कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

कवितामा टुँडिखेलको पीडा

दामोदर न्यौपाने

काठमाडौँ — टुँडिखेलको ऐतिहासिक गुरुमापा रुखको फेदमा बसेर कवि डा रामप्रसाद ज्ञवालीले टुँडिखेलको पीडा शीर्षकको कविता सुनाए । कविहरुमा वरिष्ठ भन्दै उनको पालो सुरुमै आएको थियो ।

कवितामा टुँडिखेलको पीडा

उहिले मेरो कस्तो सुन्दर रुपथ्यो

हरियाली थियो छाती हावाले नृत्य गर्दथ्यो

म थिएँ सबकी प्यारी कविकी कविता सरी

बाँच्न बाध्य भएकी छु अहिले जिउँदै मरी


कविता वाचन गरेपछि कवि ज्ञवालीले मान्छेको चेतना जागृत गर्न सशक्त साहित्यले सशक्त भूमिका खेल्न सक्छ भनेर कवितामार्फत टुँडिखेलको पीडा पोखेको बताए । ‘मान्छेको चेतना जागृत गरेर आफ्नो जिम्मेवारी पूरा गराउन साहित्यले सहयोग गर्छ,’ उनले भने, ‘जनप्रतिनिधिले टुँडिखेलमा व्यक्त भएका कविताका भाव सुने भने पक्कै उहाँहरुलाई प्रभावित पार्छ ।’


अकुपाइ टुँडिखेल अभियानले शनिबार आयोजना गरेको साहित्य जमघट कार्यक्रममा सहभागी स्रष्टाले टुँडिखेल लगायत खुला ठाउँ मिच्ने प्रवृत्तिविरुद्ध चोटिलो प्रहार गरे । कवि श्रवण मुकारुङ म कवि थिएँ शीर्षकको कविता वाचन गरे । उनले देश निर्माण गर्नेले विकास गर्न नजानको प्रतिक्रिया दिए । ‘पुराना इतिहास जोगाएर विकास गर्नुपर्थ्यो । सम्पदा जोगाएर विकास गर्नु पर्थ्यो,’ उनले भने, ‘कसरी जोगाएर विकास गर्ने थाहा नपाउँदा हामी कता-कता हराएजस्तो लाग्यो ।’


जमघटनमा विभिन्न जात जातिका कविता पनि सुनाइएको थियो । उदयपुरे कवि विजय बलम्तालीले राई भाषामा कविता सुनाए ।

टुडिखेल आल्से मसोमा डोडेनो


होक्याप ! होक्याप ! होक्याप ! टुरेङासे

ओप्याला, ह्याप्पेला, ढाप्पाला, हुइपाला

झारानाका मिनाच्या पाकाप्टेङासे

टुडिखेल विनुङको यलेखीममे ऐटादिम

आल्सेको मिनाच्या पनटाब्डेङासे


कवि विजले आफ्नो कविताको भाव पनि नेपालीमा सुनाए । ‘टुँडिखेल अचेल निसासिएको छ,’ उनले भने, ‘छटपटाएको छ । श्वासप्रश्वास नपुगेको जस्तो । श्वासको कमी भएर ऐठन भएजस्तो भएको छ ।’ टुँडिखेलजस्ता सम्पदा मिचिँदै गएकोमा आफूलाई दु:ख लागेर कविता कोरेर ल्याएको उनले सुनाए ।

आफू उपस्थित हुन नसक्ने स्रष्टाले टुँडिखेलकै विषयमा कविता लेखेर पठाएका थिए । त्यसमै मध्येका थिए वरिष्ठ कवि दुर्गालाल श्रेष्ठ । उनले पठाएको कविता उनकै चेला देवीप्रसाद यम्सालीले वाचन गरेका थिए । आफ्नै अनुभूति लेखेर पठाएका कवि श्रेष्ठको कविताले दर्शको वाहवाह पाएको थियो–


म असली टुँडिखेल मेरो

खेल्ने चउर हो खेल्ने चउर

जहाँ खेल्दै हुर्के म भक्ते भकुण्डो

त्यही टुडिखेल लुटियो आज मेरै सरकारले


वरिष्ठदेखि कनिष्ठसम्मको कविका जमघट थियो । कवि विप्लव प्रतिकले अकुपाइ टुँडिखेल मात्र नभइ अकुपाइ काठमाडौं नै सञ्चालन गर्नु पर्ने आफ्नो धारणा भएको सुनाए । कवित स्नेह सायमी, रत्न श्रेष्ठ, सहयोग रन्जित, प्रभा भट्टराई लगायत दुई दर्जन कविले कविता पाठ गरेका थिए ।

प्रकाशित : मंसिर ७, २०७६ २०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?