नन्दरामको म्यान्मार कथा- साहित्य/विविध - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नन्दरामको म्यान्मार कथा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालीमूलका म्यान्मार नागरिक नन्दराम न्यौपानेको संस्मरणात्मक कृति ‘हाम्रो बर्मा : हाम्रो कर्म’ सोमबार राजधानीमा सार्वजनिक भएको छ । नेपालका प्रथम गभर्नर हिमालय शमशेर, गीतकार, लेखक तथा फिल्म निर्देशक यादव खरेल, नेपाल म्यान्मार फ्रेन्डसिप काउन्सिलका अध्यक्ष शंकर घिमिरेलगायतले कृति लोकार्पण गरेका हुन् ।

बर्मा (म्यान्मार) मा नेपालीहरूले बिताएको लामो समय, त्यहाँको नेपाली जनजीवन र भाषा संस्कृतिको विकासलगायतका विषयमा कृति केन्द्रित रहेको छ ।


कृतिमाथि बोल्दै प्रथम गभर्नर शमशेरले आफूले चार दशकअघि बर्मामा काम गर्दा नै नन्दरामको सामाजिक कार्य देख्न पाएको सुनाए । गीतकार तथा चलचित्रकर्मी यादव खरेलले धेरैजसो आत्मकथा झूटको पुलिन्दा भएको दाबी गर्दै नन्दरामको कृति भने यथार्थपरक रहेको बताए । गैरआवसीय नेपाली संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोले नन्दरामले बर्माको नेपाली समुदायमा पुर्‍याएको योगदानबाट संसारभरका नेपालीले सिक्नुपर्ने बताए । लेखक नन्दरामले बर्मामा नेपाली भाषा, साहित्य र पठनपाठनको अनुभव सुनाउँदै आफ्नो कृति पितृभूमि नेपालमा सार्वजनिक गर्न पाउँदा खुसी लागेको सुनाए ।


नन्दारामकी पत्नी कलावतीले पनि बर्मेली नेपालीहरूले आफ्नोपन प्रवर्द्धन गर्न गरेका कार्यहरूबारे प्रकाश पारे । नेपाल म्यान्मार फ्रेन्डसिप काउन्सिलका अध्यक्ष घिमिरेले नेपाल र म्यान्मारबीच भाषा–संस्कृतिमार्फत् बनेको सम्बन्धलाई नन्दारामको पुस्तकले नयाँ उचाइ दिने दाबी गरे । डा. पदम न्यौपाने र पुस्तकका सम्पादक रमेश खड्काले दुई लाखभन्दा अधिक जनसंख्या भएको बर्माका अनुभवलाई पुस्तकले बाहिर ल्याएको दाबी गरे । म्यान्मार सरकारद्वारा नागरिकलाई दिइने सर्वोच्च सम्मान अग्रमहा श्रीसुधम्ममणि ज्योतिधर उपाधि प्राप्त नन्दराम न्यौपानेको अघिल्लो पुस्ता गुल्मीबाट बर्मा पुगेका थिए ।


प्रकाशित : मंसिर १७, २०७६ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्

नेपाललाई सूर्यभक्त पतनादेवी

कान्तिपुर संवाददाता

काठमाडौँ — पत्रकार किशोर नेपाललाई यो वर्षको सूर्यभक्त पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मान गरिने भएको छ । 

प्रेस युनियन पूर्वी नवलपरासीद्वारा १५ वर्षअघि स्थापित पुरस्कार यो वर्ष नेपाललाई दिने निर्णय गरिएको युनियन अध्यक्ष वीरेन्द्र पराजुलीले जनाए । नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा सूर्यभक्त र उनकी धर्मपत्नी पतनादेवीको स्मृतिमा छोरा मदनभक्त अधिकारीले राखेको अक्षयकोषबाट हरेक वर्ष एक पत्रकारलाई सम्मान गर्दै आएको छ ।

पुरस्कारमा २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । आउँदो साता सूर्यभक्त स्मृति दिवसका अवसरमा कावासोतीमा हुने एक कार्यक्रममा पुरस्कार वितरण गरिने युनियनले जनाएको छ ।

प्रकाशित : मंसिर १७, २०७६ १२:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×