्र ढकालले स्वागत मन्तव्य दिए ।


यससँगै पहिलो दिनको सत्रमा 'लेक रहे पो रहला लेकसाइड', 'समानताको लडाइँ', 'हास्यव्यंग्य : भैरव अर्याल मीमांशा', र 'संघीयताको सकस' विषयमा छलफल हुने छ । र साँझको अन्तिम कार्यक्रम 'वाह ! गजल' रहनेछ ।




काठमाडौंमा आयोजना गरिएको पहिलो संस्करणबाट अहिले पोखरामा भइरहेको आठौं संस्करणसम्म आइपुग्दा नेपाल साहित्य महोत्सवले साहित्य अनुरागी तथा विद्वत् वर्गमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । बुकवर्म फाउन्डेसन तथा पोखराको र्‍यान्डम रिडर्स सोसाइटीले स‌ंयुक्तरुपमा महोत्सवको आयोजना गरेका हुन् ।


महोत्सवका निर्देशक अजित बरालका अनुसार यसपालि ४० भन्दा बढी सत्रहरु हुनेछन् । आहुति, प्रदीप गिरी र सौरभका भने एकल सत्र रहनेछन् । केही सत्रहरु भने समानान्तर रुपमा पनि संचालन हुनेछन् । दक्षिण एसियाका लेखकलाई दिइने डिएससी पुरस्कार महोत्सवको अन्तिम दिन घोषणा हुँदैछ ।

प्रकाशित : मंसिर २७, २०७६ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?