३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

शुक्रबारदेखि पोखरा साहित्यमय

(पोखरा) — पर्यटकीय नगरी पोखरा फेरि एकपल्ट साहित्यमय बन्ने भएको छ । नेपाल लिटरेचर फेस्टिभलको आठौं संस्करण शुक्रबारदेखि फेवा किनारमा हुने 
भएको हो । 

शुक्रबारदेखि पोखरा साहित्यमय

लेकसाइडको बाराही मैदानमा मंसिर २७ देखि ३० सम्म महोत्सव हुँदै छ । साहित्य महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक बुकवर्म फाउन्डेसन र र्‍यान्डम रिडर्स सोसाइटीले मंगलबार पोखरामा जनाए । बुकवर्म फाउन्डेसनका निर्देशक अजित बरालले फेस्टिभलका अघिल्ला संस्करणभन्दा यसपल्ट नयाँ वक्तालाई उभ्याइने बताए । ‘यसपल्ट हामीले ९८ प्रतिशत नयाँ वक्तालाई फेस्टिभलमा ल्याउन लागेका छौं’,

उनले भने ।


चार दिन चल्ने फेस्टिभलमा १ सय १० बढी वक्ता सहभागी हुनेछन् । त्यसमध्ये १२ बढी विदेशी लेखक छन् । ४० बढी सेसनमा छलफल चल्नेछ । फेस्टिभलको शुरुवाती ४ संस्करण काठमाडौंमै गरिएको थियो । ५ औं संस्करणदेखि पोखरामा गर्न थालिएको हो ।


फाउन्डेसन निर्देशक बरालले त्यतिबेला काठमाडौंमा भूकम्प गएर पोखरामा गर्नुपरे पनि अहिले पोखराकै फेस्टिभल भएको सुनाए । उनले भने, ‘भूकम्प जाँदा साहित्यिक पर्यटनलाई जोड्न पनि पोखरा रोजेका थियौं । तर, अहिले पोखरा नै उत्तम ठाउँ भएको छ । यो पोखरेलीको पनि महोत्सव हो ।’


अर्को आयोजक संस्था र्‍यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले फेस्टिभलले पोखरेली साहित्य उजागर गर्न मद्दत पुगको दाबी गरे । ‘फेस्टिभलका सबै संस्करणमध्ये ४ वटा पोखरामै भएका छन् । त्यसले पनि हामीलाई अपनत्व महसुस भएको छ,’ उनले भने । फेस्टिभल पोखराका युवा पाठकमाझ पठन संस्कृतिमा उत्प्रेरकको रूपमा आएको ह्वाट द बुक क्लबकी उपाध्यक्ष अनिशा बराइलीले बताइन् ।


महोत्सवको आठौं संस्करणमा दक्षिण एसियाली राष्ट्रको सर्वोत्कृष्ट पुरस्कार डीएससी साहित्य पुरस्कार प्रदान गरिने भएको छ । पुरस्कारको राशि २५ हजार अमेरिकी डलर (२७ लाख ५० हजार रुपैयाँ) छ । दक्षिण एसियाली साहित्यिक पुरस्कार गुठीले विगत ८ वर्षदेखि उक्त पुरस्कार प्रदान गर्दै आएको हो । नेपाल साहित्य महोत्सवसँग सहकार्य गरी पुरस्कार वितरण गर्न पाउँदा पुरस्कारकी सहसंस्थापक सुरिना नरुलाले खुसी व्यक्त गरिन् ।


पुरस्कार र महोत्सव दुवैले दक्षिण एसियाली साहित्यलाई प्रवर्द्धन गर्ने हुँदा यो सहकार्यले हामी दुवैलाई फाइदा हुने विश्वास लिएको उनको दावी छ । महोत्सवको उद्घाटन सत्रमा पूर्व अर्थमन्त्री एवं नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डेको विद्वत्प्रवचन रहने आयोजकले जनाएको छ ।

प्रकाशित : मंसिर २५, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?